सुरक्षा घेराभित्र बन्दी प्रचण्ड, बिगतको निर्ममताले तर्सिरहन्छन् !

सुरक्षा थ्रेट हुनु र सुरक्षा थ्रेट महशुस गर्नु फरक कुरा हो । हाम्रा नेताहरुमा प्रचण्ड सबै भन्दा सुरक्षा थ्रेट बढी महशुस गर्ने र आफुलाई ज्यानको खतरा भएको भनेर बारम्बार बोल्ने नेता हुन आफ्नो ज्यान प्रति सधै षडयन्त्र भएको बुझ्ने व्यक्ति हुन । हत्या हिंसालाई सत्ता परिवर्तनको मुख्य साधन बनाएर आएका मान्छेलाई  सम्भावित हत्याको डर सामान्य मनोविज्ञान हो ।

 

अब राजनीतिक रुपबाट अरु प्राप्तिको आशा छोडेर आत्मिक शान्ति र गहिरो सुख बोध गर्न आध्यात्मिक संसारमा जानुस । अध्यात्मले कुभलो गर्दैन । बिगतका कर्म प्रति प्रायश्चित गर्नुस, ध्यान योग र तपस्या, साधनामा  लिन हुनुस तपाईबाट गुमेको शान्ति पुनः फर्कने छ । अध्यात्म दर्शन मार्फत आफुलाई नयाँ रुपमा चिनाउनुस यसमा तपाई र देशको भलो छ ।

 

 

 

 

विप्लवले प्रचण्डलाई सफाय गर्लान र ?

जनताको लागि लड्नेहरु, सर्वसाधारण जनताको बिचमा सामान्य सुरक्षामा हिड्न शक्तैनन । भनिन्छ, कुटनेले कुटाइ खान्छ, मारेर हिड्नेहरु, मान्छे मार्न उत्प्रेरित गर्नेहरु मारिने खतरामा रहन्छन जहिल्यै पनि । म मारिन्छु, मलाई मार्छन भन्ने प्रचण्डको स्वीकारोक्ति पनि आफ्नो विगतको कर्मले उब्जाएको मनोवैज्ञानिक त्राश, भय र आतंक हो । आफु र आफ्नो कर्मप्रति विश्वस्त हुन नसकेको कथन र प्रमाण हो ।

 

अन्तरात्माले आफ्नो कर्मप्रति धिक्कारेको अभिव्यक्ति हो । मान्छेले अरुलाई ढाटन सक्छ, केहि समय अल्मल्याउन सक्छ तर आफ्नो आत्मालाई कहिल्यै र कसैगरी ढाटन र छल्न सक्दैन तसर्थ आत्मालाई छल्न नसकेको कुरा चाहेर नचाहेर पनि कहिले प्रत्त्यक्ष रुपमा त कहिले अप्रत्यक्ष रुपमा प्रकट भै रहन्छ, प्रचण्ड आफु मारिन्छु, मलाई मार्दैछन्, मलाई मार्ने सूचना प्राप्त गरेको छु भनेर बकिरहन्छन । कहिले यथार्थलाई अति यथार्थको रंग रोगन गरेर आफ्नो त्राश कह्न्छ्न् ।

 

डरको मनोवैज्ञानिक यथार्थ पक्ष भनेकै यहि हो जुन बारम्बार घटित भै रहन्छ बिभिन्न बहाना र निहुमा । विप्लव माओबादीले आफुलाई पनि मार्ने सूचना सरकारी संयन्त्र मार्फत प्राप्त भएको र सो सुचिमा के पी ओली र शेरबहादुर देउबा समेत सुचिकृत रहेको निर्णय थाह पाएको कुरा प्रचण्डको अभिव्यक्तिमा आउनु, विप्लव माओबादीलाई पार्टीको रुपमा प्रतिबन्ध लगाउनु, अनि शेरबहादुर समेतले स्वागत गर्नु डर र आफ्नो ज्यानको मायाले यी तीन जनालाई एकै ठाउमा उभ्याएको हो ।

 

बिप्लवले प्रचन्डलाई मार्न हिच्किचाहे पनि गुरुमन्त्र लिएर अरुलाई मार्न तम्सछन । अनुहार बेग्ला बेग्लै भए पनि प्रवृति, उस्तै उस्तै छ,सत्ता संचालनको ढांचा र प्रकृति पनि त्यस्तै देखिन्छ । तत्कालिन जन चेतनामा धावा बोलेर दलीय ब्यबस्था मास्ने राजा महेन्द्र र आजका राजा महाराजा, शेरबहादुर, प्रचण्ड, विप्लव र के पी बिच कसलाई प्रगतिशील भनेर सोध्यो भने मेरो आजको चेतना र परिवेशले महेन्द्रलाई प्रगतिशील भन्न बाध्य हुनेछ । राजा महेन्द्रको पालाको चेतना र आजको प्रविधियुक्त यूगको चेतनामा पनि राजनीतिक दल प्रति सत्ताधारीको उही नजर र विश्लेषण कदापि एकै होइन तर पनि सत्ता हातमा हुनुको अर्थमा सबै सत्ताधारीको नजर र असहिष्णु ब्यबहार  बिपक्षी प्रति दुरुस्तै हुनु सत्ताको उन्माद हो । राजा महेन्द्रलाई कांग्रेसले गालि गर्नु, कांग्रेसलाई तत्कालिन माओबादीले निरङ्कुश देख्नु अनि अहिले नेकपाको सरकारले बिप्लवलाई प्रतिबन्ध गरेर उदार लोकतान्त्रिक गणतन्त्रको आदर्श भन्नु कति उचित हो ?

 

आखिर सत्ताले गर्ने उन्माद र विभेदमा निरङ्कुश राजा, प्रजातान्त्रिक दल, प्रगतिशील कम्युनिस्ट सबै एकै ड्याङका मुला नै हुदारहेछ्न । सत्ताले चित्रमा फेरबदल गरे पनि चरित्रमा समभाव राख्दो रहेछ ।  सत्ताको चरित्रमा एकसेएक क्रान्तिकारी पुगे पनि, निरङ्कुश भनिएका राजा रहे पनि या कुनै सर्वोत्तम लोकतान्त्रिक भनिएको दल सबैलाई सत्ताले लगाइदिने ट्याग र भिराई दिने बिल्लाको बनावट उस्तै तत्वले बनेको हुनेरहेछ । सत्तासंग कहिल्यै उदार छवि, उच्च चरित्र, बलियो नैतिक बल, इमान र जमान अनि देश भक्तिको भाव नहुदो रहेछ त्यसैले सत्ता कहिल्यै बलियो र विश्वासिलो बन्न सकेन, निर्वल भएर सत्ता सधै सत्ताच्युत बनिरहन्छ ।

 

आजको प्रसंग मूलतः प्रचण्ड अभिव्यक्तिमा सधै प्रकट हुने डरको मनोवैज्ञानिक पक्षलाई पर्गेल्नु हो । शक्तिशाली र उच्च पदस्तलाई सुरक्षा थ्रेट सामान्यता हुन्छ नै, उच्च पदस्त राजनीतिक व्यक्तित्वको सुरक्षा चुनौती राज्यको अभिभारा हो । भी भि आइपी र भि आइपी राज्यको सुरक्षा भित्र रहन्छन, राखिन्छन । आफ्नो सुरक्षाको बेपर्वाह गर्दा मदन भण्डारी सजिलै मारिए, मदन जनताप्रति विश्वस्त थिए तर षडयन्त्रकारी पार्टी भित्रैका हुन् या बाहिरका मदन भण्डारीलाई मार्न सफल भए । सुरक्षा अधिकारी भन्छन मदन भण्डारी लेभलको मान्छेले आफ्नो सुरक्षामा सावधानी अपनाएको भए त्यो घटना सम्भवत घट्ने थिएन । त्यसैले पनि त्यो घटना पछि नेताहरुको सुरक्षा संवेदनशीलतालाई अरु गहिरिएर हेर्न सुरक्षा निकाय गम्भीर बनेको छ ।

 

सुरक्षा थ्रेट हुनु र सुरक्षा थ्रेट महशुस गर्नु फरक कुरा हो । हाम्रा नेताहरुमा प्रचण्ड सबै भन्दा सुरक्षा थ्रेट बढी महशुस गर्ने र आफुलाई ज्यानको खतरा भएको भनेर बारम्बार बोल्ने नेता हुन आफ्नो ज्यान प्रति सधै षडयन्त्र भएको बुझ्ने व्यक्ति हुन ।  प्रचण्ड बढी असुरक्षित महशुस गर्नुको कारण उनले १० बर्ष सम्म चलाएको निर्मम हिंसाको शृंखला हो । हत्या हिंसालाई सत्ता परिवर्तनको मुख्य साधन बनाएर आएका मान्छेलाई  सम्भावित हत्याको डर सामान्य मनोविज्ञान हो । प्रचण्ड, बाबुरामले चलाएको व्यक्ति हत्याको शृंखला पक्कै पनि युद्द थिएन, निरपराध, निर्दोष मान्छेलाई मार्ने, दुख दिने, हिडिरहेका सार्वजनिक सबारी साधनमा बम गोलाबारुद गर्ने, बस भित्रै मान्छे राखेर आगो लगाउने घटना युद्द होइन र युद्दको कुनै पनि परिभाषा भित्र पर्दैन ।

 

कक्षामा पढाई रहेको शिक्षक, बाबुको कृया गरीरहेको कृयापुत्री, मन्दिरमा पुजा गरिरहेको पुजारी बसमा यात्रारत नाबालक युद्दमा थिएनन र हुदैनन तर जन युद्दको नाममा जसरी ’emको निर्ममतापूर्वक हत्या गरियो त्यो हत्याको बिम्ब प्रतिबिम्बले प्रचण्डको आत्मामा पोल्छ अनि आफुलाई पनि त्यसै गरि कसैले कुनै पनि दिन बदला लिन्छ भन्ने गहिरो मनोविज्ञानले घर गरेको छ । दोहोरो युद्द सैनिक प्रहरी र माओबादी लडाईमा मारिनुमा मान्छे मारिनुको क्षतिको दुख त सबैले महशुस गरेकै छन, युद्द हो लडाई थियो मारिए तर निहत्था जो मारिए जताबाट मारिए ति मारिनुको कारण प्रचण्ड हुन । भाइ भाइको प्रतिसोधको कारण पनि अनाहकमा मान्छे मारिएका छन्, पत्रकार भएर लेखेको कारण विभत्स हत्या गरिएका छन्, संस्कृत पढाएको निहुमा गला रेटिएका छन, तत्कालिन माओबादीको समर्थन नगरेको कारण कत्लेआम गरिएका छन, जिउदै खाल्डामा पुरिएका छन ती सबै हत्याको प्रेरक प्रचण्ड र बाबुराम हुन ।

 

यी यावत घटना र ब्यबहार प्रति प्रचन्डलाई भित्रि रुपमा गहिरो र ठुलो त्राशदी छ । अवचेतन मनले यो ग्रहण गरेको छ त्यहि त्राशदी बेलाबेलामा बल्झन्छ र आफु मारिने खतरा देख्छन । श्रीलंकन सेनाले २००९मा तत्कालिन लिबेरेशन टाइगर्सअफ तमिल नेता प्रभाकरणको हत्या गरेको थियो त्यस्तै कार्यबाही माओबादी मार्फत पनि चलाईदै छ र आफु प्रभाकरण बनाईदै छु भनेर पनि प्रचण्ड कडकेका थिए भने कहिले मदन भण्डारी झैँ आफु मारिने संकेत पाएको कुरा गर्छन अहिले विप्लवले आफुलाई एक नम्बर हत्या गर्नेको सुचिमा राखेको कुरा गर्छन।

 

यी सब बिगतमा आफूले चलाएको हत्या हिंसाको प्रतिबिम्बको बिपरित बिम्ब आएको हो । डरको मनस्थिति बोलेको हो । मनको तहमा सुक्ष्म रुपमा रहेको आफै प्रतिको विद्रोहको संकेत हो आफ्नो ज्यान प्रतिको खतरा अनुभूति । आफ्नो ज्यान खतरा  प्रति प्रचण्ड साच्चिकै डराएका छन । पदम कुँवरले झापु हान्दा पनि प्रचण्ड नमज्जासंग आत्तिएका थिए । प्रचण्ड कमजोर सुरक्षा मनोविज्ञान बोकेर भयग्रस्त जीवन बाँचिरहेका छन ।  चरम मानशिक अन्तरद्वन्दमा फसेका छन् । पल पल मारिन्छु भन्ने भयले वेचैन छन् । छोरीको, मृत्यु भएको पिडा र घाउ निको नहुदै एक मात्र छोरा प्रकाशको  अप्रत्यासित मृत्यु, पारिवारिक अशान्ति, झन् श्रीमती सीताको गम्भीर  स्वास्थ्य, राजनीतिमा आफ्नो भविष्यप्रति प्रचण्ड एकदम चिन्तित र दुखि छन, बाहिर जे जसरी बोले, प्रस्तुत भए पनि उनी भित्रको अशान्ति, वेचैन, छटपटी,आवेग, संवेग आफ्नो सम्भावित मृत्युको भय बनेर प्रकट हुन्छ । म मारिदै छु भनेर हरबखत प्रचण्ड बोल्नुको अर्थ हो उनी भित्रको मनको खुल्दुली अशान्ति र अन्तरात्माको आवाज ।

 

प्रचण्ड मारिनुपर्छ, मारिन्छन यो पंतिकारको त्यो आशय होइन तर प्रचण्ड मनोविज्ञान जे जसरी प्रकट भएको छ त्यो उनी भित्रको अशान्ति र भयको अवतरण भाषणमा बिभिन्न स्वरुपमा अवतरित भएको छ । चरम आत्म प्रसंशक मान्छे प्रचण्ड, साहसी प्रचण्ड अब  दुखदायी घटनाको एक पछि अर्को वेदनाले विक्षिप्त छन, मनमा आत्मिक शान्ति र भय बोकेर बसिरहेका छन जुन भय बाट मुक्त हुनु जरुरि छ । हत्या हिंसाको सहाराले सत्ता हातमा लिन सकिन्छ भन्ने स्कुलिंग विप्लव लाई दिने प्रचण्ड आज आफूले खनेको खाल्डोमा नराम्ररी जाकिएका छन् । आफ्नो सुरक्षा र प्रतिरक्षाको नाममा विप्लव नामक बिद्रोही शक्ति र पार्टीलाई राज्यमा प्रतिबन्ध गर्न आफ्नो सबै प्रतिष्ठा दाउमा लगाएर लागिपरेका छन जसको कारण अब शेर बहादुरलाई आफ्नो टाउकाको मोल तोक्ने निरङ्कुश भन्ने नैतिक साख गुमाउन पुगे ।

 

प्रचण्ड दुखले घेरिएका छन, पीडाले आक्रान्त छन्, दिग्भ्रमित राजनीतिको माखे सांग्लोमा फसेका छन हिजो गरेका हत्या हिंसाको राजनीतिले डामिएका छन, सबैभन्दा ठुलो सुरक्षा घेरामा बन्दी छन तर असुरक्षित छन । राजा बिरेन्द्रको सुरक्षा गर्न नसक्ने सुरक्षा संयन्त्रले आफ्नो पनि सुरक्षा गर्न सक्तैन भन्ने खस्किएको मनोबलमा प्रचण्ड छन । म यतिबेला  नमागिएको सुझाव यो लेख मार्फत दिन खोज्दैछु प्रचण्ड कमरेड मानसिक सुख तपाईबाट खोसिएको छ, हराएको छ, भौतिक सुख सुबिधाले तपाइलाई शान्ति दिन सकेन, देशको कार्यकारी प्रमुख र प्रधानमन्त्री सम्म पुगिसक्नु भयो अब राजनीतिक रुपबाट अरु प्राप्तिको आशा छोडेर आत्मिक शान्ति र गहिरो सुख बोध गर्न आध्यात्मिक संसारमा जानुस । अध्यात्मले कुभलो गर्दैन । बिगतका कर्म प्रति प्रायश्चित गर्नुस, ध्यान योग र तपस्या, साधनामा  लिन हुनुस तपाईबाट गुमेको शान्ति पुनः फर्कने छ । अध्यात्म दर्शन मार्फत आफुलाई नयाँ रुपमा चिनाउनुस यसमा तपाई र देशको भलो छ ।