प्रचण्डको चाभेजिज्म र बादलको आणविक भट्टि

मार्क्स, लेनिन र माओका गफ छन त केवल मानसिक शान्तिका लागि ।
वास्तवमा यो पार्टी बनाएकै स्मिथको शरीरमा मार्क्सको टाउको जोडेरै हो। विचारले शीर चल्छ, आवस्यकताले गीँड । गीँड चलाउने भातले हो, कस्को भात खाने भन्ने विचारले निर्देशित गर्ने हो । यहाँ शीरवादी र गीँडवादीका रुपमा दुई परस्पर बिरोधी तर सारमा अनन्योआश्रित कार्यकर्ताको जबर्दस्त उपस्थिति भएको शासन भएकोले यो भन्दा बढि यहाँ नखोकौँ जस्तो लाग्यो । नेता-कार्यकर्ताको ठूलो तप्का तीन आना घडेरीको स्वामी छ, सरुवा-बढुवाका र ठेक्का-पट्टाका बिचौलिया उसको पेसा । कोही सरकारी अफिस, बोर्डिङ्ग स्कूल, नाफाखोर अस्पताल, जङ्गल, एनजिओ, जलविद्युत परियोजना र एम्बेसीहरूका कमिशनखोरीमा ब्यस्त छन, गीँड पाल्नका लागि ।

सानो मान्छेले ठूला कुरा गर्यो भने हिन्दिमा “छोटा मुँह, बडि बात” भन्छन । एउटा सार्वभौम राष्ट्रका नेताको मुखलाई सानो त भन्नु भएन किन कि आफ्नो देशको सिमाना बाहिर गएपछि सार्वभौमसत्ताको आकार सबैको उत्रै हुन्छ, नरेन्द्र दामोदरदास मोदिको, सि जिनपिङ्ग र खड्ग प्रसाद शर्मा ओली वा पुष्पकमल दहाल”प्रचण्ड” सबैको मुख उत्रै हो ।
प्रकृतिले कुनै कुनै जनावरलाई अनौठो र अदभूत आवाज दिएको हुन्छ, मुख सानो भए पनि, शरीर सानो भए पनि । कुनै जवानामा म यो पृथ्वीमा भएका प्राणीहरूको अनौठो गुणको वारे जिज्ञासु थिएँ, पढ्न र टिभिमा हेर्न समेत। एउटा कुनै प्रजातीको झिँगे माछाजत्रो, ४-५ सेन्टिमिटर लामो “टाइगर पिस्तोल श्रिम्प” नामको प्राणीले २०० डेसिबल आवाज निकाल्दो रैछ जवकि संसारको सबै भन्दा ठूलो जिवित प्राणी, २०० टनको ब्ल्यू ह्वेलले १८८ डेसिबल मात्रै निकाल्छ।
अरूअवरोध नहुने र डाँडाले नछेक्ने हो भने ब्ल्यू ह्वेलको आवाज काँकडभित्तामा निकाले कोहलपुर सम्म सुनिन्छ त्यो भन्दा ठूलो आवाज ४-५ सेन्टिमिटरको झिँगे माछाको के निस्केला भन्ने अविश्वास ममा अझै छ, टिभिमा देखेर, कितावमा पढेर पनि । मान्छेले १२०-१३० डेसिबल भन्दा ठूलो आवाज सहनै सक्दैन रे, त्यो भन्दा ठूलो आवाजले मान्छेलाई बहिरो बनाइ दिन सक्छ रे ।
भूगोल सानै भएपनि यो भूगोलमा राजनीति गर्ने हाम्रा केही नेताले टाइगर पिस्तोल श्रिम्प बन्ने चेष्टा पटक पटक गरेका छन । कुनै बेला ब्रिटिश साम्राज्य बिरुद्ध गुरिल्ला युद्ध गरेर, कुनैबेला इजराइललाई मान्यता दिएर, कुनैवेला चीनसङ्ग दौँतरी गाँसेर, कुनैबेला भारत सङ्गको सिमानामा “ट्रेन्च” खनेर । यो शृङ्खला यसपाली अमेरिका विरुद्ध वाकयुद्ध र आणविक भट्टि खोल्ने कानून मार्फत देशको शक्ति आर्जनमा आएर रोकिएको छ ।
म नेताहरूमा हुने लघुताभासको सख्त विरोधी हुँ । देश पहिले कसैले खनिदिएको बाटोमा हिँडेर होइन आफैँ नयाँ बाटो खनेर मात्रै बन्छ भन्ने दृढ विश्वास भएकाले उटफट्याङ्ग गफै किन नहून त्यस्ता गफ सुनेका दिन दुई गाँस भात बढि रुच्छ ।
तर म आदर्शवादी भन्दा यथार्थवादी बढि हुँ । यस्ता गफको धरातल खोज्छु । इतिहासको पनि विद्यार्थी भएकाले पृथ्वीनारायणले टेकेको धरातल र भिमसेन थापाले टेकेको धरातल बिल्कूल फरक देख्छु ।
पृथ्वीनारायणको धरातल उनको बनारस बसाइका क्रममा उनले सुनेको अङ्ग्रेजको रणनीतिले सिर्जना गरेको छ । दाजु-भाइलाई जुधाएर कसरी बङ्गाललाई अङ्ग्रेजले नियन्त्रण गरे भन्ने कथाले उनको विचारको जग निर्माण गरेको छ । भारतको सम्भाव्य खतराका कारण कसरी पश्चिमा राष्ट्रको नजरमा पर्ने भन्ने सोचले वीपीको इजराएल नीतिको जग हालेको छ। एक्लिएको चीनलाई सानै भएपनि मित्र चाहिएको बेला महेन्द्रले भारतको प्रभावलाई सन्तुलन गर्न चीन कार्ड खेलेका छन, भारतमै अधिकाँस समय विताएका नेताको ट्रेन्च रणनीतिको मनोवैज्ञानिक उद्देश्य त सबैको दिमागमा ताजै छ ।
यसपाला आफ्नो साइजको तुलनामा आवाज ठूलो निस्किएको हो कि साइजनै बढेको हो भन्नेमा म अझै प्रस्ट हुन सकेको छैन । उत्तरकोरियाका नातीराजा (राजा भन्न धेरैजना हिच्किचाउँछन, उनका छोरा नभै फूपाजू नयाँ शासक भएछन भने मात्रै म आफूलाई गलत ठान्नेछु) भण्डारमा गहूँ सकियो भने एउटा मिसाइल टेस्ट गर्छन र थप गहूँका लागि मोलमोलाई गर्छन । त्यति भए पनि उनी टाइगर पिस्तोल श्रिप्म नै हुन । कम्तिमा आवाज ठूलो निकाल्छन, संसारले सुन्छ।
हाम्रा नेता त्यो श्रिम्प हुन सकेका छैनन । यिनको सञ्चार आवाज निकाल्ने, सुन्नेमा होइन कानेखुशीमा आधारित छ र यिनको कार्यशैली इशारामा आधारित छ । फरक गुटका मानिएका युवानेतालाई सङ्केत गरेर “केसी” तहलगाए, फरक पार्टीका मानिएका अध्यक्ष लगाएर “देशी” तहलगाउने रणनीति होला। पक्कै बुझेरै गरेको हुनु पर्छ । यि गुटको प्रयोग नै यस्तै रणनीतिक फाइदाका लागि हो ।
एकजना पूर्व प्रशासकले एउटा रोचक चुटकिला शेयर गरेका थिए सामाजिक सञ्जालमा, दुई दिन अघि । एउटा साथी अर्को साथीकोमा गएछ, बैठक कोठामा दुईवटा घडि झुण्डिएको देखेर सोधेछ “किन दुईवटा घडि? अनि दुई घडीमा फरक-फरक समय?” साथीको जवाफ थियो “एउटै समय दिने भए किन दुईवटा घडि चाहियो?”
दुई गुटको उपयोगिता यहीँ देखिँदैछ । अमेरिकी राजदूत जाँदा भित्ताका झ्याप्पै दाह्री पालेका, बोके दारी पालेका र हरियो मिलिटरी जोङ्शान जुआङ्ग (zhōngshān zhuāng) लगाएका बुढाहरूका फोटा हटाएको दल मौसम अनुसार एडम स्मिथ र कार्लमार्क्सका फोटा टाँस्न माहिर छ । क्यापिटलिस्ट अध्यक्ष डाभोस जाँन्छन, कम्युनिष्ट अध्यक्षले चाभेजिज्म छाँटछन । दुइटा घडि छन अलग-अलग समय दिन्छन । दुई अध्यक्ष किन भन्नेलाई दुई वटा घडि किन भन्नेलाई दिएको जबाफ नै काफी होला ।
वास्तवमा यो पार्टी बनाएकै स्मिथको शरीरमा मार्क्सको टाउको जोडेरै हो। विचारले शीर चल्छ, आवस्यकताले गीँड । गीँड चलाउने भातले हो, कस्को भात खाने भन्ने विचारले निर्देशित गर्ने हो । यहाँ शीरवादी र गीँडवादीका रुपमा दुई परस्पर बिरोधी तर सारमा अनन्योआश्रित कार्यकर्ताको जबर्दस्त उपस्थिति भएको शासन भएकोले यो भन्दा बढि यहाँ नखोकौँ जस्तो लाग्यो । नेता-कार्यकर्ताको ठूलो तप्का तीन आना घडेरीको स्वामी छ, सरुवा-बढुवाका र ठेक्का-पट्टाका बिचौलिया उसको पेसा । कोही सरकारी अफिस, बोर्डिङ्ग स्कूल, नाफाखोर अस्पताल, जङ्गल, एनजिओ, जलविद्युत परियोजना र एम्बेसीहरूका कमिशनखोरीमा ब्यस्त छन, गीँड पाल्नका लागि । मार्क्स, लेनिन र माओका गफ छन त केवल मानसिक शान्तिका लागि ।
एडम स्मिथ र कार्लमार्क्स दुवै मिलेर बनेको जैविक-राजनैतिक संरचना पनि सिङ्गो एकाईको रुपमा कायम छ । आखीर हाम्रा नेता पनि प्राणी त हुन। तिनका राजनैतिक समानता त होलान तर आनुवंशिक भिन्नता पनि त छन।
डार्विनको १८५९मा प्रकाशित ओरिजिन अफ स्पेसिज मान्छेको जात सुरुमा एउटै थियो कि सुरु देखि नै मान्छे बहुजातीय थियो भन्नेमा समेत स्पष्ट छैन । डार्विनको सिद्धान्तले जसरी monogenists र polygenists दुवै मतलाई वर्जित गर्छ, हाम्रा विद्वानहरूले पनि ओरिजिन अफ कम्युनिष्टको विषयमा गफ दिँदा monogenists र polygenists दुवैलाई वर्जित गरेका छन । वास्तवमा हाम्रा कम्युनिष्टहरू अर्काको उत्पादन हुन त उत्पादकको गुण आफैँमा लिएर आएका छन । रसियन, चिनिया, क्युवान-कोरियन, आदि अदि। polygenists ले विश्वास गर्ने मान्छेको एउटै जाती थिएन भन्ने हो भने हाम्रा कम्युनिष्टको पनि एउटै जाती थिएन । मार्क्स र एङेल्सको वर्गै फरक थियो ।
दुई फरक मञ्चमा दुई भिन्न तर ठूलो ठूलो आवाज निकालेको कुराको चर्चा गर्दा फेरि पनि आउँछ त्यही फेरि त्यही सामुद्रिक किरा, श्रिप्मकै प्रसङ्ग ।
पक्कै प्रकृतिले सबै प्राणीलाई कमाइखाने एक-एक वटा कला सिकाएको हुन्छ। यो श्रिम्प्लाई पनि त्यो आवाज त्यही कला होला, सिकार गर्ने हतियार होला । त्यसको पानीको सिर्काले पार्ने भुमरी र त्यसले निकाल्ने फ्ल्यास लाईटको तापनै त्यसको जिविकाको साधन होलान । त्यत्रो जीवले निकाल्ने फ्ल्यास लाइटको ताप ४००० डिग्री सेल्सियस रे, पत्याउनै गाह्रो ।
हाम्रा नेताको पनि साइज भन्दा ठूलो आवाज निस्कँदैछ बेला बखत । घर भित्रको स्थिति देखे जति सजिलो छैन । छिमेकी सङ्गको अपारदर्शी साँठगाँठ र संसदीय असहिष्णुताले गर्दा देशले १७,००० को ज्यान गुमायो, मुलुक ५०वर्ष पछि धकेलियो । पहिले के के गल्ती गरिए भन्ने कुरा सम्झि सम्झि दोहोर्याइँदैछ । यस्तो सम्बेदनशील भूराजनीति भएको देशमा सार्वजनिक नीति ल्याउँदा केटाकेटी खेल झैँ गरिन्छ । गृह मन्त्रीले युरेनियम र प्लुटोनियमको प्रशोधन, उत्पादन, उपयोग, उपयोग, पैठारी र निकासी तिर आँखा लगाउने बिधेयक ल्याईरहेका छन । क्यानडा र जापान समेत हैरान भएको यो काम गर्ने आँटमा सफलता भन्दा जोखिम बढि छन । “शान्तिपूर्ण प्रयोग” केवल आदर्शमात्रै हो, व्यवहार भनेको नेपाल खेलमैदान हुने नै हो । भारत-चीनको सम्बन्ध उतारचढावमै छ, चीन र अमेरिकाको सम्बन्ध ब्यापारयुद्धको ९० दिने म्यादमा अल्झेको छ ।
ओलीले डाभोसमा निकालेको आवाज र प्रचण्डले यहाँ निकालेको आवाज कहाँ पुग्यो थाहा छैन तर पक्कै लक्षित समूहमा सुनियो होला । आवाज लक्षित समूहमा अर्कैको माध्यम प्रयोग गरेर पुग्यो भने त्यसले आशंका निम्त्याउँछ, स्वार्थ नै नबाझ्नेहरू सङ्ग द्वन्द्व निम्त्याउँछ त दिमागको सिर्जनशीलता वाइह्यात स्पष्टिकरण दिँदा-दिँदै मर्छ । डाभोसमा निकालेको आवाज स्मिथिस्टहरूले सुने कि सुनेनन भन्ने त आगामी लगानी सम्मेलनमा देखिन्छ नै, यताको चाभेजिस्ट आवाज पुटिन र सीले सुनेकि सुनेनन भन्ने थाहा पाउन गाह्रो छ । पुटिन हास्यो भने रुसमा पानी पर्छ भन्छन, खासमा नेपालमा आफ्नो चेला देख्दा उनी हाँसे कि होइन । वा उनकै लाइन भेनेजुएलाको घटनामा हाम्रा चाभेजिस्ट अध्यक्षको जत्तिकै कडा थियो कि होइन त्यो पनि हमीलाई थाहा छैन । सी त जातैले न हाँस्ने न रुने परे । धेरै सङ्गत गर्नेले देख्या होलान, मैले चिनियाँहरू हाँसेको र रिसाएको देखेको छैन । तिनको पनि मत हाम्रा (अ)द्वितीय अध्यक्षको जत्तिकै कडा छ कि केही नरम ।
हुनत परराष्ट्र मन्त्रालयको मङ्गलवारको विज्ञप्तिले अमेरिकाको साम्राज्यवादी बिल्ल खोलिदियो र भेनेजुएलाका द्वन्द्वरत दुई नेताको भविष्य जनताका हातमा सुम्पियो, तर पनि नेपाल तन्किएर त्यहाँ पुग्नु आवस्यक थिएन । मलाई थाहा छैन भेनेजुएलाका नेताले हाम्रा (अ)द्वितीय अध्यक्षलाई चिन्छन कि होइनन, ति समाजवादी नेता हाम्रा नेता जस्तै समाजवादी हुन कि होइनन, उनले मजदूर, किसान सर्वाहाराको हीतमा थुप्रै काम गरेका छन कि होइनन, त्यसैले मैले ति चुनाव जित्ने, सपथ लिने, दिलाउने, आफैँ राष्ट्रपति बन्ने कसैको पक्षमा बोलिहाल्ने आवस्यकता देखिनँ । दादागिरि त कसैको मन पर्दैन तर त्यो देश नै यति टाढा छ कि चुनाव जित्नेको दादागिरि थियो कि हर्नेले गरे थाहा छैन ।
समाजवादी भएकै कारण उनीमाथि दादागिरि भएको भए जनता उनी सङ्गै हुन्छन, पदच्युत हुने कुरै आउँदैनन । करीव ३० लाखले देश छोडेछन यो एक बर्षमा भनेपछि कतै देशै समाजवादका नाममा देश नै बस्न अयोग्य बनाएका थिए कि, मलाई त्यो पनि थाहा छैन । त्यसैले मैले त्यो ठाउँको ’bout आफ्नो पोजिशन बनाउँदा एक दिन पर्खेर, अरूका फेसबुक हेरेर, रुस-चीन, पाकिस्तान, अमिरिका, यूरोपको अवधारना हेरेर नबाउँछु, कुनै बलराम वा बुद्धिरामको सुझावमा होइन । पक्कै (अ)द्वितीय अध्यक्षले त्यो हेरेरै कडा गर्जन निकाल्नु भएको होला । फेरि अहिले साम्राज्यवादि को हो भन्ने नै मेरो दिमागमा द्विबिधा छ । अठारौ सताब्दीमा बेलायतले जे गर्थ्यो त्यो अहिले चीनले गर्दैछ, जारको टेम्प्लेटमा पुटिनले काम गर्दैछन, ट्रम्प चाहिँ सांस्कृतिक क्रान्ति-उन्मुख देखिन्छन ।
मेरो दिमागमा सबै किसिमका जैविक-रासायनिक बस्तुको अन्तरघुलन पाउँछु । नेपालको अवस्था हेर्छु मेरो जस्तै छ । टिचिङ्ग हस्पिटलको बेटाडिन, भेनेजुएलाको पेट्रोल, रुसको भोड्का र शहीदको रगतसङ्ग प्रसाईको मार्सी चामलको भात मोलेर त्यसमा चिनिया मर्चा र भारतीय मिर्ची मोलेको चिज बाट जस्तो गन्ध निस्कन्छ त्यो अलि अलि आउन थालेको छ । त्यसमाथि यूरेनियम र प्लुटोनियमको कानून पास हुँदैछ । युरोपेली देश, यूएनले द्वन्द्वकालीन मुद्दामा सरकारको अवधारणा खोज्दैछन, सत्तासिनहरू द्वन्द्व सकियो भन्दैछन, द्वद्व पिडितहरू न्याय माग्दैछन, अपराधको आरोपी संसद छिर्दैछन, सांसदहरू अपराधीका गोठ तिर लम्किँदैछन । विपक्षी सडक तिर धकेलिँदैछन, सत्याग्रहीमाथि थुकिँदैछ, दलाल अपराधीको रबाफ बढ्दैछ ।
यस्तो बेला पहिले सहकार्य गरेका दल एकै ठाउँ बस्नु पर्ने हो । एक अर्काको अस्थित्व स्वीकार गर्न समेत गाह्रो भए जस्तो गर्दैछन दोस्रो तहका नेताहरू । छोटा मुँह बडि बात भन्लान, तर देश तपाइँले सोचे जस्तो सबै खाले बोली र नीतिको प्रयोग गर्ने अवस्थामा पुगिसकेको छैन । बाँकि चिन्ता गर्ने तपाइँले नै हो ।
