नेइमार खेलभन्दा अभिनयमा माहिर

 

पेलेका प्रतिनिधी च्यापलिनका चेला

 

 

नेईमारले खेल कौशलभन्दा बढी रंग कौशल देखाई रहेका छन् भन्ने मानिसहरुको जमात कम छैन । वास्तवमै नेईमारले पछिल्ला तीन खेलमा खेल तथा रंग कौशल दुवै देखाई रहेका छन् ।

 

 

मेरा श्रदेय स्वर्गीय गुरु प्रलाद योञ्जनले जैविक विविधताको कक्षा लिँदा आजभन्दा १३ बर्ष अघि भनेको एक वाक्य अहिले म पनि सम्झन्छु । “गुरु गुण भए चेला चिनी बन्छ, गुरु गोरु भए चेला साँढे बन्छ” । डा. योञ्जनको यो घतलाग्दो युक्ति मनमा राखेर जब विश्व कप हेर्न थाल्छु, तब रणभुल्लमा पर्छु । कसरी पेलेका प्रतिनिधी चार्ली च्यापिलनको चेला भए ? दयनीय अवस्थाको ब्राजिलको टिमलाई विश्व कपको सबैभन्दा सशक्त टिम बनाएका ब्राजिलका प्रशिक्षकलाई कसरी क्षमताहिन, गलत नियत र रणनीतिका प्रशिक्षक हुन ? भन्ने । प्रशिक्षक यति गुणी भए उनका एक खेलाडीको स्वाभाव र चरित्र किन स्वाभाविक छैन । प्रशंङ्ग हो, ब्राजिलका स्टार स्ट्राईकर तथा अहिलेका विश्व फुटबलका सबैभन्दा मंहगो खेलाडी नेईमारको ।

 

 

 

ब्राजिल जारी विश्व कपको सबैभन्दा दह्रो दाबेदार र सबैभन्दा धेरै नेपाली समर्थक भएको टिम हो । ब्राजिलमा एक से एक खेलाडी छन् । जसले युरोपका चर्चित लिग प्रतियोगिताहरु खेल्छन् । ती ब्राजिलका खेलाडीहरु मध्य आर्कषणका केन्द्र चै नेईमार हुन । नेईमार ब्राजिलका अग्रपंतिमा खेल्छन् । जारी विश्व कपको पहिलो खेल छोडेर बाँकी खेलमा उनले प्रभावशाली खेल खेलिरहेका छन् । ब्राजिलले फाईनल खेल्न सके ब्राजिलका नेईमार वा कौटिन्होमध्य एक सर्वोकृष्ट खेलाडी बन्न सक्ने छन् । नेईमारले हालसम्म दुई गोल गर्दै थप गोलका अवसर पनि सिर्जना गरेका छन् । तर उनी अहिले गोल तथा खेलका कारण मात्र चर्चामा छैनन् । यो विश्व कपमा उनको हर्कतलाई लिएर युरोप देखि ल्याटिन अमेरिका, एसिया तथा अफ्रिकासम्मका अखबरहरुका उनको आलोचना भएको छ । उनले सामान्य फलमा पनि बढी नै प्रतिक्रिया दिने गरेको छन् ।

 

 

 

समुह चरणको खेलको समयमा उनीमाथि फल हुँदा उनले गरेको ७ गुडुल्की होस् या प्रिक्वाटर फाईनलमा उनले गरेको रोनाधोना यी सबैमा उनको प्रतिक्रिया सामान्य खेलाडीले दिने प्रतिक्रिया भन्दा बढी छ । फल भएपछि त्यत्ति धेरै पिडाले छट्पटिएको खेलाडी कसरी सामान्य स्प्रे गर्न साथ सामान्य र उर्जाशील हुन्छन् ? जवाफ सामान्य आँकलन गर्न सकिन्छ । नेईमार चोट वा पिडाले भन्दा अभिनय गरेर मैदानमा लडिरहेका छन् । नेईमारले खेल कौशलभन्दा बढी रंग कौशल देखाई रहेका छन् भन्ने मानिसहरुको जमात कम छैन । वास्तवमै नेईमारले पछिल्ला तीन खेलमा खेल तथा रंग कौशल दुवै देखाई रहेका छन् ।

 

 

 

कतिपय नेपाली दर्शकले त सामाजिक सञ्जालमा उनको अभिनयबाट यति प्रभावित भएका छन् कि उनले अब हलिउड फिल्म नै खेल्ने छन् भनेर दाबी गरेका छन् । अर्जेन्टिनाका खरो सर्पोटर जब अर्जेन्टिनाले हारे पछि युरोपियन देशले यो विश्व कप नजिते हुन्थ्यो भन्ने लाईनमा रहेको छन् । त्यही लाईन रहेका एक उपसचिवले सामाजिक सञ्जालमा लेखेका छन् “यो लडुवाले खेल्न भन्दा बढी लड्न जानेको छ ।” यो कुरालाई नकार्न सकिदैन कि खेल प्रशिक्षणको दौरान फल हुँदा कसरी लड्दा चोट कम लाग्छ ? भनेर डाईभ गर्न विशेषज्ञहरुबाटै प्रशिक्षण दिईन्छ । तर यो डाईभ कौशल खेलाडीलाई गम्भीर चोटबाट र सम्भावित फल हुुने अवस्थालाई मध्यनजर गरेर दिईन्छ । यसको आसय खेलाडीहरुको सुरक्षा हुनेमा खेलाडीहरुले त्यसलाई दुरुपयोग गरेर अवसर बनाउँन खोज्छन् । विशेष गरि विपक्षीको डिबक्समा पुगेपछि फल जस्तो वातावरण भए डाईभ गर्ने गर्नछन् र पेनाल्टीको अवसर बनाउँन खोज्छन् ।

 

 

 

 

यो अवस्था बढेपछि यो विश्व कपपछि रेफ्रीलाई भिडियो अस्सिस्टेन रेफ्री (भार) को सहयोग उपलब्ध छ । त्यही भएर यो विश्व कपमा रेफ्री बेझिजक पेनाल्टी दिन्छ र भारको सहायतामा निर्णय विचार गर्छ । सायद रेफ्रीलाई सहयोग पुगेरै होला प्राय खेलमा पेनाल्टी पाईरहेको छन् विपक्षी टिमहरुले । तर डाईभ गरेर अभिनय नै गरेका पाईएनमा रेफ्रीले पहेलो कार्ड दिएर उल्टो फल दिने अनुशासन सम्बन्धि नियम पनि छ । यद्यापि खेलाडीहरुले डाईभ गर्छन् । अर्को फल भएपछि केही खेलाडीले बढी नै प्रतिक्रिया दिने गर्छन ’cause उनीहरुको यस्तो प्रतिक्रिया सहि समयमा भए विपक्षी खेलाडीले कार्ड पाउँछन् । त्यस उपरान्त फल वा ट्याकल गर्ने बेलामा विपक्षी खेलाडी बढी सजग बन्छन् र मौका बनाउँन सजिलो हुन्छ ।

 

 

नेईमार जोसँग खेल कौशल र क्षमताको कुनै कमी छैन तरपनि किन बढी अभिनय गरिरहेका छन्? यसको जवाफ त नेईमारले नै राम्रो दिन सक्छन् । तर मिडियासँग फेस गर्दा उनी जवाफ दिने पक्षमा देखिदैनन् र प्रशिक्षक उनको ढाल बनेर मिडियासँग उभिने गरेका छन् । मेक्सिको पछि गरिएको प्रेश कन्फ्रेन्समा पनि यस्तै भयो । उनको यो अभिनय पछाडिका केही अर्थ र आसयहरु छन् । नेईमार जारी विश्व कपमा अहिले सबैभन्दा बढी मार्क गरेका खेलाडी हुन् । जसलाई विपक्षी खेलाडीले ट्रयापमा राख्ने कोशिसमा हुन्छन् । यस्तोमा स्वाभाविक खेल खेल्न खेलाडीहरुले सक्दैनन् । त्यसमाथि उनमाथि बढी नै फल खेल्छन् ।

 

 

हाल सम्म सबैभन्दा बढी २१ पटक उनमाथि फल भएका छन् । यो फलको सिलशिलाले नेईमारको प्रदर्शनमा प्रभाव परिरहेको छ । त्यही भएर नेईमार आफुमाथि फल कम गर्ने बाटो खोजिरहेका छन् । त्यसका लागि एक मार्ग हो विपक्षी खेलाडीलाई कार्ड खुवाउनु । अर्को नेईमार स्टारडम भएका खेलाडी हुन । उनीमाथि हुने सामान्य फलमा पनि रेफ्रीलाई खेल भावनाको आधारमा खेल जारी गर्ने भन्दा अनुशासनलाई कायम गराउँने दबाब बढी हुन्छ । जसकारण विपक्षीलाई फल दिने गर्छन् । नेईमार त्यसैको फाईदा उठाउँन उद्त देखिन्छन् । यस्तो लाग्छ खेल र खेल भावना भन्दा उनलाई जीत चाहिएको छ । उनी यो विश्व कप जुनसुकै हतकण्डा अप्नाएर पनि जित्न चाहान्छ । अर्को विश्व कपमा उनको उमेर पनि बढी र अहिलेकै जस्तै खेल खेल्न नसक्ने सम्भावनालाई उनीले नकार्न सकेका छैनन् ।

 

 

त्यसमाथि ब्राजिलमा सन् १९९४ मा विश्व कपका नायक रोमारियोले सन् १९९८ मा टिममा स्थान नै बनाउँन नसकेको यर्थाथ उनीसँग अगाडि छ । अर्को विश्व कपमा उनको प्रदर्शन अलि कति कमजोर हुनुको अर्थ हो ब्राजिलको टिममा उनको स्थान हुने छैन । उन यो तथ्यका जानकार छन् र ब्राजिलमा आएका नवप्रतिभासँग पनि परिचित छन् । टिममा हाल उत्कृष्ट संयोजन हुँदा यो विश्व कप नजित्ने र अर्को विश्व कपमा उनी टिममै नपर्ने सम्भावनालाई नेईमारले दृष्टिगत गरिरहेका छन् । जसको अर्थ हो नेईमारलाई ब्राजिलका फुटबल लिजेण्डको सूचीमा आफु बाहिर पर्न सक्ने सम्भावनाले तनाव दिईरहको छ । त्यही भएर उनी खेल र नाटक दुवैबाट यो विश्व कप जित्न चाहान्छ ।

 

 

के ब्राजिल कजानमा सुरक्षित हुन सक्ला?

 

 

ब्राजिलले जारी विश्व कपमा समुह चरणमा दह्रो टोली स्वीटजरल्याण्डसँग सामना गर्दा बराबरी भएको थियो । त्यसपछि उसले मेक्सिको चुनौति अलिक कठिन थियो । खासमा ब्राजिल टिमको परीक्षण नै राम्रो भएको छैन । तर स्वीटजरल्याण्डसँग बराबरी भएपछि ब्राजिलको खेल एक खेल पछि अर्को खेलमा सुधार हुँदै आएको छ । यस्तोमा ब्राजिलको आमनेसामने पहिलो पटक विश्व कप दाबेदारको रुपमा हेरिएको बेल्जियमसँग जुलाई ६ मा हुँदै छ । खेलको स्थान कजान भने विश्व कप विजयीलाई थाममा राखेर बली दिने शक्तिपिठ छ । कजानमा विश्व कपका यो प्रतियोगिता खेलिरहेका ७ वटा विजयी देशमध्य जर्मनी र अर्जेन्टिनाले पराजय व्यहोरेका छन् । यस्तोमा कजानको त्यही एरिनामा ब्राजिलले बेल्जियम जस्तो सशक्त टिमको सामना गर्दै छ । ब्राजिललाई कजानमा बेल्जियमले पाखा लगाउँने सम्भावना र ब्राजिलले जित हासिल गर्ने सम्भावनामा ठूलो भिन्नता छैन ।

 

 

 

जारी विश्व कपमा ब्राजिलको सबैभन्दा सशक्त प्रतिस्पर्धा नै बेल्जियमसँग हुँदैछ । यो विश्व कप ब्राजिलले जित्न क्वाटरफाईनल र सेमीफाईनल जस्तो मिहनेत सायद फाईनलमा पनि गर्नु पर्ने छैन । विश्व कप नै जित्ने होडमा आएपछि विपक्षी को छ ? भन्दा पनि आफ्नो सामथ्र्य र विपक्षीको कमजोरीको बिचमा विजयको झण्डा ठड्याउने हो । यो सवालमा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले ईङ्गल्याण्डसँगको विजय पछि भनेका थिए, “विश्व कप जित्ने हो भने सजिलो बाटो रोजेर हुँदैन ।” यसको अर्थ हो नेईमारले नाटकमा जोड दिएर हुँदैन । खेलमा जोड दिनुपर्छ । जीतको विकल्प नरहँदा सबैभन्दा सशक्त विपक्ष मध्यको एक बेल्जियमलाई हराउँन ब्राजिलसँग नेईमारका अलावा कौटिन्हो, पाउलिन्हो, फिरमिनो, विलियन, जेसस जस्ता खेलाडीले अग्रपंति तथा मध्यपंति समाल्छन् भने डगलस कोष्टा, कास्मिरो, मार्सेलो जस्ता खेलाडीले रक्षक क्षेत्र समाल्ने छन् ।

 

 

बेल्जियमले यो प्रतियोगितामा सबैभन्दा ठुलो अग्रता उल्टाई क्वाटरफाईनलको यात्रा तय गरेको टिम हो । बेल्जियमको अनुकूलन क्षमता र मनोबल उच्च छ । लुकाकुले निरन्तर आक्रमण गरिरहेका छन् तर प्रिक्वाटरमा सफल भएनन् । यस्तो ब्राजिल विरुद्ध उनी लयमा फर्किए भने ईडेन हजार्डले आफ्नो प्रदर्शनलाई निरन्तरता दिने सक्ने छन् । ब्राजिललाई थप दबाव विट्सेल, कम्पनी, डे ब्रुनो, मेर्टेन तथा परिवर्तनमा आउँने खेलाडी चाड्ली तथा फेलानीले तयार हुने छन् । विश्व कपको कटिलो सिंढी चढ्न ब्राजिलका खेलाडी तयार छन् तर बेल्जियमका खेलाडीले उनीहरुको उद्धेश्यमा छिर्के हान्दा कजानमा फेरी दुर्घटना घट्न सक्ने छ । तर प्रशिक्षक टिटेलाई ब्राजिलका सबै खेलाडीको सबल पक्ष र कमजोरी थाहा छ । त्यही भएर उनको रणनीतिले ब्राजिलको जितहारमा ठुलो अन्तर गर्छ । तर प्रशिक्षकले खेलमा प्रभाव पार्ने तथा योजना दिने हो । खेलमा क्षमता र प्रदर्शन खेलाडीले गर्ने हो । नेईमारले कस्तो खेल खेल्छन्? वा नाटकमा जोड दिन्छन् हेर्न बाँकी । पेलेका प्रतिनिधीले चार्ली च्यापलिनको चेला मात्र बन्न कोशिस गरे रियो द जेनेरियोका एयरपोर्टमामा ब्राजिल खाली हात नचाउँदै फर्कने पक्का छ । र, कजानमा अर्को विश्व कप विजयी पराजित भए आश्चर्यजनक नतिजा भन्नु बेल्जियमको खेल क्षमता तथा प्रदर्शनको अपमान मात्र हुन्छ ।