‘भ्यान्चा डोल’ अर्थात मध्यरातमा थुमो कराउने ठाऊँ

जग्गा बिक्री गरेको खुशीमा एकसातादेखि खानपीनमा रमाइलो गरिरहेका हरिकृष्ण नगरकोटी माघको पारिलो घाममा आफूले तीन करोडमा बिक्री गरेको भ्यान्चाडोलको पाखोमा चलिरहेका डोजर हेर्दै थिए । उनी भन्दै थिए–हेरहेर त्यत्रो ढिस्को एकैछिनमा कहाँ बिलायो ? रुखका जरा राक्षसले जसरी पो उखेल्यो ! बाँसका जरालाई तरुल खने झैं पो झिक्छ, डोजर मोरो !

 

चलन चल्तीमा भ्यान्चा डोल (नेवारी भाषामा फैचा डोल ?) अर्थात मध्यरातमा भेडोको थुम्मो कराएर तर्साउने ठाउमा अब जखमले थुम्मो नकराउने भएको छ । भ्यान्चा डोल नै नरहेपछि फैचा कराउने ठाउ नै रहेन ।

 

पूर्वी काठमाण्डौं अन्तर्गत पर्ने पहिलेको आलापोट र भद्रवास गाउ विकास समितिको सिमानामा पर्ने भ्यान्चा डोल यतिखेर तीन–चारवटा डोजरले सम्याएर टुँडिखेल बनाइदै छ । तर यहाँ खेलकुद गर्ने टुंडिखेल बन्न लागेको भने होइन । भिरालो पाखो सम्याएर टुँडिखेलजस्तै सम्म पारिसकेपछि त्यसलाई चिरेर घडेरीका प्लटिङहरु बनाउदै बिक्री गरिने छ ।

 

भ्यान्चा डोल त एउटा उदाहरण मात्र हो, यतिखेर पूर्वी काठमाण्डौं उपत्यकाका डाँछी, भद्रवास, आलापोट, गागल, इन्द्रायणी, नयाँपाटी, गोकर्ण र बालुवाका हरिया पाखा पखेराहरुमा रहेका रुखविरुवाहरु काट्दै डोजरले सम्याइदै छ । जग्गा दलालहरु यो क्षेत्रमा झुम्मिएका छन् ।

 

नझुम्मिउन् पनि किन ? बुढानिलकण्ठमाथि तारेभीरको नाकबाट काठमाण्डौं, पाटन र भक्तपुर शहरलाई हेर्ने हो भने खाली ठाउ यही भेगमा मात्र रहेको प्रष्टसंग देखिन्छ । घरबस्तीले भरिएको ठाउमा प्लटिङ हुने कुरै आएन । अनि माटो, बालुवा खनेर र रुख काटे पछि घडेरी बनाउने जग्गा तयार !

 

जग्गा किनबेच गर्ने व्यापारीहरु डाँडापाखाहरुमा आफ्नो लगानी, सिप र क्षमता प्रयोग गरेर शहरीकरणलाई तिब्रता दिइरहेका छन् । तर नगरपालिका र त्यसका वडाहरु भने सरकारी दस्तुर लिएर स्वीकृति दिंदै कमाइरहेको ठानिरहेछन् । मानौं, संविधानले स्थानीय निकायलाई दिएको अधिकारवारे निर्वाचित जनप्रतिनिधिहरुलाई थाहै छैन ।

 

थाहा भएको भए, आफ्नो नगरमा दुईवर्ष, पाँचवर्ष र दशवर्षमा कस्तो बनाउने हो ? त्यसको खाका प्रस्तुत गरेर अहिले नगरमा भैरहेका गतिविधिलाई नियन्त्रण गर्ने कि स्वीकृति दिने निर्णय गर्ने थिए होलान् ।

 

’cause, नजीकैको काठमाण्डौं महानगरपालिका हरेक घरमा तीनवटा रुख हुनैपर्ने फर्मान जारी गरिरहेको छ तर काँठमा शहर बजार विस्तारको नाउमा हुर्किएका रैथाने रुख विरुवाहरु फाँडेर मरुभूमि बनाइदै छ । स्थानीय नगरपालिकाका पदाधिकारीलाई यसवारे सोद्धा सबैतिर अन्यौल रहेको पाइयो !

 

राजधानीवरिपरिको काँठ क्षेत्रमा पत्याउनै नसकिने गरी भैरहेको पछिल्लो परिवर्तनलाई चावहिल–साखु सडक चारलेनको बनिसक्न लागेकोले पनि तीब्रता दिएको हो । यसवारे न कसैले सोचेको थियो, नत स्थानीय वासिन्दाले आफ्नो ठाउमा कुनै दिन शहर–बजार बन्ने छ भन्ने सपना नै देखेका थिए । तर भीरपाखोको मूल्य पनि माटो बालुवा बेचेर र जग्गा प्लटिंग गरेर लाखौं लाख पुग्न सक्छ भनेर उनीहरुको भेजाको कुनै कुनाले नै अनुमान सम्म गरेको थियो !

 

अहिले जे भैरहेको छ, त्यसले तीब्रगतिमा पूर्वी काँठको रुप नै परिवर्तन गरिरहेछ । चौंडा सडक, पीच, ढल, स्ट्रिट लाइट, गाडीहरुको ओहोर दोहोर, हरेक चीज पाइने बजार विस्तार र नगरका सुविधाहरु सलहको रफ्तार र संख्यामा आफ्नै घर गाउमा ओइरिएपछि काँठका बासिन्दा रनभुल्लमा परेका छन् ।

 

 

अस्तीसम्म आनाको एक लाख रुपैयाँमा मूल्य पर्छ भन्दा पनि जिब्रो टोक्नुपर्ने पाखो अहिले पाँच छ गुना मूल्यमा हारालुछ हुन थालेपछि मात्र होइन, रुख विरुवा झाडी र एकान्तले गर्दा दिउस जान डराउनु पर्ने डोल पाखाहरु यतिखेर दाह्री काटिएका बाबाजी जस्ता चिल्ला र सिनित्त देखिदै छन् । बाबाजीको गालामा लाली चढेजस्तै कहिल्यै घामको दर्शन नपाइने हेपिएका काँठका भीरबारी पाखामा जवानी चढेको छ । उज्याला, सम्म, लहरा र झारपात बीनाका गाडी गुड्ने प्लटिंगमा रुपान्तरण भैरहेछन् भीरवारीहरु ।

 

उपत्यकाका सबैतिरका काँठका डोलहरुमा तीब्र गतिमा भैरहेको यो परिवर्तन केही समयसम्म त्यहाँ चर्न आएका कालिज शिकारी पुगेपछि जसरी बेग हान्थे, अहिले कालिजको बेग भन्दा चर्को गतिमा भीरपाखामा डोजरले बेग हानिरहेका देखिन्छन् ।

 

डोजरको कान खाने कर्कस आवाज र तिनको ओहोर दोहोर काठमाण्डौं उपत्यकाका चार भन्ज्याँग– फुलचोकी, नागार्जुन, मडिचुड र चन्द्रागिरीको फेदीसम्मै ठोकिन थालेको छ ।

 

अकस्मात जस्तो देखिएको अहिलेको परिवर्तन वास्तवमा बाँकिरहेका केही छिटपुट परिवर्तनका प्रतिनिधि कथा मात्र हुन् । कागजमा त काठमाण्डौ, भक्तपुर र ललितपुर गाउमुक्त महानगर, उपमहानगर र नगरपालिका घोषणा दुईतीन वर्ष अघि नै भैसकेका हुन् । त्यतीखेर आफूलाई टाठाबाठा ठान्नेहरु काँठेहरु सरकारका घोषणालाई उल्याइरहेका थिए, हा… हा… यो पाखो पनि नगरपालिका भयो !

 

अब अत्तालिने पालो उनीहरुकै छ । भन्छन्–हाम्रो क्षेत्र अब पाखापखेरा विहिन हुन थाले । हाम्रा नाती–नातिनालाई यहाँ यस्तो थियो बाबु–नानी भन्दा उनीहरुले नै हामीलाई नपत्याउने अवस्था आयो । ’cause, अब हाम्रो ठाउको पुरानो स्वरुप नै बदलिइसक्यो । पाखा पखेराका कथाव्यथा मेटिएपछि हाम्रो मनमा सजीएर मात्र कति समय रहला यो क्षेत्रको कुमारित्व ?

 

स्थानीय निकायको निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएर नयाँ सरकार बन्न पाएको छैन, काँठको मुहार फेरिइसक्यो । यही गतिमा काँठका डाँडापाखा फाँडिदै गए भने अर्को चुनाव अघि नै काठ क्षेत्र असन, इन्द्रचोक र भोटाहिटी बन्ने पक्का छ । अनि काँठेहरु काँठे रहने छैनन्, सबै शहरीया कहलिने छन् !

 

 

जग्गा बिक्री गरेको खुशीमा एकसातादेखि खानपीनमा रमाइलो गरिरहेका हरिकृष्ण नगरकोटी माघको पारिलो घाममा आफूले तीन करोडमा बिक्री गरेको भ्यान्चाडोलको पाखोमा चलिरहेका डोजर हेर्दै थिए । उनी भन्दै थिए–हेरहेर त्यत्रो ढिस्को एकैछिनमा कहाँ बिलायो ? रुखका जरा राक्षसले जसरी पो उखेल्यो ! बाँसका जरालाई तरुल खने झैं पो झिक्छ, डोजर मोरो !

 

नगरकोटी भुइचालोले भत्किएको आफ्नो घर बनाउन सरकारले दिन्छु भनेर पनि पैसा नदिएकोमा क्रुद्ध रहेछन् । उनले मदहोस स्वरमा चुनौति दिंदै भने, त्यो सरकारले नदिए पनि म अब घर बनाएर त्यसलाई देखाइदिन्छु ! सरकारले ढाटेर हामी घर भत्केकालाई घर बनाउन बेलैमा पैसा नदिए पनि, मैले आफ्नो जग्गा बेचेर भए पनि सरकारलाई देखाइदिन्छु !

 

हरिकृष्ण र उनका भाइले प्रतिआना साँढे तीन लाखमा बेचेको भ्यान्चा डोलको साढेपाँच रोपनी पाखो सम्याएपछि त्यसको मोल सालाखाला प्रतिआना दश लाख पुगेको छ । सडकसंग जोड्ने एक कित्ताको भने प्लटिंग गर्नेले अलि बढी नै मोल ति¥यो । हरिकृष्णको भन्दा परको पाखोको उस्कोभन्दा पनि कममा किन्यो, ढुंगाना टोलका सानुकान्छाले बताए ।

 

छेउमै रहेका पौडेल टोलका पुष्कर पौडेलले भने– मेरो पाखो यो पन्ध्र रोपनीको प्लटिंगको पुछारमा छ । हाम्रो परिवार अहिले पाखो बेच्ने सुरमा छैन तर के गर्नु पाखोको टुप्पो स्वयम्भूको डाँडो र फेद विष्णुमती खोल्सो जस्तो भयो !

 

हेलिकोप्टरबीना आफ्नै जग्गामा पुग्न पो हुन थाल्यो बा ? सिंढी बनाउ, टुप्पोमा स्वयम्भूनाथको मन्दिर छैन । हेलिकोप्टर किनौं, पाखो नबेची संभव छैन ! पाखो बेचौ र हेलिकोप्टर किनौं भने हेलिकोप्टरमा जाने भनेको पाखो अर्काको भैसक्छ, अनि हेलिकोप्टर किनेर पनि के गर्नु ? हाम्रो परिवार त बढो दोधारमा पो परेका छौं ।

 

पुष्करको पीडालाई सान्त्वना दिंदै सानुकान्छाले भने, अब धेरै चिन्ता नगर्नुहोस् गुरु ! केलाई चाहियो पाखो ? केलाई चाहियो रुखविरुवा ? रुख शिवपुरी निकुन्जमा गए हेर्न पाइहालिन्छ । मरेपछि पोल्न मरानी काठ होइन, बिजुलीले पोली हाल्छ ! अनि लास बोक्ने खट बनाउन बाँस पनि किन चाहियो ? फलामको बनाएपछि सधैंलाई भैगयो ।

 

 

बाँसको झ्याँग माँसिएकोमा पनि केको चिन्ता ? बरु यो झ्यास, भीर र केही उत्पादन नहुने पाखोमा धेरै लोभ नगर्नुहोस्, फ्याँकिदिनोस् जग्गा दलाललाई भ्यान्चा डोल ! तपाईले यो जग्गा दिनु भयो भने भ्यान्चा डोल पनि आदर्श मावि भएको ठाउजस्तै ठूलो गह्रो बन्छ !

 

मलाई भने एउटा चिन्ता छ, ढुंगानाले भने–बरु बिहे, ब्रतमन्हमा गाड्ने लिंगो पो अब के गाड्ने ? बाँस, पैयुँ, चाँप, आँप, केराको लिंगो के गाड्ने ? के अब शुभकाममा पनि फलामकै लिंगो गाड्दा हुन्छ ? धर्म संस्कृतिले के भन्छ, शुभकार्य सफल हुन्छ ? फलामको लिंगोमा हरियो रंग लगाएर गाड्ने हो भने नारायणहरि त होइदैन ?

 

पुष्करले भने, के गर्ने बाबुबाजेको पालादेखिको पाखो छोरानातीलाई काठपातसहित हराभरा नैं हस्तान्तरण गरौं भनेको नसकिने भयो । न पाखो, रुख र बाँस न घाँसपात केही रहने भएन ! माथि स्वयम्भुको डाँडा जस्तो टुप्पो र तल इनार खन्ने ठाऊँजस्तो खोंच मात्र बाँकि रहने भयो । चारैतिरबाट प्लटिंगले घेर्दैल्याए । अब त थोरथोरै हुने सबैको किनी सके । नबेचौं भने घेरिइसक्यो र बेचौं भने पुर्खाको नासो नरहने भयो ।

 

उनले बाध्यता पोखे, म अरु छिमेकी भन्दा अलिधेरै जमीन हुनेको त यो हालत छ भने चार छ आना हुनेको जग्गा त पुरिएरै सकिने भयो । जग्गा दलाललाई नबेची भयो त ? मोल पनि प्लटिंगवालाले भनेकै भाउमा हुन्छ हजुर भन्दै गुहार्न जानुपर्ने पो भयो । नजाउ भने जग्गा नै हराउने हो कि ?