वास्तवमै तपोभूमि बन्दैछ देश !

 

प्रचण्डले महायज्ञ उदघाटन गर्छन, जनयुद्ध कालका उनका नायव पासाङ्ग शिवरात्रीमा पशुपति दर्शनार्थ जान्छन, २ तिहाइँ बहुमतको कम्युनिष्ट सरकारको विकास र समृद्धिको सपना साकार पार्न रसियाको कम्युनिष्ट शासनमा आधा जीवन व्यतित गरेका गैर आवासीय नेपालीका नेताको अगुवाईमा विरगञ्जमा “अश्व-मेध” गायत्री महायज्ञ आयोजना हुन्छ, कम्युनिष्ट राष्ट्रपतिले उदघाटन गर्ने र कम्युनिष्ट प्रधानमन्त्रिले समापन गर्ने जानकारी आयोजकले दिन्छन ।

 

 

 

संविधान जारी हुने ताका परिवारमा एक जना आफन्तले भन्नु भा’थ्यो “अव हेर देश पापीहरूको अखडा बन्ने भयो, ८० प्रतिशत भन्दा बढि हिन्दू भएको…प्रतिशत भन्दा बढि ॐकार परिवार… देश अव धर्म निरपेक्ष रे” । धर्मका ’boutमा तिता-मिठा  दुवै खाले कुरा गम्भीरताका साथ नगर्ने मैले धेरै तर्क गरिनँ तर आफ्नो बुझाई छोटकरीमा राखे, “एक दुई प्रतिशत जनसङ्ख्या हुनेले पनि राज्यको सबै धर्म प्रति समान व्यवहार पाउँछन, ठिक्कै छ नि त”।

 

न वहाँले मलाई धार्मिक राज्यको पक्षपाती बनाउन सक्ने न मैले वहाँलाई धर्म निरपेक्ष राज्यको समर्थक।  हाम्रा कुरा अन्यत्रै मोडिए ।

 

देश धर्म निरपेक्ष भएको दुई वर्ष पुग्दा नपुग्दै फेरि ति आफन्त सङ्ग भेट भयो एउटा पारिवारिक जमघटमा । “देख्यौ धर्म निरपेक्षताले कसरी धर्म बिरोधीहरूलाई सत्तामा ल्याउँदो रैछ? अव नेपाली सनातनी चरीत्र सकियो बुझ्यौँ, धर्मलाई अफिम भन्नेले अव देश सके।” ति आफन्तको चिन्ता अव धर्म र राजनीतिको सम्मिश्रण भएर आयो । “मैले भन्या थेँ नि देशको अस्थित्व मेटाउन धर्मको अस्थित्व सिध्याउनु पर्छ, कम्युनिष्टलाई सत्तामा पुऱ्याएपछि…त्यसै पश्चिमाले  कम्युनिष्टलाई काखी च्याप्छन?”

 

बुझाईका  आ-आफ्नै धरातल हुन्छन । पढे-लेखेकै एउटा ठूलो समूह नेपालमा भएका सबै परिवर्तनलाई धर्म सङ्ग जोड्छ भन्ने अलि अलि देखेको छु, अर्को समूह सार्वभौमसत्ता सङ्ग जोड्छ भन्ने राम्रै हेक्का  छ, अर्को भू-राजनीति सङ्ग सबै समस्यालाई जोडेर हेर्ने समूहसङ्ग त सङ्गत नै गरेको छु र यो देश नै सबै खाले प्रगतिको बाधक हो भन्ने समेत एकाध मान्छे सङ्गै गफिएको छु ।

 

अर्काको धर्म र संस्कृति सकिदिएपछि ऊ आफ्नो दास हुन्छ भनेर धर्म माथि प्रहार हुन्छ भन्ने धरातलमा बसेर आफ्नो विश्लेषण सुनाउने मेरा आफन्तको पनि आफ्नै तर्क छन, मेरा भन्दा लामा र केही तथ्यले समर्थित होलान। त्यसैले “होला  होला” भन्ने र कुरा अन्यत्रै मोड्ने मेरो बानी पलाएको छ, विशेष गरी जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, लैङ्गिक आदि साँचो भित्र आफ्ना सबै सूचना हालेर प्रशोधन गर्ने व्यक्ति वा समूहसङ्ग हुने गफका क्रममा ।

 

तर यसपाली एउटा धार्मिक यज्ञमै भेट भयो ति आफन्तसङ्ग, त्यो पनि क्रान्तिकारी कम्युनिष्ट आयोजक भएको ठाउँमा । वैदिक मन्त्र गुञ्जन र “स्वाहा-स्वाहा”का सामूहिक ध्वनीले एक अर्काको कुरा राम्ररी नसुनिएपछि मैले पल्लो घडेरी तिर सर्ने सङ्केत गर्दै उता जाउँ भनेँ।  यसपाली धार्मिक कुरा मैले नै कोट्याएँ, “तपाइँको चिन्ता दूर भै सक्यो” । उनले सोधे “कसरी?” मैले जबाफ दिएँ “जसले मन्दिरमा पिसाब फेरेर क्रान्तिको शुरुवात गरेका थिए तिनैका आँगनमा यत्रो वैदिक मेला र स्वाहा-स्वाहा, भन्नुस त धर्म फैलँदैछ कि खुम्चँदै?

 

कानैको छेऊमा आएर उनको ओठे जबाफ थियो, “यि होली वाईनका चेला…” त्यत्तिकैमा फोनको घण्टि बज्यो, उनी विचैमा रोकिए , हाम्रो धर्म-चिन्ता पनि विचैमा रोकियो । प्लेट बोकेर लाइन लाग्ने अनुरोध आयो, उनको र मेरो विचमा दुई जना घुसे हाम्रो सम्बाद टुट्यो तर खाना खान बसेको कुर्सीबाटै लम्केर उनले भन्न भ्याए, “भित्र देखि आस्था नभै गरेको यस्तो समर्थनले धर्मलाई कमजोर बनाउँछ बुझ्यौ? जस्तो डिमोक्रेसी नमान्ने काङ्ग्रेस, समानता नमान्ने कम्युनिष्ट…..” उनले थप्दै थिए मैले विचैमा रोकेर यति भन्न सम्म भ्याएँ “तपाइँको घरमा एक दिन गफ गर्ने गरी आउँछु।”

 

उनको घरमा गफिने गरी आउँछु त भनेँ तर गएको छैन । आधा बाटोमा टुटेको गफ जोडियो भने मसङ्ग १० मिनेट गफ लम्ब्याउने सामाग्री समेत छैन । न राम्रोसङ्ग वेद पढेको छु, न उपनिषद, न पुराण । पढ्ने पनि कसरी? सानै देखिको सङ्गतै कि नक्सलवादीको भयो कि वीपीका चेलाको । गुरु जति सबै कि सूर्यबहादुर सेनओलीले पहाड पठाएका नक्सलवादि मास्टर कि रानो जति वनारस भागेका माहुरी । दुई वर्ष राजावादिको सङ्गत भएको हो ति पनि अहिलेका कमल थापा जस्ता धर्मभीरू कहाँ हुन र? त्यति बेलैका सेक्युलर ।

 

वेद त पढियो तर खैरेले “वेदा वेदा” भन्दा भन्दै “भेडा” भनेर उच्चारण गर्ने गरेको अङ्ग्रेजी भर्सन । उपनिषद त्यस्तै । पुराणमा स्रोतै  भएर जम्मा जम्मि सात दिन  बसेको छु तर धुन्धुकारी बसेको बाँस र श्री कृष्ण गोविन्द हरे मुरारे बाहेक केही स्मरण छैन । तुलसी मोठ निर मेरो आँखाको सामुन्ने पर्ने गरी गाडेको त्यो धुन्धुकारी बस्ने बाँसको ठुटाको माथि सेतो कपडामा बाँधेको चामलको पोकाले राती पटक-पटक तर्साएकाले त्यसलाई सम्झिएको हुँ, पटक-पटक उँग्न लाग्दा कानमा गुञ्जिएर निद्रा भगाएकाले त्यो “श्री कृष्ण गोविन्द..” यिनै दुई चिज थिए मैले पुराणमा सम्झिएका महत्वपूर्ण कुरा, धर्म-दर्शनको त कुरै नगरौँ।

 

पछि जान्ने-बुझ्ने भए पछि एक घण्टे श्रवणमा बसेको छु पण्डित पोखरेलको वाचनमा तर फेद न टुप्पोसङ्ग दोहोरी गीतको तालमा “हे कृष्ण…. गोपीनी” भन्दै ताली ठोकेर फर्किएको छु । कुनै धार्मिक, दार्शनिक केही कुरा मैले पुराणबाट लिएर फर्किएको याद छैन ।  बुढेसकालमा कतैबाट झुक्किएर दर्शनशास्त्र पढ्न थाले पछि पूर्वीय दर्शनमा पनि चासो बढ्यो, हजार मात्रै होइन झण्डै लाखका पुस्तक किनेँ होला तर गुरुविहीन पढाई कतै फेद-टुप्पो नजोडिने रैछ । पढेँ तर बुझ्न वाँकि छ ।

 

अव मलाई गाह्रो भएको छ ति आफन्तकोमा गएर धार्मिक गफ शुरु भैहाले पढेको कुरा गर्ने कि बुझेको?  जे पढेको छु त्यो बुझेकै छैन, जे बुझेको छु त्यो पढेकै छैन । समग्रमा भन्दा मेरो दिमागको बौद्धिक बनोट नै  यही पढाई र बुझाई बिचको असामञ्जस्यताबाट सिर्जित छ, अर्थात डीलेम्याटिक कन्स्ट्रक्सन छ यसको।   मैले ४२ बर्षमा जे जति पढेँ त्यसमा नेपाली र अङ्ग्रेजी सावाँ अक्षर वाहेक कुनै एक चिज पनि छैन जसले मेरो अहिलेको दैनिक काममा मद्दत गरोस ।  झन आक्कल झुक्कल सुनेका र डाँफा हान्दै पढेका पुराणादि धार्मिक पुस्तकको त कुरै छोडौँ ।

 

पक्कै मेरो ति आफन्तसङ्गको आगामी भेटमा गफ सुनाउनु भन्दा गफ सुन्नु मेरो ध्येय हुनेछ तर कम्तिमा उनलाई उल्क्याउने प्रश्न त चाहियो नि !  म अहिले तिनै प्रश्नवारे सोच्दै छु । देश पापमार्ग तर्फ जाँदैछ कि धर्ममार्ग तिर?  म उदाहरण दिने छु, उनले मेरो जिज्ञासा मेटने छन । “दिनै पिच्छेका सिलान्यास तिनै वैदिक मन्त्रोच्चारणका साथ भैरहेका छन, के ति धर्म माथि प्रहार भए र?” म उनलाई उक्साउने छु , “शासकका हातको साँहिली औँलामा झण्डै स्थायी रुपमा रहने कुशको “पवीत्र”को घुमाईलाई हसियाँ र कुशको फेदको डाँठ चाहिँ  हथौडाको बीँड जस्तै छैनन र?” म यस्तै यस्तै  अवौद्धिक उदाहरणले तिनको दिमाग चाट्ने छु, सबै उदाहरणमा ति धर्म निरपेक्ष वीपीका सन्तान र चेला तथा पूर्व नक्सलवादिलाई अघि सार्ने छु जसले मेरो दिमागमा धर्म भनेको अफीम हो भनेर भरिदिए र अहिले त्यही अफिमको नशामा चुर्लुम्म डूबेका छन । जसरी पनि मलाई धर्मको सार भित्र पस्नु छैन, कुरा टार्नु छ ।

 

माथि भने झै म त्यो कन्टेन्ट भित्र पसेँ भने मेरो बाँकि १५-२० वर्षको जिन्दगी अरू केही नगरी सकिने छ भन्ने मलाई थाहा छ ।  मलाई यो पनि थाहा छ कि नेपाली नेताको धर्म र पापको अवधारणा विश्लेषण गर्न मेरो बाँकि जिन्दगी काफी छैन ।  धर्म व्यक्तिगत आस्था हो राजनीति सामुहिक भन्ने आंशिक बुझाईका कारण कम्तिमा राजनीति वा राज्य धर्मका सन्दर्भमा निरपेक्ष रहनु पर्छ भन्ने मान्यता राखेको मात्रै हुँ । यूरोपका धर्म युद्धको इतिहास पढेर, तिनले किन चर्च र स्टेट छुट्याए भन्ने कुरा अलि अलि बुझेरै राज्यलाई “कुनै खास धार्मिक” नभन्दिँदा त्यहाँका अरू धर्ममान्ने समेतको राज्य प्रति अपनत्व बढ्छ भन्ने बुझाईअका आधारमा म “सेक्युलर” भएको हुँला ।

 

वीपीका चेला र नक्सलवादिका कार्यकर्ताको सङ्गत पर्यो होला । म १०-११ बर्षको हुँदा वीपी मरे । मैले सुनेको थिएँ वीपीले आफ्नो किरिया  नगर्नू भनेकाले छोराहरूले किरिया गरेनन । उनका पिता कृष्णप्रसादले पनि त्यसै भनेका थिए रे । ठूलो हुँदै गए पछि नक्सलवादि वाहिरका कम्युनिष्ट समेत सम्पर्कमा आए, पूजापाठ र किरिया आदिमा उनीहरूको भौतिकवादि दृष्टिकोण देखेँ, एक अर्थमा मलाई चित्त बुझ्ने । पूर्व पत्रकार र कम्युनिष्ट नेता कमल कोइरालाले ८१ वर्षको उमेरमा एउटा फेसबूक स्टाटसमा लेखेका थिए, उनले ब्रतबन्ध समेत गरेका रहेनछन ।  यिनै यिनै कथा हुन मेरो धर्मवारेको अवधारणा बनाउन मद्दत गर्ने आधारहरू।

 

उदाहरण त दिन्छु भने तर अव मैले ति आफन्तसङ्गको भेटमा मन्दिर फोडेर, ब्रतबन्धको प्रथा तोडेर, किरिया नगरेर स्थापित गरेको एउटा भौतिकवादि विचारको संरचनाको उदाहरण दिने कि दिनहूँ सरकारी खर्चमा हेलिकप्टर चढेर हुने कम्युनिष्ट नेताहरूका शक्तिपीठका दर्शनका उदाहरण?  धरहरा होस कि सुख्खा वन्दरगाहमा होस लामो भव्य धार्मिक समारोहका बिच “हरि ॐ तत्सत विष्णु…” मार्फत  हुने सिलान्यासको उदाहरण दिने कि मन्दिरमा पूजारी भएकाले भाटे कारवाहीमा परेका पण्डितको उदाहरण दिने? मैले १५१ किलोका मालालाई धर्म सङ्ग जोड्ने कि भौतिक प्रगति सङ्ग? म दोधारमा छु ।

 

वीपीकै छोरा धार्मिक राज्यका पक्षपाती भएर निस्केको समाचार आउँछन, प्रचण्डले महायज्ञ उदघाटन गर्छन, जनयुद्ध कालका उनका नायव पासाङ्ग शिवरात्रीमा पशुपति दर्शनार्थ जान्छन, दुई तिहाइँ बहुमतको कम्युनिष्ट सरकारको विकास र समृद्धिको सपना साकार पार्न रसियाको कम्युनिष्ट शासनमा आधा जीवन व्यतित गरेका गैर आवासीय नेपालीका नेताको अगुवाईमा विरगञ्जमा “अश्वमेध” गायत्री महायज्ञ आयोजना हुन्छ, कम्युनिष्ट राष्ट्रपतिले उदघाटन गर्ने र कम्युनिष्ट प्रधानमन्त्रिले समापन गर्ने जानकारी आयोजकले दिन्छन । मैले के बुझ्ने, ति आफन्तलाई के बुझाउने?

 

राजनीतिको शिखरमा हुनेहरूको धार्मिक गतिबिधि दिन दुगुणा राती चौगुणा बढि रहेको आफ्नै आँखाले देखेको छु तर यिन वारे मैले पढेको कुरा अलग छ, ति आफन्तकोमा जाँदा म पढेको कुराका आधारमा तर्क गरौँकि बुझेका आधारमा?

 

मैले पढेको हेर्ने हो भने सबै धर्म निरपेक्षतावादि नेताको आफ्नो धर्म त हुन सक्छ तर त्यसको पालना राज्य स्रोतको प्रयोग, दुरुपयोग वा सदुपयोग कुनै मार्फत होइन गोजीको पैसाले हुन्छ, राज्यको ढुकुटीवाट त्रिपुरासुन्दरी, शैलेश्वरी, मनकामना, पाथिभरा, पलाञ्चोक भगवति, फाल्गुनन्दको घर, मक्का-मदिना र लुम्बिनी भ्रमणको हेलोकप्टर खर्च त ब्यहोरिन्न ।

 

ति त कागजको गोलभेँडा भए अव । खाने गोलभेँडा चाहिँ फरक छन । अव म पढेको र बुझेको कुरा नमिसाउने सोचमा छु । ति मेरा आफन्तलाई आश्वस्त पार्न भने प्रशस्त उदाहरण भेला पार्दैछु र भन्ने छु देश विस्तारै तपोभूमि भै सकेको छ धर्मको चिन्ता नगर्नुस । नुवाकोट्को साँढे युद्द होस कि दाङ्गको महायज्ञ होस आयोजकले नेतालाई हेलिकप्टरमा ओसारेका छन । अर्थात ठूलो रकम महायज्ञ उद्घाटनमा नेताहरूलाई ओसार्न खर्च भैरहेको छ । अर्वौँको पूजा सामाग्री भारत देखि भित्रिएको छ, तील-जौ, धूप, पिताम्बर, कपूर, स्वामीजीको खर्च आदि जोड्दा औषधी आयातसङ्ग तुलनायोग्य रकम छ धर्ममा खर्चिएको । नेताहरूका सामाजिक सञ्जाल हेरे पुग्छ उनीहरूको गतिबिधि राजनीतिमा बढि छन कि धार्मिक समारोहमा बढि । हो त्यहाँ पनि या त धार्मिक मार्गबाट समृद्धिमा टेवा पुग्ने कि यस्तो पाराले समृद्धि नआउने भाषण नै  गर्छन, बडो सुझबुझपूर्ण राजनीतिको धार्मिकिकरण वा  धर्मको राजनीतिकरण ।

 

विकासकै काम गर्न पनि महायज्ञ आयोजना भै रहेका छन, समृद्धिलाई साथ दिन त झन अश्वमेध नै आयोजना हुँदैछन । राज्यको धर्ममा ठूलो लगानी छ । र नेताहरूको दिनचर्या जप-तप, ध्यान, यज्ञ-यज्ञादि, हवन र तिर्थाटनमा व्यतित हुँदैछ । त्यसैले देश पापी-पथमा जाने चिन्ता गर्ने मेरा आफन्तलाई भन्नेछु सबै भन्दा धर्म बिरोधी नै यतिबिधि धार्मिक भै दिएपछि अझै धर्म नासियो भन्ने चिन्ता छोड्नुस ।