उच्चस्तरीय पागल प्रेमीहरु

भागवत खनाल
देवाधिदेव महादेव
हाम्रा भोले शंकर बाबा र सती दुवैजना बडो प्रेमले पासा खेल्दै थिए । यस्तैमा कतैतिर जाने मानिसको
घुइचो देखियो । सतीले महादेवसंग सोधिन, यी मानिसहरु कता जान लागेका भीडका भिड हतारिंदै र दौडदै ?
भोलेनाथले भन्नुभयो, यिनीहरु जता जाउन किन चासो लिनु पर्यो ? आफ्नो कामसित मतलब राख्नुपर्छ, दुनिया के के गर्छन कता कता जान्छन भन्ने कुरामा ध्यान दिन हुदैन। तर सतीले ती मानिसहरु कता जान लागेका भनी पत्तापाएरै छाडिन। उनलाई थाहा भयो यो सारा भिड त उनकै माइतीघर पो जाँदै छ। उनले पत्तो पाइन्, उनको माइतीमा विशाल यज्ञ हुदै छ, त्यो यज्ञमा संसारभरीका मानिस सामेल हुदै छन्, टाढा टाढासम्म निम्तो पठाइएको छ र यो अभूतपूर्व यज्ञमा सामेल हुन पूरा विश्व उद्वेलित छ।
आफ्नै माइतीघरमा भव्य यज्ञ हुदै छ, सारा संसारमा निम्तो बाडिएको छ,यज्ञप्रति दुनियाको कत्रो जिज्ञासा छ, तर जेठी छोरीलाई निम्तोसम्म छैन, जेठोबाठो ज्वाईको कुनै मान मनिता छैन। यस्तो उपेक्षा ? यस्तो अपहेलना ? यस्तो अपमान ? यस्तो तिरस्कार ? सतीलाई अत्यन्त दुख लाग्यो, अपमानित र बहिस्कृत भएको महसुस गरिन। तर छोरीको मन न हो, उनले नबोलाए पनि माइत जाने अठोट गरिन। महादेवले जानु हुदैन, यज्ञ पूजादिमा आफ्नै बाबुको घरमा पनि निम्तो नपाई जानु हुदैन, आफ्नो मान रहदैन, अपहेलित हुनु पर्छ, झन् पीडा हुन्छ भन्दा पनि सतीले मान्दै मानिनन। हजुर नगए नजानुस म तएक्लै भए पनि जान्छु भन्न थालिन। महादेवको केही लागेन, उनी बाटो लागिन।

सती माइत पुगिन। बाबुले चाल नपाएजस्तो गरे। सबै बहिनीहरु आआफ्ना पतिसंग आएका, सबै रमाइलो
गरिरहेका, अशंख्य पाहुनाको लागि भव्य स्वागत भैरहेको छ, सबै खुसी छन्, अनेकथरी मनोरंजन हुदै छन्,
इच्छा अनुसारको खाना, आमोद प्रमोद र गाना बजाना । यति बृहत् र खुसीको समारोहमा आफू र आफ्नो लोग्नेलाई मात्र किन बाहेक गरियो भनेर उनले पितालाई सोधिन। पिता दक्षले हेलासंग भने, हेर छोरी तेरो पति अघोरी छ, फोहोरी छ, जहाँ पायो जान्छ, जे पायो खान्छ, जो पायो त्यसैसंग संगत गर्छ, न सभ्यता छ, न लाज छ, न कुनै अनुशासन। यस्तो भव्य समारोहमा त्यो फोहोरीलाई कसरी बोलाम ? कसरी मेरो जेठो ज्वाई भनेर परिचयगरम ? कसरी आसनमा बसाम त्यसलाई ? छोरी तलाई मात्र बोलाम भने त्यो पनि बहुलाजस्तो तेरो पछि लागेरआउला भनेर तलाई पनि नबोलाएको हो।
पिताका यस्ता कुरा सुनेर सतीलाई अत्यन्तै दुख लाग्यो, आफैले कन्यादान गरेर दिएको ज्वाईप्रति यस्तो अपमान ? यस्तो बहिस्कार ? यस्तो दुर्वाच्य ? उनले पितालाई सम्झाइन हे पिता ! मेरा पति महान छन्, वीर छन्, प्रतापी छन्, सुन्दर छन् , सौर्य र तेजले युक्त छन्, उनी चाहुन त यो यज्ञलाई नै तहस नहस गर्न सक्छन, तस्मात उनलाई बोलाउनस, ढिलै भए पनि ससुराले सम्झे भनेर आउने छन्। कृपया आफ्नो जेठो ज्वाईलाई बोलाएर यथास्थान दिनुहोस। तर दक्षले मानेनन्, त्यो फोहोरी यहाँ बोलाउन लायक छैन, तलाई बस्न मन छ बस, तर त्यसलाई त बोलाउन्न भनेपछि सतीलाई असह्य भयो, उनी यो अपमानलाई सहन सकिनन्, होम भैरहेको अग्निकुण्डमा हाम फालिन।
महादेवले सतीलाई अत्यन्त प्रेम गर्थे। उनी सूरवीर थिए, सुन्दर थिए, सदा जवान थिए, आकर्षक
व्यक्तित्वका धनी थिए, जे चाह्यो हासिल गर्न सक्थे, उनीसंग यो जगतमा हरेक कुरा उपलव्ध थियो। उनी
जुनसुकै नारीलाई आफ्नो प्रेम र वाहुपाशमा कैद गर्न सक्थे। यति हुँडाहुदै पनि बाबा भोलेनाथ सती बाहेक अरु कुनै नारीप्रति आशक्त थिएनन, इमान्दार र सच्चा प्रेमका प्रतिक थिए उनी। जव प्राणप्यारी सतीले अग्नि प्रवेश गरेकोथाहा पाए, उनी ससुरा दक्ष प्रजापति मात्र हैन त्यो यज्ञमा सहभागी सबैसंग अत्यन्त क्रुद्ध भए। उनले तुरुन्त
आफ्ना गणहरुलाई बोलाएर यज्ञ ध्वस्त पार्न आह्राए। उनका गणले सारा यज्ञलाई छिन्नभिन्न पारिदिए, यज्ञमा
आउने सबै हाहाकार गर्दै भागे।

सतीको बिछोड महादेवको लागि साह्रै असह्य र पीडादायी भयो। उनी ठूलो बिलौना गर्दै सतीको शव काधमा राखेर संसारमा विचरण गर्न थाले। संहारका प्रतिक सदाशिव आज अकिन्चन र साधारण मनुष्य जस्तो शोकाकुल हुँदै यत्रतत्र भौतारिन थाले, हा सती हा सती भन्दै ! भनिन्छ पत्नी वियोगमा जस्तो शोक शिवले गरे आजसम्म कुनै पतिले गरेको छैन। सुध बुध छैन, कहाँ के भैरहेको छ केही थाहा छैन, एक्लै रोएको छ, बिलौना गरेको छ, डाँडा काँडा, कुना कन्दरा, उकालो ओरालो, जाडो वर्षा, रात दिन सबै उस्तै।
छ त केवल प्रेमिकाको शव छ साथमा,न सतगत गर्नु छ, न क्रिया कर्म गर्नु छ, न कतै आराम गर्नु छ, न कसैसंग बोल्नु छ, न कसैको सहयोग र समवेदना लिनु छ। एकोहोरो शोक शोक शोक। साधारण मनुष्य जति नै शोकाकुल भए पनि समयको प्रवाहसंगै मन बुझाउदै जान्छ र अन्तमा आफूलाई सामान्य जिन्दगानीमा फर्काउँछ, तर यी भोलेनाथले त उल्का नै गरे। धन्न विष्णु भगवानले सतीको शवमा झिंगा, कीरा, औंसा जस्ता कुहाउन सहायक हुने जीवाणु प्रवेश गराएर शवलाई गलाइदिए। नत्र त आज पनि भोलेबाबाको हा सती हा सती भन्दै शवलाई काधमा राखेर हिडेको रुप हामी पनि देख्न पाउँथ्यौं होला।
अयोध्या नरेश दशरथ
दशरथ अत्यन्त प्रजावत्सल राजा थिए। उनी सत्यवादी, सच्चरित्र , अनुशासित र मर्यादित इक्ष्वाकु वंश
शिरोमणि थिए। दुख थियो त एउटा मात्र, उनलाई पुत्र पैदा भए। पछि ऋषि कृपाले जेठी कौशल्याबाट राम,
माहिली कैकेईबाट भरत र कान्छी सुमित्राबाट लक्षमण र शत्रुघ्न पैदा भए। सारा कोशल राज्यमा हर्षको सीमा रहेन। राजकुमारहरु ठूला हुँदै गएको, आफू बृद्ध हुँदै गएको र प्रजाले पनि रामलाई राजा बनाए हुन्थ्यो भन्ने भावना राखेको हुँदा राजा दशरथले रामको लागि गद्धी खाली गरिदिने र रामको राज्याभिषेक गराउने बिचार गरे।भव्य रुपमा तयारी हुन थाल्यो।
तर नियतिको निर्णय अर्कै थियो। माहिली रानी कैकेईले आश्चर्यजनक र असह्य माग पो गर्न पुगिन। बिचरा
सोझा दशरथ राजा सबै रानीलाई बरावर माया गर्ने प्रयाश गर्थे तापनि उनी कैकेइको प्रेम पाशमा बढी जकडिएका थिए। कैकेईले सकेसम्म राजाको बढी समय आफूलाई प्राप्त होस् भन्ने चाहन्थिन, राजाले त्यो पूरा गरिदिन्थे। उनी अरु रानीभंदा धेरै सुन्दर, बुद्धीमान र बहादुर पनि थिइन। उनी नाच्न, गाउन, बजाउन र मनोरंजन गर्न सिपालु थिइन। यिनै प्यारी र सुन्दरी रानीले अचानक माग गरिन कि रामलाई हैन उनको छोरा भरतलाई राज्य प्राप्त होस् र रामलाई १४ वर्षको लागि बनवासमा पठाइयोस। राजा स्तव्ध भए। के भयो यो अकस्मात हिजोसम्म त कैकेई पनि खुसी थिइन, रामको राज्याभिषेकको व्यग्र प्रतिक्षामा थिइन !
वास्तवमा कैकेईलाई यो बुद्धी दिने पात्र थिइन मन्थरा। मन्थरा कैकेइकी सानी बालिका हुँदादेखिकै सेविका
थिइन। कैकेई सानै हुँदा उनका बाबुले उनकी आमालाई घरबाट निकाला गरेका थिए। त्यसैले उनको पालन पोषण र हेरचाह मन्थराबाट भएको थियो। मन्थरा सुसारेको रुपमा उनीसंगै आएकी थिइन। मन्थरालाई आफूले आजीवन सेवा गरेकी महिला राजमाता भएको हेर्ने चाहना हुनु स्वाभाविकै हो। बरु एउटा दासीको बुद्धीमा लागेर आफैलाई सदाका लागि बदनाम गराउनु, सोझा पतिलाई पुरानो प्रतिज्ञा पालना गर्न वाध्य पार्नु, आफ्नो सौन्दर्य , सौर्य र मौकामा ज्यान बचाएको जस्ता कुरा निकालेर निहु खोज्नु कैकेईलाई सुहाउने कुरा थिएन।

राजा दशरथले यी मागहरु फिर्ता लिन रातभरी अनुनय गरे पत्नीसंग। धेरै रोए कराए, तर उनी हठ छोड्न
तयार भइनन। अन्तमा राजाले आफ्नो वचन पूरा गरेरै छाडे। एक समयमा आफूले अति नै प्रेम गरेकी, सुन्दरी र
बहादुर रानीलाई मौकामा दिएको बचनबाट वद्ध भएका राजाले उनको माग बमोजिम भरतको राज्याभिषेक र रामको १४ वर्ष वनबासको घोषणा गारे। यही शोकबाट उनको मृत्यु भयो र श्रवण कुमारका पितामाताको श्रापले पनि मूर्त रुपपायो। बुद्धीमान रानीले दासीको उक्साहटमा लागेर अनुचित निर्णय गर्दा पति गुमाउनु पर्यो, छोरा भरतले राज्य प्राप्त गर्न मानेनन्, उल्टै धेरै निन्दा गरे आफ्नी आमाको। भविष्यमा तिम्रो नामबाट कसैले आफ्नी पुत्रीको नाम राख्ने छैनन्, तिमी सदासर्वदाका लागि एक बदनाम पात्रको रुपमा रहने छौ समेत भन्न भ्याए।
हस्तिनापुर नरेश शान्तनु
द्वापर युगमा हस्तिनापुरमा कुरुवंशी राजा शान्तनुको शासन थियो। राजा योग्य र लोकप्रिय थिए।
चतुर्दिक शान्ति थियो, प्रजा बडो आनन्दमा थिए। एक दिन राजा घुम्दै फिर्दै कतै जाँदै थिए, उनको आँखा एक
सुन्दर युवतीमा पर्यो।उनी ती युवतीको रुपमा मोहित भएर सारा होस् हवास नै गुमाउन पुगे। ती युवती एकजना
माझीकी ( केवट, निषाद ) पुत्री थिइन। घरमा जवान छोरो छ ,छोराको लागि कन्या खोजेर बिहा गराइदिएर आफू बानप्रस्थमा जाने बखत भैसक्यो। त्यसो गर्नु परै जाओस राजा त एकतर्फी प्रेम बन्धनमा पो फस्न पुगे।
उनले निषादसंग छोरी मागे तर निषाद बाठा रहेछन, भनिदिए मेरी छोरीबाट पैदा हुने सन्तानलाई हस्तिनापुरको राजा बनाउने भए छोरी दिन्छु नत्र दिन्न।राजा शान्तनु निराश भएर त फर्के तर न प्रजाको डर, न लोकको लाज न
युवक पुत्रप्रति संकोच ! त्यो प्रेमले राजा बेहाल हुन थाले। खान, बोल्न, निदाउन, राजसभामा जान र राज्य
व्यवस्थामा नै वास्ता गर्न छाडे, टोलाउन थाले र दुब्लाउदै गए। जवान युवराज देवब्रतले बाबुको यो गति हुनुको
रहश्य पत्ता लगाए, उनले बुझे, पिता माझीकी पुत्रीबाट जन्मेको छोरालाई राजगद्धी दिने कबुल गर्न अनकनाउनुमा उनी आफै युवराज नै मूल कारण थिए।

उनले बाबुको खुसीको लागि जीवनभर राजगद्धीमा नबस्ने र आजीवन बिवाह नगर्ने प्रण गरे। कामदेवले डसेका निर्लज्ज बाबुले छोराको उत्सर्गमा माझीपुत्री बिहा गरे, उनैका पुत्रलाई राजा बनाउने प्रण गर्दै। कति क्रूर कामबाण ,कति स्वार्थी बाबु ! न कूलधर्मको वास्ता भयो, न परम्परा मानियो, न नैतिकताको पालना भयो न राजधर्मको मान राखियो। नारीको सुन्दरता कति बलियो, सुन्दरताको अगाडि राजाको त्यो हविगत, र शक्तिको आडमा भगवान समान पूजिएका राजाको त्यो निर्लज्ज कर्तुत। इतिहासमा यस्ता युगान्तकारी कर्तुत धेरैले गरेका छन् र अझै गर्नेछन।
नेपाल नरेश रण बहादुर शाह
राजा रण बहादुर शाह सुन्दर व्यक्तित्वका धनी थिए। उनी आफू जति सुन्दर थिए उति नै सुन्दर युवतीका
शौकिन पनि। राजा थिए, जसलाई जे पनि गर्न सक्थे, त्यो जमानामा भगवान नारायणका अवतार भनिने राजावाट जस्तोसुकै अन्याय भए पनि को बोल्ने। यस्ता कामदेव राजा भएपछि चाटुकारहरुले पनि त्यस्ता केटीको खोजी गर्ने नै भए, सुन्दर युवती पत्ता लगाउनेले पुरस्कार पाउने नै भए। एकदिन यस्तै चाटुकारले पशुपती मन्दिर परिशरमा एकजना अनुपम सुन्दरी देखे। ती थिइन तिरहुते ब्राह्मणकी बिधवा कान्तवती। कान्तवती आफन्तहरुसंग तीर्थाटनको लागि आएकी थिइन, पशुपती दर्शन गरीवरी उनीहरु आराम गरेर बसेका थिए।
त्यस्ती अनुपम सुन्दरी’bout सुनेपछि कामदेव राजा लालायित नहुने कुरै भएन, गए मधेसी विधवालाई हेर्न।
देख्नु के थियो राजा पागल भए। उनको लागि अव आफैले मन पराएर बिहा गरेका रानी र असंख्य ( रखौटी )
सुन्दरीहरु सबै फिका भए। उनले ती विधवालाई लैजान खोजे, तर उनी मानिनन। उनी वास्तवमा राजा नै पाए पनि बिहा गर्ने बिचारमा थिइनन। उनी धर्मकर्मपूर्ण वैराग्ययुक्त जीवन व्यतित गर्न चाहन्थिन, आफ्नो दिवंगत पतिको सतमा रहन चाहन्थिन। तर राजाके आगे वापकी दुहाइ जस्तो भयो, राजाले फर्कनै दिएनन। अनेक अनुनय विनय गर्न थाले। भित्रैबाट माया लागेको हुदा जवर्जस्ती पनि गरेनन। अन्तमा केही नलागेर कान्तवतीले भयङ्कर र अस्वाभावाविक सर्त राखिन राजाको सामु। उनले भनिन मबाट जन्मेको छोरालाई राजगद्धीको उत्तराधिकारी बनाउने हो भने बिहा गर्छु। राजा यस्तो कडा र धर्मबिरुद्धको सर्त सुनेर स्तव्ध भए, तर के गर्नु जव दिल नै खोसेपछि ? रातको निद र दिनको भोक हरण गरेपछि ? राजा त्यो अवान्छित, अनुपयुक्त, अधर्मी र अनैतिक सर्त मान्न तयार भए।

रण बहादुर शाहको कर्तुतको विरुद्ध उठ्न खोजेको मधुरो आवाज पनि दवेर गयो। राजाले बिधवा बाहुनीसित विवाह गर्न हुदैन, यो विहाह प्रतिलोम विवाह हो, शाश्त्रसम्मत छैन, मिल्दैन भनेर मसिनो स्वरमा बोल्ने ब्राह्मणहरुको दशा लाग्यो, मिल्छ मिल्छ राजा भगवान हुन् जे गरे पनि हुन्छ भन्ने बाहुनहरुले पारितोषिक पाए।उनले अनैतिक र अधार्मिक ( परिवेस र खानदानी अनुशासन अनुसार ) विवाह गरे। तिनै रानीबाट जन्मेको बालक गिर्वाणलाई राजगद्दीमा चढाए र पाल्पाली राजा प्रिथ्विपाल सेनबाट राज्याभिषेकको टिका लगाएर
त्यसलाई बैधानिक बनाए।
राजा रण बहादुर शाहले बिधवा बाहुनी बिहा मात्र गरेनन तत्कालको समाजले मनै नपराउने काम समेत गरे, प्रतिलोम विवाह गरेर त्यसैबाट उत्पन्न सन्तानलाई राजा बनाए। डेढ वर्षे बालकलाई राजगद्धीमा राखेर आफू जोगी भएको तमासा गरे। ती रानीलाई राजयक्ष्मा रोग लाग्दा उनलाई बचाउन ठूलो दान गरे। रानीलाई सन्चो गराउने वैद्यलाई धेरै बक्सिस दिने आस देखाए। धेरै बैद्यको भागाभाग भयो, केही हिम्मतिलाले आँट गरे तर बचाउन सकेनन, ’emको फजिहत भयो। बाहुनहरूलाई दान गरेका धन माल सबै फिर्ता गरे। देवी देवतालाई पनि दशा लाग्यो। मानव बिस्टाको धूप पनि दिए अधार्मिक राजाले। लौ म अव बाच्दिन सती जान्छु भन्दै रानीको चोली काधमा हालेर पनि दौडे। कस्ता पागल प्रेमी ! त्यही बेलादेखि नेपालमा अस्थिरता आयो, बालक राजाको शासन, दरवारमा षड्यनत्र, दरवारभित्रका महिलाहरुबीचको ईर्ष्या र मनोमालिन्यले उग्र रुप लियो।
अलाउद्दीन खिलजी

मध्यकालीन भारतको चित्तौडगढ़ राज्यमा प्रतापी राजा रतन सिंहको शासन थियो। राज्य धनी थियो जनता
खुसहाल थिए, तर त्यहा नारी सुन्दरताको कारण दशा लाग्न पुग्यो। राजा रतन सिंहकी रानी पद्मावती अत्यन्त
सुन्दर थिइन। उनी बुद्धीमान र बहादुर पनि थिइन। उनको सुन्दरता’bout दिल्लीका सुल्तान अलाउद्दीन खिलजीले
पत्तो पाएछन्। उनी देख्दै नदेखेकी युवतीको प्रेममा परे। बिचरा पद्मावतीको कुनै दोष थिएन। उनी पतिब्रता रानी
थिइन। तर बिडम्बना रानीको सुन्दरताको बखान सुनेका अलाउद्दीन खिलजीले चित्तौगढ़मा आक्रमण गरे, राज्य
ध्वस्त भयो। पद्मावतीको एक झलकको लागि तडपेका थिए दिल्लीका बादशाह । रानीले पनि खिलजीसंग जानुभन्दा जौहर गर्न उचित ठानिन भनिन्छ। रानीको रुप, व्यक्तित्व र सुन्दरताको बखान मात्र सुनेको खिलजीले एकतर्फी प्रेममा परेर ती सुन्दर युवतीलाई प्राप्त गर्न अर्को राज्यमा हमला गरे पनि उनलाई प्राप्त गर्न सकेनन।उनको चाहना पूरा हुन सकेन। अनाहकमा जनधनको खति गरेर खाली हात फर्कनु पर्यो।
राजीवलोचन राय ( काला पहाड )
मुगलकालीन भारतको बंगालमा सुल्तान सुलेमान कर्रानी मुगल सम्राटको गभर्नरको रुपमा तैनाथ भएर बसेका
थिए। उनको फौज र तत्कालीन हिन्दू राजाको सेनाबीच घमासान युद्ध हुदा उनी नराम्रो हार खाई सुलह गर्न बाध्य
भएका थिए। चलाख मुसलमान गभर्नरले बुझे कि जवसम्म हिन्दू राजाको कमाण्डर राजीवलोचन राय (कलाचन्द्र राय पनि भनेको पाइन्छ) लाई कुनै तरिकाले तह लाउन सकिन्न तवसम्म बङ्गाल र उडिसामा आफ्नो प्रभाव फैलाउन गाह्रो छ। उनले एक दिन राजीवलोचन रायलाई आफ्नो दरवारमा सन्धि सम्झौता ’bout सल्लाह गर्नु छ भनी बोलाए।राजीव र सुल्तानबीचको कुराकानीको सिलसिलामा सुल्तानको छोरी पनि उपस्थित थिइन।
ती युवती अत्यन्त सुन्दरी थिइन, अभूतपूर्व रुपमा आकर्षक। मुगल सल्तनतलाई ठेगानमा राख्न सक्ने क्षमता भएका महावीर राजीवलोचन ती युवतीलाई देखेर भुतुक्कै भए। यो सब सुल्तान कर्रानीले हेरिरहेका थिए, उनले आफ्नो योजनाले काम गरेको कुरा चाल पाइसकेका थिए। राजीवलाई भोजको निम्तो दिन थाले, जसमा ती युवती नहुने कुरै भएन। प्रेमले पागल भएपछि उनले सुल्तानसंग आफ्नो मनको कुरा पोखे। सुल्तानले इस्लाम धर्म स्वीकार गर्नेभए मात्र छोरी दिने अड्डी कसे। प्रेमको पाशमा जकडिएका राजीवले सारा कुरा बिर्से, आफ्नो धर्म, संस्कृति, आफ्नो रीति, कूल, राजकीय जिम्मेवारी, इज्जत आमद, सम्मान सबै भुले र ती अनुपम विश्व सुन्दरीसंग बिहा गर्न तयार भए सुल्तानको सर्त मान्दै।

बिचरा राजीवलोचन । उनी एक धर्मभिरु कट्टर ब्राह्मण परिवारमा जन्मेका वीर बंगाली योद्धा थिए।
प्रेमको यस्तो जालोमा फसे जसबाट निस्कन गाह्रो थियो। उनी पुनः हिन्दू हुने चाहना गर्दै आफ्नी श्रीमतीलाई पनि
हिन्दू धर्ममा ल्याउन प्रयत्न गरे। उनी पुरीस्थित जगन्नाथ मन्दिरमा दर्शन गर्ने हेतुले गए, तर उनलाई मन्दिरभित्र
पस्न दिइएन। उनले धेरै अनुरोध र अनुनय बिनय गरे, पण्डा र पंडितहरुसंग प्रार्थना गरे तर केही लागेन।पन्डाहरुले मानेनन्।
मुस्लिम महिलालाई कुनै पनि हालतमा हिन्दूमा रुपान्तरण गर्न नसकिने बताए। राजीवले अन्तिम प्रयास गरे आफ्नो संस्कार ग्रहण गर्ने, तर केही उपाय नलागेपछि उनी अत्यन्त क्रुद्ध भए। उनी क्रुद्ध भए, हिन्दूहरुमाथि दशा लाग्यो उडिसा, बङ्गाल र बिहारमा। उनी आगो भएर सुल्तानको सेनापति बन्न पुगे, जताततै आक्रमण गरे, अशंख्य हिन्दू मन्दिर भत्काए, मूर्ति फोरे, आतंक मच्चाए र अनगिन्ती हिन्दूहरूलाई मुसलमान बनाए। उडिसा, बिहार र बंगालका देव मूर्तिहरू लिएर कतिपय हिन्दू ब्राह्मणहरु भागाभाग गरे, कति मूर्तीहरु उनको कोपबाट जोगाउन माटोमुनि पुर्नु पर्यो। भनिन्छ सायद अझै पनि त्यसरी माटो र बालुवामुनी लुकाइएका मूर्ति अज्ञात रुपमा दबेरै बसेका छन्। यी राजीवलोचन आतंकको प्रतीकको रुपमा काला पहाडको नामले कुख्यात ( प्रख्यात ? ) भए।
ब्रिटिश सम्राट एडवर्ड आठौँ
सन् १९३६ को जनवरीमा एडवर्ड आठौँ ब्रिटिश सम्राटको गद्धीमा बसे। संसारभरी सूर्यास्त नहुने विशाल र महान
साम्राज्यको सम्राट भएर के गर्नु। राजाको प्रेम एकजना लोग्नेसंग डिभोर्स गरी अर्को बिहा गरेकी र त्यो दोस्रो
पतिसंग समेत डिभोर्स गर्न तम्तयार भएर बसेकी एउटी साधारण अमेरिकन महिलासंग बसेको थियो। बेलायत
आफ्नो परम्परालाई हतपती नछोड्ने, आफ्ना पूरातन संस्कार र संस्कृतिको जगेर्ना गर्ने र आफ्नो संस्कृतिप्रति गर्व गर्ने समाज भएको मुलुक हो। अझ राजपरिवारमा त झन् सांस्कृतिक बन्धन र परम्पराको पालना गर्नु पर्छ।
यी राजाले आफ्नो रसिक स्वभावको कारण चालीस वर्षको उमेरसम्म बैधानिक रुपमा बिहा गरेर घरजम गरेका थिएनन। पिता सम्राट जर्ज ( चौथा ) छोरा युवराजको चाला देखेर सधै दुखी रहन्थे। बिहा गरिदिन खोज्दा ल ल गर्ने हो भनी भनी टार्दै गए। प्रायः बिबाहित महिलासंग लहसिने छोराको प्रवृत्तिबाट हैरान भएका बाबु छोराको बेसरम प्रवृत्ति देखेर भन्ने गर्थे रे कि यसले राजगद्धीमा बसेको बाह्र महिनाभित्र राजगद्धी गुमाउने छ।
यस्तै पीडामा बिचरा सम्राट मरेर गए। एडवर्ड आठौँ गद्धीमा त बसे तर यी पागल प्रेमीले ती अमेरिकन अधबैसे महिलाई त्याग्न सकेनन। कहाँको ब्रिटिश सम्राट , कहा एउटी साधारण र हिड्ने बानी लागेकी साधारण महिला ! तर दैहिक सुन्दरता, प्रेम र त्यसप्रतिको आकर्षणले सम्राटलाई पनि बाकी राखेन। के दुनियामा अर्की युवती नै थिएनन ? के ती चालीस पार गरेकी दोस्रो लोग्नेकी पत्नीको तेस्रो लोग्ने हुनु यति महत्वपूर्ण कुरा थियो ? के त्यो सुन्दरता यति अनुपम थियो कि ब्रिटिश सम्राटले अतुलनीय मानुन ? तर भयो त्यस्तै ।

ब्रिटेनमा संबैधानिक र मानार्थ राजा हुने, उनको आफ्नै कुनै अधिकार नहुने हुदा उनले म त्यही महिलालाई
बिहा पनि गर्छु र राजा पनि पनि भइरहन्छु भन्न सक्ने अवस्था थिएन। उनी हाम्रा रण बहादुर जस्ता निरङ्कुश
शासक थिएनन। ब्रिटिश समाज, सरकार र संसदले तेस्रो बिहा गरेर ल्याइएकी आइमाईलाई साम्राज्यको राजमहिषीको रुपमा स्वीकार गर्ने सम्भावना थिएन। अव राजाको सामु दुइटा विकल्प खडा भए, चुप लागेर ती महिलालाई बिर्सने या प्रेमिकालाई त्याग्न नसक्ने भए गद्धी त्याग गर्ने।
राजाले दोस्रो र आश्चर्यजनक विकल्प रोजे। उनले आफ्नो बाबुको भविष्यबाणी चरितार्थ गर्दै गद्धीमा आरुढ भएको ठिक बाह्र महिनापछि १९३६ डिसेम्बरमा अत्यन्त शालीन र सभ्य भाषामा मार्मिक र युगान्तकारी शाही घोषणा गर्दै राष्ट्र र जनताको नाममा सम्बोधन गरे। उनले गद्धी त्याग गरे। एउटी अधबैसे आइमाई छोड्न सकेनन बरु साम्राज्यको गद्धी त्याग गरे। वाह प्रेम ! यो घटना मामुली हैन र यो यी राजाप्रति घृणा जन्माउने घटना पनि हैन। यो महान प्रेमीको महान त्यागको घोषणा थियो। धेरै मानिसको धारणा उनको यो हविगतप्रति आक्रोश र घृणाभन्दा पनि माया, दया र सहानुभूतिको रुपमा रह्यो। उनी देशै छोडेर हिडे र आजीवन ती महिलासंग रहे।
माथि उल्लेख गरिएका बाहेक ज्ञात अज्ञात असंख्य घटना छन् यस जगतमा , जसले ठूला ठूला युद्ध निम्त्याए, कति राज्य विलीन भए र अनाहकमा एकजना सुन्दरीको लागि हजारौं लाखौँ निर्दोष मानिसहरुले जीवन गुमाउनु पर्यो। राजा दशरथले सत्यवादीताको ढोंग र पुरानो प्रतिज्ञाको आडम्बरबाट मुक्त भएर रानी कैकेईको मागलाई अस्वीकार गरेको भए रामलाई बनबासमा जानु पर्दैनथ्यो, सीता हरण, युद्ध र अग्नीपरीक्षा दिनु पर्दैनथ्यो। राजाले पुत्रशोकमा ज्यान गुमाउनु पर्दैनथ्यो र कैकेईले पनि अभिशप्त खलपात्र बन्नु पर्दैनथ्यो होला। राजा शान्तनुले माझीकन्याप्रति आकर्षित भएर त्यत्रो बितण्डा नगरेको भए कुरू युद्ध हुने थिएन होला। राजा रण बहादुर
शाहले बिधवा बाहुनी बिहा मात्र गरेनन तत्कालको समाजले मनै नपराउने काम समेत गरे, प्रतिलोम विवाह गरेर
त्यसैबाट उत्पन्न सन्तानलाई राजा बनाए। डेढ वर्षे बालकलाई राजगद्धीमा राखेर आफू जोगी भएको तमासा गरे। अलाउद्दीन खिलजीको एकतर्फी प्रेमले गर्दा चीत्तौडगढ़ राज्य तहसनहस भयो। राजीवलोचन राय जस्तो बहादुर हिन्दू सेनापतिले प्रेममा होस् गुमाउदा र हिन्दू पण्डितहरुको नाजायज हठले गर्दा बङ्गाल र बिहारमा हिन्दू धर्मको नास हुन पुग्यो। सम्राट एडवर्ड आठौँले एकजना महिलाको लागि सम्राट पद नै गुमाउन पुगे र ब्रिटिश साम्राज्य र ब्रिटिश राजपरिवारको गरिमामा युगान्तकारी दाग लाग्यो ।
(लेखक, भागवत खनालले विश्वका प्रेमीहरुको यो कहानी रोचक रुपमा प्रस्तुत गरेका छन् । प्रत्येक शनिवार सदृश्यमा भिन्नाभिन्नै प्रेम कहानी सृंखलाबद्ध रुपमा प्रस्तुत हुनेछ । सम्पादक)

