“प्रोपोगाण्डाको ब्याकफायर”

प्रधानमन्त्रीकोमा त झन विद्यावारिधी गरेकै मान्छेको नेतृत्वको हुल छ  ‘प्रोपोगाण्डा’ मेशिनको रुपमा। जनतासङ्ग प्रधानमन्त्री नामको कार्यक्रम छ, भजन गाऊँनेको मात्रै फोन लाग्ने । टिभिमा बिहान आउने धार्मिक कार्यक्रम बेलुका सुरु भए जस्तो छ, हेर्दा । प्रश्नकर्ताको चाकरी र प्रधानमन्त्रीको निर्देशन सुनेर मान्छे हाँस्छन ।

 

 

 

सन १९३९ मा प्रकाशित जोन स्टेनबेकको उपन्यासले आर्थिक मन्दिको बेलाको अमेरिकी पूँजीवादी समाज र राजनीतिलाई गतिलो प्रहार गरेको थियो । उपन्यास प्रकाशित हुँदा सोभियत यूनियन र अमेरिका एउटै मोर्चाबाट लड्दै थिए, हिटलरको नाजीवादी जर्मनी बिरुद्ध ।

 

चार्ली च्याप्लिनलगायत पूँजीवादका बिरोधी चलचित्र निर्माता/कलाकारसमेत जेल कोचिएका बेला यो उपन्यासको विषयबस्तुमा समेत चलचित्र बनाए, जोन फोर्डले ।

 

एउटा अधियाँ खेती गर्ने किसान परिवारको कथामा आधारित उपन्यास शासकले मात्रै होइन जनताले समेत समाजवादी , मार्क्सवादि वा अर्को अर्थमा अमेरिका बिरोधीको रुपमा लिए । त्यसमाथि बनेको फिल्म त झन सोझै अमेरिका बिरोधी भै हाल्यो ।

 

दोस्रो विश्वयुद्ध सकिँदा नसकिँदै विश्व शितयुद्धमा प्रवेश गर्यो, सोभियत यूनियनले ‘वार्सा प्याक्ट’मार्फत अमेरिका बिरोधी मोर्चा बनायो, प्रत्युत्तरमा अमेरिकाले नेटो ।

 

शत्रुको शत्रु स्वतः आफ्नो मित्र हुन्छ भने जस्तै अमेरिकी पूँजीवाद बिरोधी उपन्यासमा आधारित फिल्म रसियन शासक जोसेफ स्टालीनलाई त्यसै मन पर्यो । १९४८मा अमेरिका बिरुद्ध दुष्प्रचारका लागि स्टालीनले यो फिल्म रसियाभरि देखाऊँन लगाए, जनताको अमेरिका बिरोधी भावना झन प्रागाढ बनाउन ।

 

आर्थिक मन्दिका कारण आफ्नो जग्गा जमिन गुमाएर आप्रवासी कामदार बन्न पुगेको टम जोडको परिवारको दुःख देख्दा रुसी जनताको अमेरिकाप्रतिको घृणा बढ्ला भन्ने स्टालीनको अपेक्षा गलत सावित भयो । अमेरिकामा त त्यस्तो घरवार खेति  सबै गुमाउने गरिवको समेत एउटा ट्रक हुने रैछ भन्ने सन्देश पो दियो त्यो फिल्मले । रुसका गधा खच्चडसमेत नहुने गरिवभन्दा अमेरिकाका ट्रक हुने गरिव कता हो कता राम्रा लागे रुसी जनतालाई । जव स्टालीनले आफ्नो प्रोपोगाण्डाको उल्टो प्रभाववारे चालपाए,  त्यो फिल्म बन्द गराए ।

 

भियतनाममा नुएन भन बे नामको एउटा युवकले देखाएको अमेरिकी सेना बिरुद्धको बहादुरीलाई उत्तरी भियतनाम सरकारले खुब प्रचार गर्यो, ६९ अमेरिकी सेना र दक्षिणी भियतनामीहरूलाई मार्ने गरी आफैँ बिष्फोट गराउने एउटा बहादुर भनेर । उसका नाममा कविता लेखिए, गीत बने र नाटक देखाइए उसले कसरी साहदात प्राप्त गर्यो भनेर । ‘इन्डोमीटेबल लोयल्टी एण्ड म्यग्निफिसेन्ट ब्रेभरी ‘ तक्मासमेत दिइयो, उसलाई र उसको मृत्युको बार्षिकीसमेत बर्षौ मनायो ।

 

तर, ती युवा त जिवितै रहेछन, अमेरिकी युद्धबन्दिगृहमा । विचरा के बहादुर हुन्थे, पानीमा हामफालेर भाग्न खोज्दा पक्राऊ परेको र  पछि अमेरिकीहरूका सहयोगी बनिसकेका रैछन ।

 

क्युवाले अमेरिकी बिरुद्ध ‘प्रोपोगाण्डा’ गर्न ‘सोई क्युवा’ अर्थात  ‘म क्युवाली हुँ’ फिल्म बनायो १९६४ मा । १९६२ को मिसाइल समस्याको लगत्तै बनेको फिल्ममा अन्तरराष्ट्रिय साम्यवादी आन्दोलनलाई प्रवर्द्धन गर्ने रसियन नीति अनुरुप रसियन निर्देशक मिखाइल कलातोजोभले त्यो फिल्म निर्देशन गरे । क्युवाली सेनाको परेड्लाई सामेल गरेर भर्खरै टरेको तेस्रो विश्वयुद्ध र अमेरिकी सेनाको ज्यादती देखाउँदा उनीहरूका भोगबिलाससमेत देखाइए । अमेरिकी सेनाको भोगबिलासले त क्युवालीलाई अमेरिकी आकर्षण पो बढायो ।

 

अहिल्यै हाम्रो शासन ति उदाहरण दिएका मुलुकको जस्तो छैन ।

 

हाम्रा चुनावामा अलिअलि पैसा र बल प्रयोग भएका भए पनि समग्रमा निष्पक्ष, धाँदलीरहित नै थिए । झन पोहोरसालको चुनावमा त यसको विश्वसनियता र निष्पक्षतामाथि खासै प्रश्न उठेनन। तीनै तहमा बनेका सरकारहरू कम्युनिष्ट पार्टीका भए पनि शुद्ध लोकतान्त्रिक बिधिबाट बनेका हुन।  र, जनताको विश्वास जितेर समृद्धिको आशा जगाउने उद्देश्यका साथ बनेका हुन । तर, पनि चुनावी उर्ज्जा भने ‘कम्युनिष्ट एकता’ले ल्याएको र कम्युनिष्ट प्ति आकर्षण बढेको भनेर सबैले व्याख्या गरेको हुँदा अरू उदाहरण न्दा कम्युनिष्ट मुलुककै उदाहरण सुहाउने लागेर मैले यि उदाहरण छानेको ।

 

नेपाल कम्युनिष्टपथमा बामे सर्न लागेको ‘सामाजवादोन्मुख मुलुक’ हो भन्नेमा बिवाद छैन । उदाहरणमा परेका साम्यवादी मुलुकले सिकेका केही असफल ‘दुष्प्रचार’ वा ‘प्रोपोगाण्डा’ अभ्यासले हाम्रा शासकहलाई ‘प्रोपोगाण्डा’ वा दुष्प्रचारलाई राज्यकै प्रणालीमार्फत प्रभावकारी ढङ्गले सञ्चालन गर्न पक्कै सघाउने छन ।’प्रोपोगाण्डा’को ‘सिस्टमेटिक’ प्रयोग हिटलरले आफ्नो मन्त्री जोसेफ गोयबल्स (कार्यकालः१९३३-१९४५) मार्फत गर्न सुरु गरेको भए पनि साम्यवादी  मुलुकले राज्यप्रणालीकै अङ्गका रुपमा विस्तार गरिएको अवधारणा भएकाले पनि साम्यवादी मुलुकका एकदुई उदाहरण सान्दर्भिक हुन्छन भन्ने मलाई लाग्छ ।

 

हिटलरले सुरु गरून कि स्टालीनले, हाम्रा सबै सार्वजनिक पदधारीकोमा दिमागमा गहिरोसङ्ग जरा गाडेको अवधारणा हो, प्रचार । कामसङ्ग तालमेल मिले प्रचार, नमिले दुष्प्रचार । जानकारीको पवित्र उद्देश्य भए सञ्चार, दिग्भ्रमित बनाउने उद्देश्य भए ‘प्रोपोगाण्डा’ ।

 

त्यसैले हाम्रोमा सबै तहका सरकारको पहिलो चरणको नियुक्तिनै ‘मिडिया-हेर्ने मान्छे’ वा ‘प्रेस एडभाइजर’ हुन ।

 

काम गरेर मात्रै हुँदैन ति कामको सन्देश जनतामा ‘सही रुपमा’ सम्प्रेषण हुनु पर्दछ भन्ने सिद्धान्तका आधारमा ‘प्रेस एडभाइजर’मार्फत आफ्नो कार्यकालको सुरुवात गरेका होलान, सबै तहका सरकारले, केन्द्रदेखि गाउँपालीकासम्म । वडा अध्यक्षले पनि प्रेस एड्भाइजर नियुक्त गरे भन्ने चाहिँ सुनिएको छैन । र ९९.९% नियुक्तिमा पेशाले पत्रकार भए पनि शुद्ध पार्टीको वा ब्यक्तिको पक्षमा दुष्प्रचारमा लाग्न सक्ने हैसियत भएका मात्र पहिलो रोजाईमा छन। राजनैतिक रुपमा बिभक्त नेपाली समाजले ति सबै सल्लहकार/सहयोगीहरूलाई ‘प्रोपोगाण्डा’को औजारको रुपमा लिएको पाइन्छ ।

 

‘प्रोपोगाण्डा’को औजारको रुपमा काम गर्नेले आफ्नो जिम्मेवारी बहन गरेको भने पाइँदैन । उदाहरण राष्ट्रपतिकै लिउँ । न घुँडामार शैलीको दशैँ टीकाको पक्षमा प्रभावकारी प्रतिरक्षा भयो, न १८ करोडको गाडीको पक्षमा । अघिल्ला राष्ट्रपतिको घरभाडा र गाडीमोहले खुइलि्न सुरु भएको छवी वर्तमान राष्ट्रपतिका पालामा केही रहेन । संस्थै बदनाम भयो, यिभन्दा ज्ञानेन्द्र, पारस नै राम्रा भन्नेको जमात दिन दुई गुणा रात चौ-गुणा बढ्दैछ ।

 

‘प्रोपोगाण्डा’मा समर्पित जनशक्ति नियुक्त छन, त्यही गाडीको पक्षमा जनमत बनाउन सक्थे । देशका आधाभन्दा बढि मिडियाकर्मी आफ्नै पार्टीका सङ्गठित सदस्य भएका पार्टी नेताले तिनलाई परिचालन गरेर गाडी किन बिलासिताको भन्दा आवस्यकताको बस्तु हो भनेर लेखाउन सक्थे, लेखमार्फत आफूले लिने भावी निर्णयको पक्षमा जनमत बनाउन सक्थे, निर्णय लिनुअघि।

 

प्रधानमन्त्रीकोमा त झन विद्यावारिधी गरेकै मान्छेको नेतृत्वको हुल छ’प्रोपोगाण्डा’ मेशिनको रुपमा। जनतासङ्ग प्रधानमन्त्री नामको कार्यक्रम छ, भजन गाउनेको मात्रै फोन लाग्ने । टिभिमा बिहान आउने धार्मिक कार्यक्रम बेलुका सुरु भए जस्तो छ, हेर्दा । प्रश्नकर्ताको चाकरी र प्रधानमन्त्रीको निर्देशन सुनेर मान्छे हाँस्छन । यही कार्यक्रमलाई अलिक प्रभावकारी बनाउन सक्थे ।

 

मन्त्री पिच्छे प्रेस सल्लाहकार छन। तिनका हरेक पोस्ट्ले मन्त्रीको कद एक इन्च घटाउँछन । हुँदा हुँदा उपचारार्थ तातोपानीमा नुहाएको तस्विर  हालिदिएर दुई महान क्रान्तिकारी नेताकै कद दुई फिट नै  घटाइ दिए ।

 

जहाज किन्दा पर्यटन मन्त्रीको बडी वाइड भयो भन्ने व्यापक चर्चा छ । प्लेन भाडामा लिएको हो कि किनेको हो भन्नेसम्मका अस्पष्टता बजारमा छन । कुनै ‘प्रोपोगाण्डा’ मेशिन बोल्दैन ।

 

एक जना बौद्धिक युवतीलाई राजदूत नियुक्त गरे छ, सरकारले । अध्ययन, अध्यापन गरेका, विषयबस्तुमा दखल राख्ने, अङ्ग्रेजी भाषाको राम्रो ज्ञान भएका युवायुवती पनि सरकारको आँखामा परेको सराहनीय काम भयो । साली नियुक्त भन्ने बजारभरि फैलियो । पत्रपत्रिकाले लेखे उनी प्रधानमन्त्रीको   साली हुन रे।  तर, प्रधानमन्त्रीको  श्रीमतिकी  बहिनी  चाहिँ होइनन रे । श्रीमतिकी  गैर-बहिनी  त्यस्ति सालीको नियुक्तिको प्रतिरक्षासमेत गर्न  त्यो ‘प्रोपोगाण्डा’ मेशिन बोलेन । बजारमा भएका योग्य युवा युवतीसमेत सरकारको रोजाईमा पर्ने, सरकारले कूटनीतिक क्षेत्रमा सरकारी जागिरे र निवृत्त बुढाको मात्रै होइन केही गरौँ भन्ने युवा युवतीको समेतको ज्ञान र बुद्धि प्रयोग गर्दैछ भनेर एउटा माहोल बनाउन सक्थ्यो ।

 

यस्ता अनगिन्ति  उदाहरण छन अहिलेको दुई तिहाइँ बहुमतवाला सरकारले कामभन्दा प्रचारलाई केन्द्रबिन्दूमा राखेको, तर प्रचार गर्न बसेको भजनमण्डलीले प्रचार गर्दा दुष्प्रचार गरेकाले सरकारको लोकप्रियता झन झन ओरालो लागेको देखाउने ।

 

यहाँ तीन खाले मान्छेको बढि चिन्ता देखिन्छ वर्तमान सरकार ’bout। १.देश बिग्रियो भन्ने, २. कम्युनिष्ट बिग्रिए भन्ने, र ३. आफू बिग्रिएँ भन्ने । ति तीनै खाले मान्छे अहिले सरकारको आलोचनामा लागेका छन ।

 

पहिलो पङ्तीका यस मानेमा सही छन कि देश एउटा पार्टी भित्रका एउटा गुटका सहयोगी माफियाको प्रभावमा छ र यसको नतिजा देश बिग्रने नै हो । राष्ट्रपतिले किन १८ करोडको गाडी मागिन भन्ने कुराको सारमा गरिव देशका शासकमा पलाएको भोगबिलासको भोकले निम्त्याउने कुदिन देख्छन, उनीहरू । साली हुन कि होइनन थाहा छैन, योग्य हुन कि होइनन मतलब छैन, तर तिनको राजदूतको पदमा नियुक्तिको प्रस्ताव कुन खल्तिबाट निस्कियो वा कुन पद्दतिबाट निस्कियो भन्ने चिन्ता हो, उनीहरूको ।

 

दोस्रो पङ्तिका  आलोचकले यि दुवै मुद्दामा पार्टी बिग्रने देखेका छन । उरुग्वेका पूर्व राष्ट्रपति होजे म्युइका उदाहरण दिँदै उनीहरू गुनासो गर्छन । सर्वाहाराको नाममा राजनीति गरेकाहरूको यो सुबिधा मोहले अवको तीन पुस्ताले ‘म कम्युनिष्ट हुँ, सर्वाहारा हुँ’ भन्ने बाटो बन्द भएको छ । कम्युनिष्टको समाजमा व्यक्तिभन्दा पार्टी प्रधान हो, पार्टीको पद्दति प्रधान हो । राजदूत नियुक्तिको विषय पार्टीको कसैलाई सुइँको सम्म छैन । त्यसले ‘अव हामी कम्युनिष्ट हौँ, पद्दतिअनुसार चल्छौँ ‘ भन्ने बाटो बन्द भएको गुनासो छ, उनीहरूको ।

 

तेस्रो पङ्तिमा आफू बिग्रिएँ भन्नेको चिन्ता छ । अर्को पार्टीका, अर्को गुटका ६५ नाघेका नेताको गुम्दै गएको आत्मविश्वास र युवामा राजनीतिप्रति बढ्दो बितृष्णा दुवै ‘म बिग्रिएँ’ भन्ने भावनामा आधारित चिन्ता हुन ।

 

पानी जहाज, रेल, मोनो रेल, मेट्रोरेल, ग्यास पाइप जस्त कुनै पनि प्रोपोगाण्डाले यि तीनै प्रकारका चिन्तामणीको चिन्ता मत्थर गर्दैन बरू त्यस्ता गफले  चिन्ताको मात्रा बढाउँछ । देशको चिन्ता गर्ने, पार्टीको चिन्ता गर्ने र आफ्नै चिन्ता गर्ने कोही पनि सरकारका शत्रु होइनन । तिनले व्यक्त गरेका चिन्तालाई सम्बोधन गर्ने हो तिनका बिरुद्ध प्रोपोगाण्डा छेड्ने होइन ।

 

हुनत सरकारका हवाई गफको स्टक ९ महिनामा सकिए जस्तो छ । त्यही पनि अलि अलि बचे खुचेको गफ भए भोलीलाई साँच्ने, अहिले काम बढि प्रचार कम गर्ने समय हो । दुष्प्रचारमा शक्ति खर्च नगरे पनि अर्को ४ बर्षलाई वाह्य खतराको सम्भावना छैन सरकारलाई । सरकार पतन भए आफैँ कुहिएर पतन हुने हो, अर्काको झटारोले होइन ।

 

अहिले आएर केही सरकारी मान्छे ‘अब देखिने गरी काम हुन्छ’ भन्दै छन । इमान्दार भएर काम मात्रै गरे कसैले छोप्न सक्दैन, देखिइहाल्छ । नभएको काम देखाउने वा भएकोभन्दा बढि देखाउने प्रोपोगाण्डिश उद्देश्य मात्रै त्यागे सरकारका आधा चिन्ता दूर हुन्छन । यसका लागि सरकारले एउटा निर्णय गर्नुपर्छ, अव कुनै निकायले प्रेस एडभाइजर राख्न पाउने छैन ।

 

काम गर्नेलाई प्रचार चाहिन्न । साँच्चै काम गरे यसलाई देखाइ रहनु पर्दैन आफैँ देखिन्छ । जब कामलाई प्रचारको उद्देश्यले जित्छ, त्यसले उल्टो नतिजा दिन्छ, रुस, क्युवा र उत्तरी भियतनामको जस्तो ।