‘खोलो तर्यो, लौरो बिर्स्यो’ –राजकुमार केसी

उनीहरु माओवादी लडाकुलाई दुखी–गरीबका लागि लड्ने लडाका भन्दै समर्थन गर्दथे । मंगलटारका हुन् कि अछाम मंगलसेनका आमजनता गरिवी, अशिक्षाबाट आक्रान्त न थिए । उनीहरुलाई आफ्नो अस्तित्व बोध नै हुन पाएको थिएन ।

निर्वाचनको मुखमा बामपन्थीहरुले गठबन्धन बनाएर जनतासँग देशको मुहार फेर्छौं भन्ने जुन कसम खाए, अब व्यवहारमा गरेर देखाउने दिनगन्ती शुरु भएको छ । पहिला जस्तै ‘खोलो तर्यो, लौरो बिर्स्यो’ नहोस् ।

 

निकै समयको राजनीतिक अन्योल अनि चुनाबी झै–झमेलापछि बल्ल देशले नयाँ सरकार पाएको छ । बाम गठबन्धनको एकमना सरकार । त्यो पनि जनता सामु देशभक्त नेताको रुपमा कहलीएका खड्गप्रसाद ओलीको नेतृत्वमा गठन भएको एकमना सरकार !

 

 

अब त देशले कसो कोल्टे नफेर्ला ? दुखी, गरीब, पछाडि पारिएका जनताको दिन अब त कसो न आउला ?! किनकि कमरेड ओली पनि त्यही पृष्ठभूमिबाट आएका न हुन् । बिचमा पो कुन्नी कसरी हो, महाकाली सन्धिमा चिप्लिसकेका ओली, फेरी कसोकसो छिमेकी देश भारतको आर्थिक नाकाबन्दीबाट स्वाट्टै माथि उठे । यो कुरा जगजाहेर छ ।

 

 

नाकाबन्दीका बेला दक्षिण, पूर्व र पश्चिमतिर सिमाना जोडिएको छिमेकीसँग नझुकेरै उनले देशको साख बढाउन कुनै कसुर बाँकि राखेनन् । जिन्दगीमा कुनैकुनै घटनाले कसलाई कहाँ पुु¥याउँदो रैछ, कसलाई कहाँ हुँदो रैछ र ? ओलीको पहिलो कार्यकाल यसैको उदाहरण हो । तर अब दोस्रो प्रधानमन्त्रित्वकाल चुनौतिको रुपमा उनको अगाडि खडा छ ।
शायद, यतिखेर हामीले पंचायती प्रधानमन्त्री मरिचमान सिंहश्रेष्ठलाई बिर्सी सक्यौं । २०४५ सालताका मरिचमानले भारतको नाकाबन्दीबिरुद्ध डटेर सामना गरेको कुरा कसै सामु लुक्दैन ।

 

 

उनको त्यो अडानको उच्च मूल्यांकन गर्नै पर्छ । कमरेड ओली र मरिचमानको राष्ट्रबादमा के भिन्नता छ ? एक समयको राष्ट्रबाद्ले ओलीलाई सत्तामा आसिन गरायो भने अघिल्लो समयको राष्ट्रबादले सम्पूर्ण प्रणालीलाई नै धरापमा मात्र पारेन, राजाको निरंकुश पञ्चायती ब्यबस्थालाई नै रद्धिको टोकरीमा फालिदियो । पहिलो निर्वाचित प्रजातान्त्रिक सरकारलाई सेना लगाएर ल्याइएको व्यवस्था असफल साबित भयो र देशमा प्रजातन्त्र पुनस्र्थापना भयो ।

 

 

यी आरोह–अबरोहहरु एउटा देशको इतिहासमा हुने सामान्य घटना हुन सक्छन् तर राष्ट्रको स्वाभिमान, स्वतन्त्रता र आफूले चाहेको बाटोबाट अगाडि बढ्ने जे जति कदम विगतमा उठाइयो, त्यस्को सम्मान गरिनु पर्छ ।
देशमा बाम सरकार भर्खरै गठन भयो र मन्त्रिमण्डलले अझै पूर्ण आकार लिइसकेको छैन । प्रधानमन्त्रीको सपथग्रहणपछि बनेको सानो र पहिलो पल्ट विस्तार भएको सात सदस्यीय सरकार बनेकै दिनमा सरकारबाट बढी आशा गर्नु त्यति स्वाभाबिक होईन ।

 

 

कसौंडीमा पाकेको भात पस्किन त समय लाग्छ भने देश बिकासको कामलाई प्रकृयागत रुपमा गति दिन केही समय अवश्य नै लाग्छ । आशागरौ, बामगठबन्धनको सरकार देशमा साँच्चै गरीबी न्यूनीकरणमा सफल हुन्छ र देश विकास–निर्माणतर्फ अगाडि बढ्न सक्षम हुनेछ ।
यसबीच अर्को ज्यादै सुखद खबर पनि सुन्न पाइयो । सुन्न मात्र होइन, यथार्थमा देख्ने अवसर पनि पाइयो । गुट, फुट र चरम आरोप प्रत्यारोपमा टुक्रिइरहेका कम्युनिष्ट पार्टीहरुले यात्राको लामो संघर्षपूर्ण इतिहासको क्रममा एकिकरण भएका छन् ।

 

 

आमनिर्वाचन अगाडि गठबन्धन बनाउदै एउटै पार्टी बनाउने किरिया खाएका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) अन्तत अनेक किचलोका बीच एकिकरण भएर पुच्छर नभएको नेपाल कम्युनिष्ट पार्टी बनाएका छन् ।

 

 

निर्वाचनको मुखमा बामपन्थीहरुले गठबन्धन बनाएर जनतासँग देशको मुहार फेर्छौं भन्ने जुन कसम खाए, अब व्यवहारमा गरेर देखाउने दिनगन्ती शुरु भएको छ । संसारभर लोकतन्त्रमा सय दिनको समय नयाँ सरकारलाई दिने गर्छन् । हुने बिरुवाको चिल्लोपात यही बेला देखिनु पर्छ ’cause विपक्षीले पनि बीना अवरोध सयदिन काम गर्न दिने चलन विश्वब्यापी छ ।

 

 

ओली सरकारलाई सुखानी र दोरम्बामा प्राण आहुती गरेका योद्धाको सपना साकार पार्ने काम चुनौतिपूर्ण छैन । यो जनताबीच फोस्रा नारा लगाए जस्तो पक्कै होइन । यसका लागि बाम गठबन्धन सरकार शुरुदेखि नै गंभीर र सचेत हुन जरुरी छ ।

 

 

माओवादी जनयुद्धमा लडाकुहरुलाई आमजनताले त्यतिकै सहयोग गरेका पक्कै होईनन् । भोलिको दिन साँच्चै सुखद हुनेछ भन्ने आशा र विश्वासले गर्दा नै आफू नखाइ नखाइ लडाकुहरुलाई पालेका हुन् ।

 

 

तर, माओवादीले खोलो तरे, लौरो विर्सिए ! पटक पटक सत्तामा पुगे पनि आफनै बचन बिर्सिने बामपन्थी रोगबाट उनीहरु सिकिस्तैसंग ग्रसित भए । त्यो बामपन्थी प्रबृत्तिले बामआन्दोलनलाई भँड्खारोमा पारेको सबैसामु जगजाहेर छ । फेरि पनि बामपन्थी त्यही भँड्खारोमा नपरोस् ! नयाँ सरकारलाई यही शुभकामना !

 

 

बामगठबन्धनको सरकारको मूख्य काम नै ती निमुखा र विपन्न जनता जसको न आफ्नो घर छ, नत खेत बारी नै । बेरोजगार छन् । कामको ठेगान छैन । उनीहरुलाई गाँस, बास र कपासको योजना नयाँ सरकारले अविलम्ब ल्याओस् । गरिव मध्ये पनि गरिवलाई छानेर शुरुमा सिमित मात्रा नै किन नहोस्, नमूना कार्यक्रमको अपेक्षा चेतनशील बुद्धिजीवीहरुले गरेका छन् ।

 

 

बाम गठ्बन्धन सरकारका कतिपय पात्रका मानस पटल मा अझै पनि विगतका घटनाहरु ताजा नै छन् होला । नेताहरुले विर्सिए भने ती सुधा जनता जस्ले आफ्नो घरको छाक टार्ने मानोमुठी नभनी नेताहरुलाई पेटभरि खुवाए । आफ्नो ओछ्यान छाडेर नेताहरुलाई जाडो महिनामा शान्तसंग रात बिताउने व्यवस्था गर्ने तिमाल डाँडाका ती माझी परिबार मेरो नजरमा झलझली आइरहेका छन् । म तिनलाई सम्झिएर यतिखेर नयाँ सरकारले प्राथमिकता दिंदै योजना, नीति, कार्यक्रम ल्याओस् भन्ने आग्रह गर्नुलाई आफ्नो कर्तव्य ठानिरहेको छु ।
त्यो ०५७ सालको हिंउद महिना थियो । काम बिशेषले रामेछापको सदर मुकामबाट पैदलै काठमाडौं फर्कदै थिए । मन्थलीबाट एकाबिहानै हिडेर मंगलटारमा बास बस्ने योजना थियो । हिंउदका छोटा दिन, वातावरण उराठ लाग्दो थियो । पैदल यात्रीहरु पनि ज्यादै कम थिए, सिन्धुली बर्दीबास सडक बनिसकेकै थिएन ।

 

 

माओवादी जनयुद्धताका त्यसरी हिंड्नु त्यति सुरक्षित पनि थिएन तर निजी बिद्यालयको शिक्षक भएकाले म प्रति माओबादी लडाकु र शाही सेनाले खासै निगरानी राख्नु पर्ने कारण पनि थिएन । आँटै गरेर लामोसाँघु–जिरीे स्वीस सडकको घुमाउरो बाटो हापेर पैदलै हिंडेको थिएँ म ।

 

 

झमक्क साझ परिनै हाल्यो । नजिकै रोसी खोला आफनै गतिमा बगिरहेको थियो । मंगलटार बजार पुग्नु अघि नै मलाई कताकता अनौठो अभास भैरहेको थियो । टाढाबाट मान्छेहरुको हल्लाखल्ला, गीत गाइरहेको जस्तो आवाज के हो त्यती भेउ पाउन सकिरहेको थिइन ।

 

 

नजीक पुग्दै गर्दा धुवा उडिरहको पनि देखियो । बजार नजिकै पिपलको बोटनिर एकछिन अडिएर गमखाँदै अडिएर हेर्दा लाग्यो, आज यहाँ केहि अनौठो घटना घटेको छ । बजारभन्दा अलि माथिल्लो गोरेटो हुँदै म एउटा गोठमा पुगे । जहाँ एकजना बुढा माझी अध्यारो मै कक्क्ड तानिरहेका रहेछन् ।

 

 

तिनै बुढा माझीबाट थाह भयो बजारमा भर्खरै तीनबीस जति माओबादी लडाकुहरु आएर खाना खाए । दिउसो तिरै उनीहरुले ६०-७० जना लडाकुलाई खाने राम्रो प्रबन्ध गर्नु भनेर खबर पठाएका थिए रे ।
मंगल बजार त्यतीखेर बजार भन्नु मात्रैको थियो । जम्मा ३–४ वटा त पसल थिए । सबैजसो बासिन्दा बसाइ सरिसकेका थिए । गएको वर्ष पनि थुप्रै मान्छे आएर लट्टी पट्टी पारेर लगेका थिए रे । त्यसपछि प्राय कोही काठमाडौं, कोही बनेपा, धुलिखेल सरिसकेका थिए रे ।

 

 

तर तिमाल डाँडाका मान्छेमा माओवादीहरुको प्रभाव रहेछ । उनीहरु माओवादी लडाकुलाई दुखी–गरीबका लागि लड्ने लडाका भन्दै समर्थन गर्दथे रे । मंगलटारका हुन् कि अछाम मंगलसेनका आमजनता गरिवी, अशिक्षाबाट आक्रान्त न थिए । उनीहरुलाई आफ्नो अस्तित्व बोध नै हुन पाएको थिएन ।

 

 

राणाकालमा जनताले बोल्नै पाएनन् । पञ्चायतकालमा राजा र उनका प्याधा पंच भनेका भागबान हुन भनेर घोकाइयो । जनता मरेको मर्यै । पिसिएको पिसियै । ३० बर्षे पञ्चायती निरंकुशता ढलेपछि फेरी छोटे राजाहरुको उत्पत्ति भयो । नयाँ सरकारको कार्यक्रम सुदुर गाउमा पुग्नै पाएको थिएन ।

 

२०५२ देखि माओबादीले सशस्त्र जनयुद्ध शुरु गरिहाले । जनयुद्धको बैठान, दोस्रो जनआन्दोलनको सफलता, संविधानसभा गर्दागर्दै दश वर्षमा लोकतान्त्रिक गणतन्त्रको संविधान त बन्यो त्यसअघि नै आएको विनासकारी भुकम्पले देशलाई क्षतविक्षत बनायो । त्यसमाथि भारतले ज्यानमारा नाकाबन्दी गरेर नेपाली अर्थतन्त्रको ढाडमै प्रहार गर्यो । संबिधानको कार्यान्वयन नै हुन पाएन ।

 

 

०७४को वर्ष देश निर्वाचनमय भयो । तीनै तहको निर्वाचन अन्तत संपन्न भयो । राजनीतिक अस्थिरता र खिचातानीबीच एमाले र माओबादीको एकिकरण भयो र, अहिले देशको इतिहासमै पहिलोपल्ट बामपन्थीहरुको बहुमतको सरकार बनेको छ ।

 

 

तिमालका बुढा माझीदाइहरु हुन वा रोशीखोला बगर छेउछाउ बस्ने तामाङ दाजु भाइदिदीबहिनीहरु, सबैले अहिले धेरै नै ठूलो आशा गरेका छन् । त्यही आशाकै कारण उनीहरुले बामपन्थी गठबन्धनलाई स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अमूल्य मत दिएर चुनाव जिताइ नै दिएका हुन् ।

 

 

उनीहरुको आशा छ, इतिहासमै बहुमत नपाएका बामपन्थीहरुले अब देशमा केहि प्रगती अवश्य गर्छन् । उनीहरुले सरकारमा पुगेर साँच्चै गरीब, दिनदुखी, पिछडिएकाहरुलाई आफ्नै देशमा काम गर्ने अवसरको सिर्जना गर्ने छन् । बेरोजगारलाई दान होइन, कामको आवश्यकता छ । काम गरेपछि देशको विकास पनि हुन्छ र उत्पादन पनि बढ्छ । देश आत्मनिर्भर बन्न सक्छ ।

 

 

के सर्वसाधारण श्रमजीवी जनताले सोचेजस्तै काम गरेर हाम्रा वामपन्थी सरकारले पहिला जस्तै ‘खोलो तर्यो, लौरो बिर्स्यो’ नगर्लान् त ?