समाज बदल्नेहरु पहिला आफै बदलिए

नीजि सम्पतिको लोभ गर्ने कम्युनिष्ट पार्टीका नेता हुँन सक्दैनन् भनेर चिनियाँ राष्ट्रपति सी जिनपिङले भनिरहेको समयमा नेपालका कम्युनिष्ट भने धनसम्पति जोड्न सबै इमान जमान, आदर्श, आस्था र विचारलाई रछ्यानमा फ्याँकेर दायाँ वायाँ नहेरी दौंडी रहेका छन् ।

सुभाषचन्द्र देवकोटा
कुनै बेला राजनीतिको मूलबाटो सिद्धान्त, आदर्श र जनता सेवा थियो । सिद्धान्त र आदर्शको लागि मान्छे मर्न पनि डराउँदैनथे । त्यसैले सिद्धान्त र आदर्शको जीवन जीउँने पुष्पलाल, वीपी, मदन भण्डारी, गणेशमान, मनमोहनलाई मान्छे आज पनि श्रद्धाले सम्झिन्छन् ।
त्यस्तै आदर्श र इमानको मृत्युवरण गर्ने गंगालाल, धर्मभक्त, दशरथचन्द, शुक्रराज, कृष्ण सेन र क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ नेपालको आकाशमा कहिल्यै नअस्ताउँने नक्षत्र भएर चम्किरहेका छन् । हामी गर्ब गर्छौ हाम्रा अग्रजप्रति, उनिहरुको त्याग, बलिदान र इमानप्रति ।
तर, आज देशमा बिचार र ईमानको खडेरी परेको छ । बिचार, आदर्श र ईमानको पाठशाला भनिने राजनैतिक दल आफै इमानको खडेरीले मुर्झाएका छन् ।
वीपीको अनुयायी भन्ने काँग्रेसका लागि जनता कहिले पनि प्राथमिकतामा परेनन् । भएका कल कारखानालाई पनि कौडीको भाउमा बेचेर देशको आत्मनिर्भरतामा बञ्चरो हान्ने काँग्रेस नै थियो ।
विदेशी प्रभुसामु लम्पसार परेर सत्ता, शक्ति र पदको भीख माग्न पनि काँग्रेस कहिल्यै पछि परेन । वीपीका सपना द्रष्टाहरू गणेशमान, भीमबहादुर तमाङ र रामहरी जोशीको मान मर्दन गर्ने पनि अब्बल दर्जाका काँग्रेस नै थियो ।
नेपालमा कम्युनिष्टको कथा पनि योभन्दा फरक छैन । पुष्पलालको आदर्श, मदन भण्डारीको विचार, मनमोहन सादगी र हजारौं शहीदको वलिदानको जगमाथि उभिएर आफ्नो व्यक्तित्व चम्काएका कम्युनिष्ट जब सत्तामा सवार हुन्छन तब उभिएको जग नै बिर्सिन्छन् ।
जनताका जनजीविकाका सवालभन्दा आफनै स्वार्थको रोटी सेक्ने मौका खोजेर बस्छन् । आफ्नै नातागोता र व्यापार साझेदार रोज्छन् । जब सत्ताबाट बाहिर निस्कन्छन अनि मात्र पुष्पलालको मदन भण्डारी, मनमोहन र शहीदको स्मरण गर्दछन् । जनताको मुक्तिको कुरा गर्दछन ।
सत्ताबाट बेदखल हुनुपरेको झोकमा छिमेकीलाई धारेहात लगाएर राष्ट्रवादी भएको हुँकार गर्दछन् । काम व्यवहार सबै पूँजीवादी भएपनि पनि जनताको आँखामा छारो हाल्न आफूलाई असली कम्युनिष्ट भएको नाटक गर्छन् ।
देशमा गरिबी उस्तै छ, विभेद र हिंसाको पराकाष्टा रोकिएको छैन । तर, राजनैतिक दलका नेता नै स्वास्थ, शिक्षाका ठूला व्यापारी छन् । उनीहरूले नै ठेकेदारसंग मिलोमतो गरेर सिण्डिकेट चलाएका छन् । नेता पाल्ने, पार्टी चलाउँने हैसियत उनिहरू नै राख्दछन् । राजनैतिक नियुक्ति कसलाई गर्ने पनि उनिहरू कै हातमा छ ।
स्वस्थ्य, शिक्षा सुधार आयोग जस्ता संवेदनशिल बिषयका ठूला सल्लाहाकार हुने औकात पनि यिनीहरू नै राख्छन् । आफ्नो व्यापारलाई ध्यान दिएर नीति नियम बनाउछन् । यस्तै व्यपारी र सिण्डिकेटवाला ठेकेदार कार्यकर्ताको बैसाखी टेकेर सरकार चल्ने भएपछि जनताले दुःख नपाए कसले पाउँने । बेरोजगार युवा विदेशतिर लर्को नलागे को लाग्ने ?
जनताले ३० बर्षे पञ्चायती शासन भोगे, करिब २० बर्ष बहुदलीय प्रजातन्त्रको कुशासन पनि भोगे र अहिले १० बर्षदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको बेहाल, बेथिति बेहोर्दै छन् । जुन जोगी आए पनि कानै चिरेका भने जस्तै सत्ता बस्ने फेरिए पनि साररूपमा भन्नु भन्नुपर्दा जनता जीवनको भोगाइमा फरक अनुभूति गर्न पाएका छैनन् ।
उनीहरूको जीवनमा सुखको घाम झुल्किएको छैन । जनताको हैसियतमा कुनै परिवतर्न आएको छैन । तर, उनै जनताको नाउँमा राजनीति गरेको भन्ने राजनीति खेलाडीको भने रातारात हैसियत बदलिएको छ । हेर्दा हेर्दै नवसामन्तमा रूपान्तरण भएका छन् ।
नेपाली कम्युनिष्टले आफ्नो मौलिक बाटो बिर्सिएका छन् । सामान्य जनता सर्बहारामा परिणत हँुदैं जादा सत्ताको राजनीति गर्ने कम्युनिष्ट भने धन कुवेर भएका छन् ।
कुनै बेला जनसंस्कृतिको कुरा गर्नेहरू सामन्ति संस्कृतिका महापंण्डित भएका छन् । मन्दिर पुगेर भजन गाउँदै स्वस्ति शान्ति गर्न थालेका छन् ।
जनताको राजनीति गर्ने नाउँमा राजनीतिका गतिला ब्यापारी बनेका छन् । अग्रजको त्याग र वलिदानको पवित्र जगमाथि आफ्नो राजनैतिक चम्काएका आज त्यै आफू उभिएको पबित्र जगमाथि स्वार्थको आगो झोसिरहेका छन् ।
सिद्धान्त र ईमानबाट स्खलित भएका नेपाली कम्युनिष्ट आग्रह र इष्र्याको राजनैतिक अहालमा चुर्लुम्म डुबेका छन् ।
आत्मकेन्द्रीत, स्वार्थी र कपटि भएका छन् । त्यै आग्रह र इष्र्यालाई सिद्धान्तको जलप लगाएर आफ्नो अनुकूल व्याख्या गर्ने जाली माक्र्सवादी भएका छन् ।
कार्यक्रम केन्द्रीत हुनुपर्ने कम्युनिष्ट व्यक्ति केन्द्रित र व्यक्तिवादी भएका छन् । नेताको बोलीलाई देवबाणी मानेर उनीहरू कै वरिपरि प्रदक्षिणा गर्नेको भीड बढेको छ । परिणामः आदर्श र ईमानका कुरा गर्ने कम्युनिष्ट कार्यकर्ता अब बेचल्तिका टक्का भएका छन् ।
अब निष्ठा र ईमानका पारखिलाई बेदखल गर्नु, नेताहरूको स्तुति गाउँने भाटगिरी नै नेपाली कम्युनिष्ट आन्दोलनको मौलिक सिद्धान्त बनेको छ ।
सिद्धान्त र आदर्शका मानकलाई रद्धिको टोकरीमा फ्याँकेपछि कम्युनिष्ट आन्दोलन कार्यक्रम र दृष्टिबिहिन भएको छ र शुद्ध नेताको व्यक्तिगत मनोकांक्षामा चलेको छ । नेता कै स्वार्थको लगाम लगाएर दौडेको छ । बैचारिक मियोबिहिन बनेको कम्युनिष्ट आन्दोलनमा विचारभन्दा नेताको हैकममा चल्न थालेपछि आर्दशको लागि जेल नेल भोगेका ईमानी कार्यकर्ता सीमान्तकृत बनेका छन् ।
कि त उनीहरूलाई बोन्साईकृत गरेर माथि उठ्नै नसकिने गरि थचारिएको छ । नेताको अर्दली हुन पाउँदा गर्बले छाति फुलाउँने कार्यकर्ता तथा नेताले नै आन्दोलनको मूलधार कब्जा गरेपछि नेपाली कम्युनिष्ट आन्दोलनले भने आफ्नो मौलिकता गुमाएको छ । कम्युनिष्ट आन्दोलनको राप, ताप, ओज सेलाएको छ ।
विभेदमा पारिएका समुदायको उत्थान र राष्ट्रियता नेपाली कम्युनिष्ट आन्दोलन उद्भवको जग थियो । यै जगमा उभिएर नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो र परिवर्तनको संवाहक पनि बन्यो ।
विभेदबाट मुक्ति र राष्ट्रियताको जगेर्नाको सपना बोक्ने कैयौं कार्यकता आन्दोलनको क्रममा मारिए, अंगभंग भए, जेल नेलको यतना सहे र कैयौं अझैं पनि बेपत्ता नै छन् । उनीहरुको कुनै अत्तोपत्तो छैन । तर, दूर्भाग्य, खोला तर्यो, लौरो बिर्सियो भने जस्तै सत्ताको खेलमा लागेपछि आन्दोलन र युद्धको बेला गरेको वाँचा र प्रतिबद्धताहरू नेताले बिर्सिए ।
आफ्नो राजनीति उन्नयनको जग नै ध्वस्त पारे । आफ्नो लागि सुखको स्वर्ग बनाउँन दत्तचित्त भएका नेताले विचार र आदर्शलाई रछ्यानमा मिल्काए । राष्ट्रियता बिर्सिए, विभेदमा परेकाको मुक्तिका सपनाको मानमर्दन गरे । देश बदल्ने कसम खाएर कम्युनिष्ट भएकाले देश र जनताको अबस्था परिवर्तन गर्न त सकेनन् तर, आफै भने बदलिए । हैसियत परिवर्तन गरे ।
कम्युनिष्ट आन्दोलनमा थुप्रै नेता आए । गुट उपगुट बने । तर, गुट उपगुट जे जति भए पनि नेपाली कम्युनिष्ट नेताको मनोविज्ञान भने सबैको उस्तै छ । मनसाय र नियत भने उस्तै छ । जनताको सपनामाथि राज गर्नु । कुरा गर्दा कम्युनिष्ट सामुहिकता र वर्गियताको कुरा गर्छन् । नीजत्वको विरोध गर्छन ।
तर, जब नाफा नोक्सानको कुरा आउँछ, सामुहिकता, वर्गियताको कुरा सबै बिर्सिन्छन् । नीजि स्वार्थको कुरा गर्दछन, परिवार, स्वास्नी, छोरा र छोरीको वरिपरि घुम्छन् । नियुक्ति, बढुवा, सरुवा र ठेक्कापट्टामा समेत छानी छानी आफ्ना मान्छे भर्छन् । न विचारको कुरा आउँछ, न संगठन पद्दतिको ।
पूँजीवादको चर्को बिरोध गर्ने कुनै जमानाका कम्युनिष्ट आज आफैं पूँजीवादी भएका छन् । शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षाको नीजिकरणको बिरोधका अभियन्ता आज आफै स्कुल, स्वास्थ्यलगायत व्यापारिक प्रतिष्ठानका मालिक छन् । ठूला व्यापारिक घरानामा रूपान्तरित भएका छन् ।
पैसाले राजनीतिलाई औंलामा नचाउँन सक्ने भएका छन् । जनताको नाममा राजनीति गरेको भन्न रुचाउँने कम्युनिष्ट महलमा बस्छन् र राजसी जीवन बिताउँछन् । आनीबानी, खानपान र बोली व्यवहार श्री ३ जंगबहादुर राणाको नक्कल गर्छन् । तर, पनि भोका र नााङ्गां जनताको हितमा गुड्डी हाँक्न छोडेका छैनन् ।
शहीदको फोटो बैठक कोठामा टाँसेर गुन लगाएको संझिन्छन् । न शहीदका टुहुरा छोराछोरीका आँशुले उनिहरुलाई पोल्छ । न शहीदका सपनाले उनिहरुलाई दुःख्छ ।
नीजि सम्पतिका लोभीहरु कम्युनिष्ट पार्टीका नेता हुँन सक्दैनन् भनेर चिनियाँ कम्युनिष्ट पार्टीका महासचिब तथा राष्ट्रपति सी जिनपिङले भनिरहेको बेला नेपालका कम्युनिष्ट भने धनसम्पति जोड्न मरिहत्ते गरेर लागेका छन् । सबै इमान जमान, आदर्श र विचारलाई रछ्यानमा फालेर दायाँवायाँ नहेरी दौंडिरहेका छन् ।
सबैलाई थाहा छ, नेपालका कम्युनिष्टहरूले बाटो बिराए कै छन् । जनताको मन दुःखाएर गरिने राजनीतिले भलो गर्दैन भन्ने कुरा हाम्रा महान कम्युनिष्टले बुझ्नै पर्दछ । अन्यथा इतिहासको गति रोकेर अजम्बरी कोही बन्न सक्दैन । चेतना भया ।
