शाश्वतधाम …


नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुदैंछ नवलपुर स्थित शाश्वतधाम । शाश्वतधाम धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो समय महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम यात्रामा निस्कनेहरु केही समय रोकी शाश्वतधाममा विराजमान एकम्बरेश्वर महादेवको दर्शन लगभग अनिवार्य जस्तै भएको छ। दक्षिण भारतीय शैलीको यो मन्दिर र यससँगै रहेको पार्क मुख्य आर्कषण रहेको छ। मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ। साँझ बिहान तलाउमा पानीको फोहोरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भिड लाग्ने गरेको छ। साँझको समयमा रंगिन लाइटिंगले मन्दिरलाई अझ मनमोहक बनाउँछ । शाश्वतधाममा हरेक साँझ नियमित आरती भएता पनि सोमबार विशेष आरती हुन्छ । बनारसको गंगा आरती, पशुपतिको आरतीकै शैलीमा गरिने यो आरतीले सोमबार साँझपख त्यस क्षेत्रमा पुग्ने हरेक यात्रुका लागि फरक अनुभूति दिन्छ ।

“सोमवार विशेष आरती अवलोकन गर्न टाढा टाढाबाट दर्शनार्थीहरुको घुईचों लाग्ने गर्दछ तथा बर्षको एक पटक मन्दिर स्थित एकम्बरेश्वर महादेवलाई हरियाली सिंगार गरिन्छ ।” चौधरी ग्रुपका CSR का नायब प्रबन्धक, राम चन्द््र धिताल बताउन्छन् । चौधरी ग्रुपद्धारा निर्माण गरिएको तथा २०७३ साल फागुनमा उद्घाटन भएको शाश्वतधाममा एकाम्बरेश्वर महादेवको मन्दिर, हिन्दु र बौद्ध संग्राहलय, गुरुकुल विद्याश्रम, अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रर्दशनीस्थल,डिजिटल धार्मिक संग्राहलय, तथा सात्विक चमेनागृह पनि छ ।

यहाँ रहेको विद्युतीय मेशिन( डिजिटल हाजिरी) ले प्रवेश गर्नेहरुको संख्या देखाउने गर्छ। शाश्वतधाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो लाग्ने गरेको छ । खासगरी पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्बिहरुको मुख्य रोजाई यो थलो हुने गरको छ। गत बर्ष यस धामले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्डले सम्मानित भएको थियो । नेपाल भ्रमणमा आउने विश्वभरका पर्यटकले समेत पछिल्लो समय शाश्वतधामलाई आफ्नो गन्तव्य बनाउँदै आएका छन् । भविष्यमा नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचिकृत हुनेमा चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलको दावी छ ।
शब्द/ तस्विर  : सुनिल शर्मा