संविधान दिवस र योगेश भट्टराई
नयाँ संविधानमा सबैलाई समान भनेको होइन ? कहाँ छ समानता ? न सडकमा छ, न अस्पतालमा छ, न बिमानस्थलमा छ, न विद्यालयमा छ, न सरकारी कार्यालयमा छ, न सेवा पाउने निकायमा छ, कतै पनि छैन ।

आगामी शुक्रबार, असोज ३ गते देशले संविधान दिवस मनाउँदै छ भने अस्ति शनिबार, भदौ २८ गते देशले आशा गरेका मन्त्री योगेश भट्टराईले नेपालगञ्ज बिमानस्थलमा दुव्र्यवहार व्यहोर्नु पर्यो । यहि संविधान अन्तर्गतका मन्त्री माथी भएको घटनालाई उदाहरण मानेर केहि विश्लेषण गर्न मन लाग्यो ।
नेपाली जनताले नयाँ संविधान आएपछि नयाँ नेपालमा पुरानो नेपालका भएजत्ती सम्पूर्ण विकृतीहरूको अन्त्य हुन्छ होला भन्ने ठानेका थिए तर देशमा ज्ञानेन्द्र शाहको गद्दी हरण र उनी पछि उक्त गद्दीमा पदासिन हुन पासर शाहलाई रोक्नु बाहेक नौलो केहि पनि गर्न सकेन । हुनत त्यतीबेला देशमा गणतन्त्र आउन पार्टीहरूको भन्दा बढ्ता भूमिका राजा र उनकै सन्तानको बनिदियो ।
राजा फालेपछि राष्ट्रपती नेपाली जनताकै छोेराछोरी हुन्छन् भन्ने थियो, त्यो भयो पनि । तर, पात्र फेरियो प्रवृत्ती फेरिएन । जनताले सोचेका थिए, राष्ट्रपती कतै जाँदा पहिलेको जस्तौ घण्टौं जाममा पारेर सवारी साधन टक्क अड्याएर बस्नु पर्दैन होला । जनताले सोचेका थिए, प्रधानमन्त्री तथा मन्त्रीहरू, पद नपाए पनि ठूला पार्टीका ठूला भन्ने नेताहरू, एक पटक पद पाएर त्यो पद फुस्केपछि पनि आजीवन पद पाए सरहका भुतपूर्व पदाधिकारीहरू सडकमा साईरन बजाउँदै, अगुवापछुवा लगाउँदै सर्व साधारणको सातो खाँदै वानवेमा पनि गाडीको लावालस्कर लगाउँदै हिंड्दैनन् होला । ट्राफिक नियम मानेर, रातो बत्तीमा रोकिएर निलो बत्ती बले पछि अरु सवारीसाधन सरह ओहोरदोहोर गर्छन् होला, जेब्रा क्रसिंङ्गमा रोक्छन् होला, फुटपाथ माथीनै पाँग्रा चढाएर पार्किंङ गर्दैनन् होला भन्ने थियो ।
गणतन्त्र आएपछि मन्त्रीपरिषदका सदस्यहरू, माननीय सांसदहरू, नगर तथा गाउँपालिकाका पदाधीकारीहरू, सेना, प्रहरी, निजामती कर्मचारी, सरकारी संस्थाका पदाधीकारी लगायतले कार्यालयका वा सरकारी वा जनताको करबाट किनिएको सवारीसाधानको चरम दुरुपयोग र लापरवाही रोक्छन् होला भन्ने थियो तर त्यसको दुरुपयोग गर्नमा को भन्दा को कम भन्ने तरिका अपनाएको आफ्नै आँखाले टुलुटुलु हेरेर बस्न बाध्य हुनु परिरहेको छ ।
गणतन्त्र आएपछि मन्त्री तथा अघि भनिएका पदाधिकारीले पनि विमानस्थलमा सर्वसाधारण सरहकै सुविधा पाउँछन् होला, त्रिभुवन विमानस्थलको धावनमार्गमै सवारीसाधन लिन पुग्दैन होला, सर्वसाधारणकै पार्किङस्थलमा उहाँहरूको पनि लिन आउने तथा पुर्याउन आउने सवारीसाधान रोकिन्छ होला भन्ने थियो तर त्यो भएन । कैयन बृद्ध आमा बुवा, बिरामी तथा बालबालिकालाई दुई हात जोडेर बिन्ती गर्दा समेत जान नदिने सुरक्षाकर्मीले यस्ता पदाधिकारीका सन्तान दरसन्तानलाई पहुँचकै भरमा बेरोकतोक भित्रको ढोका सम्म पुर्याउन वा लिन जाँदा कस्तो लाग्दो होला ?
माथीको दुव्र्यवहार त्यहाँ देखिएका पात्र ज्ञानेन्द्र शाहीको टाउकोमा हालिदिएर जनआक्रोशको तापक्रमलाई तल झार्ने औषधी बन्न सक्दैन । ज्ञानेन्द्र शाही को हुन् वा उनी कतैबाट सञ्चालित छन् वा उनी मौकाको चौकामा थिए भनेता पनि नेपालमा अब राजतन्त्र आउँदैन । जनताले गणतन्त्रको बदलामा गणतन्त्रनै रोज्दछन् । यसमा ढुक्क हुनुहोस्, बरु गणतन्त्रको मोडल फरक हुनसक्छ । जनता त्यती मुर्ख छैनन् कि काण्डैकाण्डका राजा पारस शाह लाई देशको भावी राजा मान्नेछन् ।
त्यसदिन उक्त हवाईजहाजमा बृद्धबृद्धा थिए होलान्, बिरामी थिए होलान्, बालक थिए होलान्, महिला थिए होलान् वा विभिन्न तह र तप्काका व्यक्ति थिए होलान् । एक घण्टा समय कुर्नेले भन्दा अरुले महसुस गर्न सक्दैन । एक घण्टा पनि समय अनुसार फरक हुन्छ । विहान त्यती वास्ता हुँदैन, दिउँसो खासै फरक पर्दैन तर साँझमा त्यो एक घण्टा भित्र धेरै परिवर्तन भइसक्छ । बेलुकाको छ बजेर सात बजेमा उज्यालो बाट अँध्यारोमा परिवर्तन भइसक्छ । गन्तव्य पुगेपछि पनि आफ्नो गन्तव्य कसैको नजिकै होला कसैको फेरि अर्को एक दुई घण्टा लाग्ने ठाउँमा होला । मन्त्रीज्युहरूलाई जस्तो धावनमार्गमै सवारी साधन सर्वसाधारणले पाउँदैनन् । सार्वजनीक सवारी साधानको त कुरै छाडौं ट्याक्सीले समेत पनि मन लाग्दो भाडा भनिदिन्छ ।
गणतन्त्र आएपछि सार्वजनीक सवारी साधान र ट्याक्सीको सुधारको अपेक्षा गरेका थिए सर्वसाधारणले । अरुठाउँको ट्याक्सीको त कुरै छाडौं मन्त्री ज्यु काठमाण्डौ विमानस्थलको प्रिपेड ट्याक्सीको भाडा रेट त तपाइँहरू लाई प्रष्टै होला । एअरपोर्ट गेट अगाडी गए पनि छ सय रुपैयाँ नयाँ बानेश्वर गए पनि छ सय रुपैयाँ भनेर न्युनतम भाडा दर तोकिदिएको छ । के यो मिल्छ ? हवाईजहाजमा आउँदैमा सबैजना सँग खल्तीभरी पैसा हुन्छ र हुनेहरूले पनि लुटाउनै पर्ने ? न्युनतम एक सय तोकिदिएर बागमती वारी सम्म डेढ सय त्यसको केहि पर मिनभवन पुरानो बानेश्वर सम्म दुई सय सम्म भन्दै पो तोक्नु पर्ने, चढ्ने बित्तिकै छ सय ? भित्रको प्रिपेड टुयाक्सीमा छोइनसक्नु भएपछि बाहिर अरु ट्याक्सी खोज्नु परिहाल्छ, झन त्यसमाथी बिरामी, बृद्धबृद्धा, बालबच्चा पनि हुनु, अझ पानी पनि झमझम पर्नु, त्यो पनि साँझको समयमा । सम्झनुस्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री माथी गणतन्त्र आएपछि, नयाँ संविधान बनेपछि, दुई तिहाईको सरकार बनेपछि कुनै सर्वसाधारणले यस्तो अपेक्षा गरेका थिए होलान् ?
सुधार पटक्कै छैन, कतै पनि, झन भद्रगोल छ । घुस नदिई कामै बन्दैन । रक्सी पारेर, अन्नपात, तरकारी, वा खसी कुखुरा बेचेर सदरमुकाममा काम मिलाउन आएको व्यक्तिले आज हुने कामलाई भोली भोली भन्दै ल्याएको पैसा जत्ती सकिई सक्दा पनि नपुगेर खुईए गर्दै घोप्टे मुण्टो लाउँदै घर फकिैंदा गणतन्त्र र नयाँ संविधान बनेपछि पहिलेको तुलनामा के भिन्नता पायो होला त ?
नयाँ संविधानमा सबैलाई समान भनेको होइन ? कहाँ छ समानता ? न सडकमा छ, न अस्पतालमा छ, न बिमानस्थलमा छ, न विद्यालयमा छ, न सरकारी कार्यालयमा छ, न सेवा पाउने निकायमा छ, कतै पनि छैन । कतै परिवर्तनको आभाष नपाएपछि जनतामा आक्रोश निस्कन्छ निस्कन्छ ।
त्यही आक्रोशकै परिणाम होइनर २००७, २०४६, २०५० र २०६३ सालका आन्दोलनहरू । त्यतीबेला अहिलेका शासक र प्रतिपक्षको आक्रोश यस्तै परिवर्तनको लागि थियो तर अफसोच ती आक्रोशलाई व्यवहारमा सुधार गर्दै मत्थर पार्नु पर्ने बेलामा देखेर पनि नदेखेको झैं गर्नु वा सुनेर पनि नसुनेको झै गर्नु वा थाहा पाएर पनि नथाहापाए झैं गर्नु भनेको तपाईंहरूको नैतिकहिनताको पराकाष्ठा हो, यसमा कुण्ठा नमान्नु होला ।
जब आफैंले आफ्नो अगाडी खाल्टो खनेर हिलो बनाउँछ भने त्यसमा बसेर बेरोजगारीको यस महासागरमा कसैन कसैले धमिले पानीमा माछा मार्न खोजी हाल्छ । जसमा उसले रोजगारी पनि पाउँछ आर्थिक उपार्जन पनि पाउँछ । यसमा अनौठो मान्नु पर्ने केहि छैन ।
मन्त्री योगेश भट्टराई ज्यु कुनै दिन दाईलाई पहिला भन्दै विमानस्थलमा प्रमुख जिल्ला अधिकारीले लगाइदिने खदा कृष्ण सिटौलालाई पहिला लगाइदिन लगाउनु भयो भनेर तपाईँको निक्कै चर्चा भएको हो । संस्कारी नेता, अहंकार नभएको नेता, बिपक्षी प्रती सकारात्मक सोचाई राख्ने नेता भनेर प्रशंसा गरेकै हो । मन्त्री ज्यु यस्ता क्षणिक प्रशंसा पाउने लोभमा फस्नु हुँदैन । सकारात्मक काम गरिरहनुहोस्, दुनियाले जे भने पनि आफूले सकेको क्षेत्रमा र आफ्नो तहबाट हुने तहमा सक्दो सुधार गर्नुहोस्, यत्ती भयो भने हेर्दै जानुहोस् केहि समय तपाइँको नकारात्मक आलोचना भएपनि अन्तमा सबै तपाइँको गुणगान गाउन बाध्य हुनेछन् ।
मन्त्रीहरू वा नेताहरू काम विशेषले देशको कुनाकाप्चामा जानु पर्ला । सडक मार्गबाट जान मिल्ने स्थानमा सडक मार्गबाटै जालान नभए हवाई मार्ग प्रयोग गर्लान्, यो पनि सामान्य नै भयो । तर, हवाई मार्ग प्रयोग गर्ने बित्तिकै किन विमान स्थलमा प्रमुख जिल्ला अधिकारी माला लिएर उभिनु पर्यो, किन प्रहरीको हाकिम बिमानको ढोकैमा पुग्नु पर्यो, किन जिल्लाका भएजत्ती सरकारी तथा सरकारी संस्थाका हाकिमहरू लाईन लागेर खदा वा पुष्पगुच्छा लिएर घनुष्टंकार नमस्कार गर्न लहरै उभिनु पर्यो ? त्यहाँ त जुन कामको लागि ती अतिथीहरू आएका हुन्छन् सम्बन्धीत कार्यालय वा संस्था वा पार्टीका पदाधीकारी मात्रै आए हुँदैन ? यसलाई पनि संविधानमै लेख्नु पर्ने हो र ? यसको सुधार मन्त्री वा संबन्धीत पदाधीकारी ले मौखिक रुपमै भनिदिए पनि हुँदैन, अब देखि यसरी बिना बोलावट कोहि पनि उपस्थित नभइदिनु भनेर ।
संविधान बनेको चार वर्षमा यसबाट प्राप्त उपलब्धी के हुन् भनेर कागजी खोस्टो मात्र देखाएर पुग्दैन । ब्यवहारमै देखाउन सक्नु पर्छ । संविधान दिवसको दिन सबै जना खुशी हुनु, दौरा सुरुवाल टोपी लाउनु, दिपावली मनाउनु भनेर हुन्छ । सबैलाई खुशी बनायो भने आफसे आफ नभनेपनि सबैजना धुमधाम सँग मनाउन आइहाल्छन्नी, यसमा कसैले रोकेर सकिन्छर ? बरु, कृपया, सरकार, प्रतिपक्ष, राजनीतिक दल, सरोकारवाला सबै मिलेर कर भन्दा पनि स्वस्फुर्त हुने वातावरण चाहिं बनाइदिनु पर्यो ।
