पद्मावतीको डायरी


भागवत खनाल
आज मलाई पछुतो लाग्छ, मैले किन राजनीति गरिन ? मेरा पतिले राजनीति नगरेर किन सरकारी जागिर खाए होलान ? आज राजनीति गरेको भए यो बुढेसकालमा पनि एक दुई ठाउँमा भाषण गर्ने मौका मिल्दो हो, शक्तिकेन्द्रमा थोरै पहुँच हुँदो हो, स्वार्थी दुनिया आफ्नो दुनो सोझो पार्न भेट्न आउँदो हो, सम्मान गर्दो हो, अभिनन्दन गर्दो हो, रथ यात्रा गराउँदो हो। बूढा नेताले सन्यास लिनुपर्छ भन्ने स्वार्थी हुन्, लिनु हुँदैन सन्यास।
आज बिक्रम सम्बत २०५१ साल चैत्र बीस गते । आज उहाँले मलाई छोडेर जानुभएको छ महिना पुग्यो। अहिले भर्खरै जस्तो लाग्छ, त्यो दिन बिहान उहाँ सामान्यभन्दा अलि सवेरै उठ्नु भयो । नुहाइवरी तयार भएर मलाई भन्नुभयो, पद्मा आज पशुपति जानुपर्छ। मेरो आश्चर्यको सीमा रहेन। आज कसरी उहाँलाई पशुपतिको सम्झना भयो ? म पनि तयार भएँ। मलाई कुनै कुनै दिन बिहानीपख दमले साह्रै दाब्ने गर्थ्यो, तर त्यो दिन केही भएन। हामी पशुपति गयौं। उहाँ लाइनमै लागेर दर्शन गर्नुभयो। त्यो उहाँको पहिलो पशुपति दर्शन थियो।
त्यसदिन उहाँ विशेष उज्ज्वल, स्वस्थ, सुन्दर र फुर्तिलो देखिनुभयो। बहत्तर वर्षको उमेरमा पनि कस्तो खाइलाग्दो, मनमनै सन्तोष लाग्यो, म रोगी भए पनि मेरो पति त स्वस्थ हुनुहुन्छ। मलाई उहाँको काखबाटै अन्तिम बिदा लिन पाउछु भन्ने विश्वास थियो। तर विधिलाई त्यो स्वीकार भएन, त्यहीदीन साँझ खाना खाएर सुतेको मान्छे आधारातमा अचानक पद्मा छाती दुख्यो भन्नुभयो, केही बेरपछि जोडले चिच्याएर लड्नुभयो।दैवको कस्तो खेल म दमको दीर्घ रोगी बाँचिरहें, उहाँ स्वस्थ मान्छे एकैछिनको बेथाले जानुभयो। कति सहजै जानुभयो ! न अस्पताल, न कसैको सहयोग, न कसैको सदभावना र सहानुभूति, न दयाको पात्र बन्नु, न स्याहार सुसार, न कसैप्रति कृतज्ञ हुनुपर्ने अवस्था ! उहाँ भन्ने गर्नुहुन्थ्यो छोरालाई डाक्टर बनाएको छु, हत्पति मर्न त कहाँ देला र ! तर डाक्टर छोराको हातको पानी पनि नखाई जानुभयो। उहाँलाई त राम्रो भयो, सरक्क हल्ला नगरिकन खुसीसाथ जानुभयो, तर मलाई बज्र पर्यो। उहाँ मेरो पति मात्र हैन, मेरो सखा, मेरो हितैषी, मेरो सुख दुखको साथी, मेरो अभिभावक र मेरो अविरल सहयात्री पनि हुनुहुन्थ्यो।तर पापी दुर्दैवले खोसेर लग्यो।
हाम्रो बिहा हुँदा उहाँ चौध वर्षको हुनुहुन्थ्यो, म एघारकी। बिहा भएको तीनदिनपछि उहाँ वनारसतिर जानुभयो म माइतीमै बसें। चार वर्षपछी म घर गएँ। त्यसबेला गुल्मीको हाम्रो गाउँबाट बुटवल पुग्नै तीनदिन लाग्थ्यो।
उहाँले वनारसबाट शाश्त्री र इलाहावादबाट एम.ए. बी.एल. गर्नुभयो। पच्चीस वर्षको उमेरमा उहाँ काठमाडौँमा जागिरे हुनुभयो। जागिर पाएको केही समयपछि उहाँले मलाई काठमाडौँ बोलाउनुभयो। त्यसबेला म साक्षर मात्र थिएँ, उहाँले मलाई बि.ए . सम्म पढाउनुभयो। जेठो छोरो सुन्दर जन्मदा म चौबीस वर्षकी थिएँ।कान्छो राजन, जेठी छोरी सुजाता र कान्छी छोरी मोहिनी त विदेशमै जन्मे। उहाँको लगन, इमान्दारी र भाग्यले गर्दा राजदूतसम्म हुनुभयो। यो घरमा भुइँतलामा बाह्र कोठा, पहिलो तलामा दश कोठा र दोस्रो तलामा छ कोठा भएको घर उहाँले नै बनाउनु भएको हो। सबै छोराछोरीलाई विदेशमै पढाउनु भयो। जेठो छोरा अहिले चिफ इन्जिनियर छ, कान्छो वीर अस्पतालमा विषेशज्ञ डाक्टर छ, बुहारी दुवैजना विश्वविद्द्यालयमा पढाउँछन्।
उहाँ दिवंगत भएपछि छोराहरुवीचमा सम्पतीको लागि झगडा पर्यो। आफै कमाउन सक्षम भएर पनि छोराहरुले निकै लुछाचुडी गरे। अहिले पानी ’boutर बसेका छन्। दुवैजना मसंग रिसाएका छन्। दुवै सम्पती बांडफांडमा आफ्नो पक्ष नलिएको भनी रुष्ट छन्। मेरो भागमा यही उहाँले बनाएको घरको भुइँतलामा एउटा भान्छा कोठा, एउटा बरण्डा, एउटा बैठक र एउटा सुत्ने कोठा छोडेका छन्। छुट्टिने समयमा कुनै पनि छोराले मसंग बस्नुहोस भनेनन, बरु मुवा त मसंग नबस्ने होला क्यारे भने, मैले कुरा बुझें। एउटा बहिरो काम गर्ने सहायक, एउटा टीभी, एउटा टेलिफोन, खाना पकाउने भाँडा र ओढ्ने ओछ्याउने लुगा छन्। उहाँको पेन्सन थाप्न पाउँछु। दम उठेको बेलामा खानु भनी डाक्टर छोराले कहिलेकाहीं औषधी पठाइदिन्छ। विरामीको सेवा गर्दा गर्दै होला उसंग मलाई भेट्ने समय छैन। दुई महिनामा एक पल्ट फोन गर्छ। दुवै वुहारीले खराव बुढी हुन्, हामीलाई पक्षपात गरिन भनेर नाति नातिनाको कान भरेको हुँदा उनीहरुमा पनि मप्रति बदमास बुढी भन्ने भावना छ, दुवैथरी आउंदैनन। दुवै छोरा आफ्ना छोराछोरीको भविष्य बनाउन तल्लीन छन्, जसरी हामी थियौं।
उहाँ भन्ने गर्नुहुन्थ्यो, पद्मा यो संसार धेरै स्वार्थी हुँदै छ। अव जति बूढो हुँदै जान्छ त्यति नै एक्लो हुँदै जानेछ मानिस। शहर पस्ने हामीजस्ता धेरै मानिस एक्ला हुँदै जानेछन, आफूले बनाएका घर आफ्नै लागि बिराना हुनेछन।उहाँ भन्नुहुन्थ्यो नेपालमा बरु गाउँ बस्न लायक छन्। बुढेसकालमा शहरमा गाह्रो छ। नेपालमा बृद्धहरुको लागि क्लव छैनन्, घुम्न पार्क छैनन्, सहज र सुलभ यातायातका साधन छैनन्।शहरमा बृद्धबृद्धा लाई सहयोग गर्ने भावना छैन। सन्तान स्वार्थी हुँदै छन्। यस्तो समयमा तिम्रो साथी म, मेरो साथी तिमी। हामी एकै दिन मर्नु पर्छ। तर उहाँले भनेजस्तो भएन, जाने बेलामा धोका दिएर एक्लै सुटुक्क जानु भयो, सानो सानो काममा घरबाहिर जाँदा समेत म यस्तो काममा गएँ है, छिट्टै आउंछु भन्दै जाने मान्छे अनन्त महायात्रामा जाँदा लौ म गएँ राम्रोसंग बस पनि भन्नुभएन।
नितान्त एक्ली छु म। जुन दिनदेखि मेरा उज्याला दिन सकिए, जुन दिनदेखि मेरा हात खाली भए, जुन दिन देखि मेरो शरीर कमजोर भयो, त्यही दिनदेखि म एक्लो भएँ। मेरो सुदिनमा मलाई लाग्थ्यो, मेरो महत्व सधै यस्तै रहनेछ। मेरा छोरा जस्तो सज्जन, विनम्र, शालीन, परोपकारी र मात्रीभक्त अरु कोही छैनन्।मलाई लाग्थ्यो, म बृद्ध भएपछि जताततैबाट मेरो लागि सहयोग प्राप्त हुनेछ, तर आज ठूलो सपनाबाट जागेजस्तो भएको छ। मेरो कोठामा मुस्किलले कोही आउँछ। कहिलेकाहीं जेठी बुहारी आउँछे, आधा घण्टा बसेर जान्छे। जाने बेलामा भन्छे ; आमा अव त रामनाम लिने हो, तृष्णा साह्रै नराम्रो कुरा हो, शान्त रहेर हरेराम हरेराम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, भन्नु पर्छ सब ठीक हुन्छ। वाह रे मेरी प्रोफेसर बुहारी बृद्ध सासूलाई एक्लै राख्ने क्या राम्रो शक्तिको सहारा लिन्छेस तँ, तँ जस्ती नास्तिकले पनि आफ्नो स्वार्थ सिद्ध गर्न नै किन नहोस मेरो रामको नाम लिइस धन्यवाद। श्रीरामले तेरो रक्षा गरुन, तँलाई सदा सुखी राखुन।
यसरी मलाई मेरी बुहारीले पढाएर जान्छे। उसलाई के थाहा बृद्ध अवस्थामा झन् सहारा चाहिन्छ, झन् आफ्ना कुरा सुनिदिने मान्छे चाहिन्छ, झन् सहयोग, प्रशंसा र साहचर्यको चाहना हुन्छ, झन् उत्साह र उमङ्ग भरिदिने सहयोगी कुटुम्ब चाहिन्छ। कति जान्ने सुन्ने भएकी मेरी प्रोफेसर बुहारी, रामको नाम लिन बूढी हुनु पर्छ र ! बृद्ध भयो भन्दैमा रामको नाम मात्रै लिएर बस्न सकिन्छ र, कति कठोर हुन सक्छ मानिस ? जव जिम्मेवारी आफ्नो काँधमा आइलाग्छ, त्यो बोझ रामको टाउकोमा थोपरेर जान्छ।
आज मलाई पछुतो लाग्छ, मैले किन राजनीति गरिन ? मेरा पतिले राजनीति नगरेर किन सरकारी जागिर खाए होलान ? आज राजनीति गरेको भए यो बुढेसकालमा पनि एक दुई ठाउँमा भाषण गर्ने मौका मिल्दो हो, शक्तिकेन्द्रमा थोरै पहुँच हुँदो हो, स्वार्थी दुनिया आफ्नो दुनो सोझो पार्न भेट्न आउँदो हो, सम्मान गर्दो हो, अभिनन्दन गर्दो हो, रथ यात्रा गराउँदो हो। बूढा नेताले सन्यास लिनुपर्छ भन्ने स्वार्थी हुन्, लिनु हुँदैन सन्यास।
हिजो अमेरिकाबाट कान्छी छोरी मोहिनीले लेखेको चिट्ठी आइपुग्यो। अमेरिका आउनुहोस टिकट पठाइदिन्छु भनेर लेखेकी रहिछ। त्यहाँ गएर पनि के गर्नु उही एक्लो जीवन। उनीहरु एकछिन घरमा बस्ने हैनन्, उही अतीतको सम्झना, उही पश्चाताप, उही नियास्रो। यहाँ कमसेकम यो बहिरो त छ, जो आफूले नसुने पनि बोलिरहन्छ, आमा भन्छ, म छु नि चिन्ता नलिनुस भन्छ, मेरो ख्याल गर्छ। यो बिचरा, कहाँ जन्म्यो, बाबु आमा को हुन, घर कहाँ हो, कसरी काठमाडौँ आयो कसैलाई थाहा छैन। भारी बोकेर खाँदो रहेछ। एक पल्ट बजारबाट सामान बोकाएर ल्याउदा साह्रै माया लागेर खाजा ख्वाएर पठाएको त केही ल्याउन पर्छ कि भन्दै सोध्न आउन थाल्यो, पछि त यतै बस्छु भन्यो, हामीले पनि नाइँ भनेनौं।
मोहिनी कान्छी छोरी भएकोले अलि पुलपुलिएकी थिई, तर पढाइमा अव्वल। छात्रवृत्तिमा नाम निकालेर न्यूयोर्क गई, एम . बी . ए . गर्न। पढाइ सकेर नेपाल आउली देशमै काम गर्ली भनेको त कुहिरेसित पो सल्किछ।पढाइ सकेपछि म आउदै छु भनेर खवर गरी, उहाँ र म इएरपोर्ट गयौं उसलाई रिसिभ गर्न। एकघण्टा कुरेपछि लुफ्थान्शाको जहाज ल्याण्ड भयो। चार वर्षपछि आउँदा मेरी मोहिनी त झन्डै झन्डै अमेरिकन जस्तै देखिएकी ! नजिकै आएर सन्चो बिसन्चो सोधपुछ भएपछी उसले संगै आएको कुहिरेतिर हेर्दै भनी, मेरो ममी ड्याडी। मैले केही सोच्न पनि नपाउंदै कुहिरेले हत्त न पत्त हेलो ममी भन्दै अँगालो मार्यो, गालामा किश गरिदियो। ड्रिंक गरेको रहेछ, मलाई बान्ता होला जस्तो भयो। त्यति भएपछि पो नकचरीले भनी यो तपाईहरुको ज्वाईं, मैले योसंग लभ म्यारिज गरेको। कति लाज नभएकी मेरी छोरी, पढ्दा पढ्दै पोइ चाहिने। अझ पहिले किन नभनेको त भन्दा हजुरहरुलाई सरप्राइज दिन रे ! कुहिरेसित बिग्रेपछि अरु के सरप्राइज चाहियो ? तर उहाँले यो घटनालाई सहज रुपमा लिनु भयो। मोहिनी एक हप्ता बसेपछि अमेरिका फर्की।
त्यसको दुई तीन वर्षपछि दशैंको दिन अकस्मात आइपुगी। कुहिरे ज्वाईं विल्सन् पनि आएको थियो। के गर्नु त्यो गाई खाने जात भए पनि आफ्नो ज्वाईं पर्यो। नेपाली सिकिसकेको रहेछ, म पनि टिका लाउँछु भन्यो, टिका लगाईदियौं। मेरी मोहिनीलाई मोहनी लाएर सात समुद्रपारी राखेका छौ, धोका नदिनु, माया गर्नु, मिलेर बस्नु, बिचल्ली नपार्नु, जीवन सफल होस् भन्दै आशीरवाद दिएको, ज्वाईं त धरधरी रुन पो थाल्यो। पछि थाहा भयो त्यो त आमा बाबु जिउंदै हुँदाको टुहुरो पो रहेछ। दुई वर्षको विल्सनलाई छोडेर आमा पोइल गइछ, बाबुले अर्कीसंग बिहा गरेछ। बिचरा अनाथालयमा पालिएको रहेछ। जीवनमा पहिलो आत्मीय श्पर्ष पाएर भावुक भएछ।अति नै माया लाग्यो विल्सनको। विल्सनले भन्यो, उसले मोहिनीलाई बिहा गर्ने वर्ष नै विहा गरेका सबै साथीहरुको पारपाचुके भैसक्यो, उसैको मात्र वैवाहिक जीवन सफल छ रे। उसको देशमा मानिसहरु अत्यन्त व्यक्तिवादी छन्, छोराछोरी सोह्र सत्र वर्ष भएपछि आफै कमाउन थाल्छन, बाबुआमासंग बस्दैनन्, छुट्टै बस्न थाल्छन। तर त्यहाँ त्यो चलन संस्कृतिको रुपमा विकास भइसकेको हुँदा सबैले सहज रुपमा लिन्छन। बूढाबूढीको जिम्मा सरकारले लिन्छ।
विल्सन नेपालको चलन सुन्दा अचम्म पर्यो। बाबु आमाले नै बाइस पच्चीस वर्षको हुँदासम्म पढाइदिनु पर्ने, बिहा गरिदिनु पर्ने र सम्पत्ती पनि कमाइदिनु पर्ने। तर बूढाबूढी भएपछि नत सन्तानले हेर्ने नत सरकारले। विल्सनले नेपालको सामाजिक रीतिरिवाज ’bout अध्ययन गरेको रहेछ, तर अहिले यति छिटो छिटो त्यो रीतिरिवाजमा परिवर्तन आएको देखेर ऊ छक्क पर्यो। विल्सनले भन्यो केही अघिसम्म चलेको नेपालको सामाजिक र पारिवारिक चलनबाट म धेरै प्रभावित भएको थिएँ, तर जस्तो परिवर्तन भएर नेपालको पारिवारिक विखण्डन हुँदै छ र बृद्धबृद्धा न घरको न सरकारको हुँदैछन्, योभन्दा त अमेरिकाको चलन ठीक। कमसेकम सरकारले पर्याप्त सामाजिक सुरक्षाको जोहो त गरेको छ। विल्सन समाजशाश्त्री भएको हुँदा सामाजिक र साँस्कृतिक विषयमा राम्रो दखल राख्दोरहेछ।
हाम्रो गुल्मीमा प्रशस्त पाखो जग्गा, खानलाई पुग्ने धान खेत, तीनतले घर, गोठ र गाई भैंसी सबै थिए।इज्जतदार परिवार थियो, सबैले सम्मान गर्थे। जीवन रमाइलो थियो। तर मेरा देवरहरु पनि पहाड छोडेर बुटवल भैरहवातिर लागे। सबैले आआफ्नो भागको गुल्मीको जग्गा बेचे। उहाँले पनि पद्मा गुल्मीको जग्गा बेचेर काठमाडौँमा अर्को घडेरी किनौं भन्नु भयो। मैले नबेचौं,जन्मभूमिमा जाने बाटो बन्द गर्न हुँदैन, के ठेगान जीवनमा कहिले के पर्छ भनें, तर उहाँले मानु भएन। उहाँले भन्नुभयो अव हामी पहाड जाने कुरा भएन, छोराहरु जान्नन। बरु घडेरीको भाउ बढ्छ, छोराहरु खुसी हुन्छन भनेर जिद्धी गर्नुभयो। घडेरीको भाउ पनि बढ्यो तर छोराहरु त्यही भाउ बढेको घडेरीको कारण पानी ’boutर बसेका छन्। आवतजावत छैन, एउटा मर्दा अर्कोल नून नबार्ने कसम खाएका छन्।अदालतमा मुद्धा छ। बरु त्यो जमिन पहाडमै भएको भए ’em फर्केर जाने थिएनन, झगडा पनि हुने थिएन, मेरो जन्मभूमि जाने धोको पनि पूरा हुन्थ्यो। अहिले त्यतै गएर प्राण त्याग्ने र काली गण्डकीमा जल्ने इच्छा छ, तर कुन मुखले जाने, कसले लैजाने !
विडम्बना
पद्मावतीले लेखेर राखेका ससाना धेरै डायरीमध्ये यही सानो डायरी मात्र फेला परेको हुँदा यति नै प्रकाशन गर्न सम्भव भयो। २०५३ सालको दशैंको दिन थियो, पद्मावतीका जेठो छोरा, बुहारी र केटाकेटी टीका लाउन आएका थिए। सबै छिटो छिटो टीको टाँसेर जाने तरखर गर्दै थिए। इन्जिनियर साहेवल चांडो गर आजैको लन्डनको टिकट छ भन्दै हतारिंदै थिए। अचानक कान्छा डाक्टर छोराका परिवार पनि आइपुगे। अघिल्लो दशैंमा आशौच परेकोले टिका भएन, आज आशौच पछिको पहिलो दशैं। सबैजना जम्मा होलान, सकेसम्म झगडा मत्थर पारौँला, सम्झाउंला भन्ने योजना थियो पद्मावतीको। तर भित्र पस्ने बित्तिकै घम्साघम्सी परिहाल्यो दुईभाइको वीचमा। ठूलो कलह हुन थाल्यो, यसो नगर बाबु हो भन्दा आमामाथि पनि खनिए दुवैथरी। जेठी बुहारीले त अलच्छिना बाबु आमाका अलच्छिना सन्तान सम्म भनिन। रडाको हुँदै थियो पद्मावतीलाई दम आउन थाल्यो, बढी भएपछि डाक्टरले एम्बुलेन्स बोलाए। वीर हस्पिटल पुर्याउंदासम्म उनले शरीर छाडिसकेकी थिइन। दुष्ट ललाटमा पवित्र हातले टीका लगाइदिएर आशीरवाद दिने वाध्यताबाट बचिन पद्मावती, ठीकै भयो।
छोराहरु पशुपतिमा किरिया बसे। भेट्न आउनेको घुइचो लाग्यो। कति राम्रो मरण विजया दशमीको दिन परलोक हुनुभयो, बैकुण्ठ वास हुन्छ। कति भाग्यमानी, पहिले पतिको रानी भएर बाच्नुभायो, पछि छोराहरुले मुमारानी जस्तो बनाएर पाले। यस्ता सज्जन छोरा बुहारीको काखबाट बिदा लिनु भयो, छोरा हुनु त पद्मावतीका जस्ता भन्दै खुव बखान भयो। छोरा बुहारी आफ्नो प्रशंसा सुनेर मक्ख परे। आपसमा नबोले पनि भेट्न आउनेसंग आमाको खुब यशगान गरे। अझै दुई चार वर्ष आमाको सानिध्य र आशीरवाद पाइरहने आशा थियो, तर काललाई टार्न सकिने रहेनछ। आमाको छत्रछायाँबाट बन्चित भैयो, अभागी रहेछौं आदि जस्ता उद्गार व्यक्त गरे। कान्तिपुर र गोरखापत्रमा थुप्रा समबेदना निस्के।
पद्मावतीका सबै डायरी जेठी बुहारीको हात परेछन। यो एउटा सानो कसरी छुटाइछन् र त्यही बहिरो सेवकबाट प्राप्त भएको हो। अरु डायरीमा लेखिएका कुराहरु पनि नेपाली समाजका अमूल्य निधि हुन, तर प्रकाशमा आउन गाह्रै छ, सायद नास नै गरे कि !
