राष्ट्रिय पूँजीपति – सौरभ

पैसाको महत्व छिट्टै बुझ्ने नेवारहरु नै थिए, पहाडी खस र अन्य जातजातिका तुलनामा । त्यस अवसरलाई उनीहरुले लिए नै । फलस्वरुप हरेक नयाँ सेवा, सामान र उपभोग्य वस्तुमा लाभ देखिहाल्ने तिनको क्षमताले पैसालाई गति दियो ।

–सौरभ
१.
शिवशमशेर थापा थिए, जंक फुड्स भित्र्याउने । २००५ सालतिर उनीकहाँ मानिसहरु जान्थे, पाउरोटी किन्न । आ–आफ्ना घरमा बिरामीलाई खुवाउन यद्यपि त्यो पाउको अर्थ गोडा थिएन, रोटी नै थियो, पोर्चुगिज भाषामा । मनमुटाव भएपछि भीमशमशेर राणाबाट झापाको शिवगंजमा रहन वाध्य पारिएका थापाले दार्जीलिंगमा पाउरोटीको चलन देखेर भित्र्याएका कुरावारे पंक्तिकारले यसअघि नै कतै लेखिसकेको छ र यसलाई कृष्णबहादुर राजकर्णीकारले त्यसपछि उद्योगको रुपमा नियमितता दिएका थिए भनेर पनि लेखिसकिएको हो ।
२.
१९७५सालमा शान्तराज सत्याल, तीर्थराज सुवाल, पं मुरारिनाथ ढुंगानासंग मिली जोरगणेश स्थानको नजिकै जोरगणेश प्रेस भन्ने नामाकरण गर्यो ( ऋद्धिबहादुर मल्ल, पेज ३०, अंक २५, उन्नयन ) । सबैलाई ज्ञातै छ, कालान्तरमा जोरगणेश प्रेसको एक्लो मालिक ऋद्धिबहादुर मल्ल स्वयम् भए र उनले यसलाई बालाजुमा एक उद्योगको रुपमा संचालन गरे ।
३.
एन. एल. अहुजा थिए, पहिलो फ्रेस हाउस संस्थापक । यो २०२०-२०२१सालतिरको कुरा थियो । आज उनको फ्रेस हाउस छैन । साँच्चै भन्ने हो भने काठमाण्डौंमा टिनबन्दी गाईको मासु बेच्ने फ्रेस हाउस यही थियो, यसैले ठूलाठूला होटलहरुमा त्यस्तो मासु सप्लाई गथ्र्यो ।
तर पुरानो भन्सारका श्रेष्ठहरुले आज पनि फ्रेस हाउसलाई निरन्तरता दिइरहेका छन् ।
४.
डम्बरशमशेर राणा थिए, पहिलो फोटोग्राफर । उनका छोरा, नाति, पनाति सबै फोटोग्राफर नै भए, समरशमशेर, बालकृष्ण सम, जनार्दन सम तर पूर्णमान चित्रकारले फोटोग्राफीलाई पूर्ण ब्यवशाय बनाएर निरन्तरता दिए ।
५.
डम्बरकुमारी राणा थिइन्, जंगबहादुरकी छोरी, जसले जंगबहादुर बितेको भोलिपल्ट डम्बरकुमारी नामको कपडा बनाउने प्रविधि भित्र्याइन् तर यो प्रविधि र ब्यवशायलाई निरन्तरता दिए, रंजीतकारहरुले ।
६.
टमटम बाजे थिए, १९६० सालमा मखमली चट्टीको डिजाइन गर्ने । आज भोटाहिटीको दुबै किनारमा मखमली चट्टीलाई निरन्तरता दिने नेवार ब्यापारीहरु छन् । राणाहरुको हिउँदे पहिरन डम्बरकुमारीको भोटो सुरुवाल, ओढ्ने र मखमली चट्टीको फ्युजन यिनै रंजीतकारहरुले गर्दा संभव भयो ।
७.
पासाङ काम्बाछे थिए, वाइन प्रविधि भित्र्याउने । फ्रान्स भ्रमणमा जिसेप टुचीसंग भेट हुँदा उनका सहयोगी एक नेपाली रहेको थाहा पाएपछि महेन्द्रले स्वदेश फर्कन आग्रह गरे । टुचीले वाइन प्रविधि सिकाएर उनलाई पठाइदिए । उनले मुस्ताङमा अंगुर लगाए पनि । उच्चस्तरीय वाइनहरु पनि बनाए तर यसलाई सत्यलाल रंजितकारले ब्यवशायिक निरन्तरता दिने प्रयास गरे । आजको हिंवा र नेस्से वाइन उनकै देन हो ।
८.
कृष्णबहादुर बर्मा थिए, बेत र बाँसका सामान निर्माण गर्ने प्रविधि जापानमा सिकेर फर्केका । यसमा तत्कालीन युवराज महेन्द्रको ब्यक्तिगत प्रयास पनि सहयोगी भएको थियो । बर्मा पढ्न जाने खुशीमा महेन्द्रले वसन्तपुरमा एक रात्री भोज नै दिएका थिए, न भूतो न भविष्यति तर यसलाई व्यवशायिक निरन्तरता दिए, लक्ष्मणराज जोशीले बालाजु औद्योगिक क्षेत्रमा । आज यो व्यवशायको अनेक विस्तार भैसकेको छ ।
९.
जुद्धशमशेर राणाले विराटनगर जुट मिल्समा ठूलो संभावना देखेका थिए तर त्यसलाई निरन्तरता दिए, जुद्धबहादुर श्रेष्ठले ।
१०.
ब्रायन हडसन थिए, १८३१ मा चियाको बोट लगाउने यद्यपि उच्च परिवारहरुमा चियाको घरेलु प्रयोजन केही मात्रामा हुन थालिसकेको थियो तर तिलौडीमाइला महर्जन थिए, धरहरा उत्तरको एउटा पसलबाट विक्रम संवत् १९९२ मा चियाको सार्वजनिक बिक्री शुरु गर्ने ।
११.
विक्रम संवत् १९९८ मा कफीको पहिलो बोट देवराज अर्यालले ल्याएका थिए तर कफी ब्यवशायलाई उच्च स्थान र निरन्तरता दिने हिमालयन जाभाका गगन प्रधान थिए ।
१२.
भीमसेन थापा थिए, संभवत वीरकेशर पाँडेको सहयोगमा पहिलो गोल्डफिस भित्र्याउने तर अक्वेरियम ब्यवशाय औपचारिकरुपमा शुरुवात गर्ने तभाइ रंजित भए, २०३० सालको चिकँमुगलको उनको अक्वेरियम पहिलो यस्तो पसल थियो भनिन्छ तर स्वयम्भू र डल्लुबीचमा पर्ने ‘धिमे ल्वँ’ मा श्रेष्ठ परिवारले कलकत्ताबाट झिकाइ रंगीन माछा पाल्ने र राणा दरवारमा उहिल्यैदेखि आपूर्ति गर्ने गथ्र्यो । खेतका बीचमा ढुंगाका चारपाटे भिउँटमा यस्ता माछाहरु पालिन्थे ।
१३.
तत्कालीन अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले आफैंले बोलाएर यी डिष्टीलरीहरुले हामीलाई अनेक दुख दिए, अब तपाईले एउटा डिस्टिलरी चलाई दिनुस् भनेपछि मैले श्री डिस्टिलरी चलाएको हुँ ।’ मथुरा श्रेष्ठले यही भनेका थिए, एउटा अन्तरवार्तामा । आज श्री डिष्टिलरी बन्द भए पनि सयौं डिस्टिलरीहरु खुलेका छन् ।
१४.
मोहनबहादुर शाही र गोपालबहादुर शाही जस्ता शाही नातेदारहरुले राजनीय संरक्षणमा शुरु गरेका थिए, गोदावरी ब्रुअरी । भारतीय मोहन मेकिङको ब्राण्ड गोल्डेन इगल बियर उत्पादन गथ्र्यो यसले तर यसको हालत कहिल्यै उक्लिएन, राजकीय संरक्षण पाउँदा पनि । र, नै फिलिपिनो काजुआङकोको ब्राण्ड सान मिगेल लिएर पियुषबहादुर अमात्यको ब्रुअरी शुरु भयो । श्री डिष्टिलरी र सानमिगेल ब्रुअरीका संचालकहरुको उद्धेश्य अन्यत्र नलागेको भए तिनको निरन्तरता एउटा स्वाभाविक सत्य हुन्थ्यो ।
१५.
लालध्वज सुनुवार थिए, पहिलो नेपाली वनस्पति संकलक । नीलो अफिमको एउटा जात मेकनप्सिस धौजी उनकै नाममा बनेको हो । अहिले केशरमहलको भित्री ढोका, पुस्तकालय पस्ने ढोकाको दक्षिण कुनामा रोपिएको नेपाली केतकी (पाण्डानस नेपालेन्सिस) देखि रैथाने कोटोनियास्टर, डेउटजिया उनैले केशरशमशेरलाई चिनाइदिएको ठानिन्छ तर जसले शृंगारिक वनस्पतिलाई ब्यवशायिकता दियो, ती थिए, जुजुभाइ कपाली, कपाली नर्सरीका संस्थापक ।
१६.
पुण्यविक्रम राणा थिए, रियल स्टेट ब्यापार थाल्ने तर ठिमी, भक्तपुरतिर यसलाई ब्यवशायिकता दिने दक्षराम प्रजापति थिए ।
१७.
सु्रेन्द्रविक्रम शाह थिए, संभवत चश्मा ‘लगाई टोपल्ने’ पहिलो नेपाली, एम्बोर्स ओल्डफिल्डको चश्मामा रमाउने तर त्यसलाई कालान्तरमा ब्यवशायिकता दिए, पुल्चोकका नेम्कुलहरुले ।
१८.
नरेन्द्रविक्रम शाह थिए, त्रैलोक्यविक्रम शाहका भाइ, पहिलो टुथब्रसका नेपाली प्रयोक्ता तर ट्वाइलेटरिज (बाथरुममा प्रयोग हुने सरसामान) को ब्यवशायिकतामा टुथब्रसको कारोवारलाई पनि निरन्तरता दिनेहरु थिए, मुनिरत्न तुलाधरहरु ।
१९.
योगनरेन्द्र मल्लकै बेला आइसकेको थियो, सुर्ती तर त्यसको क्य्राभेन, मोटलमार्क, फुलमार्क, लालटिनमार्क आदि चुरोटको ब्राण्डको कारोवार शुरु गर्ने इन्द्रचोकका अमात्यहरु थिए (मोटरमार र फुलमार काठमाण्डौंतिर र लालटिनमार पहाडतिर चल्तीमा थियो ) । पछि जब पहिलो चुरोट उत्पादक ‘नेपाल टोबाको कम्पनी’ खडा भयो र पनि चल्न सकेन त्यसको मेसिन सिक्किम बंगाल सीमामा चल्यो, बि. के श्रेष्ठको संचालनमा ।
२०.
जंगबहादुर राणा थिए, कोट पहिरिने पहिलो तर रेडिमेड कोटलाई ब्यवशायिकता दिने पाटनका जुजुभाइ श्रेष्ठ हुन् । खिचापोखरीमा पसल थियो उनको ।
२१.
पहिलो पुस्तक थियो, नेपालीमा छापिएको भवन ढुंगेलको ‘उपवन विनोद’ । विक्रम संवत १९४०मा छापिएको यो पुस्तक शारंगधर लिखित ‘शारंगधरपद्धति’ को एक अध्यायको अनुवाद हो तर पुस्तक प्रकाशनलाई पहिलो ब्यवशायिक रुप दिएका हुन्, रत्नपप्रसाद श्रेष्ठले । उनको नाममा रत्न पुस्तक भण्डार अहिले पनि प्रचलित छ । यद्यपि मखनको महावीरमान, चिनियाँमान पुस्तकपसल वा भक्तबहादुर बुक सेलरका संचालकहरु पनि नेवारहरु नै थिए ।
२२.
माथवीरसिंह थापाको समय विक्रम संवत् १८४२मा पश्चिमा आगन्तुक राजकुमार वाल्दमारलाई सैनिक कारखाना लगिएको थियो, घुमाउन । त्यहीं थियो कोही, घडी मर्मतकर्ता । प्राय यस्तो ब्यक्ति उति बेला मुसलमान हुन्थ्यो तर त्यो जागिर थियो । ‘फकं’ उपथर भएका महर्जनहरु स्थापित थिए, घडीको पहिलो मर्मत पसल खोल्ने ।
२३.
बिक्रम संवत् १९६०को दशकमा मोटर आएको थियो । नेपालमा झिकाउने ब्यक्ति ‘बिमान उडानवारे’ भन्ने लेखमा उल्लेखित भइसके, गेहेन्द्रशमशेर राणाको नामले तर लाजिम्पाटका ‘नकर्मी’ थिए, मोटर मर्मतशाला खोलेर त्यसलाई ब्यावशायिकता दिने ब्यक्ति ।
२४.
केवलकार सन् १९६०कै दशकमा जडान गर्ने प्रयास भएको थियो भन्ने संकेत भिग्नेट्स अफ नेपालमा हर्क गुरुङले दिएका छन् तर चेरेसदेखि मनकामनासम्म केवलकार स्थापना गरे, लक्ष्मणबाबु श्रेष्ठले । बजार अध्ययन गरेर कुनै निश्चित वर्षसम्म लागत उठ्ने तय गरेर स्थापना गरिएको भए पनि त्यो बेला ४५ करोडको लगानी ठूलै धनराशी थियो र उत्ति नै जोखिमयुक्त पनि ।
२५.
छत्रपति शासकलाई भन्ने चलन थियो, आदि युगमा । ‘छत्रपति ज्ञानेन्द्र’ इन्द्रचोक मन्दिरको दक्षिणपट्टीको पालीमा लेखिएकै छ, जिर्णोद्धार हुँदा गएकै दशकमा पनि । त्यसैले छाताको चलन अति नै पुरानो हो तर पहिलो छाता उद्योग खुल्यो, १९९३ सालमा आशामान शाक्यबाट, चोखाछेँ गल्लीमा । यो चलिरहेथ्यो, धुकधुकी भए पनि धानेर २०७२सम्म । ‘छाता भण्डार’ यसको प्रशिद्ध आउटलेट थियो, इन्द्र चोकमा ।
२६.
वीरबहादुर खत्री थिए, नेपालमा पहिलो इन्क्युबेटर भित्राउने । उनी भेटनरी डाक्टर थिए । २००२ सालभन्दा अघि नै त्यसबाट उनले हाँसका चल्लाहरु निकालिसकेका थिए तर पाटनका सिंहबहादुर जोशीले ह्याचरी व्यवशायलाई निरन्तरता दिए, २००५ सालमा, जो पछि बालाजुमा संचालित थियो ।
यी दर्जनौं उदाहरणहरुमा निरत्नरता दिने पोख्तहरु नेवारहरु छन् अर्थात् ब्यवशायिकता जुनसुकै थरको होस् नेवार जिनमै छ ।
सन् १७६९को उपत्यका विजयपछि दुई कुरा टड्कारो देखियो, नेवारहरु अरु ब्यवशायिकतातर्फ लाग्न बाध्य भए जिविकोपार्जनका निम्ति । रहेसहेका राजकीय नोकरीका अवसरहरु नेवारहरुको हातबाट छुट्यो, कामकाजको भाषा नेवारी नरहेकाले पनि । र, बाहिरबाटै स्थापित भएको प्रणाली हुनाले त्यसलाई सघाउने, सेवागर्ने खास रुची पनि भएन, उनीहरुको ।
अनि स्थापित नयाँ राष्ट्रको सीमा अरु विस्तारित रहेकाले स्वाभाविकै थियो, प्रशस्त पेशागत विविधिकरण पनि भित्रिएर आयो, नयाँ अवसरको रुपमा । पैसाको महत्व छिट्टै बुझ्ने नेवारहरु नै थिए, पहाडी खस र अन्य जातजातिका तुलनामा । त्यस अवसरलाई उनीहरुले लिए नै । फलस्वरुप हरेक नयाँ सेवा, सामान र उपभोग्य वस्तुमा लाभ देखिहाल्ने तिनको क्षमताले पैसालाई गति दियो ।
तर होइन, ब्यवशायिकता देखेर मात्र हुँदैन अति न्यून जनसंख्या भएकोमा पनि सेवा र सामानको महत्वप्रतिको अज्ञानता र ज्ञान भएकामा पनि क्रयशक्तिको कमी रहेको स्थितिमा तिनले आफ्नो ब्यावशायिकतालाई जुन कष्टका साथ जोगाए, निरन्तरता दिए, त्यो अतुलनीय छ ।
महेन्द्रले २०१७सालपछि मिश्रित अर्थतन्त्रको नाममा ब्यावशायिक निगमहरुलाई जन्म दिन थाले । वीरेन्द्रको सक्रिय शासन २०४६ सालमा सकिंदासम्म लगभग ३६ वटा यस्ता निगमहरु स्थापना भैसकेका थिए तर त्यसको व्यवस्थापनमा थोरैमात्र पुगे नेवारहरु । आफ्नो मानिसलाई, ब्यवस्थाप्रतिको बफादारलाई, भर्खरै पढेर आएको पोख्तलाई भन्दै संचालकमा गैरनेवारहरुलाई ब्यापक नियुक्ति दिइयो तर त्यही पदीय दायित्व नेवारहरुलाई दिइएको भए, त्यो ठूलो मुनाफामा चल्न सक्थ्यो वा सक्दैनथ्यो अर्को कुरा हो तर घाटामा चाँहि जाँदैनथ्यो, उल्टै सरकारले तलब खुवाइरहन पर्दैनथ्यो । त्यसले अत्यावश्यक सेवामा गैरसरकारी क्षेत्रको गल्तीलाई कायम रहन पनि दिँदैनथ्यो । यही हो, नेवार ब्यवस्थापनको मर्म ।
अन्त्यमा
नेवारहरुका दुई कमजोरीचाँहि छन्, आधुनिक अर्थतन्त्रमा अन्य व्यवशायी जातिबाट पछि पर्नुमा । पहिलो, नेवारहरु घुष÷कमिशन ख्वाएर काम पार लगाइहाल्ने कुरामा अनुदारवादी छन्, पोख्त छैनन् उनीहरु । जसमा अरुहरु पोख्त नै छन् भन्दा पनि संस्कृति-धर्म नै छ ।
दोस्रो, व्यापारिक गोप्यता राख्नसक्ने खुबी पनि नेवारहरुमा देखिँदैन । आफ्नो चलाखी , आफूले काम बनाउन सकेको कुरा धक्कुका साथ बताइहाल्नुपर्ने, भनिहाल्नुपर्ने बानी देखिन्छ । यसले ‘सहयोगी’ लाई पर्न जाने मर्कावारेको सचेतता र अर्को पटक फेरि उसले सहयोगीको भूमिका खेल्नेछैन भन्ने संज्ञान पाइन्न ।
(भर्खरै विमाचन भएको सौरभको पुस्तक ‘असङ्गति’ मा नेवारहरु’bout लेखिएको यो अंश लेखकको अनुमतिमा साभार गरिएको हो ।)
