महिला भएर जन्मनु निर्मलाको अपराध हो ?

सरकार ! निर्मला किन मारिइन ? के निर्मलाको दोष उनले योनी र स्तन लिएर यो धर्तिमा जन्मनु हो ? स्त्री भएर जन्मनु अपराध हो ? होइन भने बलात्कार र हत्याका अपराधी किन न्यायको कठघरामा ल्याउँन सरकार असफल भै रहेको छ।

 

 

 

निर्मलामाथिको बर्बरतापूर्ण बलात्कार र  हत्याको घटना अहिले हामी बाँचिरहेको समाजको असली बिम्ब र समयको उदवोधन हो । मुलुकको नियति र नियत बन्दैछ गैरहेको छ, निर्मला हत्याकान्ड जस्ता घटना । विगतको नमिता–सुनिता कान्डको निरन्तरता पनि हो, यो प्रकरण । निर्मलाको आत्माको शान्तिको लागि, उनका बाबु, आमा र समाजले जुन कष्ट र मुल्य चुकाएर न्यायको भिख माग्नु परिरहेको छ, त्यो देशको न्याय व्यवस्थाको सजिव चित्र पनि हो ।

 

आज निर्मला हत्या प्रकरण प्रतिनिधि घटना भएर मुखरित बन्यो । तर, यस्ता हजारौं निर्मलाहरु, निमुखा चेलीबेटी र  महिला दिदीबहिनी हाम्रो समाजमा यत्रतत्र सर्बत्र गुमनाम र अज्ञात  अस्तित्व लुटाएर, अस्मिता गुमाएर बलात मरिरहेका छन, राज्य संरक्षित अपराधीबाट । राज्यले दिने न्याय कस्तो छ, पीडितले न्याय खोज्न के के गर्नुपर्छ, कति हण्डर खानु पर्छ ? निर्मलाका बाबूआमाको रित्तिएको आँसु हेरे थाहा हुन्छ । १३ बर्षीय किशोरी सखिको न्यायको लागि आवाज निकाल्दा १४ बर्षीय सखाको गोली खाएर मृत आत्माले भन्छ, न्याय पाउन के के गुमाउनु पर्छ ।

 

कञ्चनपुरमा गोली खाएर हात खुट्टा गुमाएर, अङ्गभङ्ग भएर पिडाको आहलमा विभिन्न अस्पतालको शैयामा लडिरहेका घाइतेसंग सोधे अनुभुत गर्न सकिएला, न्याय पाउन के के सहनुपर्छ ? हाम्रो राज्य न्याय माग्नेप्रति कति संम्वेदनहिन, र कठोर छ भन्ने जान्न प्रधानमन्त्रीको अभिव्यक्ति र उनकै पार्टीका अर्को अध्यक्षको लवज र ‘बडि ल्याङेवेज’ हेरे बुझ्न सकिन्छ । निर्मलाको निम्ति न्याय माग्ने, न्यायको लागि बोल्ने, कुदने खबरदारी गर्ने सबका सब षडयन्त्रकारी हुन, सरकार गिराउने र बनाउने दौडका सारथी हुन  । क्या बात ! सरकार बोल्न पाए पुग्यो हगि ? अलिकति मानवीय संवेदना पनि छैन ।

 

हुन त पत्रकार कुसुम भट्टराईको भनाइ सापट लिएर यी हरफ उद्दरण गर्न मन लाग्यो कम्युनिस्टहरुसंग मानवीय संवेदना हुदैन, र यिनलाई मानवीय संवेदनाले छुदैन । उनी लेख्छन्  “जनयुद्धको पृष्ठभूमिबाट आएकालाई एकाध हत्या, बलात्कार या अपहरणका घटनाले खासै नछँुदो रहेछ । उनीहरुको वस्तुवादी सोचले ठान्दो हो, मानिसको शरीर पनि पदार्थ नै हो, बलात्कार र हत्या पनि पदार्थमा भएको आकस्मिक परिवर्तन मात्र हो । पदार्थहरुमाथि यस्ता प्रयोग हामीले १७ हजारसँग गरेकै हो । भौतिक संसारमा यस्तो द्वन्द्व त भइहाल्छ ।’’

 

मलाई लाग्छ, शासन सत्तामा भएका कम्युनिष्ट भनाउँदाहरुले बलात्कारलाई पनि यस्तै पदार्थगत कोणबाट विश्लेषण गरिरहेका हुन सक्छन् । उनीहरुका लागि चेतना, भावना, मानिसको अस्मिता, स्वत्व, आत्मा, रोदन र संवेदनाको कुनै महत्व छैन । हैन भने बाँदरमुढेमा स्कुल गइरहेका बालबालीका चढेको बसमा बम हान्थे त ? ति झापा विद्रोही भनिएकाहरुले सुति रहेका ढकाल बन्धुको टाउको गिंड्न सक्थे ?

 

साच्चै मानवीयता शुन्य नै भएको हो त ? यदि मानवीयता हुन्थ्यो भने निर्मलाले न्याय पाउन यति धेरै संघर्ष र बलीदानी पश्चात पनि कुनै छेक छन्द नदेखिनु र राज्य संयन्त्र नै अपराधीको संरक्षक बन्नु बिधिको बिडम्बना नभए के हुन सक्छ ?

 

असहाय, निर्धन र निर्दोष महिलाले योनी र स्तन लिएर जन्मेवापत अनाहकमा मारिनु पर्ने र ज्यादति भोग्नुपर्ने स्थितिको अन्त्य हुन अब कुन नयाँ विधि र विधान आवश्यक छ ? महिला भएर जन्मनुको दण्ड योनीमाथिको अत्याचार र बिभत्स मृत्यु हो ? आजको यूगमा महिलामाथिको शृङ्खलाबद्ध अत्याचार, अनाचार र अभद्र व्यवहारले  हाम्रो समाजको चेतमा अपराधीहरूको साम्राज्य छ भनेर बुझ्दा सरकारको नैतिकताको ग्राफ कस्तो होला ?

 

अनि जे भए पनि चुप बस्ने नबोल्ने, नलेख्ने प्रतिरोध नगर्ने बौद्धिक समुहको मौनता कालो कुचक्रको दास भएन र ? न्याय सरकारले दिने विषय हो कि ? सरकारसंग नागरिकले रोएर लडेर, जीवन गुमाएर माग्ने विषय हो ? हत्यारा, अधम, पापी खोज्न नसक्ने सरकार के सरकार ?  जनताको न्यायिक आवाजलाई गोली र बन्दुकको निशानी लगाउने सरकार के सरकार ?

 

पीडित, अपहेलित र प्रताडितले न्याय पाउँदा सरकारको कुन चाँही श्रीवृद्धि , सुशासन र प्रगतिशिल कदममा ब्रेक लाग्छ ? सरकारको गति नै धिमा हुने गरि समृद्धिको बाटोमा निर्मलाको लागि न्याय माग्नेले छेकबार गर्ने अपराध गरेका हुन भने यिनको कुकर्मलाई अरु थप गोली खर्च किन नगर्ने ? सुशासन र सुब्यबस्थामा खलल पुर्याउनै शनिबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म हजारौं हजार अराजक, र अनुत्पादक सुकिलाहरुको ताण्डव प्रहशन भएको होला त ? सरकार ! निर्मला किन मारिइन ? निर्मला मारिनुमा उनी योनी र स्तन लिएर यो धर्तीमा आउने अपराध हो या अरु के भनेर निर्मलाको ’boutमा सोध्ने अबोध बाल बालिकालाई बताउने ? प्रहरीमाथि नै भरोसा नभएपछि हाम्रो  संरक्षक को हो भनेर कलिला नानी बाबुले सोध्दा के जबाफ दिनु मलाई कुनै रेडिमेट जबाफ चाहियो । कसैको स्वाद र सन्तुष्टिको लागि निर्मलाहरुको हुर्कदै गरेको जवानी, योनी र स्तन अनि जिन्दगी नै खरानी हुने क्षतविक्षत हुने अवस्था कहिलेसम्म ? सरकार अपराधीको अपराध कर्म रोक्न र छेक्न त सकिएन ल ठिकै छ कहिलेकाही घटना घटन सक्छ ।

 

ल एन्ड अर्डर राख्नु सरकारको पहिलो कर्तव्य हो, अपराध रोक्न छेक्न चुकिएला, तर अपराधी उम्कन दिन मिल्दैन र हुदैन, अपराधी जो सुकै होस, जत्रो सुकै होस, जहाँको होस अपराधी पद प्रतिष्ठाको कारण निरपराधी हुन्न, त्यो अपराधी नै हुन्छ  । अपराधीलाई कानुनले पाता कसेर बाँध्ने काम सरकारको हो नत्र किन चाहियो सरकार ? किन चाहियो प्रहरी ?  सरकारको काबुभन्दा बाहिर गएर झुक्याएर अपराधीहरूले अपराध गर्न पनि सक्छन् । तर, सरकारको जिम्मेवारी अपराधी समात्ने हो कि पुरै राज्य संयन्त्रको अपचलन गरेर अपराधी बचाउँने ? उम्काउने ? घटना घटि सकेपछि सरकारको पहिलो कर्तव्य पीडितलाई न्यायको ग्यारेन्टी गर्ने र सहानुभूति दिने हो ।

 

तर, हाम्रो सरकार त चक्कु छुरी बोकेर दुखेको घाउ उधिनेर नुनचुक दल्ने व्यबहार प्रदर्शन गर्छ । अनि कसरी नागरिकले सरकारको विश्वास गर्ने ? आहातमा सरकार राहत दिएर जानुपर्ने मर्माहत बनाउन आउँछ । दुखाउछ घाउ अनि सुकाउछ आशु । न्याय दिन ढिला गर्दा त न्याय नपाएको भनेर बुझ्ने आधुनिक सभ्यता छ झन न्याय दिनुको बदला न्याय नै नदिने अपराधी उम्काउनेसम्म सरकारको हात देखिनुले हाम्रो सरकारको मुखुण्डो उतार्दैन र?

 

आधुनिक युगको नवचेतनाको मुखुण्डो लगाएर बर्बरता र कुरुपता कति सुहाउँछ सर ? सामान्य नागरिकले पनि भन्छन् प्रारम्भिक अनुसन्धान र घटनास्थलको सुरक्षा र प्रमाण नष्ट पार्ने कार्यमा प्रहरीको नियत उदाङ्ग छ, अब अनुसन्धानको तिर कता सोझिनु पर्छ जबाफ जो कोहीलाई थाहा छ प्रहरी ? प्रहरी स्वयं किन नाङ्गो रूपमा लागेर निर्मला बलात्कार र हत्याको दोष अर्काको टाउकोमा हालेर नागरिकलाई भ्रममा राख्न खोज्दैछ ? जब सत्य छोपेर डमी अपराधी खोज्न कोही उद्दत हुन्छ र देखिन्छ भने वास्तविक हत्यारा उसलाई थाहा नभए बैकुण्ठबासी विष्णुलाई थाहा हुन्छ र ? प्रहरीले किन बदमासी गर्दैछ किन सत्य ढाकेर असत्यको बर्को भित्र कोही उभ्याउने प्रपन्च रचिन्छ ?

 

यसको रचनामा कसको भुमिका छ भनेर खोज्न चेन अफ कमान्ड भएको प्रहरीमा असजिलो होला र ?  छानबिन समिति बनाउने, प्रहरी निलम्बन गराउने  छानबिन समिति फेरि बदल्ने गर्दा दोषी उम्काउँन रचिएका उपाय र नाटक जस्तो भान भएको छ । किन छानबिन समितिका सदस्य उपसचिब बीरेन्द्र केसी निर्मलाले न्याय नपाउने भन्दै बाहिरिए, आफ्नो ज्यानको असुरक्षित भएको भने तर, कसले किन भन्न सकेनन ? अब उनी पुन अनुसन्धानमा फर्केपछि निर्मलाले न्याय पाउछिन त ? यदि उपसचिव केसी पुन अनुसन्धानमा फर्केपछि  पनि वास्तविक हत्यारा पत्ता लागेन भने बीरेन्द्र केसी अनुसन्धानको दायरा भित्र आउछ्न कि आउन सक्तैनन् ?

 

गम्भिर प्रश्न र संसय त बीरेन्द्र केसीको राजिनामा दिने र लिने घटनाले गरेको छ । अबको अनुसन्धान र त्यसको नतिजा बीरेन्द्र केसीमा निर्भर रहन्छ ? उत्तर सजिलो छ बीरेन्द्र केसीलाई जसले धम्क्याएर प्रभावित पार्यो उहीँ हो हत्यारा । बीरेन्द्र केसीको नाटकको पटाक्षेप कसरी हुन्छ जनता सुरुचीपुर्वक नियाली रहेछन ।  मामा बनेर निर्मलाको शव बुझेर जबरजस्ति जलाउँन सहयोग गर्ने तिर्थराजको भुमिका शंकास्पद छैन र ? किन आजसम्म तिर्थ राजको खोजी किन गरिएन ?

 

वास्तविक अपराधी लुकाएर ध्यान अन्तै मोड़न गरिएको एकपछि अर्को प्रयासले अनिश्चय र शंकास्पद गतिविधिको छनक मिलेको छ । सरकार अपराधीको कुनै सिद्धान्त हुदैन कुनै वाद र विवेक हुदैन । त्यसैले अपराधी खोजेर उसको कर्मको श्रेणीमै राख बचाँउने धन्दा छोड ।

 

नयाँ  अपराध संहिता ऐनको दफा ९३ मा उल्लेख गरिएको प्रावधानलाई टेकेर अनुसन्धान गर्ने हो भने अपराधी खोजीमा धेरै दिमाग लगाउँनु आवश्यक छैन । “कसूरदारलाई बचाउँने नियतले कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन ।”

 

प्रमाण नष्ट गर्न लागि पर्दा पनि निर्मलाको योनीबाट भएको श्रावमा हत्याराको डिएनए सुरक्षित पाइनु, त्यसको वृद्धि हुनु र डिएनए प्रोफाइल तयार हुनु नै ठूलो उपलब्धि हो । अब गडबडी गर्न सकिने सम्भावना लगभग जीरो छ । हो, अब लिइने स्याम्पलको दोहोरो परीक्षण आवश्यक छ । नेपालको मात्रै नभई विदेशको ल्याबमा पनि परीक्षण हुनपर्छ । निर्दोष नफसोस, दोषी नउम्कियोस् ।

 

निर्मलाको बलात्कारी र हत्यारा जो सुकै हुन् कानुनको कब्जामा ल्याएर कानुन बमोजिम सजाय दिनैपर्छ । बलात्कारी र हत्यारालाई पातालमा पुगेर भए पनि समाति आजीवन काराकारमा राख्नै पर्छ । र हत्यारा र बलात्कारीलाई जोगाउन खोज्ने,  प्रमाण नष्ट गर्ने, निर्दोषलाई बलजफति बकाएर प्रताडित गर्ने पुलिस प्रशासनका अधिकारीहरूलाई पनि कडा सजाय हुनैपर्छ । तिनको घरघरानाबाट क्षतिपूर्ति भराईनु पर्छ । बलात्कारी उम्कनै हुदैन, उम्काउनेहरू लाई पनि ’emले गरेको अपराध क्षम्य हुनुहुदैन ।

 

निर्मलाको शव भेटिएको ठाउँबाट प्रमाण नष्ट गर्नेदेखि दाहसंस्कार गर्नेबेलासम्म प्रहरीको बलजफति नै अनुसन्धानको पहिलो पाटो हो ।

 

यो कुनै सामान्य बलात्कारीले आवेश र क्रोधमा गरेको आकस्मिक हत्या नहुन सक्छ । सामान्य हत्याराको  काम हुनै सक्दैन यो त  कुनै प्रोफेसनल अपराधीको दिमागले गरिएको प्लान हो भन्नेमा शंका रहेन ।

 

अब निर्मलाको लागि न्यायसंगै  दिलिप बिष्ट र चक्र बडुलगायतले पाउने न्याय पनि जोडिएको हुन्छ । त्यति मात्र होइन अनाहकमा जसलाई यातना दिइयो, ती सबैको न्याय, सुरक्षा र आत्मसम्मानको हक पनि सरकारले सुरक्षित गर्नु पर्छ । राहत, क्षतिपूर्ति र पुनःस्थापना अब पीडितको माग हो यदि सरकार साँच्चै जनवादी हो भने जनता र पीडितको यो गुनासो सुन्ने र न्यायसहित राहत, क्षतिपूर्ति र पुनःस्थापना दिने वातावरण बनाउँन लाग्नुपर्छ ।

 

निर्दोषले पाएको मानसिक र शारीरिक प्रताडनाको अनि सामाजिक रूपमा परेको अपराधी बिल्लाको न्यायिक र यथोचित क्षतिपूर्ति पनि आजको प्रमुख बहस र छलफलको विषय हो । नागरिक सचेतता र खबरदारी हुँदा त यस्तो स्थिति छ भने गुपचुप र पर्दा भित्र नै लुकाएर राखिएको नियतवश मिलेमतोमा  मिलाइएका अरु कति दर्दानक घटनाहरुको अवस्था के होला ? दुई तिहाईको सरकार बलियो कि बलात्कारी ? न्याय पाउँन अरु कतिले जीवन बलिदान गर्नुपर्ने हो ?