आमा, आँशु र जीवन

पृथिव्याम् पुत्रास्ते जननी वहवः सन्ती सरला
परम् तेषाम् मध्ये विरलतरतोहम् तव सुतः
मदियोयं त्याग: समुचितमिदम् नो तव शिवे
कुपुत्रो जायेते क्वचिदपि कुमाता न भवती

-भागवत खनाल
आज आमाको मुख हेर्ने दिन, मातृ दिवश ! यो दिवशमा धेरैले आमालाई माया गर्लान, टाढा टाढा रहेका सन्तान आमालाई भेट्न जालान, आमालाई आलिङ्गन गर्लान, भेट गर्न नसक्नेले फोन गर्लान, उपहार देलान पठाउलान, आज धेरै आमाका तश्वीरहरु सामाजिक सञ्जालभरि देख्न पाइएला । तर मलाई ”आमाको मुख हेर्ने दिन” भन्ने वाक्यांश कहिल्यै मन परेन । मलाई त किन हो किन यो दिवश सीमाहीन आमालाई सीमामा वाध्ने दिवश लाग्दछ । भित्रभित्र डर लाग्दछ कतै यस दिवशले आमालाई यान्त्रिक माया गर्न प्रेरित त गर्दैन ?
जुन आमाले नौ महिना गर्भ धारण गरेर जन्म दिइन, जसले शिशुको स्याहार र सुरक्षामा शयौं रातहरु जागा भएर विताइन, जसले उसको दिसापिसाव आफ्ना नाङ्गा हातले प्रेम र वात्स्यल्यले पुछिन तर घिन लागेन, जुन आमाले शिशुको मुख अविरल अविचल हेरिरहिन तर हेरेर थाकिनन, उनै आमाको ”मुख हेर्ने दिन” रे आज ! आज आमालाई सम्झने दिन रे, आज आमालाई माया र सम्मान गर्ने दिन रे ! मलाई डर लाग्छ कतै अन्य कुटुम्ब, छिमेकी र मित्रहरुलाई जस्तै अवसर पारेर भेट्ने औपचारिकतामा सीमित नहोस आमा ! मातृ दिवशले असीम, अन्तहीन र अविरल आमालाई एक दिनको म्यादी आमामा सीमावद्ध गर्दै जाने संस्कृतिमा परिणत नगरोस, सवैमा यही शुभकामना ।
मेरी आमाको पार्थिव शरीर यस संसारबाट विदा भएर गएको धेरै वर्ष भयो । तर जतिजति समय बित्दै छ मलाई आमाको अभाव झनझन महसुस हुँदै छ ! सायद भएकी आमाको महत्व त्यति हुँदैन जति गएकी आमाको हुन्छ । आज म मेरी आमालाई आमाको मुख हेर्ने दिनको नाताले मात्र सम्झिरहेको छैन । मैले अरु दिनभन्दा आज अझै बढी मेरी आमालाई सम्झिरहेको छु, किनकि मैले यसै दिन मेरी आमाको पहिलो दर्शन पाएको थिएँ, आजैको दिन अर्थात वैशाख कृष्ण अमावस्याको अँध्यारो रातमा म जन्मेको थिएँ । आजैको दिन थियो म रुँदा मेरी आमा हाँसेको ! जसरी मेरो पहिलो दिनमा म रुँदा आमा हाँस्नुभयो, त्यसैगरी आमाको अन्तिम दिनमा उहाँ हाँस्दै जानुभयो म रोइरहेँ, अझै रुँदै छु ।
हुनत संसारका सम्पूर्ण आमाहरु अपूर्व, अनन्य र विशेष हुन्छन, तर मेरी आमा झनै विशेष र अलौकिक हुनुहुन्थ्यो । आमाले मलाई नढाटिकन भन्नुहुन्थ्यो, म आमाको पेटमा वसेपछि उहाँलाई कत्ति पनि खुसी लागेन रे । म मेरी आमाले जन्म दिएको सातौँ सग्लो सन्तान थिएँ । म पेटमा बसेपछि मेरी आमा धेरै रुनुभयो, आफ्नै कुटुम्ब र छिमेकमा कोख रित्तो हुनेलाई सन्तान नदिने तर आफूले भने नचाहँदा नचाहँदै पनि बारम्बार गर्भवती हुनु परेकोमा उहाँ भगवानसंग मनमनै आक्रोशित हुनुभयो । तर जव म कोखमा हुर्कंदै गएँ र पेटभित्र चल्न थालेँ, आमालाई मेरो माया लाग्न थाल्यो र उनै भगवानसंग मेरो सुरक्षित र स्वस्थ जन्मको लागि प्रार्थना गर्न थाल्नुभयो ।
आमाको सन्तान जन्माउने क्रम ममा आएर टुंगिएन , म पछि अरु तीनजना जन्मे, भगवानसंग आमाको गुनासो र प्रार्थना पनि पूर्ववत दोहोरिइरह्यो । आमा भन्नुहुन्थ्यो म जन्मदा आमा बाहेक कोही पनि खुसी भएन रे । परिवार, आफन्त र छिमेकमा म जन्मनु एउटा नियमित प्रक्रिया जस्तो भयो, न खुसी न कुनै सरोकार । पहिलो या दोस्रो सन्तान भए पो चर्चा गर्नु, बधाई दिनु र बढाइं गर्नु, एउटा सामान्य परिवारमा सातौँ सन्तान जन्मदा केको हर्षोल्लाश !
दश वर्षको उमेरमा आमाको विवाह भयो । आफ्नो विवाहको कुरा चल्दा आमा निकै खुसी हुनुभयो रे । उहाँ खुसी हुनुभयो ’cause उहाँलाई यत्ति थाहा थियो, दुलहीलाई राम्राराम्रा लुगा पहिराइदिन्छन, डोलीमा चढ्न पाइन्छ र सवैले निकै माया गर्दछन । आफू एक महिला हो भन्ने ज्ञान नहुँदै, तरुण अवस्था त कता हो कता किशोर वयमा समेत प्रवेश नगर्दै विवाह हुने अवलालाई के थाहा विवाह के हो । बाह्र तेह्र वर्षको उमेरमा आमालाई घर गर्न पठाइयो । उहाँ घरकी कान्छी वुहारी, स्वास्नीलाई खुव थर्काउनु पर्छ, मात्तिन दिनु हुँदैन, डर र कावुमा राख्नुपर्छ भन्ने मात्र थाहा पाएको अल्लारे लोग्नेको कुनै आडभरोस हुने कुरा भएन । आमा अकस्मात अर्कै संसारमा पुग्नुभयो, लाडप्यारहीन, निर्दयी र करुणाहीन लोकमा । मौन आँशुसङ्गै आमाको बुहार्तन सुरु भयो ।
सकेसम्म कज्याउनु पर्छ र दवाएरै राख्नुपर्छ भन्ने भावनाको शिकार हुनुभयो आमा । धेरै आमाहरुको अवस्था यस्तै थियो त्यसबखत, तर सायद मेरी आमालाई अरुलाईभन्दा अलि बढी यस्तो अवसर प्राप्त भयो, सास्ती र शासनाको अवसर । घरमा काम गर्नै भनेर राखिएका सहयोगी पनि थिए, तर ती आमाको लागि काम लागेनन । कहिले सासुको पालो कहिले बुहारीको पालो भन्ने उखान त्यसै चलेको होइन । कलिलो उमेरमै भालेको डाकोसङ्गै एक्लै जातो पिस्ने र ढिकी कुट्ने कामले आमालाई कवि बनायो । डर पनि लाग्दोहो तर सुनाउने कसलाई ? कसले सुन्ने त्यो अरण्यरोदन ? जाँतोको घ्वाइंघ्वाइं आवाज आमाको लागि सङ्गीत बन्यो, त्यस सङ्गीतमा गीतको बोल भर्न थाल्नुभयो । ढिकीको भकर्ल्याङ्ग भकर्ल्याङ्ग आवाजमा उहाँले भगवानको भजन सुन्न थाल्नुभयो । जस्तो विषम परिस्थितिलाई पनि भविष्यको सम्भावित सुदिनको आशा र आस्थामा रुपान्तरण गर्दै बाँच्दै आएको छ मानव, आमा पनि त्यही आशा र आफ्नो अज्ञात भरोसाको भगवानलाई सम्झेर कर्म गर्दै जानुभयो, उहाँलाई थकाइ र डर लाग्न छाड्यो ।
आमामा अभूतपूर्वरुपमा कलाचेतनाको विकास भयो । नेउली चरीको न्याउ न्याउ आवाज, वनमा फुल्ने फूलहरु, पाखाबाट देखिने धौलागिरी र अन्नपूर्ण हिमालको सुन्दरता, शान्त शीतल हावा र मनभित्र वास गर्ने राम आमाका अभिन्न साथी बने, आमालाई कतै पनि एक्लो हुनु परेन । गीतामा भगवान कृष्णले भन्नु भएको छ – जो सम्पूर्ण जगतलाई समदृष्टिले हेर्दछ, सुखदुखलाई जीवनका स्वाभाविक घटनाको रुपमा महसुस गर्दछ र भारी दुक्ख र विपत्तिलाई समेत सहन गर्दै आफ्नो कर्ममा स्थिर रहन्छ, त्यही व्यक्ति नै श्रेष्ठ हो ।
सन्त कविरले अविरल कपडा बुन्ने तान चलाइरहन्थे । कसैले ए कविर ! तिमीलाई थकाइ लाग्दैन ? तिम्रो हात गल्दैन ? भनेर सोध्यो भने उनी भन्ने गर्दथे, रामको नाम लिँदा पनि थकाइ लाग्छ ? म त तानको हरेक ठ्याङ्ग ठ्याङ्ग आवाजमा रामनाम सुन्छु राम राम राम राम ! आमालाई सन्त कविर’bout थाहा थिएन, तर चेतना उस्तै थियो, सन्त कविरको जस्तै । आमाले अद्भुत रुपमा सास्तीलाई शक्तिमा रुपान्तरण गर्नुभयो । आमा जीवनका धेरै युद्ध हार्नुभयो, तर कहिल्यै हार खानु भएन । आमाको यही इच्छाशक्ति र आफूलाई परिस्थिति अनुकूल ढालेर जीवन जिउन सक्ने क्षेमताले नै मलाई पनि जीवनका कठिन र निष्ठुर घडीहरुलाई सहने र धैर्य धारण गर्ने प्रेरणा प्रदान गरेको छ ।
आमाहरुलाई पनि भोक लाग्दछ, तिर्खा लाग्दछ, विसन्चो हुन्छ, दुख्छ र दर्द हुन्छ । तर ती दर्दका बखत आमाहरु आफ्नो दर्द बिर्सन्छन, त्यो भोक, तिर्खा र दर्दको बेला आमाहरुले आफ्ना सन्तानलाई सम्झन्छन । उनीहरुलाई लाग्दछ सायद मेरो शिशु भोकायो, तिर्खायो या उसलाई कतै दुख्यो । आमाको लागि जुनसुकै उमेरको सन्तान होस् त्यो शिशु नै हो । त्यसैले त वर्षौं अघि आमा गुमाएकी एउटी नव्वे वर्षकी वृद्धा आफूलाई असीम दर्द हुँदा ऐया नि आमा, हे आमा भन्दै कहालिन्छे । आमा गुमाएको एउटा वयस्क व्यक्ति आपद विपद र आफ्नैबाट बेसहारा बन्न पुग्दा आमालाई सम्झेर एक्लै रुन्छ ।
आमा नै हुन जसले आफ्नो सन्ततीको अनुहार, बोली, हिंडाइ र हाउभाउ देखेरै उसको वेदना थाहा पाउँछिन । आमा नै हुन जो आफ्नो सन्तान परीक्षामा पास हुँदा खुसीमा रुन्छिन, फेल हुँदा वेदनामा रुन्छिन, छोराछोरीको विवाह हुँदा रुन्छिन, सन्तान हर्षविभोर भई हाँस्दा पनि खुसीका आँशु झार्दछिन । त्यसैले त आमा आँशु हो, आमा सङ्गीत हो, आमा करुणा हो आमा दया हो, आमा नै समग्र अस्तित्वको केन्द्रविन्दु हो, आमा नै प्रेमलाई जीवन्त राख्ने सन्जीवनी हो, आमा नै जीवन हो ।
सवै आमा दयालु हुन्छन, तर मेरी आमा ती दयालुकी पनि दयालु हुनुहुन्थ्यो । माघे संक्रान्तीको मेलामा भारतबाट घस्रिघस्री जीवनको खोजीमा माग्दै खाँदै रिडीसम्म आउने कुष्ठरोगी, लुलालङ्गडा, अपहेलित र परित्यक्त बेसहाराहरुलाई देखेर आमा करुणाले द्रवित हुनुहुन्थ्यो र निष्ठुर भगवानप्रति आक्रोश व्यक्त गर्नुहुन्थ्यो । कुनै अल्प उमेरको मान्छे मरेको थाहा पाउनासाथ शोकाकुल हुँदै डाको छोडेर रुनुहुन्थ्यो, उसकी आमालाई परेको बज्रपात सम्झंदै । स्वस्थानी कथाकी गोमा, रामायणकी सीता, महाभारतकी गान्धारीको शोक र कुन्तीको वाध्यता सम्झेर रुनुहुन्थ्यो । मुक्तिनाथ यात्रामा गएका यात्री उतै मरेको, पहिरोले कसैको घर बगाएको या वनमा डढेलो लागी पशुपंक्षीको बेहाल भएको ’bout गाइनेले गाएको गीत सुनेर घन्टौं रुनुहुन्थ्यो । अरुको दुक्खमा यसरी शोकमग्न हुने मेरी आमाले आफ्नै अल्पवयका सन्तानहरु गुमाउनु भयो, आमाका आँशुहरु सकिए । उहाँ लामो समयसम्म अर्धबेहोसीको अवस्थामा रहनुभयो ।
आमा निरक्षर हुनुहुन्थ्यो, तर नियतीले उहाँलाई धेरै पढायो । आमाले मनैमन असंख्य कविता रचना गर्नुभयो, एक्लै ढिकी जाँतो गर्दा र वन पाखामा गाउनुभयो, आफूजस्तै निरक्षर संगीनीहरुलाई सुनाउनुभयो । ती सवै सृजना उहाँसङ्गै लोप भए । समाजमा हुने अन्याय र अत्याचारप्रति उहाँमा ठूलो रोष थियो । पन्ध्र सालको चुनाव प्रचारको समय थियो, आमा रिडी गएको बेला कुनै कम्युनिस्ट नेताले भाषण गर्दै रहेछन । आमाले नेताको भाषण सुन्नुभएछ, धनी गरिवको भेद नरहने रे, सवै बराबर हुने रे, कोही पनि भोकै मर्नु नपर्ने रे, कोही वसीवसी खाने तर कसैले निरन्तर परिश्रम गरे पनि आधा पेट खाएर चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुने रे, आहा !
आमा लट्ठ हुनुभयो । आमाले त्यो भाषण सकिएपछि कम्युनिस्ट युवाहरुले ”धनीलाई धन दिने गरिवलाई रिन, त्यो पापी कांग्रेसको पछि लाग्नु किन साथी पछि लाग्नु किन “भन्दै गीत गाउँदै हिंडेको सुन्नुभएछ । आमाले सुनेको जीवनको पहिलो भाषण र राजनीतिक निन्दा थियो त्यो । आमाका घर, माइती, प्रायः सवै छिमेकी र कुटुम्बका मानिसले कांग्रेसलाई भोट दिए, तर आमाले सुटुक्क कम्युनिस्ट उम्मेदवार केशरसिंह रायमाझीलाई भोट दिनुभयो । एउटा परिस्थितिमा आमाले कम्युनिस्टलाई भोट दिनुभयो, तर त्यसपछि न कतै भाषण सुन्न पाउनुभयो, नत कुनै भावुक जनगीतहरु नै सुन्ने अवसर मिल्यो । छत्तीस सालमा आमाले दोस्रोपल्ट भोट हाल्नुभयो नीलोमा ।
आमाले सोध्नुभएको थियो, नीलोले जित्यो भने के हुन्छ ? बहुदलका प्रचारकले भनेका थिए ”देशको विकास हुन्छ, सवैले काम पाउछन्, न्याय हुन्छ, राजाले पनि जनताले भनेको मान्नु पर्छ । ” आमाले भन्नुभयो – राजालाई त फाल्दैनन नि ? राजालाई त फाल्नु हुन्न है ! जे भए पनि हाम्रा राजा हुन । यो चुनावमा पनि जीवनका अन्य पक्षमा जस्तै आमाको हार नै भयो । आमाले राजा वीरेन्द्रलाई देख्नु भएन तर महेन्द्रलाई नजिकैबाट देख्नु भएको रहेछ । दुव्ला पातला टिठलाग्दा राजा देखेर आमालाई राजाप्रति दया लागेछ, आमाले भन्नुभयो,” यो नेपालमा राजा त मोटाघाटा छैनन भने रैतीको के कुरा । ” अट्ठाइस सालमा राजा मर्दा आमा तीनदिनसम्म रुनुभयो ।
अद्भुत अस्तित्व हो आमा ! हामी भगवान या प्रकृति जे भनौं, उसले आमालाई यति दयालु र करुणामयी नबनाएको भए संसार कस्तो हुँदोहो ? सायद जीवन त चल्दोहो तर यस जगतमा प्रेम, सद्भाव, हर्ष, आँशु, करुणा, दया र वात्सल्यको अस्तित्व हुने थिएन होला । हामी जे जति पनि दयालु र परोपकारी हुन्छौं, अशक्त र दुखीप्रति द्रवित हुन्छौं, त्यो सवै आमाकै देन हो, आमाकै शिक्षा हो । आमाले सन्तानसङ्ग कुनै ‘ डिमाण्ड ‘ गर्दिनन, जस्तोसुकै सन्तान होस्, आमाको सदासर्वदा सद्भाव र माया नै रहन्छ।
दुर्जन सन्तानकी आमालाई पनि ऊप्रति गुनासो हुँदैन, बरु मान्छे नराम्रो हैन, दिनदशाले गर्दा यस्तो हुन पुग्यो भनेर झन् दयालु बन्दछिन । त्यसैले त भनिएको छ, संसारमा कुपुत्र त हुन्छन, तर कुमाता हुनु असम्भव छ । आमाले जस्तो माया गर्दछिन, त्यति माया सन्तानले आमालाई के गरुन ! बरु धेरै अशक्त , कमजोर र रोगी आमाहरु उपेक्षित छन रे अचेल, अचेल धेरै आमाहरु प्रताडित र परित्यक्त छन् रे, अचेल धेरै आमाहरु सामाजिक सन्जालको भित्ते मायामा सीमित छन् रे ! अचेल धेरै आमाका मुखहरू हेरिन्नन, बरु अरुलाई देखाइन्छन रे ।
मेरो खुट्टा मर्केर अशक्त हुँदा आमाले मलाई बोकेर फुकाउन लानुहुन्थ्यो, जव कि आमा झन अशक्त हुनुहुन्थ्यो । मलाई ज्वरो आउँदा, पेट दुख्दा बारम्बार छामिरहनुहुन्थ्यो, आँशु पुछ्दै भगवान ऋषिकेशव र काला भैरम बाबासङ्ग पुकार गर्नुहुन्थ्यो । आमालाई कसैले एउटो कोसो केरा खान दियो भने आधा भाँचेर खानुहुन्थ्यो र आधा ल्याइदिनुहुन्थ्यो । वनमा पाक्ने काफल र ऐसेलु, तल तल फाँटमा पाक्ने आँप र कटहर, रिडी बजारमा बिक्री हुने गुण होस या तानसेन बजारमा पाइने पेडा, आमाले आफूले नखाई नखाई हामीलाई खुवाउनु भयो ।
मैले बालापनमा भन्ने गर्दथें, आमा हामी यतिका धेरै भाइबैना नभएको भए त जे पनि धेरै खान पाउथ्यौं, लुगा पनि फेरीफेरी लाउन पाउथ्यौं होला हगी ? आमा भन्ने गर्नुहुन्थ्यो धत्, यस्तो कुरा पनि गर्नेहो ? तिमी पाँच भाइ छोरा मेरा पाँच पाण्डव हौ, मेरा चारजना छोरी गौरी पार्वती हुन ! भगवानले जन्म दिएपछि पाल्ने जिम्मा पनि उनैको हो, तँ त मेरो नकुल हो नकुल, पछि ठूलो मान्छे हुनेछस तँ ! म ठूलो मान्छे भएँ कि भइन मलाई थाहा छैन, तर यति स्वीकार गर्दछु, मैले आमालाई त्यो माया किमार्थ गरिन, जुन वात्सल्य आमाबाट मलाई प्राप्त भयो ।
धेरै आमाहरु निश्छल र निष्कलंक नै हुन्छन, तर मेरी आमा विशेष हुनुहुन्थ्यो । आमालाई बनावटी कुरा आउँदैनथ्यो । आफ्नो घरका अभावहरु समय समयमा हुने कलहहरु र बाहिर भन्न मिल्नेसम्मका कमी कमजोरीहरु छिमेकी र संगीनीहरुलाई सुनाएर आफैलाई हलुका पार्ने स्वभाव थियो आमाको । सामान्य ग्रामीण परिवेशको परिवार, काम गरेर खानेभन्दा वसेर खानेको संख्या बढी थियो । घरमा कुनै कुरा पनि पर्याप्त थिएन, अभाव र पुगेस पुगेस नै थियो । अभाव छिमेकका हरेक घरमा थियो, कति त आमाभन्दा पनि अभावग्रस्त थिए । नग्न यथार्थ थियो अभाव, तर प्रायः अरु सवैजना आफ्नो घरमा कुनै अभाव, कलह र कमजोरी नभएजस्तो अभिनय गर्दथे, आमा खुला हुनुहुन्थ्यो ।
यिनै सत्यहरु उजागर गरेवापत आमाले ठूलो मूल्य चुकाउनु भयो । आमाले प्रकट गरेका कुनै पनि कुरा अवास्तविक थिएनन, कसैको चरित्रहत्या र निन्दा थिएनन, जीवनका कटु र यथार्थ सत्य थिए, सवै घर परिवारमा हुने स्वाभाविक घटना थिए । तर हाम्रो कुटुम्बभित्रका औपचारिकता र आडम्बर रुचाउने एवं नाटकीय जीवन जिउन मन पराउनेहरुलाई आमाको सत्य वचन कहिल्यै मन परेन, इज्जत र प्रतिष्ठामा आघात परेको महसुस भयो उनीहरुलाई । पिताजीलाई आमाले भनेका कुरा सत्य हुन भन्ने थाहा थियो, तर उहाँ भन्ने गर्नुहुन्थ्यो, “कुरा लुकाउनै नजान्ने तँ कस्तो आइमाई हँ !”
आफ्नो जन्मभूमि छाडेर विरानो ठाउँमा पुग्छिन आमा । पारिवारिक पृष्ठभूमि, परम्परा, चलन, बोलीचाली, र भाषा समेत फरक भएको पराई घरमा पुगेर त्यसैलाई कर्मभूमि बनाउछिन आमा । अपहेलना, खिसी, मानसिक र शारीरिक पीडा सहँदै विरानो भूमिलाई कर्मभूमि बनाएर पछि त्यसको मालिक बन्ने साहस र क्षेमता राख्दछिन आमा । जननी र जन्मभूमिको नजिकको साइनो हुँदो रहेछ । त्यसैले त भन्दछन ‘ माइतीको कुकुर प्यारो ‘ । मेरो मामाघर पुग्न मेरो घरबाट ओरालो झर्दै रिडी पुग्नु पर्दथ्यो, त्यसपछि उकालो चढेर मात्र मामाघर पुगिन्थ्यो ।
म केही बुझ्ने उमेरमा प्रवेश गरेको थिएँ, आमा र म सङ्गै मामाघर गयौं । मावल पुगेपछि आमाले भन्नुभयो ” देखिस ? कति राम्रो छ मेरा बाआमाको घर र जन्मगाउँ ! ”मैले हाँस्दै भनेको थिएँ” अरुत ठीकै हो आमा, तर बाटो भने साह्रै उकालो “, आमालाई उकालो शव्द साह्रै बिझेछ, ”मेरा माइतीलाई धेरै हेप्नु पर्दैन, तेरो घरबाट ल्याएर खाएका छैनन्, तेरो घरमाभन्दा यहीँ धेरै सम्पन्नता छ” भनेर जवाफ दिनुभयो । मलाई त्यसैबखत ज्ञान प्राप्त भयो, सवैको लागि कर्मभूमिभन्दा जन्मभूमि प्यारो हुन्छ । स्वाभाविक रुपमा सारा कर्म र प्रयत्नहरु कर्मभूमिमा हुन्छन, तर जन्म दिने आमा र जन्मभूमिप्रतिको सद्भावना, माया र लगाव सधै जीवन्त रहन्छ । त्यही प्रेमले ओतप्रोत भएरै होला सुनको लंकामाथि विजय प्राप्त गरे तापनि रामले भनेका थिए रे :
” अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । ”

