महाभारत र वर्तमान राजनीति
हे दैव, आफूलाई अनुकुल हुने पद सिर्जना गर्न यो नौटंकि किन होला ? जब तरुण दल बाट बिदा लिइन्छ भने रिटायरमेण्टको लागि किन अर्को भातृ संगठन, अब ढुक्कले माउ पार्टीकै राजनीतिमा छिरे हुँदैन ।

सबैलाई थाहा छ, महाभारत भनेको दुई भाइका सन्तान बीचको लँडाई हो । पहिले राजा थिए पाण्डव जसको मृत्यु पश्चात उनको स्थानमा उनका भाइ धृतराष्ट्र राजगद्दीमा बिराजमान भए । राजनीतिको नीति अनुसार उनको स्थानमा उनी पश्चात आफ्ना स्वर्गिय दाइका जेष्ठ पुत्र युधिष्ठिरलाई राजपाठ सहश्र हस्तान्तरण गरिदिने थियो । तर, पुत्र मोह अर्थात सन्तान मोहले उनलाई नराम्ररी गाँज्यो, शारीरिक रुपमा उनी दृष्टिविहीन थिए, मानसिक रुपमा पनि दृष्टिविहिन हुन पुगे । फलतः महाभारतको लँडाई भयो । जसले गर्दा श्रीकृष्णको उदय भयो । श्रीकृष्णले अर्जुनलाई लँडाईमा किन शत्रुपक्ष आफन्तलाई प्रहार गर्न हुँदैन ? भन्ने कुरा सम्झाउनको लागि दिएको प्रवचन नै अन्त्यमा अहिलेको प्रमुख (धार्मिक) ग्रन्थ गीताको रुपमा आयो ।
यदि धृतराष्ट्रले सहश्र रुपमा राज्य हस्तान्तरण गरिदिएको भए महाभारत भन्ने पुस्तक प्रकाशित हुने नै थिएन झन गीताको त कुरै भएन । फलस्वरुप आज पर्यन्त संस्कृत, नेपाली, हिन्दी, अँग्रेजी का साथ साथै अन्य धेरै भाषामा अनुवादित भएर महाभारत र गीताका लेखक वा अनुवादक, प्रकाशक, बिक्रेता ले अर्बौ रुपैयाँको कारोबार गरिसके । साथै यसमा आधारित फिल्म, टेलिफिल्म, नाटक, गितीनाटक, नाच गान समेतलाई जोड्ने हो भने त अरु अर्बौ रुपैयाँको कारोबार भइसकेको छ । जसले गर्दा द्धापर युगको उक्त घटनाले गर्दा कलियुगमा समेत धेरैको रोजीरोटि चलिरहेको छ । त्यसैले आजका मानिसहरूले धृतराष्ट्रलाई गाली गर्ने कि सम्मान ? प्रश्न बिचारणीय छ ।
माथी यती लामो विश्लेषण गरिसकेपछि अब हाम्रो देश तीर फर्कौं । त्रीहत्तर सालको चुनाव पछि नेपालमा देखिने गरी मुख्य दुई राजनीतिक शक्तिहरू सतहमा आएका छन्, नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस । अन्य पार्टीहरू त छन् तर ती छन् कि छैनन् जस्तै अवस्थामा छन् । यदि पहिले जस्तै त्रिशंकु संसदको स्थिती हुन्थ्यो भने त एक सिट जितेको पार्टीको नेतापनि प्रधानमन्त्रीको दाबेदार हुने स्थीति सम्ममा पुगिसक्थ्यो तर अवस्था त्यस्तो रहेन ।
के धृतराष्ट्रकै बाटोमा प्रमुख दलका नेताहरू लागेका हुन् त ? नेतृत्व भनेको अवश्य पनि चाँदिको प्लेटमा सजाएर दिइँदैन, प्रतिस्पर्धानै त्यसको मुख्य मापदण्ड हो । तर, प्रतिस्पर्धामै आउन नदिने वातावरण बनाएर प्रमुख दलका शीर्षनेताहरू किन आफू पछि आफ्नै विश्वासपात्र नेतालाई उक्त कुर्सिमा बिराजमान गराउन चाहन्छन् ?
नेपाली काँग्रेसका सभापती शेर वहादुर देउवाले आफ्नो इतीहास कालभरी गीरिजा प्रसाद कोइरालाको यस्तै प्रवृत्ती सँग लडेर आए, फलस्वरुप पार्टी समेत दुई चिरा पर्यो । फरि पार्टी एक भयो तर साठी र चालिसको भागबण्डा सहित । धेरैले सोचेका थिए शेरवहादुर सभापती भएपछि पार्टीमा गीरिजाप्रसादले बनाएका नकारात्मक कार्यविधीहरू धमाधम कम भएर वा हराएर जानेछन् । पार्टी अब पार्टी जस्तो देखिने छ । तर अहिले त स्थिती यस्तो सम्म भइरहेको छ, पार्टीको मेरुदण्डरुपी भातृसंगठनहरू कोमामा छन् । भातृसंगठनमा काम गर्छु भनेर रोईकराई गरिरहेका सयौंं हजारौं कार्यकर्ताले मूलढोकामा नाराबाजी गर्दा समेत बेवास्ता गर्नुले कस्तो संकेत गरेको होला ? राजनीतिक पार्टीको कुर्सि हस्तान्तरण भनेको संविधानले परिकल्पना गरेको तथा पार्टीको नीति नीयमले घोषणा गरेको अवधिमा गरिने महाधिवेशन नै हो । जहाँ आफू लगायत बिरोधीहरूको बीचमा स्वस्थ मतदान द्वारा आफ्नो पार्टीको नेता छानिनेछन् ।
ती नेताहरूको बीचमा मथिंगल खियाउने गरेर भावी नीति तथा कार्यक्रमको बीचमा वादविवाद गर्ने वातावरण बनाइदिने जसले गर्दा आगामी दिनमा बिरोधी पार्टीहरूको माझमा आफ्नो पार्टीलाई कसरी अगाडी लाने वा एक नम्बरको पार्टी बनाउने भन्ने वहश सार्वजनीक गराउनु पर्दथ्यो । तर, धृतराष्ट्र प्रवृत्ती किन मोह भइरहेको छ देउवामा बुझ्न कठिन छ । यहि वर्ष गर्नु पर्ने महाधिवेशन बिनाकारण एक वर्ष बढाईदिए । चार वर्ष भनेको चार वर्षमै गर्ने हो पाँचौ वर्षमा गर्ने वा एक वर्ष समयावधि बढाउने भनेको त कुनै संवैधानिक अवरोध वा प्राकृतिक अवरोध उत्पन्न भएको अवस्थामा मात्रै हो भन्ने प्रष्ट किटान भएकै छ, अहिले काँग्रेसमा त्यस्तो के अवरोध भयो र महाधिवेशन एक वर्ष पछाडी धकेलियो ? यसको उत्तर सरल छ, जसरी हुन्छ पार्टीको कुर्सि आफ्नै कोटको खल्तीमा राख्ने ।
यदि गीरिजाप्रसाद माथी साठी चालिसको भागबण्डा र महाधिवेशन लम्ब्याउने जस्ता कुराको बिरोध देउवाले गर्थे भने अब उप्रान्त उनको त्यो नैतिकता समाप्त हुने छ । भएको भातृसंगठन त गठन गर्न नसकिरहेको वा पूर्णता दिन नसकिरहेको अवस्थामा नयाँ नयाँ भातृसंगठनको परिकल्पना गरेर समय र शक्तिको क्षयीकरण गर्न उदृत भएको महशुस गराउँदै छन्।
नैन सिंह महरले चालिस र पचास वर्षको बीचको उमेरका काँग्रेस पार्टीमा लागेका कार्यकर्ताहरूको लागि युवा काँग्रेस गठनको माग गरेछन् । हे दैव, आफूलाई अनुकुल हुने पद सिर्जना गर्न यो नौटंकि किन होला ? जब तरुण दल बाट बिदा लिइन्छ भने रिटायरमेण्टको लागि किन अर्को भातृ संगठन, अब ढुक्कले माउ पार्टीकै राजनीतिमा छिरे हुँदैन । कती नयाँ नयाँ भातृ संगठन निर्माण गरेर कार्यकर्ता मात्रै उत्पादन गर्छौ ? त्यही व्यवसायिक सिप बिनाका कार्यकर्ता मात्रै उत्पादन गर्नाले पार्टीमा पूर्णकालिन राजनीतिक नेताहरुको हावीले गर्दा अहिले कुर्सिको यस्तो तानातान छ झन् सतहत्तर जिल्लामा यस्ता संगठनहरू बिस्तार गरेर अरू कती हजार बेरोजगार नेता चन्दाको भरमा पालिरहने शौक छाएको होला?
बरु सकिन्छ भने आफ्ना कार्यकर्तालाई गाउँमा गएर कृषि क्रान्ति गर्न प्रेरित गर्नु, शिक्षाको उज्यालो छर्न शिक्षालयहरू खोल्ने वातावरण बनाईदिनु, अन्य व्यवसायीक उद्योग, सेवा वा वाणिज्यको क्षेत्रमा हात हाल्न लगाउनु । त्यो पो देश विकासको लागि कोशेढुंगो हुन सक्छ । त्यसले पो जनताले मुल्यांकन गर्नेछन् फलानो पार्टी भनेको यस्तो यसले त देश विकासमा आफ्ना कार्यकर्तालाई यतातीर प्रेरित गरेका छन् भन्नेछन् । तर खै, नयाँ सोच केहि छैन, जसरी हुन्छ आफ्नो लागि पद सिर्जना गर्ने ।
यसको लागि रोचक मसला, नेपाल कम्युनिष्ट पार्टीमा उपाध्यक्ष भन्ने पद नै रहेनछ । नभएको पदमा नेता बामदेव गौतमलाई उपाध्यक्ष तोकिईदिइपनि सकेछन् । अब उनको (व्यक्तिको) लागि उक्त पार्टीले आफ्नो बिधान संशोधन गर्दै छ रे ।
यस्तो छ, देशमा भएका प्रमुख पार्टीहरूको हालत, यहाँ नीति, पद भन्ने कुरा व्यक्ति हेरेर श्रृजना गरिन्छ । नत्र शिवमाया तुम्बाहाम्फेलाई सभामुख पद दिन नेकपा माथी किन यती ठूलो सकस ? यदि उपसभामुखमा कुनै पुरुष, वा कुनै शक्तिशाली पुरुष नेताकी श्रीमती, हुन्थिन भने आँखा चिम्लेर कृष्ण वहादुर महरा जेल गएको भोलीपल्टै भावी सभामुख भनेर प्रचार गर्न हिंडिसक्थे । एउटी जनजाती महिला, जो राजनीतिमै लागेर आएकी हुन, जसले पिएचडी सम्म पढेकी छिन् र वर्तमानमा सभामुखकै काम गरेकी छिन् भने अब सभामुखको पदमा उनको योग्यतामा के पुगेन ? यो पनि पार्टी भित्रैको झगडा हो । बामदेवको लागि नभएको पद श्रृजना गर्न सक्नेले शिवमायाको लागि भएको पद पनि नदिने षडयन्त्र गरिँदैछ ।
त्यसैल जसरी महाभारत र गीताका पुस्तक आज पर्यन्त बिक्री भएर अर्बौंको कारोबार भइरहेको छ भने वर्तमान नेपालको राजनीतीमा पनि त्यही धृतराष्ट्रिय प्रवृत्तीले गर्दा यस्ता खुराकहरू अनलाईन, राष्ट्रिय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, युट्युव देखि सबैतीर हताहती बिकिरहेको छ । हामी जस्तो अक्षरको खेती गर्नेहरूको लागि त फाइदैको विषय हो । तर, देश हारेको, देशले पिडा पाएको, देश पछाडी धकेलिएको हेरिरहनु पर्दा पो दुःख लाग्छ ।
