कहिले सुध्रिन्छौ ?

अहिले ठूला पार्टीहरूमा पदको भागबण्डा नमिलेर रणभूमि बनिरहेको छ । नेकपा त उसैपनि दुई वटा पार्टी मिलेर बनेको नयाँ पार्टी, काँग्रेसमा समेत त्यही रोग छ । सानेपामा मिटिङ बस्नै गाह्रो, बसे पनि नतिजा केहि आउँदैन । जब सम्म तपाईं पुरानाहरूले संरक्षकको भूमिका अंगिकार गर्दै पाखा लाग्दै नयाँलाई मौका दिनु हुँदैन तब सम्म यो समस्या ज्युँ का त्युँ रहिरहने छ ।
झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम मात्रैले अभिभावक वा सल्लाहकारको रूपमा बसेर त्याग देखाई दिए पनि त्यहाँ तीन जना नयाँ अनुहारले मौका पाउँथे । तपाईँहरूले अब गर्न बाँकी के नै छ र ? विदेश विभाग, संगठन लगायतमा नयाँलाई आउन किन रोकिरहनु हुन्छ ? लाखौं कार्यकर्ता भएको पार्टीमा तपाईहरू मात्र योग्य हो त ? कहिले अर्को पुस्ताले मौका पाउलान् ? धेरै लोभ गर्नाले तपाईँहरूको मुल्यांकन पार्टीका हनुमान बाहेक अरुको लागि पट्यार लाग्दो तमासा भइरहेको छ ।
ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ ले स्कूल विभाव मा लडाईं गरिरहनु त्यही पद नपाएर नै त हो । त्यसको लागि नेताहरूले किन अड्को थापिरहेको होला, समस्याको समाधान सजिलै छ त । जब एउटै पार्टीमा दुई जना अध्यक्ष हुन्छन् भने स्कुल विभाग पनि दुई जनालाई नै दिए समस्याको समाधान भई हाल्यो नी । हैन भने गाई कि त्रिशुल गरे पनि त भयो नी । के को लफडा हो ?
घण्टौं घण्टा सम्म झरी, वर्षा वा घाममा पोलिएर क्रिकेट खेल्छन् क्रिकेट खेलाडीहरूले । तर, अन्तमा ड्र हुन्छ, अनि ‘हेड अर टेल’ भन्दै निर्णय गरिन्छ । जसको पक्षमा पल्टियो उहि विजेता बन्दै खुशीयाली मनाउँछ हार्नेेले लुरुक्क परेर स्वीकार गर्दछ । त्यसैगरी, चुनावमा पनि बराबर भोट आयो भने यस्तै गरेर निर्णय गरिन्छ, भने यो स्कूल विभागलाई किन यती लामो लम्ब्याईरहेका होलान् नेताजीहरूले ।
हुनत यो तपाईंहरूको पार्टी भित्रको आन्तरिक मामला हो तर हामी जनताहरूको लागि सरकार चलाउने पार्टी पनि तपाईंहरूकै पार्टी पर्यो । त्यही भएर तपाईंहरूले त्यता समय खाईदिनाले सरकारको काममा अवरोध आइरहेको महशुस भइरहेको छ । बन्द गर्नुस् यो दिनदिनैको आन्तरिक कलह । अब देश बनाउने भनेर भोट लिएको होइन ? सवारी करमा एकदिन सकिने बित्तिकै भोलिपल्ट देखि दोब्बर दस्तुर लिएर देशको आय बढ्छ ? जनताको आँशुमा रमाएर विदेश सयर गर्न सुहाउँछ ? दुबई र सिंगापुर गएर मात्र आउने कि त्यहाँको जस्तो केहि गर्ने अठोट पनि लिएर आउने ? घाँस काटेर र कुचो बढारेर एक घण्टा मुख छोपेर अभिनय गरेको भरमा रोजगारी दिँदै पैसा बाँड्दा ग्लानी भएन ? सरकारी पैसामा प्रधानअध्यापक जत्तीलाई भारतको नैनीताल, ताजमहल घुमाउँदा अलिकतीपनि अप्ठेरो हुँदैन ?
सुदुर पश्चिमको एउटा केटो रोजीरोटीको लागि मजदुरी गर्न छिमेकी मित्र राष्ट्र जाँदा केटा थियो रे आउँदा केटी बनाएर पठाएछन् यस्तो देश छ छिमेकमा तर तिम्रो विदेश विभाग के हेरेर बसेको छ ? उता धमाधम साना तथा मझौला बाँध बनेको छ, सडकको नाममा जमिन उचो बनाइएको छ । परिणामस्वरूप यता वर्षै पिच्छे बाढीले देश चुर्लुम्म डुब्छ, तिम्रो विदेश विभाग के हेरेर बस्छ ? अहिले त्यहि विदेश विभाग सम्हालेर बसेको महानुभाव ले भोली त्यसको लागि के गर्नु हुन्छ ? प्रष्ट पार्न सक्नु हुन्छ ? रात्री भोज, मेडिकल, इन्जिनियरिङको छात्रवृत्ति कोटा, चुनावमा सहयोग, भ्रमणको निम्तो, सत्तामा भनसुन मै कत्ती अल्झिनु हुन्छ ? अब त जागौं, केही गरेर यो संसारबाट बिदा लिऊँ ।
तपाईंहरू जब पार्टी भित्रै आन्तरिक लँडाई गरेर बसिरहनु भएको छ । त्यसको बाईप्रडक्ट को रुपमा अहिले तलका फाँट वा जिल्ला मा बसेर काम गरिरहेकाहरूले पार्टीकै बदनाम हुने गरेर काम गरिरहँदा पनि त्यसलाई सम्झाउने नैतिकता बाट खिइएर गइरहनु भएको छ ।
मोटर बाटो नभएको स्थानीय निकायले समेत गाडी किन्न तँछाड मछाड गरिरहेछन् । कती लोभी भएर गएका जनप्रतिनिधीहरू ? तत्काल आवश्यकता के हो भन्ने प्राथमिकताको लिस्ट बिना चुनावी प्रतिस्पर्धामा होम्मिएका र तत्काल एउटा लहरको भरमा चुनाव जितेर कुर्सिमा बसेपछि गर्नु पर्ने कामको विवरण कहाँ बाट पाउनु ? शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो भन्ने कुराको त विषय नै उठान हुन छाडिसक्यो । जतापनि फ्रि वाईफाई भनेको छ, स्मार्ट सिटि भनेको छ, बिजुली बत्ती नपुगेको गाउँपालिकाको वडाले समेत पनि अब अनलाईन मार्फत सेवाग्राहीलाई सेवा गरिने भनेको छ, उडन्ते कथा बाहेक वास्तविकता कती फरक भनेर अरुले सम्झाउँदा पनि सरोकारवाला कानमा तेल र आँखामा पट्टी बाँध्नमै ब्यस्त छन् ।
समग्र देशको समिक्षा गर्ने हो भने विकास निर्माणको हालत जोरपाटी साँखु सडक एउटा ऐना हो । यसबाटै छताछुल्ल हुन्छ, देशै भरीको हालत यहि हो । नत्र, मिनभवनको इ.पि.एस. स्कूल जाने उकालो सडक चिल्लो पारेर बनाएको भरखर एक, दुई महिना मात्र भएको थियो । सलल्ल चम्केको सडकमा असारे विकासले आँखा लाई छाड्यो र अब पानी पर्छ, हिलो हुन्छ भन्ने जान्दा जान्दै रातारात ड्रोजर ल्याएर ढल बिछ्याउने नाममा अहिले धान रोप्ने खेतमा परिणत गरेर अलपत्र पारेर छाडिदिएको छ जहाँ बाट मोटर, मोटरसाईकल को त के कुरा मानिस हिंड्ने समेत बाटो छैन, सबै जना घुमेर बैकल्पिक बाटो भएर जान बाध्य छन् । त्यसको दुई मिनेटमा पुगिने शान्तिनगर गेट पनि सफा थियो ।
भुकम्पले ७२ सालमा गेट ढलेको थियो । त्यसको ठाउँमा ४ वर्ष कुरेपछि नयाँ गेट हाल्न यहि असार महिना कुरेको रहेछ । अहिले त्यहाँ जगको नाममा ठूलो ठूलो खाल्टो खनेर, फलामका पिल्लर गाडिएको छ । जसले गर्दा सलल दुई तर्फि गाडि गुड्ने बाटोमा मुश्किलले एउटा मात्र पास हुन्छ । बालबालिकाको त कुरै छाडौं त्यो खाल्डोमा ठूलै मानिस पनि पर्ने प्रवल सम्भावना छ । त्यती बाटो बिगारी सकेपछि सरोकारवाला सबै हाई सञ्चो मानेर कतै मस्त निंद्रामा छन् । यत्ती उदाहरण नै काफी छैन, स्थानीय सरकारको लापरवाहीको ? जिम्मेवार कसले लिन्थ्यो होला, एकले अर्कोलाई देखाउने त हो ।
पार्टीहरूलाई ठूलो पार्टी बन्न वा ठूलो पार्टीको मापदण्ड तोक्ने आधार भनेको चुनाव नै हो । जसले जती धेरै सिट जित्यो उही नै ठूलो पार्टी हो । अहिले नेकपा ठूलो, त्यसपछि काँग्रेस अनि अरु आउलान् । तर, तपाईँ दुई पार्टीहरू यसरी आन्तरिक कलहमै रमाउने हो भने भोली यो पद पनि आगामी चुनाव सम्म मात्रै होला जस्तो छ । जनताको बोली सुन्न यातायात कार्यालयमा जानुस्, मालपोतमा जानुस्, सरकारी अस्पतालमा जानुस्, सरकारी शिक्षालयमा जानुस्, तरकारी बजारमा जानुस्, किराना पसलमा जानुस्, सार्वजनिक यातायातमा चढ्नुस्, फुटपाथमा हिंड्नुस् अनि मात्र थाहा पाउनु हुनेछ अबको चुनावमा देखिन सकिने परिणामको ध्रुविकरण ।
प्रधानमन्त्रीले समेत मलाई थाहै दिएनन् भनेर गुनासो गर्नु पर्ने देशमा सबै जना सक्दो आँखामा छारो हाल्ने तरिका सिक्नै व्यस्त छन् । त्यसैले यदि तपाईंहरुले साँच्चीकै आफूलाई कसैले केहि ढाँटिरहेको छ वा छलिरहेको छ जस्तो लागेको हो भने एकपटक साधारण जनता भएर अघि माथी लेखिएको स्थानमा पाँचमिनेट मात्रै बसिदिएर जनताले के भनिरहेछन् भनेर सुक्ष्म अध्ययन गरेर आइदिनुस् अनि प्रष्ट होला । हुनत हिजो पदमा नपुग्दा यी समस्याहरूको साक्षात्कार तपाईंहरूले गरेकै हो, पदमा पुगे पछि पो बिर्सनु भयो त, सल्लाह पनि के दिनु ? तैपनि आश लाग्दो रहेछ, केहि भै पो हाल्छ कि ?
आन्तरिक कलह समाप्त गरेर देशको उन्नतीमा ध्यान नदिने हो भने ढिलो चाँडो त्यो मौका अरुले फुत्काउने पक्का छ । बिभिन्न तहका जनप्रतिनीहरूको यहि कार्यकाल अन्तिम हुने पनि पक्का छ ।
