भेट्न पाएनन एक सन्तले अर्को

           

 उहाँ दिनमा एकछाक जे मिल्छ त्यही थोरै खाएर बस्नुहुन्छ । उहाँलाई सुविधाजनक आवास र सवारी साधन दिन तयार हुने धेरै चेला होलान, तर उहाँ पैदल हिड्न नसक्ने कारणले मात्र साधारण ठेलामा बसेर यताउता गर्नुहुन्छ । उहाँ ज्ञानको भण्डार हो, तर निशुल्क विद्यादान गर्दै गुमनाम रहेरै आफ्नो जीवन विताउनु भएको छ । कसैले प्रशंसा गरोस, आफ्नो कीर्ति गाथा लेखोस, कतै सार्वजनिक स्थलमा नाम लिइयोस या अभिनन्दन गरियोस भन्ने कुनै चाहना छैन ।

यात्रा गर्दागर्दै भेटिएको रत्न

-भागवत खनाल

यो जीवन नै यात्रा हो । जीवन यात्राको क्रममा धेरै मानिससंग भेट र परिचय हुन्छ । परिचय भएका कतिपय व्यक्तिसंग क्षणिक र अस्थायी सम्बन्ध कायम हुन्छ । जीवन यात्रारुपी चौतारीमा भेट हुने कतिसंग बोलचाल नै हुँदैन, कतिसंग बोलचाल मात्र हुन्छ, कतिलाई केही समयपछि बिर्सिन्छ । तर कोही यस्ता हुन्छन, जसले अविस्मरणीय छाप छोडेर जान्छन । हामी कहिले मित्र भेट्न, कहिले सम्बन्धी भेट्न, कहिले नया सम्बन्ध कायम गर्ने उद्देश्यले, कहिले मनोरंजन गर्न र कहिले ईश्वरको खोजीमा यात्रा गर्दछौं । यो यात्रा पनि अजीब छ ! हामी जे खोज्न भनेर निस्कन्छौं, प्रायः त्यो पाइन्न । यस्ता यात्रा पनि हुन्छन जसमा मित्रसंगको सम्बन्ध अझै गाढा बनाउने उद्देश्य हुन्छ, तर बिडम्बना ! झन् सम्बन्ध बिग्रन सक्छ । मनोरन्जनको अभिलाषाले गरिएको यात्राले झन् कलह र विद्वेष थपिदिन सक्छ । ईश्वरको खोजीमा हिंडेको यात्री झन माया मोह र लोभको पासमा जकडिएर अझै आक्रान्त र ऐश्वर्यहीन भएर फर्कने अवस्था पनि पर्दछ । तर कहिलेकाहींको उद्देश्यहीन यात्राले नसोचेको र आशा नगरेको फल दिन्छ । एउटा सामान्य र लक्ष्यहीन यात्रामा अकस्मात यस्तो पात्रसंग भेट हुन पुग्दछ या यस्तो परिस्थितिको प्रादुर्भाव हुन्छ, जो युगान्तकारी र प्रेरणादायी बन्दछ ।

एकदिन अयोध्यामा साँझको समयमा बिना उद्देश्य एक्लै हिंडिरहेको थिएँ । अलि पर एउटा ठेलागाडी देखियो । ठेला नजिक आउंदै गर्दा त्यसमा एकजना नेपाली ढाकाटोपी पहिरेका अत्यन्त वृद्ध पुरुष बसेको देखें । एकजना गुरुकुली विद्द्यार्थी जस्तो देखिने सुन्दर युवकले ठेला तान्दै थिए । नजिकै आएपछि मैले वृद्धलाई हेरें, उनी घोप्टो परेर बसेका थिए । विद्द्यार्थीले मलाई पुलुक्क हेरे र मन्द मुस्कानसाथ ठेला तान्दै अघि बढे । मैले पछाडि फर्केर जाँदै गरेको ठेला हेरिरहें, ठेला एउटा मोडमा पुगेपछि एकातर्फ मोडिएर अदृश्य भयो । म विस्तारै मलाई आवाश र गास दिई अयोध्या बसाइ सहज पार्ने आश्रमतिर लागें ।

भोलिपल्ट अपरान्ह त्यो ठेला म बस्ने गरेको आश्रमको प्राङ्गणमा आएर रोकियो । दुईजना युवकले वृद्धलाई सहारा दिएर ठेलाबाट उतारे र खाटमा बसाले । वृद्धको शरीर धेरै नै कुप्रो परेको हुँदा खाटमा बस्दा पनि घोप्टो परेर बस्नुभयो । लाग्दो मार्ग महिनाको मन्दमन्द जाडोमा उहाँले ओढेको कम्मल वीचवीचमा सर्दै शरीर बाहिर जान्थ्यो । कसैले कम्मल माथि सारिदिन्थ्यो, त्यो फेरी सरेर जान्थ्यो । वृद्धको शिरमा आज पनि ढाका टोपी थियो । उहाँ हुनुहुँदो रहेछ श्री विन्ध्येश्वरी प्रसाद शुक्ल । उहाँ अति वृद्ध भएको हुँदा कानले राम्रोसंग सुन्ने र आँखाले देख्ने कुरा भएन । विस्तारै बोल्ने तर अति बार्धक्यले गर्दा बालकको जस्तो तोते बोली बुझ्न गाह्रो हुने रहेछ । उहाँको उमेर ठ्याकै कति भयो उहाँ बताउनुहुन्न । उहाँ भन्नुहुन्छ कसैले पनि आफ्नो व्यक्तिगत जीवनका आयु, धन, घरझगडा, मन्त्र, औषधि, मैथुन, दान, मान र अपमान समेत नौ कुराहरु अरु कसैलाई भन्नु हुँदैन । यथा- आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमौषधमैथुने दानं मानापमानं च नव गोप्यानी कारयेत । श्री विन्ध्येश्वरी प्रसाद शुक्लको जन्म भारतको बस्ती जिल्लामा भएको थियो । उहाँका पिता श्री कुबेरनाथ शुक्ल वकिल हुनुहुन्थ्यो । नेपालमा राणा शासनको समयमा उहाँ तौलिहवा र भैरहवासम्म कानूनी सल्लाह दिन आउने गर्नुहुन्थ्यो ।

अनमोल ईश्वरीय देनको रुपमा शुक्लजीको जन्म भयो । बैदिक साहित्यमा बालकको जन्मलाई “अमृतस्य पुत्रा:” भनिएको छ । आज जन्मेको शिशु आजको नभई पूर्वजको पनि पूर्वज हुन्छ । आफ्नो जन्मको उद्देश्य पूरा गर्न र कर्मको जिम्मा पूर्ण गर्न शिशु पुनर्जन्म लिएर उत्पन्न भइरहन्छ । बालक निर्दोष, निष्कलंक र सांसारिक दोषबाट मुक्त हुन्छ । उमेर बढ्दै जाँदा कोही बाहिर निस्कनै नसक्नेगरी सांसारिक जालोमा जकडिदै जान्छन, कोही सांसारिक सुखभोग गर्दागर्दै पनि पनि आफ्नो कर्म मार्गमा अटल रही मोहजालबाट मुक्त नै रहन्छन भने कोही व्यक्तिगत मायामोहभन्दा माथि उठेर समाज र राष्ट्रको लागि जीवन अर्पण गर्दछन । श्री शुक्लजीले बेदान्त, व्याकरण, गणित लगायत चार विषयमा आचार्य गर्नु भएको छ र प्रत्येक विषयमा स्वर्ण पदक प्राप्त गर्नु भएको छ । भारतमा अंग्रेजको शासन हुँदाको समयमै उहाँले सनातन वैदिक धर्मको रक्षा र श्रीवृद्धिको लागि संघर्ष गर्नुभयो । भारत स्वतन्त्र भई स्वराज्य स्थापना भएपछि पनि उहाँ सनातन संस्कृतिको जगेर्नाको लागि सक्रिय हुनुभयो । यसै सिलसिलामा जवाहरलाल नेहरु प्रधानामंत्री रहेको समयमा भएको राम जन्मभूमि आन्दोलनको क्रममा उहाँलाई गोली लाग्यो, उहाँ मुस्किलले बाँच्नुभयो । भारतमा हमेसा खतरा भइरहने हुँदा उहाँ नेपालभित्र प्रवेश गर्नु भयो ।

सवैजसो धार्मिक मतले पुनर्जन्ममा विश्वास गर्दछन । विज्ञानले पुनर्जन्मलाई विश्वास गर्दैन । कुनै पनि वस्तु नास हुँदैन, त्यसको रुप मात्र परिवर्तन हुन्छ भन्ने वैज्ञानिक सिद्धान्तलाई स्वीकार गर्दा पुनर्जन्मको अस्तित्व स्थापित हुन आउँछ । जड वस्तुमा चेतना नहुने हुँदा उसलाई आफ्नो पूर्व, वर्तमान र भविष्यको स्वरुपको जानकारी हुँदैन । यस जगतका चेतन प्राणीमध्ये वुद्धि, विवेक, कर्तव्य र कर्मको ज्ञान भएको जीव मानव मात्र हो । मानवलाई पनि यस जन्मपूर्व आफ्नो अवस्था के थियो र यस जीवनको समाप्तिपछिको अवस्था के होला भन्ने ज्ञान हुँदैन । तथापि वैदिक सनातन धर्मले कुनै पनि जीव अविनासी ब्रह्ममा लीन नहुँदासम्म उसको जन्म भइरहन्छ भन्ने कुरामा विश्वास गर्दछ । गीतामा भगवान कृष्णले भन्नु भएको छ, ” हे अर्जुन यो जन्मभन्दा अगाडि पनि तिमी थियौ । यस जन्मपछि पनि तिमी रहने छौ, तिमीलाई यस कुराको सम्झना छैन, त्यसैले तिमी यसै जन्मलाई मात्र परम सत्य मान्दै मोहित भएका छौ । जीव मर्दछ, तर आत्मा अमर छ । जसरी मानवले पुराना भएका कपडा फालेर नया लुगा फेर्दछ त्यसैगरी आत्मा पनि जिर्ण शरीर छाडेर नया शरीरमा प्रवेश गर्दछ । मोहको अन्धकारको पर्दाले छेकेर मानवलाई पूर्वजन्मको सम्झना गर्ने शक्तिबाट वन्चित गर्दछ ।”

श्री विन्ध्येश्वरी प्रसाद शुक्ललाई आफ्नो पूर्वजन्मको आभास छ भनेर उहाँलाई नजिकबाट चिन्नेहरू बताउँछन् । हुनत उहाँ आफ्नो व्यक्तिगत जीवनको विषयमा धेरै चर्चा गर्न मन पराउनुहुन्, तर यदाकदा आफ्नो पूर्वापर अवस्था’bout छ्यास्स कुरा गर्नुहुन्छ । उहाँको यस अघिको जन्म नेपालको दांगमा भएको संकेत गर्नुहुन्छ । उहाँको यो जन्म भारतमा भयो, जन्मले उहाँ भारतीय हो । तर उहाँले नेपालको अंगीकृत नागरिकता लिएर पूर्ण नेपालित्व ग्रहण गर्नु भएको छ । नेपालमा हमेसा टोपी लगाउने खाँटी नेपाली जव भारत पस्दछ, ऊ टोपी फुकालेर  झोलामा राख्न बेर लाउन्न । तर श्री शुक्लजी प्रायः नेपाली टोपी लगाउनुहुन्छ । उहाँ सिलाएको पोशाक लगाउनुहुन्न, शरीरमा कपडा बेरेर निर्वाह गर्नुहुन्छ, उहाँले लगाउने सिलाएको कपडा भनेकै नेपाली ढाकाटोपी मात्र हो ।

उहाँलाई भारतका ठूलाठूला विश्वविद्द्यालयले ठूलाठूला पद अफर गरे, तर उहाँले अस्वीकार गर्नु भयो । कुनै पनि शक्तिको अभ्यास हुने र वैतनिक पदप्रति उहाँले रुची राख्नु भएन । उहाँलाई अमेरिकास्थित नामी विश्वविद्यालयबाट ठूलो पारिश्रमिक सहित सेवाको अवसर प्राप्त हुँदा उहाँले भन्नु भएको थियो, बरु नेपालको मर्चवारको एउटा साधारण किसानको घरमा खेत खन्ने नोकरी गरेर एक गास खाउँला, तर मेरो वैदिक संस्कृति नमान्ने देश र समाजमा बस्दिन । उहांले अपूर्व रुपमा विद्यादान गर्नु भएको छ, तर त्यो असंगठित रुपमा निस्वार्थ भावले गर्नुभयो । अहिले अत्यन्त कमजोर अवस्थामा हुनुहुन्छ तापनि बेद, व्याकरण, गणित र खगोल’bout जिज्ञासा राख्नेहरुको लागि उपलव्ध हुनुहुन्छ । उहाँले कहिल्यै कुनै कुराको इच्छा या आशा गर्नु भएन । उहाँ धेरै धनी बन्न सक्नुहुन्थ्यो, तर कपोतवृत्तिकै माध्यमबाट उहाँको गुजारा चलिरहेको छ । उहाँको एउटा मात्र इच्छा छ त्यो हो सनातन वैदिक धर्मको रक्षा र श्रीवृद्धि । उहाँलाई कुनै कुराको चिन्ता छैन, चिन्ता छ त केवल नेपाल राष्ट्रको । उहाँ नेपालको मौलिक संस्कृति, आपसी मेलमिलाप र भाइचारा एवं हिन्दू राष्ट्र ’bout धेरै चिन्तित हुनुहुन्छ । श्री शुक्लजी अन्य धर्मका अनुयायीप्रति पूर्ण सम्मान र सवै धर्मको रक्षा हुनुपर्ने कुरामा जोड दिनुहुन्छ ।  उहाँको भनाइ छ – सवै धर्म र संस्कृतिले आफ्नो रक्षा र विकास गर्न पाउनु पर्दछ, तर लोभले होस या लाभले होस, धर्म परिवर्तन गराउन दिनु हुँदैन ।

गीतामा भनिएको छ, ‘न बुद्धिभेदं जनयेदज्ञानं कर्मसंगीनां जोषयेत सर्वकर्माणी विद्वान युक्त: समाचरन । अर्थात ‘ज्ञानीहरूले अरुले अर्कै प्रकारले गर्ने कर्ममा समेत अश्रद्धा उत्पन्न गर्न या वुद्धिभेद गर्नु हुँदैन, उनीहरुले गरिरहेको कर्मलाई युक्तियुक्त सम्झनु पर्दछ ।’ अद्वैतको विशेषता नै हो सवै एकै ब्रह्मका स्वरूप हुन, सवैलाई आफ्नो आफ्नो कर्म गर्न देऊ, कसैलाई व्यवधान नगर । यसले भन्दछ, कसैको मतिलाई पनि विचलित नगराऊ सवैलाई आफ्नो बाटो हिड्न देऊ । अद्वैतले भन्ने गरेको ईश्वर नै समग्र जगतको केन्द्र हो । सायद यही दर्शनबाट प्रेरित भएर नै भारतमा जेभियर आदि ख्रिस्तानहरुलाई आफ्नो आस्थाको ईश्वर पूजन गर्न गिर्जाघर बनाउने स्वीकृति प्राप्त भयो । तर उनीहरु यत्तिले सन्तुष्ट भएनन, उल्टै धर्मान्तरणमा प्रवृत्त भए ।

उहाँ दिनमा एकछाक जे मिल्छ त्यही थोरै खाएर बस्नुहुन्छ । उहाँलाई सुविधाजनक आवास र सवारी साधन दिन तयार हुने धेरै चेला होलान, तर उहाँ पैदल हिड्न नसक्ने कारणले मात्र साथारण ठेलामा बसेर यताउता गर्नुहुन्छ । उहाँ ज्ञानको भण्डार हो, तर निशुल्क विद्यादान गर्दै गुमनाम रहेरै आफ्नो जीवन विताउनु भएको छ । कसैले प्रशंसा गरोस, आफ्नो कीर्ति गाथा लेखोस, कतै सार्वजनिक स्थलमा नाम लिइयोस या अभिनन्दन गरियोस भन्ने कुनै चाहना छैन । उहाँलाई मोक्षको पनि चाहना छैन । उहाँ भन्नुहुन्छ मैले यो जीवनमा समस्त वैदिक सनातन धर्मको अध्ययन र विश्लेषण गरेर भ्याउन सकिन । यो वैदिक सनातन धर्म र संस्कृति यति आकर्षक र मनमोहक छ, त्यसको पूर्ण रसास्वादन नगरी र आफूले प्राप्त गरेको शिक्षाको पूर्ण विद्यादान नगरी मलाई मोक्ष पनि स्वीकार्य छैन । यही अभियानको लागि मैले अझै केही जन्म लिनु पर्दछ र मेरा आगामी जन्महरू अवश्य नेपालमै हुनेछन ।

हुनत उहाँ अंगीकृत नेपाली नागरिक हुनुहुन्छ, तथापि उहाँको नेपाल राष्ट्रप्रतिको प्रेम र सद्भाव देख्दा उहाँप्रति श्रद्धा जागेर आउँछ । उहाँ ब्राह्मण जातिमा जन्मेको मात्र हैन कट्टर ब्राह्मण नै हो । तर उहाँ अरु धर्म मान्नेहरुप्रती पूर्ण सद्भाव राख्नुहुन्छ । उहाँको विचारमा नेपाल हिन्दू राष्ट्र रहनु पर्दछ, तर अन्य धर्म मान्नेहरुप्रति पूर्ण सद्भाव र सहयोगको भावना राख्नु पर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ – सम्मानपूर्वक बाँच्ने अधिकार आफ्नो जति छ, अरुको पनि त्यत्ति नै छ । कसैले पनि अर्काको धार्मिक आस्थामा चोट पर्ने खालको अपमान र हस्तक्षेप गर्नु हुँदैन । उहाँलाई एउटा कुरामा मात्र आपत्ति छ, त्यो हो धर्म परिवर्तन गराउने प्रवृत्ति । उहाँको विचारमा लोभले, लाभले या अन्य कुनै कारणले आफ्नो धर्म परित्याग गरी अन्य धर्ममा प्रवेश गरेका व्यक्ति पुनः स्वधर्ममा फर्कन चाहन्छन भने तिनलाई स्वागत गर्नु पर्दछ । पुराना मन्दिर, गुठी, बगैंचा, सार्वजनिक स्थलहरुको संरक्षण हुनुपर्दछ । पुराना जीर्ण भएर अलपत्र भएका मठ, आश्रम, मन्दिर आदिलाई त्यस्तै भग्न अवस्थामा राखी नया मन्दिर बनाउने कार्यमा पूर्ण प्रतिवन्ध लगाउनु पर्दछ । उहाँको विचारमा सम्पूर्ण मानव एउटै ईश्वरका सन्तान हुन । कालान्तरमा आफ्ना आफ्ना विश्वास अनुरुप आफ्नो प्रार्थानाको तरिका र ईश्वरको नाम राखेका छन । तर यसै विश्वासलाई आधार बनाएर आफ्नो आस्था मात्र ठीक भन्दै धर्मान्तरण गराउंदै हिड्ने प्रवृत्तिप्रति उहाँको घोर आपत्ति छ । आफ्नो आफ्नो आस्थामा रहन पाउने अधिकार सवैलाई छ भन्ने नै उहाँको मूलमन्त्र हो ।

अंगीकृत नेपाली नागरिक भएर पनि नेपाल राष्ट्रप्रति अत्यन्त गौरव मान्ने र नेपालको सुरक्षा र समुन्नतिको हार्दिक आकांक्षा राख्ने व्यक्तिलाई पाउँदा श्रद्धा लाग्नु स्वाभाविकै हो । उहाँ अहिले भारतमै बस्नुहुन्छ, तर आफूलाई नेपालीको रुपमा परिचय गराउँदा गौरव मान्नुहुन्छ । उहाँले आध्यात्मिक चेतना र नेपाल राष्ट्रको गौरवको लागि २०४७ को संबिधान तयार भइरहेको समयमा प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई भेट्न धेरै प्रयास गर्नु भएको रहेछ । उहाँ उसै बखत वृद्ध भइसक्नु भएको थियो । उहाँको वेसभुषा आकर्षक थिएन, भौतिक व्यक्तिक्व ओजपूर्ण थिएन, कुनै आडम्बर र दम्भ थिएन । थोरै बोल्ने, वहस र जिद्दी नगर्ने सन्त स्वभावको कारण प्रधानमन्त्रीका मानिसहरुले उहाँलाई तिरस्कार गरे । एउटा अवान्छित घेराले एउटा सन्तलाई अर्को सन्तसंग भेट्न दिएन । यस्ता सन्तहरु चाकरी गर्न जान्दैनन्, आफ्नो योग्यता र गरिमा गाउन रुचि राख्दैनन । उहाँको स्वाभिमानले थप प्रयास गरेर प्रधानमन्त्रीलाई भेट गर्ने प्रयत्न गर्न दिएन । सायद उहाँलाई प्रधानमन्त्री भट्टराई पनि यिनै घेरा बनाउने व्यक्ति जस्तै होलान भन्ने लागेर भेट्न धेरै जोड गर्नु भएन कि । जे होस् उहाँ त्यसै फर्कनु भयो ।

राजकीय शक्तिको केन्द्रमा रहने व्यक्तिलाई एउटा सीमित घेरामा राख्न खोज्ने शक्ति राजा जनकको पालामा पनि थियो, राजा महेन्द्र, बीरेन्द्र र ज्ञानेन्द्रको पालामा पनि थियो र प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको पालामा पनि अवश्य थियो । अहिलेको गणतन्त्रमा पनि त्यस्तो घेरा छ । जतिसुकै योग्य र लोकप्रिय शासकहरु पनि घेराबाट बाहिर निस्कन सक्दैनन । सायद उकुसमुकुसको अवस्थामा हुन्छन, तर कुनै अज्ञात तत्वले छेकवारमा राखिरहन्छ । तथापि उनीहरु आफू सर्वज्ञानी र सर्वदर्शी रहेको नाटक गर्दछन । राजा जनक राजर्षी थिए, उनले बाहिर अष्टाबक्र आएको पत्तो पाए र भित्र बोलाए । कृष्ण प्रसाद भट्टराई सन्त नेता थिए, उदार र निस्वार्थी थिए, तर उनी राजा जनकको स्तरका थिएनन । एउटा अष्टाबक्र आएर भेटसम्म नपाई फर्केको पत्तै पाएनन ।

स्वाभाविक रुपमा श्री शुक्लजीका अभिमतहरु सवैलाई मन नपर्लान । उहाँको अभिमतमा रुचि नराख्ने अधिकार जसलाई पनि छ । उहाँका कतिपय धार्मिक आस्थाहरु आजको युग सुहाउँदा पनि नहुन सक्दछन । तर नेपाल राष्ट्रको हित, राष्ट्रिय स्वाभिमान, सर्वधर्म सम्मान र रक्षा जस्ता उहाँका उद्गारहरु अनुपम छन् । इतर धर्मको समेत रक्षा हुनुपर्दछ भन्ने भावना हिन्दू बाहेक अन्य धर्मका कट्टर अनुयायीहरुले राख्न सक्दैनन । सवै धर्मले फल्न फुल्न पाउनु पर्दछ भन्ने उहाँको दर्शन अद्भुत छ । वैदिक सनातन धर्मले कसैको अपमान र निन्दा गर्दैन । अहिले हिन्दू धर्ममा देखा परेका अवान्छित विकृतिहरु कालक्रममा विकसित भएका हुन । शुक्लजी स्थितप्रज्ञ हुनुहुन्छ । उहाँमा कुनै भौतिक सुखको अभिलाषा छैन, तर उहाँ वैदिक साहित्य नै लोप होला कि भन्ने चिन्ताबाट मुक्त हुनुहुन्न । अरु धर्म मान्नेहरुले जस्तो हिन्दू धर्म मान्नेले लोभ लाभ या डर देखाई हिन्दू धर्ममा धर्मान्तरण गराउनु हुँदैन भन्ने उहाँको अभिमत अनुपम छ । यस मानेमा उहाँ सम्पूर्णतः इमान्दार हुनुहुन्छ । सनातन हिन्दू धर्म र वैदिक साहित्यको रक्षा मात्र उहाँको ध्येय हो ।

श्री शुक्लजीले उसबखत संबिधान निर्माण आयोगलाई दिन भनेर ल्याएको सुझावको मस्यौदा अहिले उहाँसंग छैन । तर अलि पछि सम्झनाको आधारमा टिपोट गराएको दस्तावेज फेला परेको छ । हालको संबिधान आउने बखतमा त उहाँ त्यस्तो सुझाव दिनसक्ने अवस्थामा नै हुनुहुन्नथ्यो । वार्धक्यले गर्दा उहाँ लेख्न सक्नुहुन्न । बोली राम्ररी बुझिंदैन । उहाँले नेपाल अधिराज्यको संबिधान निर्माण हुँदाका बखत प्रधानमन्त्रीलाई दिन खोजेका मुख्य सुझावहरु यसप्रकार रहेछन :

  • पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, काष्टमण्डप, सगरमाथा, लुम्बिनी, कपिलवस्तु आदि धार्मिक, ऐतिहासिक र भौगोलिक धरोहरहरुको सम्भार र विकास गरी विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने ।
  • नेपाली उत्पादनका वस्तुको प्रयोगमा जोड दिने ।
  • जडीबुट, काठ, ढुंगा, बालुवा, वन जस्ता प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनमा राज्यले हस्तक्षेप गरी नियन्त्रण गर्ने ।
  • सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी महंगी नियन्त्रण गर्ने ।
  • खेतीयोग्य जमिन बाँझो राख्न नपाइने ।
  • विदेशी ऋण नलिने ।
  • खान योग्य फल लाग्ने र लामो समय टिक्ने काठ उत्पादन हुने बृक्षारोपण गर्ने ।
  • जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने विषादीको प्रयोग निषेध गर्ने ।
  • विद्द्यालयमा नेपाली, संस्कृत अवधी, नेवारी, मैथली भोजपुरी र नेपालमा बोलिने अन्य राष्ट्रिय भाषामा शिक्षा दिने ।
  • नेपालीले आफ्नो संचित धन नेपाली बैंकमै राख्नु पर्ने ।
  • कुनै विदेशीले नेपालमा खाता खोली रकम राख्न चाहेमा सशर्त स्वीकृति दिने ।
  • सरकारी कर्मचारी र प्रहरीलाई समेत योग र नैतिक शिक्षा दिने व्यवस्था मिलाउने ।
  • जीर्ण मठ मन्दिरको पुनर्निर्माण र सम्भारको काम पूरा नभई कुनै हालतमा नया मठ मन्दिर बनाउन नदिने ।
  • श्रौत यज्ञ बाहेक अन्य अवस्थामा पशुबलि नियन्त्रण गर्ने ।
  • कुटिर उद्द्योगलाई प्रोत्साहन दिने ।
  • वैदिक शिक्षामा जोड दिने ।
  • लागु औषध प्रयोगमा कठोर नियन्त्रण गर्ने ।
  • नेपाली कन्याहरुलाई विदेशमा लागी बिक्री गर्ने गरेको सुनिएको छ । यस्तो कार्यलाई कठोर नियन्त्रण गर्ने ।
  • आफ्नो पत्नी हुँदाहुँदै अर्को विवाह गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने ।
  • आफ्नो धर्मग्रन्थ अध्ययन नै नगरी अर्को धर्मको ग्रन्थ अध्ययन गर्ने कार्यलाई नियन्त्रण गर्ने ।
  • नेपालमा मानिदै आएका सवै धर्मको सम्मान र संरक्षण गर्ने । सवैलाई आफ्नो धर्म मान्ने समान हक छ ।
  • सवै समुदायका परम्परागत संस्कृतिको सम्मान र समृद्धिमा जोड दिने ।
  • लोभमा पारेर होस या जुनसुकै कारणले होस धर्म परिवर्तन गराउन नपाइने ।
  • नारीको अस्मिता जोगाउनु राज्यको कर्तव्य हो ।
  • संगीत र कलाको जगेर्ना र विकास ।
  • फलफूल, दूध र तरकारीजस्ता पौष्टिक पदार्थको उत्पादनमा राज्यको सहयोग ।
  • मादक पदार्थ प्रयोगमा नियन्त्रण ।
  • पशुपति, सीता गोरखनाथ र वुद्धलाई राष्ट्रीय गौरवको रुपमा पहिचान गराउने ।
  • हिन्दुत्व नेपालको पहिचान हो ।
  • नेपालको राष्ट्रिय स्वाभिमानलाई जगेर्ना गर्ने ।

‘यषा पूर्वजा हिन्दुव आसन, लोभाद्वा, भयाद्वा धर्मान्तरिता संजातास्ते, यदि शुद्धिम् बान्छन्ती तेषाम शुद्धिम् कृत्वा

नवोनैव जाति कल्पितया ते च स्वजातीयसु वैवाहिकादि सम्बन्धमाचरेसु ।’