एउटा दूर्लभ कथा: सुमेध ऋषि कसरी सिद्धार्थ बुद्ध बने ?


बुद्धका दूरेनिदान अनुसार चार असङ्ख्य एकलाख कल्प अघि जम्बुद्वीपमा अमरवती नामक नगर थियो, त्यस जगरमा ज्यादै अपार धन भएका ब्राम्हण कुलमा सुमेध जन्मेका थिए ।

आमा–बुबा दुवै बितेपछि उनले सोचे — ‘मेरा माता–पिता, बाजे–बज्यै आदिहरू कसैले पनि परलोक जाँदा केही पनि धन साथमा लिएर गएनन् — यत्तिका धन रत्नहरू सबै यहीँ छाडेर गएको देखे । अनि उनले सोचे मैले पनि यो सबैधन छाडेर नै जानु पर्छ भने किन यो दान गरेर पुण्य नकमाउ । पूण्य कमाएर जान्छु भन्ने प्रण गरे ।

त्यसपछि उनी धन दौलतहरू गरीबगुरुवा र धनको चाहना गर्नेहरुलाई दान दिएर आपूm हिमालय पर्वत (हिउँ भएको ठूलो जंगल)मा गई रूखको बोक्रा (वाकचीर)को चीवर–वस्त्र धारणगरी ऋृषिको भेषमा प्रव्रजित भई बस्न थाले ।

स्याउलाको कुटी र त्यस अगाडि चङ्कमन स्थान बनाएर त्यहाँ बसी पात, फल र कन्दमूल खाई तपस्चर्या गरिरहे । उनी चाँडै अष्टसमापत्ति ध्यान र पञ्च अभिज्ञान लाभगरी आकाशमार्गबाट उड्डेर जान सक्ने भए ।

एकदिन ती ऋृषि आफ्नो आश्रमबाट ऊँडेर आकाशमार्गबाट गइरहँदा रम्म नगर नजिकै प्रवेश मार्गमा धेरै मानिसहरू जमघट भई बाटो सफा गरी ध्वजापताका आदिले सजाइरहेको देखे । आकाशबाट ओर्ली उनले ती मानिसहरुसँग सोधेपछि उनले थाहा पाए, दीपङ्कर तथागत आफ्ना चार लाख अरहन्त भिक्षुहरूका साथ यहाँ रम्म नगरमा आउँदै छन् ।

हर्षित भई उनी पनि सडकको एउटा भाग बाटो मर्मत सम्भार गर्न थाले । मर्मत गर्ने काम नसिद्धिंदै त्यत्तिका भिक्षुहरूका साथ आइपुगेका भएका दीपङ्कर तथागतलाई देखे पछि आपूmले लगाइरहेको चीवर–वस्त्र (वाकचीर) फुकाली हिलोमा बिछ्याई आफ्नो शरीरलाई भने हिलोमा पुल जस्तो बनाउदै भन्नथाले, “भगवान, दीर्घ कालसम्म मेरो हित सुखको लागि कृपया तपाईं र तपाईंका श्रावक भिक्षु गण सबै ममाथि टेकेर हिलो तर्नु होला !” यसरी उनी आपूm पनि बुद्ध हुन पाऊँ भन्ने प्रार्थना गरिबसिरहे ।

बुद्धत्वको प्रार्थना सफल हुनको लागि प्रार्थीमा ८ वटा पूर्वाधार धर्महरू हुनुपर्दछ । यी पूर्वाधार धर्महरू हुन् —

(१) प्रार्थना गर्ने व्यक्ति मनुष्य नै हुनुपर्दछ,
(२) पुरुष नै हुनुपर्दछ,
(३) त्यही जीवनमै अरहन्त हुने क्षमता (हेतु)सम्पन्न भएको हुनुपर्दछ,
(४) जीवमान बुद्धको अगाडि नै प्रार्थना गरेकोे हुनुपर्दछ,
(५) प्रार्थना गरेको समय ऊ प्रव्रजित नै भइरहेको हुनुपर्दछ,
(६) अष्टसमापत्ति ध्यान र पञ्च अभिज्ञान लाभी नै हुनुपर्दछ,
(७) आफ्नो जीवन जीवमान बुद्धमा समर्पण गरी सेवा गरेको हुनुपर्दछ,
(८) आफ्नो जीवनको मतलब नै नगरी बुद्धकारक धर्म पारमिताहरू सम्पादन गरी बुद्धत्व प्राप्त गर्ने
ठूलो इच्छा, उत्साह र मेहनत भएको हुनुपर्दछ ।

उक्त ८ वटा पूर्वाधार धर्महरू सबै सुमेध ऋषिमा भएको देखेर दीपङ्कर तथागतले समेध चार असङ्ख्य एकलाख कल्पको अन्तमा जम्बुद्वीपमा बुद्ध हुनेछौ भनी भविष्यवाणी गर्नुभयो ।
दीपङ्कर तथागतको यो भविष्यवाणी सुनी अत्यन्त हर्षित भएर बोधिसत्व बनी सुमेधले बुद्धकारक धर्म, दस पारमिताहरू, उत्साहपूर्वक आचरण गर्दै आएका थिए । ती दस पारमिता हुन् —

(१) दान पारमिता, (२) शील पारमिता, (३) नैष्क्रम्य (नेक्खम्म) पारमिता, (४) प्रज्ञा पारमिता, (५) वीर्य पारमिता, (६) क्षान्ति पारमिता, (७) सत्य पारमिता, (८) अधिष्ठान पारमिता, (९) मैत्री पारमिता र (१०) उपेक्षा पारमिता ।

यी दस पारमिताको आचरण चरमकोटिसम्म पूरा गर्न सुमेध बोधिसत्वलाई चार असङ्ख्य र एकलाख कल्प लागेको थियो ।

उहाँ (शास्ता)ले भन्नुभयो, “मैले आफ्नो अलङ्कारयुक्त टाउको छिनाल्न लगाई, मुटु काट्न (झिक्न) लगाई, आँखा उखेल्न लगाई, प्राण समान प्यारा पुत्र–पुत्रीलाई त्याग गरी दान दिएर पारमिताहरू पूर्ण गर्दै आएको (बोधिज्ञान लाभगरी देव मनुष्यहरूलाई) धर्मोदेश दिएर उद्धार गर्नको लागि नै हो ।”
दस पारमिताका आचरणहरू सबै चरम–कोटि (चरम–सीमा)सम्म पूरा गरेर चार असङ्ख्य र एकलाख कल्पको अन्तमा बोधिसत्व जम्बुद्वीपमा कपिलवस्तु नगरका राजा सुद्धोदन तथा रानी महामाया देवीका सुपत्र सिद्धार्थ राजकुमारको रूपमा लुम्बिनी, नेपालमा जन्मिनु भयो र ३५ वर्षको उमेरमा उहाँ सर्वज्ञ ज्ञान लाभगरी सम्यक सम्बुद्ध हुनुभयो ।

(अनुवाद: डा. सुनन्द महास्थवीर)