महामन्त्रीले फकाउँदा पनि किन भेट्न मानेनन् देउवाले ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दिनभरी नै आफ्नो कार्यकक्षमा थिए तर आफ्नै गृहजिल्ला डडेल्धुराका सभापति र नेपाल महिला संघका नेताले भेट्न पाएनन् । कतिसम्म भयो भने महामन्त्रीले फकाउँदा समेत देउवाले जिल्लाबाट आएका नेतालाई भेट्न मानेनन् ।
प्रसंग गएको शुक्रबारको हो । कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल महिला संघका सभापतिसहितका कार्यकर्तासँग कांग्रेस मुख्यालय वीपीनगर काठमाडौं पुगेका थिए । महिला संघ डडेल्धुरामा महिला संघ केन्द्रले विधानविपरित हस्तक्षेप गरेपछि बल्झिएको विवाद साम्य पार्न देउवासँग सल्लाह गर्न चाहन्थे सभापति मल्ल ।
उनले यसअघि जिल्लाबाट पनि कैयौं पटक सभापति देउवासँग फोनबाट सल्लाह गर्न प्रयाश गरेका थिए । तर उनले र उनका सहयोगीले मल्ललाई सहयोग गर्न चाहेनन् । त्यसैकारण उनी सुदूरपश्चिमबाट काठमाडौं आएका थिए ।
केन्द्रीय कार्यालयमा अनेक प्रयाश गर्दा पनि देउवाले समय दिन मानेनन् । अनि मल्लले महामन्त्री शशांक कोइरालालाई आफ्नो बिषय बताए । पार्टी कार्यालयको कार्यकक्षमै बसेर पनि गृहजिल्लाबाट आएका नेता भेट्न नमानेको थाहा पाएपछि देउवासँग कड्किए कोइराला । कोइरालाले मल्ल टोलीको कुरा वृत्तान्त सुने अनि उनले ल्याएको निवेदन दर्ता गर्न कार्यालय प्रशासनलाई आदेश दिए अनि दर्ता भयो निवेदन ।
सभापति मल्ल भन्छन्– ‘आफ्नै जिल्लाको म पार्टी सभापति र महिला संघकी सभापति सहितको टिमले भेट्न चाहँदा समेत केन्द्रीय सभापतिले समय दिन चाहनुभएन । म त आश्चर्यचकित भएको छु ।’
सभापतिले समय नदिएपछि भवनको माथिल्लो तलामा बसिरहेका उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्कासँग भेटे मल्लले । मल्लले जिल्लाको महिला संघ सम्बन्धी विवादको वृत्तान्त उनीहरुलाई पनि सुनाए । त्यसपछि महामन्त्री खड्का उठेर सभापति देउवाको कार्यकक्षमा छिरे । केहीबेरपछि फर्किएर उनले भने–‘उहाँ तपाईंहरुसँग भेट्न चाहनुहुन्न ।’
केद्रीय सभापति देउवाको व्यवहार देखेर आफूलाई आश्चर्य र दुःख लागेको सभापति मल्लले सुनाए ।
महिला संघ डडेल्धुराको नेतृत्व हटाउन संघकी केन्द्रीय सभापति उमा रेग्मीले सभापतिपत्नी आरजु देउवाको दवावमा परेर हस्तक्षेप गरेपछि विवाद सुरु भएको जिल्ला सभापति कमला बिष्ट बताउँछिन् । केन्द्रबाट विधानविपरित हस्तक्षेप नगरुन्जेल कुनै विवाद नरहेको बिष्टको भनाई छ ।
‘हामीले महिला संघ केन्द्रीय सभापतिसँग भेट्यौं,उहाँले यस बिषयमा मसँग होइन पार्टी केन्द्रीय सभापतिसँग नै कुरा गर्नोस्,सबै बिषय बुझ्नुभएकै छ,भन्नुभयो’ बिष्टले सरल पत्रिकासँग भनिन् ।
यस्तो छ विवादको कथा
नेपाली कांग्रेसको भ्रातृ संगठन, नेपाल महिला संघको जिल्ला नेतृत्व हटाएर आफ्नो मान्छे मनोनित गर्ने हस्तक्षेपकारी प्रयाशले डडेल्धुरामा कांग्रेसभित्रको शक्ति संघर्ष चर्किएको छ । संघको बहालवाला जिल्ला अध्यक्ष बर्खास्त गरी आफ्नो मान्छे मनोनित गर्न सभापति पत्नी आरजु देउवाले आदेश दिएपछि डँडेलधुरामा कांग्रेसका जिल्ला र केन्द्रीय सभापतिवीच शक्ति संघर्ष भएको बुझिएको छ ।
जिल्ला अधिवेशनबाट विधान अनुसार चुनिएकी कमला विष्टलाई अचानक हटाएर कलावती बोहोरालाई अर्को अधिवेशन तयारी समितिको संयोजक भनी मनोनित गरिएपछि विवाद सुरु भएको बताईएको छ । बिष्ट २०७१ मा जिल्ला अध्यक्ष चुनिएकी थिईन् ।
अध्यक्ष बिष्ट कांग्रेस डँडेलधुराका सभापति कर्ण बहादुर मल्ल पक्षधर मानिन्छिन् भने बोहोरा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षकी भनी चिनिन्छिन् । सभापति मल्ल र केन्द्रीय सभापति देउवा यतिबेला अलग अलग कित्तामा छन् । यही कारण बिष्टले आफूहरुलाई नगनेको भनी निकटतम सूत्रहरुको झोसपोलका आधारमा बर्खास्त गरि आफूले भनेअराएको मान्ने बोहोरालाई अधिवेशन तयारीको संयोजक भन्दै जिल्लाकै नेतृत्वमा मनोनित गरिएको स्थानीय कांग्रेसजनको बुझाई रहेको देखिन्छ । यसमा सभापति पत्नी आरजु देउवाको विशेष रुची रहेको उनीहरुको भनाई छ । स्थानीय पुराना कांग्रेस नेताहरु यो घटनालाई ‘डँडेलधुरामा देउवा र मल्लको लडाईँ’ भनी विश्लेषण गरिरहेका छन् ।
नेपाल महिला संघमा देखिएको विवादका ’boutमा कांग्रेस डडेल्धुराले शनिबार विज्ञप्ति जारी गरी विष्ट नै अध्यक्ष भएको दाबी गरेको छ । कांग्रेस डडेल्धुराले नेपाल महिला संघका केन्द्रिय अध्यक्षले पठाएको परिपत्रप्रति आश्चर्य व्यक्त गरेको छ ।
नेपाल महिला संघ केन्द्रीय कार्य समितिले अध्यक्ष बिष्टलाई संगठनबाट निष्काशन गरेको थियो । कांग्रेसको भ्रातृ संस्था महिला संघले शुक्रबार बिष्टलाई विधानको परिच्छेद ६ को धारा २५ ९३०० अनुसार साधारण सदस्यसमेत नरहने गरी तीन वर्षका लागि निष्कासन गरेको जनाएको थियो । यता कांग्रेस डडेल्धुराले नेपाल महिला संघ केन्द्रिय कार्यसमितिले अध्यक्ष विष्टलाई निलम्बन गरेको प्रति आपत्ति जनाएको छ ।
महिला संघ केन्द्रीय अध्यक्ष उमा रेग्मीले आरजु देउवाको दवावमा बिष्टलाई हटाएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताएका छन् । पार्टीको आगामी महाधिवेशनमा निर्वाचन साँठगाँठ गर्न बिष्टलाई हटाईएको उनको बुझाई छ ।
‘केन्द्रिय कार्य समिति आफैंले कमला विष्ट महिला संघ डँडेल्धुराको अध्यक्ष भनि परिपत्र गर्ने र महिला संघका केन्द्रिय नेताहरुको प्रमुख आतिथ्यता तथा कमला विष्टको सभापतित्वमा नेपाली महिला संघका कार्यक्रमहरु सम्पन्न भएका छन् । तर प्रेस विज्ञप्तिमा तपाईं अध्यक्ष कसरी हुनु भएको हो रु भनि प्रश्न गरिएकाले नेपाली कांग्रेस डँडेल्धुरा आश्चर्य चकित भएको छ ।’ भनी पार्टी जिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यसरी उत्पन्न भयो विवाद
केन्द्रले चौथो जिल्ला अधिवेशन तयारी समितिका लागि कलावती बोहरालाई संयोजक नियुक्त गरेपछि डँडेल्धुरामा महिला संघमा विवाद सुरु भएको थियो । केन्द्रले जिम्मेवारी दिएपछि साउन ७ गते पार्टी कार्यालय, डँडेल्धुरामा बैठक राख्न खोज्दा उनको समूहमाथि कुटपिट समेत भएको थियो । कुटपिटबाट महिला संघ डँडेल्धुराकी नेतृ वसन्ती भण्डारीलगायतका घाइते भएका थिए ।
कुटपिटमा बिष्टको संलग्नता रहेको भनी महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको थियो । नेपाल महिला संघ केन्द्रीय कार्य समितिले स्वघोषित अवैधानिक अध्यक्ष बनेर जिल्लामा नेपाल महिला संघमा विवाद सिर्जना गरेको विष्टलाई आरोप लगाइएको थियो ।
विगत चार वर्षदेखि विवादले घेरिएको महिला संघ विधि विधानअनुसार गठन हुनुपर्ने अधिकांशको मागपछि केन्द्रीय छानविन टोली डँडेल्धुरा पुगेको थियो । उक्त टोलीको छानविन पछि परशुराम नगरपालिकाकी उपप्रमुख बोहरालाई संयोजक तोकेको पत्र डँडेल्धुरा पुगेको थियो । उक्त पत्र डँडेल्धुरा पुगेसँगै कांग्रेस पार्टीभित्र गुटगत विवाद सुरु भएको थियो । उक्त विवाद कुटाकुटमा परिणत भएको थियो ।
यसअघि गत असारमा महिला संघको केन्द्रीय समितिले बिष्टको अध्यक्षतामा रहेको जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालीन उपाध्यक्ष बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । केन्द्रले जिल्ला कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरे पनि बिष्ट आफू जिल्ला अध्यक्ष भएको दाबी गर्दै आएकी छिन् । वर्तमान पार्टी सभापति मल्ल पक्ष विष्ट नै अध्यक्ष भएको दाबी थियो भने पूर्व पार्टी सभापति रघुवर भट्ट पक्षको बोहरा नै संयोजक भएको दाबी थियो ।
-सरल पत्रिका बाट
