दार्जिलिंगको आन्दोलनप्रति काठमाण्डौंबासीको ऐक्यबद्धता –डा. उपेन्द्र देवकोटा


–डा. उपेन्द्र देवकोटा
सन् १९६२को भारत–चीन युद्धमा भारत हारेको एक महिनापछि नयाँ दिल्लीको लालकिल्लामा आयोजित गणतन्त्र दिवस समारोहमा गायिका लता मंगेसकरले गीत गाएकी थिइन् । उनले गीत गाइरहँदा भारतका प्रधानमन्त्री पंण्डित जवाहरलाल नेहरु सभास्थलमै धुरुधुरु रोएका थिए ।
त्यो गीतको बोल थियो–
‘ए मेरे वतन के लोगो
कुछ याद उन्हे भी करलो
जो लौट के घर न आए
जरा आँख मे भरलो पानी
जो शहीद हुए है उनकी
जरा याद करो कुरबानी …’
म त्यो गीतका केही हरफ भारतीय र नेपाली शासकहरुलाई संझाउन चाहन्छु ।
बेलायती उपनिवेशमा रहँदा होस् वा भारत स्वतन्त्र घोषणा भएपछि, नेपाली र दार्जिलिंगका गोर्खाली सिपाहीको बलिदानलाई यो गीतले स्मरण गराउछ । भारतीय भूमि रक्षा गर्न जीवन आहुति दिनेहरुप्रति आँशु बगाएर संझने गीत हो त्यो ।
रगतको अपमान
त्यो युद्धमा भारतीय भूमि र सीमाना रक्षा गर्न गोर्खालीहरुले रगत पसिना र जीवन बलिदान दिए । अहिले पनि ७० हजार गोर्खाली सैनिक भारतको सुरक्षा गरिरहेका छन् । भारतकै कारण नेपाल असुरक्षित छ तर नेपाली र दार्जिलिंगका गोर्खा सैनिक आज पनि भारतलाई जोगाइरहेका छन् !
कार्गिल युद्ध होस् वा कश्मिर वा भारत–पाकिस्तान युद्ध गोर्खालीले अमूल्य जीवन दिएर भारतीय भूमिलाई सुरक्षित गरिरहेका छन् । रगत पसिना बगाएर भारतलाई जोगाउने दार्जिलिंगका त्यस्ता गोर्खालीहरुलाई आँशु बगाएर संझना गर्नुपर्ने बेलामा भाषा मागे भनेर दिनदहाडै भारतीय शासकहरु गोली हानी हत्या गरिंरहेछन् ।
भारतीय शासकहरु त्यस्ता गोर्खालीको संझनामा आँशुको त के कुरा भाषा माग्दा दार्जिलिङबासीहरुलाई सत्तासीनहरु मृत्यु बरण गर्न लगाइ रहेका छन् , हे भारतीय शासकहरु हो, लता मंगेसकरले भने जस्तै, ‘कुछ याद उन्हे भी कर लो…।’
गुनको बदला बैगुन

भारतीय शासक आफ्नै निम्ति जीवन दिएर गुन लगाउनेविरुद्ध पटक पटक उत्रिएका छन् । ती कति बैगुनी छन् भने, भुइचालोले थङथिलो भएको नेपालमाथि उनीहरुले भनेको जस्तो संविधान नेपालीले बनाएनन् भनेर भारतले नाकाबन्दी गरेर नेपालीलाई हदैसम्मको दुख दियो । नेपाली अर्थतन्त्रलाई खत्तम पा¥यो । सर्वसाधारण नेपालीलाई गर्नु प्रताडित ग¥यो ।
भारत रक्षाको लागि रगत, पसिना बगाइरहेका, जीवन बलिदान गरिरहेका गोर्खाली सैनिकका छोराछोरीहरुलाई समेत स्कूल जान रोक्यो । तिनले पढ्न पाएनन् । खान पाएनन् । भुकम्पले भत्किएका घर बनाउन पाएनन् । चाडपर्व मनाउन पनि नाकाबन्दीबाट अवरोध भयो ।
भारतीय शासकहरु आफूलाई ‘कुर्बानी’ दिनेहरुलाई कदर गर्न जान्दैनन् भन्ने दार्जिलिंङका भारतीय नेपालीहरुमाथि गरेको ब्यवहारले फेरि पुष्टी भएको छ । गुनको बदला बैगुनबाट तिर्दैछन् भारतीय शासक ! पापको भलो हुन्न, संवेदनशील बन भारतीयहरु !
म नेपालका शासकलाई पनि चेतावनी दिन्छु ।
नेपाल कहिल्यै कसैसंग हारेको छैन भन्ने कुरा नविर्स । नेपाल अंग्रेजसंग हारेको होइन, सुगौली सन्धि गरेको हो तर तिमीहरु लम्पसार परिरहेका छौ !
घैंटे र चरी पो शहिद !
अहिलेका शासकमा साहस कहिंकतै देखिदैन । यो स्वाभिमानी नेपालीहरुका लागि दूर्भाग्य हो । देशका लागि जीवन दिनेलाई होइन, यहाँका शासक चरी र घैंटेलाई शहिद घोषणा गरिरहेछन् ।
राष्ट्रद्रोही, देश र समाजविरोधी गुण्डालाई शहिद घोषणा गर्न पाइदैन । दश लाख दिएर लास किन्ने र त्यसैलाई शहिद घोषणा गर्नु अपराध हो !
देशका लागि जीवन बलिदान दिने शहिदहरुप्रति यो घोर अपमान हो ।
शहिदको सम्मान शासकहरुले गर्दैनन् भने नेपाली जनताले त्यो शब्द नै खोस्छौं र दश लाख फिर्ता लिन्छौं ।
यो हामीले ट्याक्स तिरेको पैसा हो । त्यसको दूरुपयोग नगर ! शहिद शब्दको परिभाषा थाहा छैन भने शब्दकोश हेर, नेताहरु हो ।
त्यो नेपाली होइन
दार्जिलिङका नेपालीभाषीहरुलाई भारतीय शासकले गोली हानेर मार्दा पीडा नहुने नेपाली नै होइन । दार्जिलिङले हामी नेपालीलाई ठूलो गुन लगाएको छ । सुगौली सन्धि अघि दार्जिलिंग नेपाली भूभाग नै थियो ।
दुई सय वर्ष अघि अंग्रेजले नेपालीलाई चिया बगानमा काम गर्न लगेदेखि दार्जिलिङमा दमन उत्पीडन जारी छ । भारतीयहरुले त्यो दमनलाई निरन्तरता दिइरहेछन् ।
सिलगुडी–दार्जिलिङका मानिस सबैभन्दा बढी कर तिर्छन् । तर तिनैमाथि शोषण दमन गरिएको छ । नेपालीलाई रगत पसिना बगाउन लगाएर दार्जिलिङमा अंग्रेजले चियाखेती गराएका हुन् । चिया बगानमै जन्मिएर त्यही नेपालीहरुको जीवनलीला पुस्तौंदेखि सकिइरहेको छ । लण्डनमा अत्यन्त महंगोमा बिक्रीहुने ट्वीनिंग्स कंपनीको चिया तिनै नेपाली मजदूरले उत्पादन गरेको उत्कृष्ट चिया हो ।
दार्जिलिङमा चिया मात्र होइन, सडक र घुम्तीमा रेल घुम्दा मनन गर्नुहोस्, यो सबै नेपालीकै रगत पसिनाबाट बनेको हो । त्यहाँ नेपालीमाथि न्याय होइन, अन्याय भएको छ ।
दार्जिलिंगका नेपाली धनी छैनन् । तैपनि खुशी भएर नै बसेका थिए । टोपी र लबेदा सुरुवाल लगाउन नेपालका नेपालीले छाडेपनि दार्जिलिंगका नेपालीहरुले लगाइरहेका थिए । गुन्युँ चोलो र ढाकाको खास्टोलाई महिलाहरुले जोगाइरहेका थिए । त्यस्ता नेपालीहरुमाथि दिनदहाडै गोली हान्दा पनि तपाईको मुटु दुख्दैन भने तपाई नेपाली होइन !
नेपाली भाषाको उत्थानमा काठमाण्डौंले भन्दा दार्जिलिङले ठूलो भूमिका निर्वाह गरेको छ । दार्जिलिङका त्रिमूर्ति ‘सूधपा’ अर्थात सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारषमणि प्रधानले नेपाली भाषा, साहित्य र पत्रपत्रिका तथा पाठ्यपुस्तक लेख्नुभयो । नेपालमा पनि तिनताक त्रिमूर्ती नै नेपाली भाषा साहित्यको श्रीबृद्धिमा सक्रिय थिए–लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम ।
दार्जिलिंङका पुस्तक

त्यतीबेला नेपालमा नेपाली ब्याकरणको सरल र बोधगम्य किताव थिएन । म स्वयम्ले पारषमणि प्रधानले लेख्नुभएका पाठ्यपुस्तक पढेर आफ्नो नेपाली भाषाको ज्ञानलाई दह्रो बनाएको हुँ । त्यसैले मेरो भाषा साहित्यमा पकड जमाउने क्षमता विकास भएको हो ।
नेपाली भाषाको सुनौलो कालमा सुनौलो नेपाली भाषा पढ्न पाएकोमा मलाई अहिले पनि गर्ब छ ।
नेपालमा नेपाली पाठ्यक्रम त धेरै पछि राजा वीरेन्द्रको शासनकालमा मात्र बनेको हो ।
म मन्त्री हुँदा कर्मचारीले लेखेको टिप्पणी पढेपछि थाहा पाएँ, नेपाली भाषाको ज्ञान भएकाले लेखेको टिप्पणी ती थिएनन् ।
कुम्भकर्णे निद्रा
नेपाली भाषीमाथि दार्जिलिंगमा गोली प्रहार भैरहँदा पनि हाम्रो प्रज्ञाप्रतिष्ठान कुम्भकर्णे निद्रामा मस्त छ । उसलाई त्यहाँ गरिएको दमन’bout केही थाहा नै छैन जस्तो छ । त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग चाँहि योबेला शायद रुघाखोकीले ग्रस्त छ ।
होइन भने, नेपाली भाषीमाथि गोली प्रहार हुँदा यिनले बोलेर ऐक्यवद्धता प्रदर्शन गर्नुपर्ने होइन ?
निरंकुश राजा
निरंकुश भनिने राजा महेन्द्रलाई दार्जिलिंग जाँदा उतिबेला अम्बर गुरुङले ‘नौलाखा तारा उदाए भन्ने अगमसिंह गिरीको गीत सुनाएर त्यहाँ रहेका नेपाली भाषीहरुको पीडा ब्यक्त गरेका थिए । महेन्द्रले पनि नेपाल फर्किएपछि बहुचर्चित गीत लेखे, फर्क हे फर्क नेपाली…!
यो देशमा राजाको काम छैन भनेर फ्याँकिए पनि महेन्द्रले फर्क हे फर्क भन्ने गीत लेखे तर अंकुश नभएका लोकतान्त्रिक गणतन्त्रका नेताहरु दार्जिलिङमा त्यत्रो दमन भैरहँदा पनि एकशब्द पनि किन बोल्दैनन् ?
बरु उनीहरु गैरनेपालीलाई नागरिकता बाँडिरहेछन् !
आफ्नो मूलका नागरिकमाथि दमन हुँदा पनि नेपाली भाषीमाथि दमन नगर, गोली प्रहार नगर भन्न नसक्नु हामी नेपालीहरुको लाछीपन हो !
म आज अलि भावुक पनि भैरहेको छु ’cause मेरो नेपाली भाषाको ज्ञान अरु भन्दा कम छैन ’cause, मैले दार्जिलिङका कारण नेपाली भाषा सुदृढ पारेको हुँ ।
तर आज म र मजस्ता लाखौं लाख नेपालीलाई मातृभाषावारे सचेत गराउने तिनै दार्जिलिङका नेपाली भाषीमाथि हिंस्रक र सशस्त्र आक्रमण भैरहेको छ । नेपाली भाषी दिनपरदिन मारिइरहेका छन् ।
सबै नेपालीले बुझ्नुपर्छ, दार्जिलिङ नेपाली मुटुको ढुकढुकी हो । भोलि नेपालमाथि गरिने आक्रमणको पूर्वाभ्यास हो !
म पेशाले डाक्टर हुँ । आफ्नो पेशामा पनि सफल छु तर पनि रत्नपार्कमा उभिएर आमनेपाली दाजुभाइ दिदीबहिनीहरुलाई गुहार्दैछु–तपाईहरु पनि सचेत भएर दार्जिलिङका नेपालीविरुद्धको आक्रमणमा सचेत बनेर उठ्नुहोस् !
बेलायतमा वाल्टर स्कट भन्ने ठूला राष्ट्रवादी कवि थिए । उनको स्कटल्याण्डमा मूर्ति पनि राखिएको छ । तर हाम्रोमा राष्ट्रवादी र देशभक्तहरुको मूर्ति र शालिक भत्काइन्छ ।
म भन्छु, जस्ले आफ्नो देशलाई माया गर्दैन, त्यो जिउदो लास हो । त्यसले सास त फेर्छ, तर कामीदाइको आरनको खलातीको जस्तै निर्जीव हावा मात्र तान्छ । आफ्नो देशलाई माया नगर्नेहरु पनि खलाती जस्तै हुन् ।
वाल्टर स्कटले लेखेको कविताको भावानुवाद यस्तो छ–
‘त्यस्ता मानिसहरु दुइपल्ट मर्छन्
तिनको आत्मा जुन पहिल्यै मरिसकेको थियो,
अनि तिनको भौतिक मृत्यु हुन्छ ।
त्यो त्यही धुलोमा मिल्छ,
राष्ट्रद्रोहीले गाडिनका लागि
दुइ हात जमीन पनि पाउदैन !
(दार्जिलिंगवासीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन रत्नपार्क शान्ति वाटिकामा बुधवार दिउसो आयोजना गरिएको पच्चीस प्लस समूहको कार्यक्रममा डाक्टर देवकोटाले गरेको भावोत्तेजक ऐक्यवद्धताको संपादित अंश ।)


