प्रहरी र चोर

उसको कुराले प्रहरीलाई कतै मनमा चस्का पर्यो – ऊबाट भूल पो भयो कि, नत्र भेटेजतिले चोरलाई सज्जन त भन्नु नपर्ने । प्रहरीले त्यसको अनुहार अलि गहिरिएरै हेर्न खोज्यो । चोर भनेरै र विशेष हुलियाकै भरमा समातेको मान्छे अहिले यसो हेर्दा कतै आफैबाट गल्ती पो भयो कि भन्ने लाग्यो ।

ध्रुव मधिकर्मी
त्यहाँ बस्ती छ र चारैतिरबाट घेरिएको जङ्गल पनि । जङ्गल बाक्लो थिएन, त्यसैले कुनै हिंस्रक जन्तुको डर पनि भएन । जङ्गल वास्तवमा गुलजार थियो । त्यहाँ हिंस्रक पशुहरुभन्दा बढी मान्छेहरुको ओहारदोहोर देखिन्थ्यो । मान्छेहरुकै ज्यादा आवतजावतले बरु जङ्गली जन्तुहरु लोप हुँदैछन् भन्न सकिन्छ ।
मान्छेहरुको उजुरीमा प्रहरीले इमान्दारीपूर्वक चोर समात्यो र थानामा पुर्याउन त्यही जङ्गलको बाटो भई जाँदै थियो । प्रहरी इमानदार झैं देखिन्थ्यो । अतः चोर फुत्केर भाग्ला भनेर सतर्कतापूर्वक समातेर लग्दै थियो ।
चोर साँच्चिकै चोर नै देखिन्थ्यो । मानौं कुनै बदमास, नाफाखोर, परपीडक निर्दयी झैं । हेर्दैमा त्यसले पक्कै पनि दुईचार जनाको गला निमोठेको हुनुपर्छ, दस-बाह्र जनालई साफसंग भकुरेको हुनुपर्छ र बीसपच्चीसलाई निरन्तर सताइरहेको हुनुपर्छ भन्ने सोच्न सकिन्थ्यो ।
जङ्गलको बाटो सुरु भयो । यसै बेला कहीँबाट एउटा मान्छे फुत्त निक्ल्यो र प्रहरीसामु उभिएर आदरका साथ हात जोड्यो – नमस्कार । ओहो ! यति सज्जन मान्छेसँग कहाँ जाँदै हुनुहुन्छ ?
प्रहरी अकमकियो र लगत्तै सम्हालियो ।
को ? यो सज्जन मान्छे ! होइन यो त महाको बदमास मान्छे हो । त्यसैले कारवाहीको लागि थानामा लग्दैछु ।, प्रहरीको उत्तरले त्यो मान्छे छक्क परेझैं देखियो ।
कस्तो अचम्म ! मैले राम्रोसँग चिनको मान्छे । गाउँमा मन्दिर बनाउन यिनैले त हुन् गजुर हालिदिएको ।
प्रहरीले सुनेर पनि वास्ता गरेन र हिंडिरह्यो ।
अलि अगाडि बढेपछि फेरि अर्को मान्छे भेट भयो । प्रहरीसँग अलिकति परिचित मान्छे रहेछ त्यो । भेट हुनासाथ त्यसले प्रहरीलाई चुरोट टक्र्यायो । प्रहरी इमानदार थियो, त्यसैले अलि अप्ठ्यारो मान्दै चुरोट लियो ।
अनि उहाँसँग कहाँ जाँदै ?, चुरोट सल्काउँदै सोध्यो त्यो अलिकति परिचितले ।
तिमी चिन्छौ ?, प्रहरी चकित झैं भयो ।
किन नचिन्नु यस्तो भलादमी मान्छेलाई ।
सुनेर प्रहरीलाई एकछिन त पत्यार मान्न गाहारो भयो । तैपनि प्रहरीले उसको कुरामा त्यति साह्रो ध्यान दिएन ।
त्यसले भन्यो – गाउँको सेवामा सधैं जुटिरहने मान्छे हो , यसो आपतसापत आइपर्दा जोसुकैलाई पनि खरखाँचो टारिदिने मान्छेलाई किन नचिन्नु ।
यो त चोर हो । चोरी मुद्धामा कारवाहीका लागि ल्याएको ।, प्रहरीले सुस्तरी भन्यो ।
ओहो ! , उहाँजस्तो मान्छे चोर कसरी हुन्छ । कसले भन्यो यस्तो कुरा ? कतै भ्रममा पो पर्योउ कि ?
उसको कुराले प्रहरीलाई कतै मनमा चस्का पर्यो – ऊबाट भूल पो भयो कि, नत्र भेटेजतिले चोरलाई सज्जन त भन्नु नपर्ने । प्रहरीले त्यसको अनुहार अलि गहिरिएरै हेर्न खोज्यो । चोर भनेरै र विशेष हुलियाकै भरमा समातेको मान्छे अहिले यसो हेर्दा कतै आफैबाट गल्ती पो भयो कि भन्ने लाग्यो । प्रहरी अलि द्धिविधामा पर्यो, लगत्तै सम्हालियो । अहँ हत्पती कसैको कुरालाई पत्याइहाल्नु हुन्न ।
जाऔं यतै कतै एकछिन । चियासिया खान बसौं । अनि बाटो लागौंला ।, उसले आत्मीयता देखायो ।
’em चिया खान बसे ।
प्रहरी द्धिविधाग्रस्त मुद्रामा मनमा कुरा खेलाउँदै जाँदै थियो, अलि पर पुगेपछि मोडबाट एक जना मान्छे आउँदै गरेको देख्यो । चिनेचिनेको जस्तो लागेर हेर्दाहेर्दै अगाडि पुग्दा त आफैले मान्नुपर्ने मान्छे पो रहेछ । आँखा जुध्नासाथ हत्तपत्त नमस्कार गर्यो ।
प्रहरीलाई नमस्कार फर्काउँदै त्यो व्यक्तिले कथित चोरसँग भने हार्दिक ढङ्गले हात मिलायो – के छ हालखबर ? प्रहरीलाई लिएर कहाँ जाँदैछौ हँ ?
त्यो कथित चोर बोलेन, मुसुक्क हाँस्यो मात्र ।
श्रीमान, यो चोर हो, कुनै असल भलादमी होइन ।, प्रहरीले अलि डराएको स्वरमा सकभर सतर्क हुँदै भन्यो ।
के भन्छ यो, कल्ले भड्कायो तिमीलाई यो चोर भनेर हँ ? उहाँ त बडो असल मान्छे हुनुहुन्छ । मेरो राम्रो जानपहिचान छ । तिमीलाई पक्कै पनि कसैले ढाँटेको हुनुपर्छ । को हो त्यसरी ढाँट्ने ? फेरि तिमीलाई असल र खराब भनेर छुट्याउन पनि आएन ?, त्यो सज्जनले हप्काउने ढाँचामा प्रहरीलाई भन्यो ।
प्रहरी इमानदार थियो । आज्ञाकारी पनि थियो । पक्कै पनि ऊबाट गल्ती भएकै होला । नत्र यत्रो ठूलो मान्छेले समेत भनेपछि पक्कै पनि यो चोर, चोर नभएर असल मान्छे नै हुनुपर्छ । सबैले असल भलादमी र सज्जन भनेर चिनेको मान्छेलाई उसले किन चिन्न सकेन ? उसलाई यसैमा छक्क लागिरहेछ । अबश्य पनि उजुरी गर्ने ती मान्छेहरु नै खराब हुनुपर्छ र उसलाई फँसाउन कुनै षड्यन्त्र रचेको हुनुपर्छ । प्रहरी सोचमग्न भयो ।
उसले चोर भनेर समातेर ल्याएको मान्छेको अनुहार फेरि एकपटक राम्ररी नियाल्यो । यस्तो मान्छे पनि कहिँ चोर हुनसक्छ ? अनुहार हँसिलो, तेजिलो छ । लुगा पनि कुनै भलादमीले लगाउनेजस्तो सहज र सरल देखिन्छ । उसलाई त्यसको अनुहार चोर भनेर समात्दाको भन्दा अहिले निकै फरक लाग्यो । अहिले ऊ आफैदेखि छक्क पर्न थाल्यो । कसरी ऊबाट यस्तो गल्ती भयो ।
राम्ररी नचिनेपछि यस्तै हो । कुनै पीर मान्नुपर्दैन । छाडे हुन्छ । म छु नि ।, त्यो सज्जनले आश्वस्त गराउन खोज्यो, तिमी निकै थाक्यौ होला , आऊ एकछिन बस । यहीँ खाना खाएर गए हुन्छ ।
त्यसपछि प्रहरीले बडो विनम्र हुँदै भन्यो – माफ गर्नुहोला, मैले तपाईँलाई अरुको लहैलहैमा लागेर यहाँसम्म दुःख दिएँ ।
त्यसपछि उसले त्यो मान्छे (चोर)लाई छोड्यो ।
प्रहरी इमानदार थियो, ’cause उसले आफ्नो गल्तीलाई लिएर माफी माग्यो ।
अब त्यो चोरअनुहारको मान्छे पनि चोर बदमासजस्तो देखिएन ।
मुख्य कुरा त उसलाई छोडेपछि प्रहरी फुक्का भयो ।
