अनुभूतिको सानो स्मृति र भावुक लेखन

संस्मरण

 

त्यो एउटा त्यस्तो समय थियो जतिखेर मनोरञ्जनको प्रमुख साधन सिनेमा त थियो तर त्यो सहज उपलब्ध थिएन आर्थिक कारणले । रेडियोमा गीतसङ्गीत अरुले बजाएको बेला मात्र सुन्न पाइन्थ्यो । सहजै उपलब्ध साधन भनेको घरबाहिरको पुस्तकालय या यताउता घुम्ने ठाउँ मात्र थियो । त्यसबेला भक्तपुरका केही टोलमा पुस्तकालयको चलन व्यापक थियो । सुकुलढोका, दत्तात्रय, बालाखु, चोछेंलगायतका ठाउँमा पुस्तकालय थिए । ती साँझ परेपछि मात्र खुल्थे, तर तत्कालिन नगर पञ्चायतले सञ्चालन गरेको जनज्योति पुस्तकालय भने बिहान १०, ११ बजेदेखि साँझ ५,६ बजेसम्म खुल्थ्यो ।

 

 

-ध्रुव मधिकर्मी

 

 

अचेल लघुकथाको क्षेत्रमा निकै श्रष्टा सक्रिय छन् । कथा लेख्ने सबैजसो स्रष्टाले त लघुकथा लेखेकै छन् भने अब त लघुकथामा मात्र कलम चलाउने श्रष्टाको पनि संख्या उल्लेख्य वृद्धि भइरहेको छ । साहित्यका अन्य विधा झैं लघुकथाले पनि आफ्नो महत्व स्थापित गरि सकेको छ । लघुकथा एउटा विधाकै रुपमा स्थापित मात्र भएको नभई यस विधाको विकासको लागि बेला बेलामा गोष्ठी तथा कार्यक्रमसमेत भइ रहेका छन् । लघुकथाका पुस्तकको निरन्तर प्रकाशनले पनि यसको लोकप्रियतालाई पुष्टि गर्छ ।

 

लघुकथा छोटोमा लेखिसिध्याइने र तत्कालै सम्प्रेषित हुने रचना भएकाले पनि यसको लोकप्रियतामा एक्कासी वृद्धि भएको हो । तर, यतिले मात्र लघुकथालाई हेरिनु हुन्न । लघुकथा केवल छोटो आकारको रचना मात्र नभई यो लेखनको एउटा विशिष्ट विधा पनि हो । यसको भाषा शैली र विषयवस्तुलाई हेर्ने दृष्टिकोण क्रमशः चुनौतीको विषय बन्दै गइरहेको छ । यसर्थ लघुकथा जति सरल लाग्छ यसको विधि उति सरल छैन ।

 

यही कारण र चुनौतीले नै नेपाली साहित्यमा लघुकथा लेखन र यसको विकास धेरैपछि मात्र भयो । तीसको दशकदेखि विस्तारै यसको लेखनले गति लिन थालेको हो । त्यसबेला काठमाण्डौ, पोखरा, विराटनगर र झापाबाट प्रकाशित पत्रपत्रिकाले लघुकथालाई विशेष प्रश्रय दिन थालेको हो । लघुकथाको विकासमा विजय बजिमय, महेश प्रसाई राजेन्द्र शलभ आदिले निकालेका केही साहित्यिक पत्रपत्रिकाको ठूलो भूमिका रह्यो । काठमाण्डौबाट प्रकाशित साप्ताहिक पत्रपत्रिकामा किशोर पहाडी र अरु केही लेखक (जसको नाउँ पछिसम्म लेखनमा नरहेकाले याद भएन)का लघुकथा पढ्थ्यौं । भक्तपुरमा त्यतिबेला म, श्याम आशा, गोविन्दमान श्रेष्ठ र रत्न कोजू विशेषत लघुकथा लेख्थ्यौं ।

 

साप्ताहिक पत्रिकामा छापिने लघुकथा र रमाइला ख्यालठट्टा पढेर भक्तपुरमा हामी पनि लेखनतर्फ हौसिएका हौं । लेखनमा नयाँ नयाँ भएकाले लामो रचनाभन्दा छोटो छोटो रचना पढ्न सजिलो र सम्प्रेस्य हुने भएकाले हामी लघुकथातर्फ विशेषत आकर्षित भएका हौं । पुस्तकालयमा जाँदा पनि हामी ससाना रचना नै पहिला पढ्थ्यौं । कारण त्यो छिटो पढि सिध्याइने र छोटो समयमा पढिने भएकाले धेरै हदसम्म बुझिनेखालको पनि हुन्थ्यो । अध्ययनको कमी र सिकारु भएकाले हामीलाई लामो लेख्न ठूलै सकस पर्थ्यो ।

 

त्यो एउटा त्यस्तो समय थियो जतिखेर मनोरञ्जनको प्रमुख साधन सिनेमा त थियो तर त्यो सहज उपलब्ध थिएन आर्थिक कारणले । रेडियोमा गीतसङ्गीत अरुले बजाएको बेला मात्र सुन्न पाइन्थ्यो । सहजै उपलब्ध साधन भनेको घरबाहिरको पुस्तकालय या यताउता घुम्ने ठाउँ मात्र थियो । त्यसबेला भक्तपुरका केही टोलमा पुस्तकालयको चलन व्यापक थियो । सुकुलढोका, दत्तात्रय, बालाखु, चोछेंलगायतका ठाउँमा पुस्तकालय थिए । ती साँझ परेपछि मात्र खुल्थे, तर तत्कालिन नगर पञ्चायतले सञ्चालन गरेको जनज्योति पुस्तकालय भने बिहान १०, ११ बजेदेखि साँझ ५,६ बजेसम्म खुल्थ्यो । हामी किशोरवयका केही साथीहरु ती पुस्तकालयमा धाउँथ्यौं ।

 

२०३१-३२ सालतिरको कुरा हो । एसएलसी दिएर बसेको बेला भएकोले फुर्सद मनग्य थियो । फुर्सदको सदुपयोग गर्नु थियो । पुस्तकालय चहार्ने क्रममा पत्रपत्रिकासंगै उपन्यास पढ्ने बानी बस्यो । त्यसैबेला हलकाफुलका मनोरञ्जनात्मक उपन्यासको लत लाग्यो । त्यस्तै रुचिका साथीहरुको संगत रह्यो । युधीर थापा, दीर्घबाहु, रानु, प्रेम बाजपेयी, कर्नल रञ्जित, जेम्स हेडली चेइज आदिका रोमान्टिक र जासुसी उपन्यासको लतले पुस्तकालय चहार्न लगायो ।

 

पुस्तकालय चहार्ने क्रममै हो साहित्यिक मित्र श्याम आशासित भेट भएको । त्यसबेला उनी टोलका साथीहरुसित मिलेर ज्ञानज्योति पुस्तकालय चलाइरहेका थिए । उनी साहित्यिक पुस्तक पत्रिकामा पढ्नमा निकै रुचि राख्थे । त्यही भएर उनले आफ्नो टोलमा पुस्तकालय खोल्न विशेष पहल पनि गरे । उनीसित भेट भएपछि हाम्रो रुचि मिल्यो । उपन्यास र पत्रपत्रिका पढ्ने क्रमसंगै भित्रभित्रै लेखनप्रति रुचि पनि सलबलाइसकेको थियो । पुस्तकालयमा प्रायः हुने भेट, पुस्तक’bout छलफल र लेखन विषयक कुराकानीले उनीसितको सम्पर्क झ्याँगिदै गयो । विचार र भावना मिल्यो । सहकार्य बढ्यो । त्यही पुस्तकालयमै हो केही वर्षपछि रत्न कोजूसित पुनः भेट भएको । उनी विद्यालयसंगै पढेका साथी उनको पनि लेखनमा रुचि भएकाले पछिसम्म हाम्रो सहकार्य भइरह्यो । त्यतिबेला भक्तपुर क्याम्पसबाट प्रकाशित स्वर्णद्धारमा उनको एउटा कथा प्रकाशित भइसकेको थियो ।

 

साहित्यिक अभिरुचिले गर्दा पछि हामी अर्थात् श्याम, म र अरु केही साथी मिलेर त्यही पुस्तकालयबाट नेपालभाषाको साहित्यिक पत्रिका न्हूः जः (नयाँ किरण) निकाल्यौं । साहित्यिक पत्रकारितातर्फको त्यो पहिलो पाइला थियो । त्यतिबेला भक्तपुरभा भाषिक र साहित्यिक चेतना व्यापक थियो । पञ्चायती प्रशासनले अन्य भाषामा गतिविधि गर्न अघोषित रोक लगाइरहेको समय थियो । त्यसैले पनि भाषिक जागरण चेतनशील वर्गमा थियो । प्रत्येक वर्ष नेपालभाषा साहित्यको सम्बद्र्धनका लागि दुई दिनसम्म सम्मेलन हुन्थ्यो । पुस्तकालय थोरै र अध्ययनको क्षेत्र सीमित भएकाले हाम्रो सोच र दृष्टि पनि सीमित थियो । तथापि भेटिएजतिको पत्रिका र जस्तोखाले पनि पुस्तक पढ्ने बानीले लेखनको लत लाग्दै थियो ।

 

यसबीच हाम्रा कविता र लघुकथा तत्कालीन साप्ताहिक पत्रिकामा छापिन थालिसकेका थिए । अर्पण, जागृति, मातृभूमि, नयाँ सन्देश, संरक्षक आदि पत्रिकामा हामी नियमित रुपमा रचना पठाइरहन्थ्यौं र छापेपछि त्यस’bout छलफल ग¥थ्यौं । साहित्य’bout कुनै ठूलो ज्ञान र अनुभव थिएन । हलकाफुलका उपन्यास र साप्ताहिकमा छापिने रचनाको अनुभव मात्र थियो हामीसँंग । त्यतिबेला नेपालीमा लघुकथाहरु त्यति थिएनन् । पुस्तक प्रकाशनको त झन नगन्य थियो । नेपालभाषामा दुर्लभलाल सिंह, भूषणप्रसाद श्रेष्ठका लघुकथा रुचिपूर्वक पढ््थ्यौं । नेपालीमा किशोर पहाडी, महेश प्रसाई, विजय बजिमय, अशेष मल्ल, नारायण तिवारी आदिका फाट्टफुट्ट लघुकथा छापिन थालिसकेका थिए ।

 

भनिहालियो, लेखनको लागि कुनै दृष्टिकोण थिएन । कुन विषयलाई कसरी प्रस्तुत गर्दा त्यसले स्तरीयता प्राप्त गर्छ भन्ने जानकारी थिएन । बस लेख्न पाए पुग्थ्यो । त्यसैले कुनै विषय प्रसङ्ग वा नयाँ जस्तो लाग्ने घटना थाहा हुनासाथ कथा बनाएर लेख्न हौसिहाल्थ्यौं ।

 

 

एउटा सानो प्रसङ्ग, सानो आकार, अत्यन्त कम समय अर्थात् क्षणभरमै पढिसिध्याइने र पढेलगत्तै सम्प्रेषण हुने भएकैले लघुकथाप्रति छुट्टै प्रकारको रुचि पैदा भयो र पछि गएर लगाव । जसरी ससाना दसबाह्र हरफे कविता वा मुक्तक पढ्दा एउटा विचित्र आकर्षण र आनन्द प्राप्त हुन्छ, त्यस्तै अनुभूतिको चरम सन्तुष्टि लघुकथाबाट प्राप्त हुन्छ । कवितापछि लघुकथामा रुचि हुन थालेको पनि त्यसैले हो ।

 

कुनै घटना देख्नासाथ वा कुनै प्रसङ्ग अवगत हुनासाथ मानौं ठूलो सत्य भेटिएको जस्तो अनुभूत हुन्थ्यो र त्यसलाई लेख्न थालिहाल्थें । त्यतिबेला लेखिने रचनाले ठूलै सत्यको खोज गरे जस्तो र ठूलै उपलब्धि हासिल भएको ठान्थें । प्रारम्भका लघुकथा यस्तै सोचले प्रेरित भएर नै लेखिएका थिए । त्यहाँ केवल घटना वा प्रसङ्ग त हुन्थ्यो, तर विशेष दृष्टिकोण वा शाश्वत सत्य भने निकै कम हुन्थ्यो ।

 

त्यस्तो बेलामा लेखिएका लघुकथाको संकलन थियो, लघु पुस्तक ।

 

यस संग्रहमा श्याम आशाका आठ र मेरा आठ वटा लघुकथा छन् । त्यतिबेला मैले आफ्नो नाममा उपनाम साथी जोडेको थिएँ । श्याम अझै पनि आशा उपनाम जोडेर लेखिरहेका छन् भने मैले पछि उपनामको मोह छोडें । सिर्जनाको क्षेत्रमा नयाँ नयाँ भएकाले पुस्तकको के नाम राखे उपयुक्त हुन्छ भन्ने’bout त्यति थाहा नभएकाले हामीले पुस्तकको नाम नै लघु राखेका थियौं । त्यतिबेला लघुकथा नयाँ विधाको रुपमा आउँदै थियो ।

 

हामी दुई जनाको पहिलोृ र संयुक्त लघुकथासंग्रह लघु २०३५ बुद्ध जयन्तिको अवसरमा प्रकाशित भएको थियो । तीस वत्तीस वर्षपछि आज त्यो समयलाई फर्केर हेर्दा बडो अनौठो लाग्छ । कस्ता कथाहरु कसरी लेखिएछन् भन्ने लाग्छ । अपरिपक्व रहर र ठिटौले रुचिको एउटा नमूना थिया, त्यो । तर, साथै त्यो हाम्रो लेखनको शिलान्यास पनि थियो । लघुकथा लेखन सीमित अझ पुस्तकका रुपमा त झनै दुर्लभ जस्तो समयमा प्रकाशित भएकोले त्यसले बेग्लै महत्व बोक्यो । आज प्रायः लघुकथाको समिक्षा, समालोचना तथा कार्यपत्रहरुमा लघुको उल्लेख गरिएको देख्दा बिर्सेको खुशी भेटेजस्तो अनुभूति हुन्छ ।

 

पुस्तक हुनको लागि कति पृष्ठ आवश्यक हुन्छ, कसरी पुस्तक निकाल्नुपर्छ साज सज्जा कस्तो हुनुपर्छ भन्ने विषयको जानकारीविना निकालिएको कृति थियो, त्यो । त्यसपछि लघुकथाकार श्याम नेपालीमा लेख्न छोडेर नेपालभाषामा मात्र सीमित हुन थाले भने म नेपालभाषामा फाट्टफुट्ट र नेपालीमा बढी सक्रिय हुन थालें । मसँगको सम्पर्कपछि श्याम नेपालीमा लेख्न थालेको थियो भने ऊसँगको सम्पर्कले गर्दा म नेपालभाषामा पनि लेख्न थालेको थिएँ । नत्र म त्यतिबेला नेपालीमा कनिकुथि कविता लेखेर केही पत्रपत्रिकामा प्रकाशित हुँदै थिएँ ।

 

त्यतिबेला हामी कति भावुक, कच्चा र सिनेमामा हुने नाटकीय प्रभावले ग्रस्त थियौं भन्ने कुरा लघुमा हामीले आफ्ना कथाका शीर्षक राखेर लेखेको प्रकाशकीयको यो अंशले पनि स्पष्ट हुन्छ ।

 

समयअनुसार शुभकामना पाएर वा दिएर देश र जनताको लागि आफूलाई अर्पण गर्दा कहिलेकाहीँ आफ्नो प्रतिबिम्बलाई आफैले परिचय गर्न नपाउँदै डरले दुई टुक्रा हुनेगरी दुर्घटना हुनसक्छ । साथै ममताले भरिएको जिन्दगीमा चिठाको परिणाममा आफूले राम्रो व्यवहार पाउन नसके तापनि हामीले हिम्मत नहारिकन आधा रातमा समेत आफ्नो भत्किएको घर बनाउन सक्नुपर्छ ।

 

उपरोक्त अंशमा प्रयुक्त समय, शुभकामना, अर्पण, प्रतिबिम्ब, डर, दुई टुक्रा, दुर्घटना, ममता, जिन्दगी, परिणाम, व्यवहार, हिम्मत आधा रात र भत्किएको घर लघुकथाका शिर्षक हुन् ।