हिज्जेः खेलाँची होइन

हिज्जेसँग खेलाँची वा लहडबाजी गर्न हुँदैन । गलत हिज्जेले शब्दको अर्थ मात्र फरक पार्दैन, भाषालाई भित्रभित्रै खोक्रो र कमजोर समेत तुल्याउँदै लैजान्छ । त्यसैले शुद्ध र सही हिज्जे लेख्न एकदमै ध्यान पुर्याउनुपर्छ । अशुद्ध र गलत लेखेर को पो उँभो लाग्छ र ?
प्रस्तुत छन्, शुद्ध र सही हिज्जे लेख्न बाटो देखाउने सरल तर प्रभावकारी नियमहरू:
हिज्जे: सामान्य नियम
शब्दको अन्त्यमा ह्रस्व लेख्ने
क. पुलिंगी शब्दहरू । जस्तै— हरि, मुरारि, विष्णु, शम्भु, बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि ।
ख. अप्राणिवाचक उकारान्त नपुंसकलिंगी शब्दहरू । जस्तै— घिउ, आलु, गाउँ, हिउँ आदि ।
ग. नु, आउ, आइ (कृत्) प्रत्यय र आइ, याइँ (तद्धित) प्रत्यय लागी बनेका शब्दहरू । जस्तै— बस्नु, खेल्नु, हिंड्नु, जनाउ, पढाइ, लेखाइ, गोलाइ, दुष्ट्याइँ आदि ।
घ. दुवै लिंगमा हुने उकारान्त विशेषण । जस्तै— दुधालु, घरेलु, मायालु, सिकारु आदि ।
ङ. सामान्य अव्यय । जस्तै— माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छिः आदि ।
शब्दको अन्त्यमा दीर्घ लेख्ने
क. स्त्रीलिंगी शब्दहरू । जस्तै— लक्ष्मी, पार्वती, दिदी, बहिनी, छोरी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, माइजू, भाउजू, गाई आदि ।
ख. अप्राणिवाचक ईकारान्त नपुंसकलिंगी शब्दहरू । जस्तै— कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, लप्सी, खैंजडी, हँस्यौली आदि ।
ग. मनुष्यको विशेष जात, पेशा, धर्म र भाषा बुझाउने शब्दहरू । जस्तै— लिम्बू, ज्यापू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, गुभाजू, हिन्दू, ईसाई, हिब्रू, उर्दू, जापानी, अंग्रेजी आदि ।
घ. ज्यू, जी प्रत्यय लागेर बनेका आदर जनाउने शब्दहरू । जस्तै— मन्त्रीज्यू, सभापतिज्यू, पिताजी, शर्माजी, परियारजी, झाजी, लामाजी, इन्दिराजी, मोहनजी आदि ।
ङ. भाव, ‘सम्बन्धी’ र ‘त्यहाँ हुने’ अर्थ बुझाउने ‘ई’ तद्धित प्रत्यय लागी बनेका शब्दहरू । जस्तै— गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जंगली आदि ।
च. सर्वनामहरू । जस्तै— ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि ।
छ. स्त्रीलिंगका र दुवै लिंगमा हुने ईकारान्त विशेषणहरू । जस्तै— काली, गोरी, राम्री, हँसिली, फरासिली, राजी, धनी, नामी, जाती, नजाती आदि ।
ज. ‘अरी’ प्रत्यय लागेका र यसको अर्थ दिने अव्ययहरू । जस्तै— राम्ररी, बेसरी, सुस्तरी, बराबरी; भकभकी, पटपटी, खलखली, ह्वालह्वाल्ती आदि ।
झ. विध्यर्थक क्रियापदको अन्त्यमा बनाउने उकार । जस्तै— गर्नू, जानू, खानू, गरूँ, जाऊँ, खाऊँ, भनूँ, देऊ, खाऊ, आऊ, लगाऊ, सिकाऊ, बचाऊ आदि ।
अन्य
क. विध्यर्थक क्रियापदको बीचमा आउने उकार ह्रस्व लेख्ने । जस्तै— गरुन्, जाउन्, आउन्, बचाउन्, पढुन्, लेखुन्, खेलुन्, भनुन् आदि ।
ख. संख्यावाचक शब्दमा आउने उकार ह्रस्व लेख्ने । जस्तै— उन्नाइस, उनन्तीस, उनन्चालीस, उनासी, एकाउन्न, बाउन्न आदि ।
ग. संख्यावाचक शब्दमा व्यञ्जनसँग आउने इकार (त्रि बाहेक) दीर्घ लेख्ने । जस्तै— बीस, तीस, चालीस, चौबीस, पच्चीस, बत्तीस, चौंतीस, छत्तीस आदि । — स्वर मात्र आउँदा भने इकार ह्रस्व लेख्ने । जस्तै— एक्काइस, बाइस, तेइस, अट्ठाइस आदि । अपवाद ः दुई ।
हिज्जे: विशेष ध्यान दिनुपर्ने नियम
क. संस्कृतबाट जस्ताको तस्तै आएका शब्दहरू यथावत् लेख्ने । जस्तै— श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, वधू आदि ।
ख. अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्दहरू इकार, उकार, शकार, वकार आदि नबिगारी शुद्ध रूपमा यथावत् लेख्ने । जस्तै ः
— शुरूमा दीर्घ इकार आउने शब्दहरू । जस्तै— चीफ, जीप, चीट, टीम, टीभी, टीशर्ट, ठीक, डीन, फीचर, बीच, भीड, मीटिङ, रीट, सीट, स्टील, ग्रीन, हीटर आदि ।
— बीचमा दीर्घ इकार आउने शब्दहरू । जस्तै— अपील, करीब, कारीगर, खरीद, गरीब, जमीन, जागीर, तपसील, तस्वीर, तारीफ, तालीम, दलील, नजीर, नतीजा, नसीब, पनीर, मारपीट, रसीद, रईस, वकील, शहीद, बीबीसी, आईडी, आईफोन आदि ।
— शुरूमा दीर्घ उकार आउने शब्दहरू । जस्तै— खूबी, घूस, छूट, तूफान, फूटपाथ, फूटबल, बूट, भूल, भूटान, रूस, स्कूटर, स्कूल, लूट आदि ।
— बीचमा दीर्घ उकार आउने शब्दहरू । जस्तै— अटूट, कपूत, कसूर, कानून, कार्टून, जुलूस, देहरादून, नमूना, बावजूद, मजदूर, मजबूत, महसूस, सबूत आदि ।
— शुरूमा मोटो श आउने शब्दहरू । जस्तै— शर्त, शर्बत, शहर, शहीद, शान, शायद, शायर, शायरी, शिकार, शुरू, शेक्सपियर, शेखी, शेयर, शेर, शो, शोरूम आदि ।
— बीच र अन्त्यमा मोटो श आउने शब्दहरू । जस्तै— कुश्ती, कोशिश, खुशी, चश्मा, जोश, निशान, निशाना, पेश, पेशा, पेशी, पेश्की, एक्शन, नेशन, फेशन, कमिशन, पोशाक, बेहोश, मशाल, मशीन, मार्कशीट, मालिश, मुश्किल, लाश, लोडशेडिङ, सिफारिश, होश, होशियार आदि । — बीचमा व आउने जवाफ, रवाफ, जस्ता शब्दहरू ।
(विशेष ध्यानाकर्षण: अंग्रेजी शब्दमा रहेको÷स्पष्ट उच्चारण गरिने श तथा ई, ऊ नबिगारी शुद्ध रूपमा लेख्ने । जस्तै— फेशन, स्टील, स्कूल आदि ।)
ग. अन्य भाषाबाट रूप परिवर्तन भएर आएका प्रचलित शब्दहरू यथावत् लेख्ने । जस्तै— गाउँ, खेत, भुइँ, सास, नाक, कान, काम, घाम, छाता, अँगार, नाइके, रगत, जग्गा, फाइदा, काइदा, सोख, गोदाम, लाल्टिन, जर्नेल, अस्पताल आदि ।
घ. झर्रोवादी आन्दोलनबाट स्थापित शब्दहरू यथावत् लेख्ने । जस्तै— अखानो, अगावै, अडेसो, अहमत्याइँ, औतारी, कुइरे, कैरन, कोकोहोलो, कोसेढुंगो, कोसदुएक, पपाँच, गोडादशेक, खटनपटन, खुरुन्धार, खैराँती, गनौट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, मथिंगल, घचारो, घुर्मैलो, अनजबाफ आदि ।
ङ. शुरूमा दीर्घ लेखिंदै आएका शब्दहरू नबिगारी यथावत् शुद्ध रूपमा लेख्ने । जस्तै— कीरो, खीर, चीसो, चूलो, जीउ, तीतो, नीम, पीठो, पीर, पीरो, भीड, मीठो, मीत, रीस, शीत, हीरा; बीस, तीस, चालीस; ठूलो, दूध, धूलो, पूरा, फूल, बूढो, मूला आदि । — साथै कोशी, दशैं, आकाश जस्ता मोटो श लेखिंदै आएका शब्दहरू यथावत् शुद्ध रूपमा लेख्ने ।
च. नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई जबर्जस्ती नबिगारी शुद्ध रूपमा लेख्ने । जस्तै— कानूनी, गैरकानूनी, जोशिलो, पोषिलो, विश्वासिलो, विदेशिनु, खुशियाली, तुषारो, पुष्ट्याइँ, दुष्ट्याइँ, प्रष्ट्याउनु, वर्षिनु, स्वीकार्नु, पूर्वी, पूर्वेली, पश्चिमेली, एकवर्षे, दुईवर्षे, बेहोशी, होशियार आदि । अपवाद ः पुजारी, चिनियाँ, रिसाहा, मितेरी, सिपालु, जुनेली, दुधिलो आदि ।
पञ्चम वर्ण, शिरविन्दु, चन्द्रविन्दु
क. संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण लेख्ने । जस्तै— सञ्चार, सञ्चय, घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि ।
ख. अनुस्वार पछि क वर्ग (क, ख, ग, घ, ङ) रहेको अवस्थामा भने शिरविन्दु लेख्ने । जस्तै— अंक, अहंकार, शंका, शंख, गंगा, संघ, संगठन आदि ।
ग. य देखि ह सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले शिरविन्दु मात्र लेख्ने । जस्तै— संयम, संलग्न, संवाद, संवाददाता, संवत्, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि ।
घ. अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु नदिने; उच्चारण वा तिनको प्रकृति अनुरूप पञ्चम वर्ण नै लेख्ने । जस्तै— हम्कनु, चम्किलो, लम्किनु, चम्चा, गम्छा, सम्धी, सन्चो, लन्डन, टेन्डर आदि । (कांग्रेस, अंग्रेजी जस्ता शब्दमा भने शिरविन्दु नै लेख्ने ।)
ङ. डिकोभन्दा माथि मात्रा वा रेफ नभएको स्थितिमा चन्द्रविन्दु लेख्ने । जस्तै— तँ, कहाँ, यहाँ, गएँ, खाएँ, दायाँ, बायाँ आदि ।
च. डिकोभन्दा माथि मात्रा वा रेफ भएको स्थितिमा भने चन्द्रविन्दुको सट्टा शिरविन्दु लेख्ने । जस्तै— भनें, गरें, बैंस, दशैं, सधैं, झोंक, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं, हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा, झर्कंदा आदि ।
छ. ठाउँ, थर आदिको अन्त्यमा ङ्ग वा ङ्ग होइन, ङ नै लेख्ने । जस्तै— दाङ, ताप्लेजुङ, दार्जीलिङ, गुरुङ, तामाङ, सुरुङ आदि । — अंग्रेजीमा ष्लन आएको ठाउँमा पनि ङ्ग होइन, ङ नै लेख्ने । जस्तै— टीचिङ, ट्रेनिङ, ड्राइभिङ, जम्पिङ आदि ।
धातुमा त र द
क. सामान्य वर्तमान काल (करण) र भूतकाल (अभ्यस्त) मा धातु पछि त अथवा द नजोडी लेख्ने । जस्तै— पाक्छ, जाँच्छ, हाँस्छ, राख्छ, बाँच्छ; माग्छ, हान्छ, बोल्छ, बुझ्छ, रम्छ, भन्छ; पाक्थ्यो, जाँच्थ्यो, हाँस्थ्यो, माग्थ्यो, हान्थ्यो, बोल्थ्यो आदि । (यस्ता ठाउँमा त अथवा द जोडेर लेख्ने पनि चलन छ । जस्तै— पाक्तछ÷पाक्दछ, हाँस्तछ÷हाँस्दछ; माग्दछ, बोल्दछ आदि । तर त÷द नजोडी लेख्ता नै छरितो हुन्छ ।)
ख. धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख्, छ्, ठ्, थ्, फ्) वा स् रहेको छ भने, अकरण÷अपूर्णता आदिमा त जोडेर लेख्ने । जस्तै— पाक्तैन, पाक्तैछ, पाक्तैथियो, जाँच्तैन, जाँच्तैछ, जाँच्तैथियो, हाँस्तैन, हाँस्तैछ, हाँस्तैथियो आदि ।
ग. धातुको अन्त्यमा अन्य अक्षर रहँदा भने (अकरण÷अपूर्णता आदिमा) द जोडेर लेख्ने । जस्तै— माग्दैन, माग्दैछ, माग्दैथियो, हान्दैन, हान्दैछ, हान्दैथियो, बोल्दैन, बोल्दैछ, बोल्दैथियो आदि ।
अंक र मिति
क. एउटा अंक भएको संख्या अक्षरमा लेख्ने । जस्तै— एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ ।
ख. दुई वा तीन अंक भएको संख्या अंकमा लेख्ने । जस्तै— २५ । ८८ । १४० । ५६८ । ८५६ आदि ।
ग. हजार र त्यसभन्दा माथिको संख्या जनाउनुपर्दा अक्षरमा लेख्ने । जस्तै— १२ हजार । २० लाख । ११ करोड । १५ अर्ब । ४० अर्ब आदि । — २४,३५,२८,२५६ नलेख्ने । २४ करोड ३५ लाख २८ हजार २५६ लेख्ने ।
घ. उमेर, मिति, कक्षा, रोल नं. र वडा नं. आदिका लागि अंक लेख्ने । जस्तै— १२ वर्षीय, २२ गते, कक्षा ८, रोल नं. १८, विराटनगर– ४ आदि ।
ङ. मिति लेख्ता समयको ठूलो परिधिबाट क्रमशः सानोतिर लाग्ने । जस्तै— २०६९–२–१८ । २०६९ जेठ १८ गते ।
पदयोग, पदवियोग
हिज्जे जस्तै पदयोग, पदवियोगको पनि पूरापूर ख्याल गर्नुपर्छ । विभक्ति सधैं शब्दसँग जोडेर लेखिन्छन् भने अरू शब्द जोड्न जरूरी छैन । समास भएर बनेको शब्द सामान्यतः एउटै डिकोमा लेख्नुपर्ने हो । तर समास भए पनि लामो हुने भयो भने शब्द नजोडी लेख्ने नेपाली भाषाको प्रकृति रहेको छ । त्यसैले, अर्थमा फरक पर्दैन भने जोड्ने भन्दा छुट्याउनेतिर लाग्नु उपयुक्त हुन्छ ।
क. समस्त शब्दहरू सामान्यतः एउटै डिकोमा लेख्ने । जस्तै— दाजुभाइ, दिदीबहिनी, घटीबढी, छात्रावास, शुभकामना, गाईगोठ, नीलकण्ठ, पीताम्बर, गोडधुवा, लामपुछ्रे, रक्षामन्त्री आदि ।
ख. समास भएपछि पाँच अक्षरभन्दा बढी हुने स्थिति भएमा शब्दहरू छुट्याएर लेख्ने । जस्तै– शिष्ट परम्परा, परराष्ट्र मन्त्री, प्रधान न्यायाधीश, इतिहास शिरोमणि, महालेखा परीक्षक, परराष्ट्र मन्त्रालय, अध्ययन संस्थान आदि ।
— व्यक्ति-संस्था-पद-स्थान आदिलाई बुझाउने शब्द भने अभ्यास वा प्रचलन अनुरूप यथावत् लेख्ने । जस्तै— भवानीप्रसाद, कृष्णचन्द्रसिंह, विश्वविद्यालय, महाविद्यालय, महान्यायाधिवक्ता, काभ्रेपलान्चोक, विराटनगर आदि ।
ग. उपसर्ग सधैं जोडेर लेख्ने । जस्तै— विवाद, अनुवाद, अपवाद, प्रतिवाद, उपयोग, सहयोग, अनुहार, अधिकार, बेइज्जत आदि ।
घ. एउटा काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेख्ने । जस्तै— भनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, आएछ, गरेछ, गएथ्यो, गथ्र्यो, बस्थी, भन्नुभयो, गर्नुभयो आदि ।
ङ. छुट्टाछुट्टै काम जनाउँदा क्रियापद छुट्याएर लेख्ने । जस्तै— भनी दियो (भनेर दियो), बांगिई हेर्यो (बांगिएर हेर्यो ), खाई सुत्यो (खाएर सुत्यो); गरेको छ, भनेको छ, खाएको थियो, आएको थियो आदि ।
च. विभक्तिहरू (ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि) शब्दस“ग एउटै डिकोमा लेख्ने । जस्तै— सोनामले, सोनामलाई, बेखाद्वारा, बेखाबाट, घरदेखि, डोल्माको, डोल्माका, डोल्माकी, घरमा आदि ।
छ. विभक्ति जस्तै भएर आउने नामयोगीहरू (मुनि, माथि, ’bout, भन्दा, स“ग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि) जोडेर लेख्ने । जस्तै— पुलमुनि, पुलमाथि, पुस्तक’bout, श्यामभन्दा, रामसँग, खोलावारि, खोलापारि, घरसम्म आदि ।
ज. उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू (विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्पmत, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, जस्तै, समान, भैं, नै, नि, पो, त, लौ, चाहिं, मात्र आदि) छुट्याएर लेख्ने । जस्तै— पुस्तकालय विना, टेलिभिजन बाहेक, विनीता समेत, गुरु बराबर, विभाग अन्तर्गत, चार वटा, आठ जना, गुलाफ जस्तो, राम झैं, कलम चाहिं, झोला मात्र आदि ।
झ. शब्दको संक्षिप्त रूप लेख्ता अक्षरहरूका बीचमा थोप्लो नदिई जोडेर लेख्ने । जस्तै— त्रिवि, गाविस, जिविस, एसएलसी, टीभी, सीडी, बीबीसी आदि ।
ञ. अनुकरणात्मक शब्दहरू जोडेर लेख्ने । जस्तै— टहटह, ढकमक्क, खलखली, चाइँचुइँ, ¥याउँ¥याउँ, क्याउँक्याउँ,जर्याकजुरुक, मर्याकमुरुक, गल्र्यामगुर्लुम आदि ।
(वस्तीको भर्खरै प्रकाशित पुस्तक ‘नेपाली कसरी लेख्ने ?’को एक अंश)

