एमालेलाई ठुलो दल बनाउने कोे ?

अहिलेको राजनीतिक ‘गेम’मा राजपाको हरेक रणनीतिक चालले ओलीलाई मात्र ‘पे अफ’ अधिकीकरण गरेको अवस्था छ ।

 

-भीम भुर्तेल

स्थानीय सरकारको दोस्रो चरणको निर्वाचनको परिणाम करिब करिब आइ सकेको छ । नेकपा एमाले यस चरणको निर्वाचनमा पनि पहिलो चरणको जस्तै मतदाताको छनौटको पहिलो विकल्प बन्यो । पहिलो चरणमा जस्तै यो चरणको परिणाम कसैको लागि अनपेक्षित थिएन । अब एमालेले आगामी असोजमा प्रदेश नंम्वर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा एक स्थानमा पनि विजय हासिल गर्न नसक्दा समेत समग्रमा स्थानीय सरकारहरुमा देशको सवैभन्दा ठुलो राजनीतिक दलको रुपमा स्थापित हुने देखिन्छ ।

 

एमालेको यो सफलताको कारण के हो ? यो निर्वाचन परिणामको कारक को हो ? अरु दलको असफलताका कारण के र कारक को हो ? स्थानीय निकायको निर्वाचनमा एमालेले कस्तो राजनीतिक सन्दर्भ र परिदृश्यमा यो सफलता हासिल गर्यो र अन्य दलले विफलता भोग्न पर्यो भन्ने बिषयमा विभिन्न कोणबाट बिश्लेषण भइरेका छन् ।

 

एमालेवृत्त भित्र पहिलो र दोस्रो चरणको निर्वाचनमा यो पार्टी सबैभन्दा ठुलो दल बन्नका लागि ठुलो योगदान यसका अध्यक्ष खड्गप्रसाद ओलीको राष्ट्रवादी अडान हो भन्ने बलियो विश्वास र तर्क रहेको पाइन्छ । ओलीको कडा अडान र सही समयमा सटिक कटाक्ष गर्ने क्षमता नै अहिलेको सफलताको कारण भन्ने गर्छन् एमालेगण । यसमा सत्यता पनि रहेको होला । ’cause एमाले संंगठन बलियो हुँदाहुदै पनि पहिलो संविधान सभा निर्वाचनमा तेस्रो र दोस्रोमा दोस्रो ठुलो दल बन्न पुगेको थियो । अहिले भने एमाले सवैभन्दा ठुलो दलको रुपमा स्थापित भएको छ ।

 

एमालेको सफलताका पछाडिको सवैभन्दा ठुलो कारण भारतले लगाएको नाकाबन्दीको समयमा ओलीले लिएको अडान हो भन्ने गर्दछन् । ओली राजा महेन्द्रपछिको सवैभन्दा राष्ट्रवादी नेता भएको एमाले प्रोपोगाण्डा विभागको दावी रहेको छ ।

 

यस तर्कमा सत्यता त छ तर, एमालेगणले दावी गरेजस्तो भने पक्कै पनि होइन ।

 

राजनीति भनेको ‘पावर’को ‘गेम’ हो । ‘पावर’ भनेको आफ्नो कुनै पनि राजनीतिक नीति, सिद्धान्त र दृष्टिकोणको आधारमा आफुलाई ‘पोजिसनिङ्ग’ गरेर त्यसको आधारमा जनतामाथि प्रभाव पारेर आफ्नो नीति र दृष्टिकोणको पक्षमा राजनीतिक भूमिका स्थापित गर्ने हो ।

 

‘गेम’ भनेको एक यस्तो रणनीतिक अवस्था हो जसमा एउटा पक्षको निर्णय अर्कोपक्षको निर्णयको आधारमा त्यस रणनीतिक अवस्थाको अन्तिम परिणाम अर्थात ‘फाइनल पे अफ’को मुल्य अधिकीकरण गर्ने हो । यो ‘गेम थ्योरी’को आधारमा ओलीले अहिलेको राष्ट्रवादको नाराबाट संविधानजारी भएपछिको नेपाली राजनीतिक ‘गेम’मा यो रणनीतिक चालले अहिले उनको ‘पे अफ’ अधिकीकरण गरेको अवस्था हो ।

 

सोचनीय पक्ष के हो भने अहिले एमालेको ‘पे अफ’ अधिकीकरण गर्ने वाताबरण निर्माण गर्ने ओली एक पक्ष मात्र हो । यो रणनीतिक अवस्था सिर्जना गर्ने जिम्मेवार त्यसको विपक्षी पनि हो ।

 

यो ‘गेम थ्योरी’का रणनीतिक अवस्थाको सवैभन्दा दोषी मधेसी दलहरु र भारत नै हुन ।

 

मधेसीले संविधान निर्माणको क्रममा आफ्ना दलिल संस्थागत नगरी संविधान सभाबाट बाहिरिए । उनीहरुले आफ्ना मागहरु संविधान सभाको नियमित कामभित्र नै नछिराइकन सडक आन्दोलन र नाकावन्दीको बाटो रोज्न पुगे । भारतले पनि नेपालमाथि लगाएको नाकावन्दीले सिर्जना गर्नसक्ने परिस्थितिको आकलन नै गर्न सकेन । उरन्ठेउला पत्रकारले १५ दिन नाकावन्दी गरे पेट्रोलियम पदार्थको हाहाकारले गर्दा नेपालले भारतले जे भन्यो त्यही मान्नु पर्ने अवस्था बन्छ भन्ने सल्लाहमा विश्वास गर्न पुग्यो । त्यति मात्र होइन आलाकाँचा र उरन्ठेउला पत्रकारहरुले मस्यौदा गरेको विज्ञप्तिलाई नै नेपालमा संविधान जारी भएपछि भारतको आधिकारिक धारणाको रुपमा विदेश मन्त्रालयले जारी गर्यो ।

 

अहिले ओलीको सफलताको सवैभन्दा ठूलो कारक त्यही कदम हुन पुगेको छ । राजनीतिमा एक पक्ष मात्र कहिल्यै पनि खास घटनाको लागि एक्लेै दोषी हुँदैन । ओलीको दललाई तराईमा छिर्नै नदिने मधेसी दलको कदम पनि अर्को सवैभन्दा ठुलो कारक हो ।

 

विपरीत परिणाम र प्रभावविहिन तर साधारण जनतालाई दुःख मात्र दिने मधेसको आन्दोलनले गर्दा मधेसी दल विशेष गरि राष्ट्रिय जनता पार्टी (राजपा) अब आफ्नै अस्तित्व जोगाउन लाग्नु पर्ने भएको छ । अहिले तेस्रो चरणको स्थानीय निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा सामेल हुन बाध्य भएको कारण मधेसी केन्द्रित आन्दोलनको ‘बुमरयांग ’ नै हो । २०७२ साल साउनदेखी यता भएका, गरेका र गराइएका मधेसी दलहरुका सवै आन्दोलनहरुले मधेसी दललाई राजनीतिक साख बढाउन सहयोग गर्दै गरेन । यसको ठिक विपरीत मधेसी दलहरुको प्रभाव धेरै नै संकुचित हुन पुगेको छ ।

 

राजपाले पछिल्लो पटकसम्म राजनीतिक गल्ति गर्दै गयो । निर्वाचनमा उसलाई भाग लिन नदिन लागेका मधेसका एकथरी गैससकर्मि र बुद्धिजीवीको सल्लाहमा पहिलो चरणमा बहिस्कार गर्दा ओलीलाई नै फाइदा भएको छ । उनीहरुकै उक्साहटमा राजपाले निर्वाचन बहिस्कार गर्दा घाटा उसैलाई मात्र भएको छ ।

 

राजपालाई निर्वाचन बहिस्कारको सल्लाह दिनुको अन्तर्निहित कारण भने गैर सरकारी संस्थामार्फत मधेसको मुद्दामा दाताको पैसा पाउनको लागि मधेसको बिषय बस्तु चाहिन्छ । मधेसमा द्वन्द्व जति चर्को भयो, यो समुहलाई त्यति नै फाइदा पुग्छ । राजपालाई निर्वाचन बहिस्कारकालागि उत्प्रेरित गर्नुको तात्पर्य मुद्दाको लागि होइन ‘मनि’को लागि हो भन्ने राजपाले बुझेन ।

 

गैससकर्मि र बुद्धिजीवीले भने जस्तो स्थानीय निर्वाचन बहिस्कार गरेर राजनीतिक पार्टी निर्माण हुँदैन भन्ने राजपाले नबुझ्दा नै ओलीले एमालेलाई बलियो बनाएको समाजमा भ्रम परेको हो । अब पनि चेत नखुल्ने हो भने केही समयपछि राजपाको अस्तित्व नै समाप्त हुने छ । र एमाले २ नंम्वर प्रदेशमा पनि राजपाभन्दा बलियो बन्ने सम्भावना प्रबल छ । ’cause अहिलेको राजनीतिक ‘गेम’मा राजपाको हरेक रणनीतिक चालले ओलीलाई मात्र ‘पे अफ’ अधिकीकरण गरेको अवस्था छ । ओलीको सफलतामा मधेस केन्द्रित दलहरुको आन्दोलन र भारतीय नाकावन्दीको बढी भुमिका छ, ओलीको ‘राष्ट्रवादी अडान’ त सहायक मात्रै हो ।