फल्टी जीन र नेपाली राजनीतिको महारोग

नेपालको रोग दोषी आनुवांशिक गुण वा ‘फल्टी जीन’ सिर्जित नै हो, जसको डाइग्नोसिस हुन समय लाग्छ, हामीले थालेका सम्म छैनौँ। डाइग्नोसिस नभैकनै देशी-विदेशी सबैले आ-आफ्नो उपचार पद्दति सुझाएका छन । कम्युनिष्ट पार्टीका दुई नेताको मनोबल त झन यति बढेको छ कि आफ्नै नेतृत्वमा केही हजुरी डाक्टर मार्फत तिनले जबर्जस्ती सल्यक्रिया नै शुरु गरेका छन । कता रोग छ नहेरी कता चिर्छन तिनलाई नै थाहा छैन। धेरै जस्तो पुरै नकाटीकन सिलाउँनु पर्ने बाध्यता आउँछ, सिलाउँछन र काटेको घाऊमा मलम लगाउन खोज्छन फेरि अर्को ठाउँमा चिर्न थाल्छन । यही वर्षौँ देखिको क्रमलाई तिनले नयाँ नयाँ नाराकासाथ निरन्तरता दिएका छन ।

हाम्रो पुस्ताले देखेका मध्येको कडा रोग कुनैबेला टिबि थियो । लाग्यो कि मान्छे मऱ्यो। हामीले थाहा पाउँदा पाउँदै यो असाध्य रोगबाट साध्यमा परिणत भयो। अहिले सजिलै उपचार हुन्छ। केही समय पछि एच आई भि एड्सलाई त्यस्तै मानियो, क्यान्सरलाई त्यस्तै मानियो। अहिले तिनको उपचार उपलब्ध छ। शुरुकै चरणमा पत्ता लागे उपचार पद्दतिको सफलता दर पनि राम्रै छ। रोगलाई खुट्याउने तरिका (डाइग्नोस्टिक मेथड) पत्ता लागेपछि जति सुकै ठूलो रोग लागे पनि उपचार सहज बन्दै गएका छन, विज्ञानको चमत्कार नै मानौँ ।

अमेरिकाको क्यालिफोर्नियामा एउटा स्वास्थ्य अनुसन्धान सम्बन्धी एउटा संस्था छ ”ग्लोबल जीन’, असाध्य र दुर्लभ रोगहरूमा केन्द्रित। उसको आँकडाले देखाउँछ संसारमा क्यान्सर र एड्स रोगीको कूल सङ्ख्या भन्दा दुर्लभ रोग पिडितको सङ्ख्या बढि छ, झण्डै ३५ करोड अर्थात अमेरिकाको जनसङ्ख्या भन्दा बढि। चाख लाग्दो कुरो के छ भने १० मध्ये ८ रोगीको रोगको कारण अरू नभएर उसको गलत वा दोषयुक्त आनुवांशिक गुण वा ‘फल्टी जीन’ हो र रोग पत्ता लगाउन लाग्ने औसत समय हो ८ वर्ष। करीव ७००० प्रकारका यस्ता रोगको पहिचान गरेका रैछन स्वास्थ्य अनुसन्धान सम्बन्धी संस्थाहरूले।

शरीर विज्ञान त मेरो जानकारीको विषय होइन, चासोको विषय मात्रै हो। करीव ४ दशक देखि नेपाली
राजनीतिलाई नजीकबाट हेरिराखेको म एक प्रकारले नेपाली राजनीतिको चाहिँ सानोतिनो डाक्टर नै बनेँ कि जस्तो लाग्छ कहिले काहिँ, उपचार गर्ने क्लिनिक खोलेर नबसेको भए पनि। सात कक्षामा पढ्दै राजनीति शुरु गरेर बीए पढ्दा राजनीति चट्टै छोडे पनि पढ्ने, पढाउने, लेख्ने, लेखाउने काम राजनीतिक विषयमै पच्चिस वसन्त पार गरेकोले सानोतिनो रोगी पनि परेँ कि जस्तो लाग्छ।मेरो अनुभव र अनुभूतिले भन्छ नेपाली समाज असाध्य रोगको चपेटामा छ र त्यसैको प्रतिविम्बमात्रै राज्य सञ्चालनमा देखिएको हो। अरू खुट्टिएका रोगको उपचार पद्दति र औषधी हामीले जबर्जस्ती त्यो दुर्लभ र असाध्य रोगको उपचारमा प्रयोग गरिरहेका छौँ ।

नेपालको रोग दोषी आनुवांशिक गुण वा ‘फल्टी जीन’ सिर्जित नै हो, जसको डाइग्नोसिस हुन समय लाग्छ, हामीले थालेका सम्म छैनौँ। डाइग्नोसिस नभैकनै देशी-विदेशी सबैले आ-आफ्नो उपचार पद्दति सुझाएका छन । कम्युनिष्ट पार्टीका दुई नेताको मनोबल त झन यति बढेको छ कि आफ्नै नेतृत्वमा केही हजुरी डाक्टर मार्फत तिनले जबर्जस्ती सल्यक्रिया नै शुरु गरेका छन । कता रोग छ नहेरी कता चिर्छन तिनलाई नै थाहा छैन। धेरै जस्तो पुरै नकाटीकन सिलाउँनु पर्ने बाध्यता आउँछ, सिलाउँछन र काटेको घाऊमा मलम लगाउन खोज्छन फेरि अर्को ठाउँमा चिर्न थाल्छन । यही वर्षौँ देखिको क्रमलाई तिनले नयाँ नयाँ नाराकासाथ निरन्तरता दिएका छन ।

तिनले डाँफा हान्दै पढेको, जर्मन मान्छेले बेलायतको सन्दर्भमा रचना गरेको, रसियाबाट बङ्गालहुँदै नेपाल छिरेको हिन्दिमा उल्था गरिएको डाइग्नोसिस मेथडको एउटा किताव छ, तिनका सबै सल्यकृयालाई निर्देशित गर्ने । त्यही कितावले नेपाली रोगको कति सही पहिचान गर्न सक्छ ति आफैँलाई विश्वास छैन, नत्र नेपाली समाजको रोग निदानमा अहिलेको जस्तो लापारवाहीपूर्ण काम किन हुन्थ्यो होला?

स्वार्थबस एकठाउँमा बसेका र आँट नभएर छुट्टिन नसकेकाहरूलाई श्रद्धा तथा आस्था भएरै पछि लाग्ने बनाउन उनले गर्नुपर्ने त्याग केही छैन, केवल आफू सरह योगदान भएका नेताको अस्थित्व स्वीकार गर्दिए पुग्छ, सम्भवतः संसारकै सबै भन्दा ठूलो सङ्गठित र अनुशासित कार्यकर्ता पङ्तिलाई काखा र पाखा नगर्दिए पुग्छ। नेपाली समाजले सामान्य उपचार होइन सल्यक्रिया नै खोजेको छ। यस भित्र गुठि पनि पर्छ, मिडिया पनि पर्छ, एनजिओ पनि पर्छन ।

‘फल्टी जीन’ सिर्जित रोगको डाइग्नोस गर्नै औसत आठ वर्ष लाग्छ भनेर औषधी विज्ञानका अनुसन्धाता भन्छन, त्यही कारण सिर्जित रोगको हामी सही डाइग्नोसिस बिनै चिरफारमा जुटेका छौँ । त्यो ‘फल्टी जीन’ सिर्जित रोग हो भन्ने त त्यसका लक्षणले भनि सके। ति क्यान्सर र एड्स जस्तै छन; क्यान्सर जस्तो एउटा निश्चित अङ्गमा ऐँझेरू पलाउने वा कुनै खास क्षेत्रलाई मार्ने । एड्सको जस्तो रोग प्रतिरोधी क्षमतामा ह्रास समेत ल्याउने।

तपाइँ कसरी यो जेनेटिक रोग भयो भनेर प्रश्न गर्नु होला। यो नितान्त नेपाली आनुवंशिक गुणमा आधारित छ। आधुनिक राज्य सञ्चालनको इतिहास हेर्नुस । हाम्रो आनुवंशिक गुणले कसैको चामत्कारिक नेतृत्व स्वीकार गरेकै छैन । पृथ्वीनारायण, बहादुर शाह, भिमसेन थापा, जङ्गबहादुर, चन्द्र शम्शेर, बीपी, मदन भण्डारी, गिरिजा प्रसाद, प्रचण्ड देखि केपी ओली सम्म सबै आन्तरिक समस्या हेर्नुस, सबै एउटै रोगले ग्रस्त छन। परिवार भित्रैबाट प्रसस्त प्रतिरोध सामना गरेर भए पनि उनीहरू मध्ये केही सफल भएका होलान तर उनीहरूका राज्य सञ्चालन वा राजनीति सञ्चालन सबैमा त्यो रोगको प्रतिछायाँ देखिन्छ ।

आफू बाहेक अरूलाई विश्वास नगर्ने रोगबाट धेर थोर सबै ग्रस्त थिए, पृथ्वीनारायण, बीपी, मदन वारे उनीहरूका चेलाका केही फरक मत होलान । तर आफू वाहेक अरूलाई विश्वास नगर्ने अधिकाँसले आफू प्रति चाहिँ सबैको अन्धविश्वास खोजि रहेका थिए र छन। यो अर्को महारोग हो। यि रोग र महारोगको आपसमा दोहोरो प्रभाव छ। आफू बाहेक अरूलाई एक रत्ति विश्वास नगर्नेहरूकै कारण राज्यका कुनै अङ्गहरूमा जनताको विश्वास नबढेको हो। रोगको पहिचान नगरी गरिने चिरफारले यो विश्वास गिर्ने क्रमलाई तिब्रता दिएको हो।

एउटा सामान्य सचेत नागरिक सडकमा हिँडेको छ, सार्वजनिक सवारी साधन चढेको छ, स्वास्थ्य संस्थामा उपरार्थ गएको छ, शैक्षिक संस्थामा बच्चा भर्ना गर्न गएको छ, कर तिर्न सरकारी अड्डा गएको छ, घरायशी समस्यामा आफ्नो नगरपालिका धाएको छ, उद्योग खोल्न अनुमति माग्न गएको छ । उसलाई सोध्नुस, नेपालका २० महा रोग के के हुन भनेर । उसले फर्ररर भन्न सक्छ । उसले जति सरकारले भन्न सक्दैन होला भनेर हामीले बुझ्नु हुँदैन । तर बीसवटा तत्काल गरिनु पर्ने सुधारवारे सरकार अनभिज्ञ होला त?

त्यस्ता कामको प्राथमिकता सूची बनाएर पहिलो बाट शुरु गरेको भए सरकार प्रति जनविश्वास बढ्थ्यो । छाडा बोल्ने नेता र छाडा काम गर्ने कर्मचारी नियन्त्रण पहिले गरेको भए छाडा मिडिया नियन्त्रणको पालो स्वतः आउँथ्यो। हडपिएका र दुरुपयोग भएका सार्वजनिक जग्गा खोजी-खोजी फिर्ता ल्याएको भए गुठीको पालो स्वतः आउँथ्यो, सार्वजनिक विद्यालयलाई एक वर्ष भित्र सुधार्ने प्रतिवद्धता आएको भए निजीको आकर्षण स्वतः घट्थ्यो, सार्वजनिक यातायात सुधार गरेको भए सिण्डिकेटको नौटङ्की आउँदै आउँदैनथ्यो ।

हरेक यातायात कार्यालयमा १० जना पुलिस खटाएर लाइन व्यवस्थित गराउन कुनै ठूलो प्रचारबाजी चाहिन्न। मालपोतको रेकर्ड कम्प्युटरमा हाल्न कुनै विदेशी प्रोजेक्ट चाहिन्न। आफ्नै बैँक खाताबाट सिधै कर तिर्न कुनै विदेशी प्रभुको सहयोग चाहिन्न। सेवाग्राहीसङ्ग घुस लिनेलाई ठाउँका ठाउँ कारवाही गर्न कुनै भ्रष्टाचार बिरोधी अभियान चाहिन्न। चोकमा भैरहेका ट्राफिक सोलार बत्ति बाल्न गेजुवा, थ्री गर्जेज र सतलज चाहिन्न। किसानले उत्पादन गरेको दुध र तरकारी बजार पुर्याउन कुनै प्रधानमन्त्रिको नाम जोडेको परियोजना चाहिन्न। पैरो जानेठाउँमा रुख रोप्न राष्ट्रपतिको नाम जोडेको परियोजना चाहिन्न।

कुनै थप खर्च नचाहिने तर जनताको दैनिक जीवन सङ्ग प्रत्यक्ष जोडिएका अनगिन्ती काम छन जसलाई १,२,३,४ नम्बरमा राखेर गर्दै गएको भए सरकार प्रति जनविश्वास पलाउँथ्यो र त्यही विश्वासले गुठी र मिडीया काउन्सिल सम्बन्धी विधेयकको औचित्यता पुष्टि गर्थ्यो। त्यो गुठी र मिडिया नेपालको समृद्धिका पहिलो बाधक थिए भन्ने कुनै अध्ययन अनुसन्धानले देखाए कि के कारण पहिलो प्राथमिकतामा परे भन्ने कुरामा कोही सन्तुष्ट छैन । तपसिलका विषय बस्तुलाई तिलको पहाड बनाउने हाम्रो मनोविज्ञान हो र पहाड खनेर मुसा निकाल्ने हाम्रो कार्यशैली एक प्रकारले हाम्रो आनुवंशिक गुणको उपज।

आफू बसेको चौघेरा बाहिर पनि सत्य छ भनेर स्वीकार गर्न र त्यस्तो सत्यको अस्थित्वलाई पचाउन नसक्नु हाम्रो अर्को आनुवंशिक गुण हो। तीन जना पूर्व प्रधानमन्त्रि र चारजना पूर्व उपप्रधानमन्त्रि भएको दल सत्तामा छ । तर त्यस दलमा राज्य सञ्चालनका अनुभव साट्ने अभ्यास प्रतिबन्धित छ र विचारको विविधता पूर्णरुपमा निषेधित । ४२ वर्ष देखि एउटै दलमा आवद्ध भएर एउटै राजनीतिक लक्ष्यमा जुटेका सहयोद्धाहरूको इमान्दारिता र बफादारिता माथि सङ्का छ, नौलाख सङ्गठित सदस्य छन, तिनको क्षमतामाथि सङ्का छ तर तिनको अटूट विश्वासको भने अपेक्षा बलियो छ । आफू बाहेक अरू कसैमा विश्वास नगर्नेको अपेक्षा चाहिँ सवैले ति सङ्कालु नेतालाई पूर्ण रुपमा विश्वास गरून भन्ने छ।

नेतामा भएको यो विश्वासको सङ्कटरुपी महारोग राज्यका सबै अङ्गमा फैलिएको छ। राज्यका कुनै अङ्ग प्रति जनताको आस्था र भरोसा छैन । सरकार, संसद, अदालत, सरकारी आयोगहरू, सेना प्रहरी, कर्मचारीतन्त्र, विश्वविद्यालय, स्वास्थ्य संस्था, सामाजिक संस्था, गैरसरकारी क्षेत्र, व्यापारिक क्षेत्र कुनको उदाहरण खोज्नु हुन्छ? सबैले जनआस्था गुमाएका छन ।

सरकारको राज्य सञ्चालन इमान्दारिता भन्दा खुराफातीमा आधारित छ, संसद त्यसको रबर स्ट्याम्प मात्रै भएको छ, न्यायालयको कुरै नगरौँ, सेना पहिलेको एनसिसिएनको रुपमा छ, प्रहरीको मुस्कान सहितको सेवा त सडक किनारामा प्लेकार्ड लिएर बसेका निहत्थाले राम्रै महसूस गरेका छन, कर्मचारीतन्त्रमा पाइलै पिच्छे भत्ता र फाइलै पिच्छे कमिशन खोज्नेको बाहुल्यता छ, ज्ञान र ज्ञानी उत्पादन गर्ने प्राध्यापकले आफ्नो साख यसरी गुमाएका छन कि तिनको बौद्धिक उपस्थितिलाई समाजले हाँसेर उडाइरहेको छ, नागरिक समाजले सडकमा अनुहार देखाउन छोडे, एनजिओकर्मीलाई डलरखेतीवाला भनेर खुइल्याइएको छ, व्यापारी सबैलाई ‘काला’ रुपमा लिन थालिएको छ ।

यो विश्वासको सङ्कट सरकारले मात्रै उब्जाएको होइन तर बढाएको भनेर जरूर हो। अहिले हामी यसलाई सामान्य रुपमा हेर्छौँ कुनै एउटा सम्म व्यक्ति वा संस्था प्रति जनताको आस्था र विश्वास नहुनु भनेको राज्य भित्र भित्रै सड्नु सरह हो। शरीरको अङ्गलाई सड्नवाट बच्न पहिला त्यहाँ सम्म अक्सिजनको आपूर्ति गर्नु पर्छ। अहिलेका शासकलाई त्यो अक्सिजन कसरी पुर्याउने भनेर सोध्नुस त कि गाली आउँछ कि उपदेश, उपाय केही आउँदैन । हो, अलि अलि पिप जमेको घाऊ कोट्याउँदा आनन्द आउँछ, त्यसैले कतिले आनन्दको अनुभूति गरेका होलान तर फैलँदा त्यसले ल्याउने जोखिम ’bout सोचेका सम्म छैनन । सरकार कुनै कुनै घाऊको पिप कोट्याउँदै छ तर रोगको छेउ छाउ पुगेको छैन ।

अहिले नेपालको मूख्य आवस्यकता भनेको रेल, बिजुली, सुरुङ्ग मार्ग, पानी जहाज होइनन ति सडेका अङ्गको पुनर्ताजगीकरण हो । ति अङ्गलाई पुर्नर्जीवन दिएर सबै अङ्गको इमान्दार योगदान सुनिश्चित गराउन सके भौतिक विकास भनेका कुनै समय लाग्ने कुरै होइनन। ति अङ्गको पुनर्जीवनले जनताको राज्य प्रतिको आस्था र विश्वास बढाउन मद्दत गर्छन र त्यही विश्वासको धरातलमा हाम्रा सपनाले मूर्तता पाउने हुन। हामी अझै एउटा व्यक्तिको सपनाले देश बन्छ कि सामुहिक सपनाले भन्ने विषयमा स्पष्ट रुपमा विभाजित छौँ । एकव्यक्तिको सपनाको सिद्धान्तमा विश्वास गर्छौँ भने त्यस्तो व्यक्तिले कतिपय मानवीय कमजोरीबाट माथि उठ्नु पर्छ । विश्वास आर्जन गर्ने भनेको पनि सामाजिक सम्झौताको एउटा रुप हो।

उसबाट कस्तो व्यवहार प्रदर्शन भए वापत हामी कुन कुन अधिकार उसलाई सुम्पने भन्ने नितान्त एउटा सामाजिक सम्झौताको विषय हो। नेपाल नयाँ परिवेशमा, नयाँ सन्दर्भमा नयाँ सामाजिक सम्झौताको सङ्घारमा उभिएको छ । त्यो सम्झौता कसैको नायकत्वलाई केन्द्रबिन्दुमा राखेर गर्ने कि समाजमा उपस्थित सबै शक्तिको सहअस्थित्वलाई आधार बनाएर गर्ने भन्ने अहिलेको ज्वलन्त प्रश्न हो। कुनै पनि दल, नेता, वा समुदायले अर्कोमाथि नियन्त्रण गर्ने वा कजाउने अवस्था अव छैन । एकल नायक बनाए पनि जनविश्वास कै आधारमा बन्छन, बहु-नायक भए पनि सह-अस्थित्वको आधारमा शक्ति सन्तुलनलाई हेरेर बन्ने हो। एकल नायकत्वले त्यस्ता नायकको अतुलनीय इमान्दारिता खोज्छ,
बहु-नायकत्वले एउटा बलियो प्रणाली ।

कतिलाई भ्रम होला आफ्ना पछि सबै हिँडेका छन भन्ने, आफूले भनेको सबैले सुनेका छन भन्ने, आफ्ना कामबाट सबै सन्तुष्ट छन भन्ने र आफ्नो नियतलाई कसैले सङ्काको नजरले हेर्दैनन भन्ने । मान्छे बाँच्ने चार प्रमुख आधार मध्ये एउटा भ्रम पनि एक हो। कतिले मायाँ भन्छन,अङ्ग्रेजीमा इलुजन भन्छन। यस्तै यस्तै अनगिन्ति भ्रमहरूको पोकाले हामीलाई बचाएको हुन्छ । तर यथार्थ के हो भने पूर्व एमालेको ठूलो पङ्ति ओली प्रति विश्वस्त छैन, पूर्व माओवादिको त्यत्रै पङ्ति प्रचण्ड प्रति र काङ्ग्रेसको ठूलो समूह देउवा वा पौडेल वा सिटौला प्रति विश्वस्त छैनन।

उमेर, शरीर र पारिवारिक अवस्थाले पनि कार्यकर्ताको विश्वास आर्जन गर्न सबै भन्दा सजिलो ठाउँमा अहिले केपी ओली छन । स्वार्थबस एकठाउँमा बसेका र आँट नभएर छुट्टिन नसकेकाहरूलाई श्रद्धा तथा आस्था भएरै पछि लाग्ने बनाउन उनले गर्नुपर्ने त्याग केही छैन, केवल आफू सरह योगदान भएका नेताको अस्थित्व स्वीकार गर्दिए पुग्छ, सम्भवतः संसारकै सबै भन्दा ठूलो सङ्गठित र अनुशासित कार्यकर्ता पङ्तिलाई काखा र पाखा नगर्दिए पुग्छ। नेपाली समाजले सामान्य उपचार होइन सल्यक्रिया नै खोजेको छ। यस भित्र गुठि पनि पर्छ, मिडिया पनि पर्छ, एनजिओ पनि पर्छन । त्यस्तो सल्यक्रिया गर्नु अघि केवल पार्टी पङ्ति्लाई विश्वासमा लिए पुग्छ, पार्टी नेताको विचारलाई सामेल गरी परिपक्व कदम मात्रै चाले पुग्छ। पार्टी भित्रको विश्वास नै यस्तो भऱ्याङ्ग हो जसले ओलीलाई आम जनताको विश्वास जित्न सजिलो बनाउँछ ।

प्रमुख कार्यकारी प्रतिको जनविश्वास भनेको राज्यका सबै अङ्ग प्रति जनताको आस्था स्थापित गर्ने काम हो । नेपाली राज्य सञ्चालनको त्यो आनुवांशिक असाध्य दुर्लभ रोगबाट भावी पुस्स्ताले पिडित नहुनु नपर्ने अवस्थाको ग्यारेण्टी पनि यही हो। यति मात्रै गर्न सके नेपाली राजनीति अर्को दुईसय वर्ष गलत बाटोमा जाँदैन ।आफ्नो सालिक होइन आफ्ना उत्तराधिकारी हिँड्ने बाटोमा लगानी गर्न सके सालिक खुइलिए पनि ओलीको अनुहार राज्यका सबै अङ्गमा देखिइरहने छन । आगे उनकै मर्जी ।