बदनाम प्रहरी, रमिते प्रशासन !

 

कन्चनपुर बलात्कार र हत्यामा मुछिएको प्रहरीको रक्तरंजीत अनुहारले २ हजार ४ सय वर्ष अघिको घटनालाई ताजा बनाएको छ । कौटिल्यको अर्थशास्त्रमा रक्षक नै भक्षक भएपछि जसरी जनक बंशका ५५औं राजा करालको अत्याचार र आततायी कुकर्मले जनक बंश नै नास भयो हे राजा चन्द्रगुप्त मौर्य, तिमी पनि संहालिएनौ र अपराधको दलदलमा फसिरह्यौ भने तिम्रो बंशको पनि त्यसैगरी अन्त्य हुने उल्लेख छ ।

 

 

 

 

कंचनपुर महेन्द्रनगरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धान गर्न बनाइएको आयोगले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष प्रारम्भिक प्रतिवेदन शनिवार पेश गरेको छ । सहसचिव हरिप्रसाद मैनालीको अध्यक्षतामा बनेको उच्चस्तरीय आयोगको शुरुवाती प्रतिवेदनमै प्रहरी भित्र गहिरो अनुसन्धान गर्नु पर्ने भनेपछि प्रहरी भित्र कोकोहोलो नै मच्चिएको छ । सरकारले भदौ ७ गते उच्चस्तरीय छानवीन समिति गठन गरेको थियो ।

 

 

 

 

समितिले प्रारंभिक प्रतिवेदनमार्फत निर्मला पन्तको हत्यापछि गर्नुपर्ने अनुसन्धानमा प्रहरीको गम्भीर लापर्बाही देखिएको ठोकुवा गरेको छ । उसले बलात्कार गरी हत्या गरिएका बेला अनुसन्धानमा खटिएका प्रहरीहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग गरेको छ । समितिको सुझाव अनुसार बलात्कार र हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक नगर्ने प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई शनिबारकै मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरेको थियो ।

 

 

डिएसपी जिसी केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धान गर्न खटिएका प्रहरी हुन् । वालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या भएको चार दिनपछि अनुसन्धानका लागि सिआइवीको तीन सदस्यीय टोली कञ्चनपुर पुगेको थियो । घटनामा प्रहरीप्रति शंका बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई निलम्बन गरेको थियो । उनले दिलीपलाई नक्कली अभियुक्तका रूपमा उभ्याएको भनी स्थानीयले गंभीर आरोप लगाएका थिए । प्रहरीले अभियुक्त बनाएका ४१ वर्षीय दिलीप सिंह विष्ट बलात्कारमा दोषी ठहर नभएसँगै प्रहरी अनुसन्धानको विश्वसनीयता नै नारायणहरि बनेको थियो । त्यसपछि केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली कञ्चनपुर पुगेर अनुसन्धान गरिरहेको बताइन्छ ।

 

 

कन्चनपुर बलात्कार र हत्यामा मुछिएको प्रहरीको रक्तरंजीत क्रुर अनुहारले २ हजार ४ सय वर्ष अघिको घटनालाई ताजा बनाएको छ । कौटिल्यको अर्थशास्त्रमा रक्षक नै भक्षक भएपछि जसरी जनक बंशका ५५औं राजा करालको अत्याचार र आततायी कुकर्मले बंश नै नास भयो हे राजा चन्द्रगुप्त मौर्य, तिम्रो बंश पनि त्यसैगरी अन्त्य हुन्छ भनिएको छ ।

 

 

मिथिलाका जनक वंशका अन्तिम राजा कराल जनकले एक ब्राम्हण कन्यालाई जवर्जस्ती गरेपछि उनका पिताले यस्तो पापी राजाको बंश नास होस् भनी श्राप दिएका थिए अर्थात पापी राजाविरुद्ध आन्दोलन छेडेका थिए । छोरीको बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमाले अहिले रक्षक नै भक्षक बनेका हाम्रा प्रहरीमाथि त्यस्तै श्राप दिएको देखिदैछ । एकपछि अर्को घटनाक्रमले राजा करालको जस्तै हालतमा दोषिहरु पुग्दैछन् ।

 

 

कंचनपुर बलात्कार र हत्याको घटना दिनपरदिन जटिल बन्नुको कारण नेपाल प्रहरीको अनुसन्धान फेल हुनु हो । भारतमा भए यस्तो जटिलता आउदा सिबिआइले हात हालेर स्थितिलाई सामान्यिकरण गर्ने गर्छ तर नेपालमा सिआइबी नै प्रहरी अन्तर्गत भएकोले समस्या समाधान भएन, थप जटिलता निम्तियो ।

 

 

भद्रगोलको मूल

 

हाम्रो भद्रगोलको अर्को कारण अर्कै छ । त्यो हो, देशमा संघीयता भए पनि शासन केन्द्रिकृत नै रहनु हो । भारतमा जुन राज्यमा अपराधिक घटना घट्छन्, त्यहींको राज्यको प्रहरी– प्रशासनले त्यसको अनुसन्धान गर्छ । तर हाम्रो देशमा अझैसम्म प्रदेश सरकार, प्रदेश प्रहरी, प्रदेश महान्यायाधिवक्ता सक्रिय पारिएकै छैनन् । प्रदेश पिच्छेका मुख्यमन्त्री, गृहमन्त्रीको भूमिका केन्द्रको हस्तक्षेपले गर्दा प्रभावकारी हुन पाएकै छैनन् । उच्च अदालतको न्यायाधीश सरह सरसुबिधा पाउने गरी नियुक्त भएका न्यायाधिवक्ता संबिधानले दिएको जिम्मेवारी विहिन हुन पुगेका छन् । प्रदेश सरकार अन्तर्गत प्रहरी प्रशासन नराखिएसम्म सबै केन्द्रको मुख ताक्न बाध्य छन् । भएको यही हो । लोकल निकाय नलागी लोकल समस्याले सही निकास पाउन सक्दैन ।

 

 

मिथिलामा जनक वंशका अन्तिम राजा कराल जनकले एक कन्यालाई जवर्जस्ती गरेपछि पापी राजाको बंश नास भएको थियो । अहिले निर्मला पन्तमाथि गरिएको बलात्कार र हत्याले हाम्रा प्रहरीको छवि गुम्दै छ । राजा करालकै हालतमा दोषि प्रहरीहरु पुग्ने त होइनन् ? सबैलाई चेतना भया !

 

 

 

 

संघीयताको मर्म अनुसार होइन, केन्द्रको आदेश अनुसार प्रदेशका प्रहरी, सिडिओलाई केन्द्रले नै सस्पेण्ड, कारवाही र जागीरबाट खोस्ने, प्रमोशन गरिरहेसम्म प्रदेश सरकार अन्तर्गत रहनु पर्ने प्रहरी–प्रशासन केन्द्रीय अह्रन खटन र उसैको निर्देशनमा रहने छन् र दुई तिहायी भनिएको सरकार पनि अप्रभावकारी नै रहिरहने छ । एउटा बलात्कारको घटनामै यसरी रिंग्ने भएपछि संसदमा दुई तिहायी भएको सरकारको पनि कुनै प्रभावकारिता देखिएन ।

 

 

रक्षक नै भक्षक

 

बहुदल आएदेखि नै देशमा ‘रक्षक नै भक्षक’ हुनुको कारण सुरक्षा निकाय र न्यायिक संरचनामा सुधार नगरिएकोले हो । प्रहरी र न्यायालयलाई चुस्त र दुरुस्त राख्न सकेको भए नेपाली समाज मौलाउने थियो र विकासले समृद्धि पनि ल्याउने थियो । विदेशी लगानी पनि भित्रिन्थ्यो र सानालाई ऐन र ठूलालाई चैन पनि हुने थिएन ।

 

 

बहुदल मात्र होइन, गणतन्त्र आएपछि पनि शान्ति सुरक्षा र न्यायमा राजनीतिकरण रोकिएन । त्यसैले गर्दा समाजका कुनै पनि चुनौति र अवसरले कहिल्यै निकास पाउदै पाएनन् ।

 

 

शान्ति सुरक्षाको कुरा गर्दा बहुदल आएपछिका दुईवटा घटनाको झलझली संझना आइरहेको छ । पहिलो घटना हो, राजधानीको कालीमाटीमा पुलिसलाई कुटीकुटी मारेर ठेला गाडामा हालेर शहर घुमाएको दृश्य । यो घटनालाई धेरैले बिर्सि पनि सकेका छन् र नयाँ पुस्तालाई यसवारे खासै जानकारी हुने पनि भएन । दोस्रो घटना हो, माओवादीले जनयुद्ध शुरु गर्नु अघि र पछिका प्रहरी क्रियाकलाप किलो सेरा टू र रोमियो अपरेसन ! पुलिसको कारणले द्वन्द साम्य हुनुको सट्टा झन् चक्र्यो । गाउगाउमा भएका प्रहरी ज्यादती र मनलागी सहन नसकेर सर्वसाधारण माओवादी कित्तामा लाग्न बाध्य भए । माओवादीले मलिलो उर्वर भूमि पायो ।

 

 

कालिमाटी र रुकुम–रोल्पा

 

पंचायतकालमा पुलिस बदनाम भएकोले बहुदल आउने वित्तिकै प्रहरीमाथिको रोष टेकु–कालीमाटी घटनामा प्रकट भयो । रुकुम रोल्पामा प्रहरीले किलो सेरा टु र रोमियो अपरेसन मार्फत नग्न नृत्य प्रदर्शित भएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शासनको आसन पनि डगमगायो । उनी आफैंले कांग्रेसको बहुमत रहेको संसद विघटन गरे र मध्याबधी निर्वाचनको घोषणा गरे । चिर्वाचनको परिणामपछि देशभर विकृति र विसंगतिका जरा पनि बढे, हाँगा पनि फैलिए ।

 

 

थला परेको प्रहरी

 

शान्ति सुरक्षा क्षेत्रका यी दुई घटनाले नेपाली पुलिसको संगठन उठ्नै नसक्ने गरी थला प¥यो । पुलिस संगठनमा भ्रष्ट, अपराधी, सलामी बुझाउनेलाई प्रमोसन गर्दै, पुरस्कृत गर्दै र तिनैलाई पदासिन पार्दै लगियो । जसका कारक गृहमन्त्रीहरु हुन्– खुमबहादुर खड्का, गोबिन्दराज जोशी र बामदेव गौतमहरु । यी तीनले गृहमन्त्रालयलाई थङथिलो पारे ।

 

 

सुरक्षा संयन्त्रमा आमूल परिवर्तन गर्दै कुहिएको नालायक प्रहरी संगठनको ओभरहल र राजनीतिक साँठगाँठको माखेसांग्लो चुडाल्नु आवश्यक छ । के गृहमन्त्री बादल र प्रधानमन्त्री ओली यसका लागि तयार हुन्छन् ?

 

 

 

 

तर गणतन्त्र आइसकेपछि पनि प्रहरीमा शुद्धिकरण अभियान थालिएन । त्यसले गर्दा सत्य, सेवा, सुरक्षाको नारा बोकको प्रहरी पुरानो धङ्गधङ्गीबाट उठ्नै सकेन । कार्यक्षमता, वरिष्टता, पेशाप्रति इमान्दारिता भएकालाई योग्य, इमान्दार र काविल पुलिस अफिसरलाई होइन तिनलाई छाँटेर कस्लाइ प्रमोशन ग¥यो भने भोली प्रहरी प्रमुख हुन्छ भनेर योजनाबद्ध रुपमा प्रहरीभित्र दुर्गन्धित खेल चलिरह्यो ।

 

 

फलस्वरुप फुली र गहुँका बाला उनेकाहरु बडेबडे प्रहरीका हाकिमहरु उज्यालो भएपछिको छायाँ र लज्जावती झार झै गहुँका बाला झ्याम्टा मात्र साबित हुनपुगे । यसैले गर्दा डान्सवार, मसाज, कोठी चलाउने साझेदार प्रहरी हुन थाले । दिन दुई गुना रात चार गुनाले गलत धन्दामा पुलिस, उस्का परिवार र मतियारहरु लाग्न थाले । समाज यति विकृत भयो कि प्रहरी उँभो होइन, उँधोतर्फ मात्र झरिरह्यो । राजनीतिमा ठेकेदार, माफिया, जग्गा दलाल, तस्कर, काला बेपारीहरुले कब्जा जमाए जस्तै पुलिसभित्र पनि अपराधीहरुको विगविगी भएकोले जवर्जस्ती करणी, तस्करी आदिजस्ता कर्तुतहरु पुलिसकरण हुन पुगे । अब त प्रहरीकै परिवारका सदस्यले प्रहरीहरुलाई घृणा गर्ने अवस्था सिर्जना भएको छ । प्रहरीको छवि रसातलमा पुगेको उदाहरण हो, पाँचपाँच जना आइजीपीहरु नै जेल पर्नु ।

 

 

यति हुँदाहुँदै पनि प्रहरी भित्र जिम्मेवार, व्यवशायिक, क्षमतावान, प्राज्ञिक, अनुशासित र बौद्धिक प्रहरी नभएका होइनन् तर तिनलाई निरिह बनाउदै नारायणहरि पारिएको छ । भ्रष्टाचार मण्डलीमा सामेल नहुने पेशाप्रति प्रतिबद्ध प्रहरीहरु भुसुनो सरह भए, देखिन सकेनन् ।

 

 

महेन्द्रनगर : प्रतिनिधि घटना

 

महेन्द्रनगर बलात्कार र हत्याको घटना देशभर व्याप्त सयौं मध्ये एउटा प्रतिनिधि अपराध मात्र हो । यसलाई समयमै संहाल्ने र दोषिलाई कठोर दण्ड हाम्रो सुरक्षा निकायले सक्दैन भने देशभर यस्ता मात्र होइन, अरु अपराधहरुको बाढीले मुलुकलाई नै ढाक्ने छ । अपराधले विकराल रुप लिने छ । अलिकति बचेखुचेको प्रहरीमाथिको विश्वास, सुरक्षा प्रणाली झनै भयाबह हुनेछ ।

 

 

आफ्नो आन्दोलन जारी राख्दै काठमाण्डौंसम्म आएपछि सुदुरपश्चिमका जनताले बलात्कारीलाई मृत्युदण्डको माग गरेर जुन प्रदर्शन गरे, त्यसमा सहभागी बनेर राजधानीका वासिन्दाले जुन ऐक्यवद्धता जनाए यो भ्रष्ट प्रहरी–प्रशासनको यथास्थितिवादी, अपराध संरक्षण र पछौटेपनबिरुद्धको ठूलो बिद्रोह हो ।

 

 

 

 

अफ्रिकी मुलुकहरु असफल भएका यस्तै घटनाहरु बढ्दै गएकाले हो । धमिलो पानीमा माछा मार्न पल्केका राष्ट्रिय÷अन्तर्राष्ट्रिय तत्वहरु सुरक्षा व्यवस्थालाई भताभुंग पारेर नेपालको अस्थिरताको आगोमा रोटी सेकाउन खप्पीस छन् । विदेशीहरु विभिन्न नाउमा नेपालमा अस्थिरताको आगो सल्काउदै छन् भने आन्तरिक सुरक्षा अब्यवस्थाबाट लाभ लिइरहेकाहरु रुमल्लिएको अवस्थामा प्रहरी हाकिमहरुको सरुवा–बढुवामा नबुझिंदो खालले हात हालिरहेका छन् । ती यति चलाख हुन्छन् कि निर्णयकर्ताले थाहै नपाई खेला सकिइसकेको हुन्छ ।

 

 

तर एउटा कमजोर परिवारकी बालिकाको बलात्कार र हत्याविरुद्ध महेन्द्रनगर जुर्मुराएको छ, त्यसले सुदुरपश्चिमलाई समाजशास्त्रीय रुपमा पछाडि परेको क्षेत्र भनेर नाँक खुम्च्याउनेहरुको निद्रालाई पनि निर्मला पन्तको हत्याले खल्बल्याइ दिएको छ ।

 

 

पछौटेपनविरुद्धको विद्रोह

 

सुदुरपश्चिम नेपाल केन्द्रीय नेपालबाट धेरै टाढा छ, विकट छ, महिलाहरु छाउपडीले ग्रस्त छन्, ठालु थर र जातपातले आक्रान्त छ भन्ने राजधानीका पछौटेहरुलाई त्यहाँ भैरहेको शाहसपूर्ण विद्रोहले तोडिदिएको छ । आफ्नो ठाउमा आन्दोलन जारी राख्दै काठमाण्डौंसम्म आएर सुदुरपश्चिमका जनताले बलात्कारीलाई मृत्युदण्डको माग गरेर जुन प्रदर्शन गरे र त्यसमा सहभागी बनेर राजधानीका वासिन्दाले जुन ऐक्यवद्धता जनाए यो (अहिलेको गणतन्त्र नेपालमा) भ्रष्ट प्रहरी–प्रशासनको यथास्थितिवादी, अपराध संरक्षण र पछौटेपनबिरुद्धको ठूलो बिद्रोह हो ।

 

 

अब नयाँपुस्तालाई कुहिएको प्रहरी–प्रशासनले घाँस हालेर अल्मल्याउन सक्दैन ! मक्किएको प्रहरी संरचनाले गरेको डिएन्ए, फिएन्ए र सिएन्एलाई जनताले पत्याउनेवाला पनि देखिदैनन् । सुरक्षा संयन्त्रमा आमूल परिवर्तन गर्दै कुहिएको नालायक प्रहरी संगठनको ओभरहल र राजनीतिक साँठगाँठको माखेसांग्लो चुडाल्नु आवश्यक छ । के गृहमन्त्री बादल र प्रधानमन्त्री ओली यसका लागि तयार हुन्छन् ?