संघीय संसदको पूर्वाङ्ग

यो अधिवेशनको पूर्वाङ्ग शुभबाट भयो । संसदमा सबैभन्दा बढी उमेरका सांसद महन्थ ठाकुरले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेर बाँकी  सबै सांसदहरुलाई सपथ ग्रहण गराए । रोचक पक्ष के भने सधैं हिन्दीभाषाको वकालत गर्ने ठाकुरले राष्ट्रपतिसमक्ष मैथिली भाषामा पद तथा गोपनीयताको सपथ खाए ।

 

 

 

नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो संविधान जारी गरेपछि सम्पन्न संघीय संसदको पहिलो वैठक सोमवार चार बजे प्रारंभ हुँदैछ । ०७४ फागुन २०गते निर्वाचित र समानुपातिक पद्धतिअनुसार चुनिएका सांसदहरुको सपथग्रहण भयो । स्मरणीय छ, तीन महिनाअघि गत मंसीर १० र २१ गते संघीय संसदको दुइ चरणमा निर्वाचन भएको थियो ।

 

 

राजनीतिक खिचातानी र कानूनी अडचनलाई देखाउदै अत्यन्त ढिलाई साथ भए पनि आइतवार भएको सपथग्रहण कार्यक्रम जननिर्वाचित प्रतिनिधिहरुले खाएका सपथका शब्दभन्दा उनीहरुले लगाएका झिलीमिली पोशाक र गरगहनाका कारण बढी चर्चामा आएका छन् ।

 

 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पहिलोपटक निर्वाचित सांसदहरुले संसद भवनको आँगनलाई ब्यूटी कन्टेस्ट मात्र होइन, ब्यूटो कन्टेस्टको झझल्को नै गराए । उनीहरुले यसरी तस्वीर खिचाएका छन् कि साह्रा मिडियामा छाएका छन् । कुनै महिला सांसद कोमल ओलीभन्दा कम देखिएनन् भने पुरुष सांसदहरु पनि राजेन्द्र श्रेष्ठभन्दा कम हुने कुरै भएन !

 

 

 

 

सांसदहरुको फोटो सेसन र हाउभाउबाट सार्वभौमसत्ता सम्पन्न नेपाली जनताका प्रतिनिधिहरुले विविधतामा एकता राम्रैसंग प्रदर्शन गरे । तर उनीहरुलाई जुन जिम्मेवारी सुम्पिएर जनताले पठाएका छन्, ती कामलाई यथार्थमा परिणत गरेर देखाउन भने फोटो खिच्न र तस्वीर देखाउन जत्तिकै सजिलो छैन । गंभीर र लगनशील बनेर निरन्तर कठिन काम नगरीकन साँच्चिकै समावेशी नेपाल बन्न सक्दैन । यसका धेरै आयामहरु छन् ।

 

 

संसदमा सपथग्रहण गर्ने सांसदहरु जनताका प्रतिनिधि हुन् । त्यसअर्थमा जनताकै आवाज हुन् । यिनको प्रमुख काम नै जनताको पक्षमा नीति कार्यक्रम बनाउने हो । यसैका लागि ऐन–कानून, नीति–नियम र कार्यक्रमहरु तयार गर्ने जिम्मेवारीका लागि चुनिएका हुन् सांसदहरु । त्यसैकारण व्यवस्थापिकाका सदस्यहरुलाई विधायक भनिएको हो ।

 

 

संसदका तीन प्रमुख काम

 

 

पहिलो, असल शासन निर्माण गर्न लागिरहने । जनताको पक्षमा काम गर्नका लागि सरकारलाई स्थायित्व दिनु र आवश्यक नियम कानूनहरुको चाँडोभन्दा चाँडो तर्जुमा गर्नु । दोस्रो, विकास, प्रगति, र समृद्धिका योजना ल्याउन लाग्नु र सरकारलाई पनि त्यसका लागि दवाव दिइरहनु । तेस्रो, अझै नटुंगिएको शान्ति प्रकृयालाई टुगोमा पुर्याउनु । अझै पनि देशमा हतियारवालाले टाउको उठाइरहेका छन्, त्यसलाई संवोधन र तराई–मधेशसंग डाइलग गर्नु अत्यन्त आवश्यक छ ।

 

 

यी काम अक्षरमा उतार्न जति सजिलो छ, ब्यवहारमा यिनको कार्यान्वयन फलामको च्युरा चपाउनु जत्तिकै कठिन छ । ’cause यसअघिका सरकार र सांसदहरुले सम्पन्न गर्न नसकेर अधकल्चा रहेका काम हुन् यी । सांसदहरुले उपरोक्त तीनवटै काममा सन्तुलित हुँदै कठोर अध्ययन र परिपक्व अनुभव देखाउन सकेनन् र व्यवहारमा आफूलाई नियन्त्रण गर्न सकेनन् भने खेलीखाएका जनविरोधी, विकासविरोधी र शान्तिका शत्रुहरुले सांसदहरुलाई सजिलै नारायणहरि बनाइ दिने छन् । त्यसैले सांसदहरु हो–जनप्रिय र हितकारी कार्यक्रम बनाउ, आफ्नो आचरण र व्यवहार सुधार ! आफूलाई मालिक होइन, सेवक हौं भन्ने प्रमाणित गर्ने काम गर । जनतासंग तारन्तार भेट, सहवास गर र उनीहरुका अप्ठेराका गाँठाहरु फुकाउ ।

 

 

 

 

सबै सांसदहरु हो, आफ्नो दिमाग खोलेर सुन–दातृ राष्ट्र र संघसंस्थाहरु, एनजीओ र आइएनजीओहरु हिजो जस्तै कानूनहरुको ड्राफ्ट्र-बिधेयक बनाउन जम्जमाइरहेका छन् । हिजोका सांसदहरुले नीति छोडेर राजनीति गरेकाले नेपाल र नेपाली जनतालाई भँड्खालोमा पार्नेहरु हिजोका कुराहरु दोहोर्याउन जम्जमाइरहेका देखिदैछन् । सावधान !

 

 

उनीहरु अहिले सरकारलाई पन्छाएर लालीपप देखाउदै सिधै स्थानीय र प्रदेशमा प्रवेश गर्न खोजिरहेका छन् । केन्द्रीय सरकार कमजोर बन्यो भने विदेशी खेलकूदलाई नियन्त्रण गर्न सक्दैन । देशमा फेरि अराजकता निम्तिने छ । त्यसैले आवश्यक कानून बनाउन आफूलाई केन्द्रित गर । कानून नबनी कारवाही गर्ने बाटो खुल्दैन । कारवाही नभइ जनताले अनुभूत गर्न पाउदैनन् । जनताले अनुभूत नगरी कुनै सांसदले गरेको कामको प्रभाव देखिदैन ।

 

 

विकासलाई स्थानीय र प्रदेशमा सही रुपमा पुर्याउन बलियो केन्द्रीय सरकार चाहिन्छ । चुस्त र व्यवशायिक प्रशासनयन्त्र आवश्यक पर्छ । यसको अर्थ स्थानीय निकाय र प्रदेशलाई कमजोर पार्ने भन्ने होइन । एउटा राष्ट्रिय लयमा तीनवटै सरकार संचालन हुन सकेनन्, कर्मचारीहरु फुकेका लाखुन्चाका राँगा बने भने बलियो, समृद्ध र स्वाभीमान भएको नेपाल कदापी बन्न सक्दैन । बलियो र सुदृढ नेपाल नबनीकन नेपाल फितलै रहिरहने हो भने विश्वव्यापीकरणका मुद्धामा यो देशलाई अरुले ‘प्ले ग्राउण्ड’ मात्र बनाउने छन् ।

 

 

बाह्यशक्तिहरु  नेपालप्रति कति अविश्वसनीय स्वार्थी छन् भने भारतमा गएका बेला प्रधानमन्त्री प्रचण्डलाई विदेशनीतिमा समन्वय गरेर अगाडि जान र शेरबहादुर देउवालाई समन्वयात्मकरुपमा योजना आयोगहरु चल्नुपर्छ भन्ने काजगमा हस्ताक्षर गराइसकेको कुरा अहिले पनि बिर्सन सकिंदैन ।

 

 

अन्तर्राष्ट्रिय षडयन्त्र र ‘गेमप्लान’संग सावधान हुन्छु भनेर मात्र पुग्दैन, यसका लागि हामी पनि चलाख हुनुपर्छ । उनीहरु जस्तो धुर्त नभए पनि हाम्रा सांसदहरुले संसदका संसदीय समितिमार्फत काम गरे भने षडयन्त्रको कोपभाजन बन्नुपर्दैन । समितिहरुलाई यथार्थ रुपमा काम गर्ने बनाउन सके भने तत्कालकालागी  विदेशी षडयन्त्र सफल हुन पाउने छैन ।

 

 

सशक्त संसदीय समितिहरु नै अहिलेको अवस्थामा देशलाई विदेशीको दलदलमा फस्नबाट जोगाउने कारगर औजार हुन् । यसले कुनै पनि विधेयकमा रहेका मतभिन्नतालाई अन्त्य गर्न विषयलाई बृहद छलफलमा ल्याउन सक्ने छ । विशेषज्ञको विचार सुन्ने र लिने छ ’cause संसदीय समितिले काम गर्ने नै यसैगरी हो । संसद अर्थात सांसद गंभीर भए भने सरकार जिम्मेवार बन्न पनि बाध्य हुनुपर्ने छ ।

 

 

सरकारमा बस्नेहरुले पनि बुझुन्, सरकार संचालन गर्न बल होइन, बुद्धी चाहिन्छ । त्यसकारण पनि सरकारले समितिमार्फत संसदीय गतिबिधिहरु संचालन गर्न यथेष्ट मद्धत गर्नुपर्छ । प्रधानमन्त्रीले मन्त्री र मन्त्रालयको जिम्मेवारी दिंदा पनि अत्यन्त होशीयार हुनैपर्छ ।

 

 

खास गरेर अहिलेको अन्तर्राष्ट्रिय माहौलमा विदेश, अर्थ, गृह मन्त्रालयको जिम्मेवारी दिंदा प्रधानमन्त्रीले किचेन क्याविनेटकै व्यक्तिलाई यी मन्त्रालय सुम्पिन सकेनन् भने हुन्छ के भने, बरु गृहमन्त्रीले केही विगारे भने गल्ती सुधार्न सकिन्छ तर विदेशमन्त्रीले काम विगारे भने देश नै विदेशी सामु बधुँवा नबन्ला भन्न सकिंदैन । यो अत्यन्तै संबेदनशील विषय हो ।

 

 

 

 

यसवारेमा कसैलाई जान्नु छ भने ०४६ सालको अन्तरिमकालका अर्थमन्त्री देवेन्द्रराज पाण्डे उपयुक्त पात्र हुनसक्छन् ’cause सहाना प्रधान मरेर गैसकिन्, बाँचेका उनै मात्र छन् ।

 

 

कृष्णप्रसाद भट्टराई जस्ता चलाख देशभक्त प्रधानमन्त्रीको भारत भ्रमणका बेला संयुक्त विज्ञप्ति तयार गर्ने बेलामा यी दुबै मन्त्रीलाई सहभागी बन्नबाट अनेक कारण देखाएर रोकियो । डा पाण्डेको पुस्तकमा अन्तर्राष्ट्रिय संघसंस्थाले कसरी देशभक्तहरुलाई बाहिर पारेर निर्णय लाद्छन् भन्ने कथाहरु मज्जासंग पढ्न पाइन्छ ।

 

 

सोमबार शुरु भएको संसदीय अधिवेशनको प्रारंभ नै यसपाली सबै नेपालीहरुका लागि शुभ बनेको छ । सबैलाई यसका लागि शुभकामना !

 

 

यो अधिवेशनको पूर्वाङ्ग शुभबाट भयो । संसदमा सबैभन्दा बढी उमेरका सांसद महन्थ ठाकुरले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेर बाँकी सबै सांसदहरुलाई सपथ ग्रहण गराए । संसद सचिवालयले दिएको सूचनाअनुसार बाह्र भाषामा सांसदहरुले सपथ ग्रहण गरे । यसमा रोचक पक्ष के भने सधैं हिन्दीभाषाको वकालत गर्ने ठाकुरले राष्ट्रपतिसमक्ष मैथिली भाषामा पद तथा गोपनीयताको सपथग्रहण गरेका थिए ।

 

 

अर्को रोचक पक्ष के भने, जुन संविधान सकेसम्म सिध्याउन र नसकेपछि संशोधन गर्नुपर्छ भनेर आन्दोलनको नेतृत्व गर्ने महन्थ ठाकुरले संबिधानसभाबाट नब्बे प्रतिशत बढी सदस्यहरुले तयार गरेको संविधानलाई स्वीकार गरे । संबिधानलाई स्वीकार मात्र गरेनन् कि त्यसैअनुसार सपथ ग्रहण गर्दै २ सय ७५ सांसदहरुमध्ये २ सय ७० सांसदहरुलाई यही संविधानअनुसार पद तथा गोपनीयताको सपथ पनि खुवाए । आफूले पनि खाए, अरुलाई पनि खुवाए । यसवाट स्पष्ट हुन्छ, संबिधान संशोधन गर्ने उनको एजेण्डा अब सकियो । अब ठाकुरले आफ्नो बैधानिकतामाथि अपमान गर्ने छैनन् भन्ने विश्वास गर्ने आधार आइतवारको सपथग्रहण बनेको छ । जहाँसम्म संविधान संशोधनको कुरा छ, संविधान संशोधन नै गर्न नहुने जड दस्तावेज होइन । यसको जहिलेसुकै विधि र प्रकृयाबाट संशोधन हुनसक्छ ।