राजनीतिले भुत्ल्याएको खेलकूद

हाम्रो राजनीतिको चरम विकृत रुप रास्ट्रिय खेलकुद परिषद गठन देखि आधारभूत तहको खेलकुद गठन सम्म एजेरुपलाए सरि रहेको छ। राजनीतिकर्मीको मागिखाने भाँडो बनेको छ। पंचायतकाल देखि बहुदल हुदै गणतन्त्र काल सम्म पनि खेलकुद राजनीति गर्ने थलो र हतियारको रुपमा चर्चित र बिबादित छ। राजनीतिको घनचक्करमा देसको प्राज्ञिक थलो देखि, सांस्कृतिक कला, साहित्य, परिषद देखि शिक्षा स्वास्थ्य सबैतिर विकृत राजनीतिको घीनलाग्दो अनुहार देखिन्छ।

राजनीतिमा खेलकूद आवश्यक हुन्छ । खेलकुदको नियम अपेक्षा गरिन्छ। राजनीतिक सुद्दताको लागि खेलकुदको नियम र अनुशासन अपरिहार्य मानिन्छ जसले जीवनको संगत लय देखाउछ ।खेलकुदमा प्रतिस्पर्धी बिचको प्रतिस्पर्धा केवल मैदानमा रहन्छ, कटुता अत्यन्तै कम हुन्छ मैदान बाहिर निस्के पछि देखिने हार्दिकता, सौहाद्रता र प्रेम अनुकरणीय मानिन्छ। खेलकुदले जीवनमा अनुशासनको महत्व स्थापित गरेको हुन्छ । जितहार पछिको सहजता, र बधाई साटासाट, सहानुभूति र समभाव खेल समाप्ति पछि सबैले हेर्न लायक दृश्य हुन्छ। प्रायजसो अपवादलाई छोड्ने र विर्सने हो भने खेलकुदको अनुशासन, लगन धैर्यता, र सकारात्मक पाटो सधै र सबैको लागि सर्वाधिक प्रिय चिज हो।
व्यक्तिको शारीरिक स्वास्थ्य देखि, समाजको सामाजिक स्वास्थ्य सम्ममा खेलकुदको योगदान र महत्व छ। खेलकुद यस्तो कडी र सेतु हो जसको सफलता असफलताले देसको भावनात्मक एकतालाई मजबूत बनाउछ। राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र परम्परागत अन्धविश्वास अनि रुढीगत प्रचलन लगायत बिबिध कारणले टुट्न पुगेको सामाजिक सम्बन्धको धागोलाई अरु बलियो र खदिलो बनाउने काम खेलकुदको सफलता अझ पराय भूमिमा जित पश्चात देसले गर्ने गर्वमा रहन्छ। रास्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा जब खेलाडीहरु बिजयी बन्छन, प्रतिस्पर्धी बन्छन, जित सन्निकट पुग्छन त्यो बेला सबै देसबासी सबैकुरा बिर्सेर, जात धर्म, समुदाय भूगोल र लिंग सबै भुलेर आफु केवल नेपाली र नेपालको मात्र भएको महशुस गर्छन, खेलाडीको जितको कामना गर्छन र जित आफ्नो भएको व्यक्तिगत अनुभूत सार्वजनिक रुपमा गर्छन। आफुलाई मात्र नेपाली भनेर चिनाउनुमा छाती ठोक्छन, खेलाडीहरुप्रति उच्च सम्मान गर्छन र देसको इज्जत बढाएकोमा गर्व गर्छन। समग्र देशलाई एक ढिक्का र एक शुत्रमा बाध्ने काम खेल र खेलाडीले गर्छ तसर्थ खेलाडीहरु देशका गहना हुन्, देशका सम्पति हुन् देशका गौरव हुन्। देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विराट प्रतिभा हुन। समाजलाई अनुशासन सिकाउने, देखाउने नैतिक पाठशाला पनि हुन। अथक मेहनत र परिश्रमका उदाहरण हुन, देशभक्तिका पर्याय हुन।
त्यसैले जीवनमा खेलकुदको महत्व र भूमिका धेरै छ। समाजलाई शिस्ट, प्रतिस्पर्धी, अनुशासित, मर्यादित र ब्यबस्थित बनाउन यसको योगदान अतुलनीय मानिन्छ। जसरी खेलकुद केवल रास्ट्रका लागि हुन्छ त्यसै गरि राजनीति पनि देशका लागि हुनुपर्छ। देसका लागि भनिएको राजनीतिमा खेलकुदको नियम अनुशासन, परिश्रम सबै सबै अपेक्षित र लाभकारी रहन्छ। राजनीतिलाई खेलकुदको रुपमा बुझियो र परिभाषित गरियो भने राजनीति सुसंस्कृत र अनुशासित अनि ब्यबस्थित बन्छ दुर्भाग्य यति राम्रो खेलकुद पनि असंगत राजनीतिको शिकार बनेर धरासयी बन्दैछ जसलाई लयमा फर्काउन सार्वजनिक र बौद्दिक खबरदारी आजको लेखको उदेश्य रहेको छ।
हाम्रो राजनीतिको चरम विकृत रुप रास्ट्रिय खेलकुद परिषद गठन देखि आधारभूत तहको खेलकुद गठन सम्म एजेरुपलाए सरि रहेको छ। राजनीतिकर्मीको मागिखाने भाँडो बनेको छ। पंचायतकाल देखि बहुदल हुदै गणतन्त्र काल सम्म पनि खेलकुद राजनीति गर्ने थलो र हतियारको रुपमा चर्चित र बिबादित छ। राजनीतिको घनचक्करमा देसको प्राज्ञिक थलो देखि, सांस्कृतिक कला, साहित्य, परिषद देखि शिक्षा स्वास्थ्य सबैतिर विकृत राजनीतिको घीनलाग्दो अनुहार देखिन्छ। निस्पक्ष, कम बिबादित, तटस्थ, ब्यबसायिक र निर्भिक नेतृत्व सबैखाले संघ-संस्था संगठन र क्षेत्रहरुमा हुनुपर्ने हो तर राजनीति जोडिनु र राजनीतिले गांजिनुमा फरक छ।
बहुलवादी समाज र धेरै पार्टी भएको विभक्त समाजमा पार्टी निकट नभएका मान्छे कमै हुन्छन रहन्छन तर व्यावसायिक क्षमता, अनुकुल ब्याकराउण्ड नभएका कोरा मान्छेलाई विषयान्तरको जिम्वेवारी अझ पार्टीहरुको उपल्लो निकायको जिम्वेवारी बोकेको, संसद भएको बिभिन्न तहमा जनप्रतिनिधि बनेको व्यक्ति खेलकुद जगतमा पठाउने पार्टीहरुको गलत नीतिको कारण खेलकुद जहाँ पुग्नुपर्ने हो त्याँहा पुग्न सकेको छैन। विश्वविद्यालयको उपकुलपति समेत पार्टीको तर्फबाट संसदमा उठेका मान्छेको हातमा थमाई दिने निर्लज्ज राजनीतिको पृष्टभूमिका निशाना बनेको स्थिति छ।
२०१५ सालमा तत्कालिन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा होरा प्रसाद जोशी सदस्य सचिव भएर थालनी भएको रास्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद आज जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको छ। पंचायतमा शरद चन्द्र शाहहरुले बिथोलेको गिजोलेको स्वार्थको घोडा बनाएको खेलकुद परिषद आज पनि उही र उस्तै रुपमा बिबादित छ। सरकार र पार्टीहरुको कार्यकर्ता भर्तीकेन्द्र भनेर चिनिन्छ। ब्यबसायिक क्षमताका खेलकुद जगतका मान्छेहरु कम बढी राजनीतिक पार्टीका नेताकार्यकर्ताहरु भएर आज खेलकुद परिषद चरम विवाद र अकर्मण्यताको दलदलमा छ। उकास्नु पर्ने खेलकुद क्षेत्र र खेलाडीको वृद्धिविकास र भविष्यको लागि बन्नुपर्ने योजना, बेरोजगार कार्यकर्ताको रोजगारी र आयआर्जन अनि ब्यबस्थापनको भाँडोमा सिमित भएको छ। नाममा खेलकुद काममा पार्टी र सरकारको आंगिक अंश। खेलकुद परिषदमा पंचायतको पृष्टपोषण गर्न जसरी शरद चन्द्र शाहहरुले ताण्डव नृत्य गरेर यसको साख धुमिल गराउन प्रयत्न गरे। पंचायतको अन्त्य पछि बहुदल हुदै अहिले लोकतान्त्रिक गणतन्त्र सम्म पनि खेलकुद परिषद पार्टीको कोपभाजनको शिकार बनेको छ।
प्रयोजनहीन कार्य गरेर खेलकुद क्षेत्र पनि राजनीतिले भुत्ल्याएको छ, नग्न पारेको छ। खेलकुदको मर्म र धर्म नबुझ्ने राजनीतिक कार्यकर्ताको तिघ्रा ठटाउने ठाउँमा परिणत भएको छ। पंचायतले काला मण्डलेहरु पाल्थ्यो , हुर्कआउथ्यो, बढाउथ्यो अहिले कांग्रेस र कम्युनिस्टहरुले सेता मण्डले, राता मण्डले र अरिंगाल पाल्ने घारको विकास गरेका छन् खेलकुद परिषदको आंगनलाई। देश चलाउन नसक्ने नेताको हातमा खेलकुद परिषदको साँचो चाबी परेकोले खेलकुद क्षेत्र पनि थलिएको छ बिमारी छ। राजनीतिको विकृत रुप खेलकुदमा पनि छिरेको छ खेलाडीहरु अल्छी भएका छन्। क्षमता र प्रतिस्पर्धाको आधारमा छनौट हुनु पर्नेमा नेताको सिफारिस र पार्टीको भनसुन लाग्ने भए पछि प्रतिभाशाली खेलाडीहरु कि पलायन हुन्छन कि अल्छी। जसरी सत्ता अस्थिर रह्यो त्यसैगरी बहुदल आगमन पश्चात खेलकुद पनि अस्थिर रहन थाल्यो। सत्ता परिवर्तन संगै खेलकुद परिषदमा पनि नेतृत्व बदलिने हुनाले खेलकुदमा त्यसको प्रभाव देखिन थाल्यो।
ब्यबस्थापकहरुको फेरबदलले बिभिन्न स्तरका रास्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिका प्रशिक्षण, बन्द शिविर र सहभगिता, अन्योल र अलमलमा पर्ने स्थिति खडा भयो। नेतृत्वको फेर बदल संगै प्रशिक्षक र खेलाडी समेत आफ्नो इन्ट्रेस्ट अनुसार परिवर्तन गर्ने घटिया राजनीतिले खेलकुदको बिकासमा अबरोध निम्त्यायो त्यसैले आज पनि अपेक्षित नतिजा खेलकुदले दिन नसकेकोमा सबै असहमत छैनन्। खेल जगतकै व्यक्ति र खेलाडीलाई रास्ट्रिय खेलकुद परिषदको नेतृत्व गर्न पठाउनु पर्ने, जिल्ला देखि गाउँ गाँउ सम्म खेलकुदमा आबद्द मान्छे खेलकुदको पदाधिकारी हुनुपर्ने नीति अबलम्बन गर्नु पर्नेमा दलको कार्यकर्ता खेलाडीको अगुवा बनाइयो। विषय विज्ञ र क्षमता र प्रतिभा भन्दा पर बसेर खेलकुदको नेतृत्व अरुले गरे पछि वास्तविक खेल जगतको लागि पसिना बगाउनेहरु निरुत्साहित हुन्छन।
खेलकुद्का बिभिन्न संघहरु पनि पार्टीको नेता र नाताको कनेक्सन भएमा मात्र पाइने स्थान बन्यो। खेलकुदमा पकड जमाउन आफ्नो राजनीतिक वर्चस्व राख्न नेताहरुले पार्टीका कार्यकर्तालाई खेलकुदको मैदानमा छिराउन थाले। जसले गर्दा ब्यबसायिक खेल खेलाडी र ब्यबस्थापकहरुको प्रतिस्पर्धात्मक क्षमतामा असर गर्यो। खेलकुदको स्वच्छ्ता, पवित्रता र यसको मूल र बृहत उदेश्य माथि हिलोमैलो फालियो। नन ब्यबसायिक मान्छेहरुको नेतृत्व भए पछि निसन्देह ब्याबसायिक क्षमता र भावना हुदैन अनि नतिजा पनि असानुरूप निस्कदैन। खेल क्षेत्रले आज पनि राम्रो नतिजा र परिणाम दिन नसक्नुको समिक्षा यस पटक पनि सरकारले गर्न सकेन। यो पटक पनि खेलकुदले ब्यबसायिक नेता र नेतृत्व पाउन सकेन अहिले खेलकुद परिषदमा परेड खेल्न पुगेका नेता र तिनको पार्टीगत हैसियत र जिम्वेवारी हेर्दा लाग्छ खेलकुद सत्तासिन पार्टीको भात्री संगठन जस्तै बनेको ताजा उदाहरणहेरौ।
हालै आफ्नै पार्टी भित्रका प्रतिस्पर्धीलाई पछारेर बिजयी बनेका पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठ नेकपा केन्द्रिय सदस्य तथा सांसद काठमाडौँ क्षेत्र नं ८ खेलकुद परिषद सदस्य सचिव, सचिव तुलसा गौतम संसद सदस्य तथा नेतृ नेकपा भगिनी संगठन अनेमसंघ नेकपा कार्यकर्ता पीताम्बर तिम्सिना उपमहासचिव निर्वाचित भएका छन् यस्तै एवं रितले बहुमत कार्यसमिति सदस्य नेकपाका सक्रिय नेता कार्यकर्ता रहेका छन्। यसैगरी जिल्ला खेलकुद विकास समितिमा पनि सत्तासिन पार्टीका जिल्लास्तरीय नेताकार्यकर्ताहरुको कब्जामा खेलकुद र खेलकुद सम्बद्द अरु संघहरु रहने गरेको छ। खेलकुदको बिकासको लागि पार्टीका नेताकार्यकर्ताहरुको खेलकुदमा आकर्षण होइन।
रोजगारी, पद प्रतिष्ठा, अनि एन मौकामा बिदेस शयर गर्न पाउने लोभ र प्रलोभनमा परेर नै खेलकुद इतर पार्टीका मान्छेहरुको कन्ब्जामा खेलकुद परेको देखिन्छ। खेलकुद र यसका बिभिन्न संघहरुमा थुप्रै विवाद र अनियमितताहरु रहेका छन्। वर्तमान खेलकुद परिषद्का सदस्य सचिव पहिले बहाली हुदा देखि नै बिबादको केन्द्रमा छन्। पार्टी भित्रकै एउटा पंक्ति यिनका विरुद्दमा कन्दनी कसेर लागेको छ। जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटि एक दशक देखि बिबादित छ।
कांग्रेस नेता रुक्म शम्सेर राणाको अध्यक्षतामा पनि ओलम्पिक कमिटि छ यी दुई बिचको बिबादले पनि खेलकुद तहस नहस छ। सर्वोच्च अदालतले अबैध ठहर गरेको नेपाल ओलम्पिक कमिटिको नेतृत्व राजनीतिको आडमा जीवनराम श्रेष्ठले गरिरहेका छन् यसर्थ पनि भन्न सकिन्छ आगामी जीवनरामको नेतृत्वले खेलकुद परिषदलाई अरु चरम राजनीतिको विवाद र दलीय कार्यकर्ता भर्तीको केन्द्र बनाउने निश्चित छ। खेलाडीको भविष्य, देसको इज्जत प्रतिष्ठा संग जोडिएको खेलकुद परिषद भित्रको राजनीति, गुटबन्दी र अनियमितता खेदजनक छ। राजनीतिलाई मूल पेशा ब्यबसाय र धन्दा मान्नेहरुको हातमा खेलकुद परिषदको लगाम रहेसम्म नेपाली खेलकुद जगतमा आशाका तारा झुल्कने छैनन्। देसले क्षमताको उज्यालो बाट बन्चित नै हुनुपर्ने छ।
स्वच्छ प्रतिस्पर्धाबाट खेलकुद, बुझेका खेलकुद देखेका, ब्यबसायिक मान्छेहरुको छनौट र राजनीतिको दवाब बिना स्वतन्त्र अस्तित्वको परिषदको कल्पना र निर्माण बिना रास्ट्रको खेलकुद क्षेत्र लथालिंग हुनेछ। आशा छ आगामी दिनमा मेरा कल्पना मिथ्या बनेर खेलकुद परिषद देसको इज्जत बोक्ने उपलब्धी दिन सक्षम बनोस। रास्ट्र जोड्ने भावनात्मक सेतु, आस्थाको कडीलाई राजनीतिको दुर्गन्धित फोहोरले कैद नगरोस।खेलकुद मार्फत नै देसको प्रतिष्ठा आफ्नो भाग्य र भविष्य बनाउने, ब्यबसायिक क्षमता बढाउने सपना देख्ने खेलाडी खेल प्रेमीहरुको आस्थाको मन्दिर रास्ट्रिय खेलकुद परिषद खेल र देसको इज्जत जोड्न लागोस, देसको इज्जत बढाउने मान्छेको इज्जत स्वत आफै बढ्छ।
