काङ्ग्रेसको पुनरुत्थानका शूत्र

“उत्कृष्ट” भने पनि टिममा आउने तिनै त हुन, केसी, महत, सिँह, कोइरला, सिटौला, थापा, आचार्य आदि। ति मध्ये आधा-उधी कहिले कोइराला र कहिले देउवा क्याम्प चाहार्ने मान्छे नै हुन। क्याम्प फेर्नासाथ ति कसरी उत्कृष्ठ हुन्छन र पात झरेको बुढो काङ्ग्रेसी रुखमा पालुवा लगाउँछन?


कहिले काहीँ नसोचेका मान्छेले सही कुरा बोल्छन। आज प्रकाशमान सिंहले बोलेछनः ‘अब नेतृत्वको विकल्प दिन सक्नुपर्छ । त्यसका लागि उत्कृष्ट टिम तयार गरौं ।’  कुरा त ठिक गरे तर नियत भने उही। के कुरा गरे भन्दा किन गरे भन्ने कुराको विष्लेषण गर्यो भने कुनै काँग्रेसीको भित्री उत्साह नजाग्ने, हामी जस्ता बाहिरियाको त चासो समेत नजाग्ने।

हो, ७० वर्षे इतिहासमा सबै भन्दा नालायक नेतृत्वमा काँग्रेस चल्दैछ। प्रतिबन्धित हुँदा समेत “प्रनेका नेता फलाना”को गतिविधि समाचारको विषय वन्थ्यो, अहिले त्यो छैन। एकाध भक्तिमार्गीअनलाइनले त आफ्ना नेताको हरेक कृयाकलापको समाचार बनाउँछन नै तर न्यूज-भ्यालू बुझ्ने कुनै माध्यममा समाचार बन्न कुनै ठूलै नेताले आत्महत्या नै गर्नु पर्ने अवस्थामा छ अहिले काँग्रेस।

समग्रमा भन्दा प्रतिपक्ष बन्ने हैसियत समेत गुमाएको काँग्रेसले अव गुमाउन केही बाँकि छैन, केही राम्रा नेता  बाहेक।  अहिलेको तिनको आन्तरिक लोकतान्त्रिक अभ्यास हेर्दा त्यो दिन टाढा छैन। संस्थापन भनिने देउवा पक्षीय जमात र गैर-संस्थापन भनिने पौडेल-सिटौला जमात भित्रका बहसका विषय हेर्दा अवको एक वर्षमा काँग्रेसले केही नेता गुमाउने संकेत छ, तिनका लोकतन्त्रबाट वाक्क भएर । अर्थात तिनको सभापतिमा पुगेर रोकिने लोकतन्त्र देखेर। नेतृत्वमा प्रतिस्पर्धा गर्ने खाले नेताले बुझेको लोकतन्त्र त्यो सभापतिको कुर्सी कसरी हत्याउने भन्ने  सम्म छ तर त्यो कुर्सीमा पुगेपछि गर्ने भनेको देउवा-पथ वाहेक तिनको दिमागमा अरू केही छैन जस्तो लाग्छ, अहिलेका तिनका बहसका विषय र हर्कत देख्दा। 

सिंहकै भाषा एकछिनलाई सापटी लिऔँ । ‘अब नेतृत्वको विकल्प दिन सक्नुपर्छ । त्यसका लागि उत्कृष्ट टिम तयार गरौं ।’ पौडेल-सिटौला मोर्चाले पनि काङ्ग्रेस सुधारलाई नेतृत्व परिवर्तनको साँघुरो घेरा भित्रै राखेर हेरेको पाइन्छ। एक्लै सके पौडेलले देउवालाई प्रतिस्थापन गर्ने नसके एउटा समूह बनाएर सामुहिक शक्ति मार्फत देउवाको ठाउँमा पौडेल आउने।  “उत्कृष्ट” भने पनि टिममा आउने तिनै त हुन, केसी, महत, सिँह, कोइरला, सिटौला, थापा, आचार्य आदि। ति मध्ये आधा-उधी कहिले कोइराला र कहिले देउवा क्याम्प चाहार्ने मान्छे नै हुन। क्याम्प फेर्नासाथ ति कसरी उत्कृष्ठ हुन्छन र पात झरेको बुढो काङ्ग्रेसी रुखमा पालुवा लगाउँछन?

पौडेल-सिटौला क्याम्पले गर्नु पर्ने काम भनेको वैचारिक बहसको पुनरुत्थान थियो। काँग्रेसले कसरी जनमत मात्रै होइन जन-अभिमत समेतको नेतृत्व गर्ने हैसियत गुमायो भन्ने बिन्दुबाट काँग्रेस सुधारको बहसको शुरुवात गर्नु पर्थ्यो।  सङ्ग-सङ्गै नेकपाको सरकार बनेपछि स्थापित पद्दतिलाई ध्वस्त पार्न र राज्यको सम्पत्ति योजनाबद्ध रुपमा पार्टी-कोषमा सार्न भए-गरेका कामको स-प्रमाण फेहरिस्त तयार गरेर आगामी चुनावको तयारी थाल्नु पर्थ्यो।  एउटा पङ्गु दल प्रतिपक्षमा हुँदा देशले कसरी पद्दति, नियम-कानूनको शासन छोडेर दलीय मात्रै होइन त्यस भित्रका दुई जनाको हुकुमको शासन  पायो भन्ने प्रमाण बजारभर छन तर प्रतिपक्ष बोल्न सक्दैन। बोल्न नसक्नुको कारण उसको आफ्नै कमजोर नैतिक धरातल हो। जस-जसलाई एक-ठाऊँ राखेर देउवा बिरुद्ध मोर्चाबन्दीको वारे बहस हुँदैछ तिनको नैतिक धरातल देउवाको भन्दा केही मात्र बलियो होला, उल्लेख्य रुपमा बलियो छैन।

मोर्चाबन्दीबाट सिर्जित गूट काङ्ग्रेसको नेतृत्व हुन नसक्ने दल निर्माणको प्रकृत्ति पनि हो जुन कम्युनिष्ट पार्टीको भन्दा उल्टो छ। कम्युनिष्ट पार्टीमा कार्यकर्ताले सक्दो लेबी र अन्य आर्थिक स्रोत दललाई उपलब्ध गराएका छन र दलले त्यसको सोधभर्ना राज्यको ढुकुटीबाट गरेको छ बिभिन्न बहानामा। र काङ्रेसमा कसैले कसैलाई नेता मान्दिए बापत पालन-पोषण खोजिन्छ। अर्थात नेताको काम भनेको जसरी भए पनि कार्यकर्ता पाल्नु  बुझिन्छ। यूपी र विहारका भूमिपतिहरूसङ्ग चालम र दाल मागेर बीपीले बनारसमा कार्यकर्ता पालेको होस वा दरवार र प्लेन बेचेर सुवर्ण सम्शेरले कलकत्तामा कार्यकर्ता पालेको उदाहरण लिनूस, तिनैले काङ्ग्रेस भित्रको आर्थिक सम्बन्धलाई परिभाषित गरेको छ। ६०/४०को रेसियोलाई उल्टाएर देउवाले ४०/६० बनाउन सफल हुनुका पछाडि त्यही कार्यकर्ता संरक्षण, पालन-पोषणको संस्कारलाई दिइएको निरन्तरता हो भन्ने बुझ्नु पर्छ। यो मामलामा पौडेल-सिटौला-सिंह पछाडि नै हुन्छन, जति प्रयास गरे पनि। 

त्यसैले काँग्रेस सुधार्ने भए नेताले संस्कार सुधारको बहस थाल्नु पर्छ। त्यो बहस छेड्नु अघि उनीहरू प्रष्ट हुनु पर्छ काँग्रेस गूट हो कि दल हो कि समग्र एउटा आन्दोलन हो। काँग्रेस गूट हो भन्ने बुझ्छन भने गूटको संरक्षण, पालन-पोषणमा ध्यान दिने हो, काँग्रेस पार्टी हो भन्ने हो समग्र काँग्रेसी कार्यकर्तामा उर्ज्जा भर्ने हो । वर्तमान नेतृत्वका कुन कुन गल्तिले के के भयो र तिनलाई सुधार गर्न के कस्तो रणनीति छ प्रष्ट पार्न सक्नु पर्छ।

होइन काँग्रेस एउटा  आन्दोलन हो भने तिनको क्षितिज “काँग्रेस”को साँघुरो घेरा बाहिर पुग्नु पर्छ । देशमा कम्युनिष्टहरूको दुई-तिहाइ नजीकको बहुमत भए पनि कम्युनिष्ट पार्टीकै कार्यकर्ता समेत प्रसस्त स्वतन्त्रताको अनुभूति गरेर आएका छन, आफ्ना सोचाईलाई लोकतान्त्रिक बनाएर आएका छन, विचारको वहुलतालाई आत्मै देखि स्विकारेर आएका छन।  वैयक्तिक स्वतन्त्रतालाई आफ्नो व्यक्तित्व विकासको सर्वोपरि सर्त मानिसकेका ति कार्यकर्ता देखि विचार र अभिव्यक्तिको स्वतन्त्रलाई दिलै देखि सम्मान गर्ने बौद्धिक वर्ग, पेशाकर्मी र आम जनता अहिलेको सरकारका वेला-बखत देखिने नियतबाट सन्तुष्ट छैनन। सरकारले वैयक्तिक स्वतन्त्रता हनन गर्न कहिले ढोका र कहिले जस्केलाबाट ल्याएका अनगिन्ती कानूनबाट तिनले सरकारी नियत देखि सकेका छन र ति स्वतन्त्रता रक्षा गर्न सक्ने कुनै सामुहिक अभियानको अपेक्षा गरेका छन। त्यो नेविसङ्घ र तरूण दलले गर्ने सडकी आन्दोलन भन्दा बिल्कूल फरक भएकाले काङ्ग्रेसी युवा जमातको पछाडि हिँड्न ति चाहँदैनन ।

ति सबैको नेतृत्व गर्न अहिलेको काङ्ग्रेसले सक्दैन, त्यो साश्वत सत्य हो। यती बुझेपछि नेतृत्व होइन सहकार्यको हात बढाउने नेतृत्व काङ्ग्रेसले पाउनु पर्छ । चढ्दै-झर्दै गरेर भए पनि २०-२५ वर्ष सत्ताका वरिपरि घुमेका नेतामा भएको श्रेष्ठताभासले काङ्रेसलाई त्यो सहकार्य गर्ने हैसियतमा पुर्याउन सक्दैन।

अहिले मौका छ काङ्ग्रेसको आफूलाई सिनियर भन्ने पूरै पुस्ता पछाडि बसेर तुलात्मक रुपमा कम उमेरका युवाहरूलाई अघि बढाएर काङ्ग्रेसलाई कम्तिमा एक कार्यकालका लागि सामुहिक नेतृत्वमा अघि बढाउने।  सामुहिक नेतृत्व कुनै प्रेसिडियमको मोडल हुन सक्छ जहाँ बौद्धिक, सङ्गठनकर्ता, आर्थिक स्रोत परिचालन कर्ता, विचार-प्रवाहकर्ता र जनताको तल्लो भन्दा तल्लो तहमा पुग्न समेत “हैसियत” बाधक नहुने खाले युवाहरू सामेल हुन्छन र आफ्नो दक्षता र क्षमताको क्षेत्रमा नेतृत्वमा रही काम गर्छन। देउवा, पौडेल, सिँह, महत, केसी सिटौलाकै संरक्षकत्वमा  एक कार्यकालको सफल परीक्षण पछि उनीहरू नेताको रुपमा आउँछन ।  श्रेष्ठताभासको मनोवैज्ञानिक समस्या नहुने हुँदा उनीहरू यो कार्यकालमा  समाजमा छरिएर रहेका सवै लोकतान्त्रिक विचारका व्यक्तिका वीचमा पुगेर काङ्ग्रेसलाई एउटा आन्दोलनको रुपमा जिवन्तता दिने छन।

गूटका आधारमा बन्ने चुनावी मोर्चा मुतको न्यानो होला, कुनै गूटले चुनाव जित्ला तर अर्को कार्यकाल अहिले देउवाको जसरी बित्यो त्यसरीनै विताउन त्यहाँ जाने हो। अव ६ वर्ष पछि राजनीतिक रुपमा सकृय हुने युवा पङ्ति भनेको बीपी, एकमुट्ठी माटो, दुहुनो गाई जस्ता कुनै काङ्ग्रेसी शब्द नसुनेको र भित्तामा झुसिला दाह्री पालेका कुनै बुढाहरूका फोटा नदेखेको अलग्गै खालको हुनेछ जसको कल्पना देउवा र पौडेलका दिमागको कुनै कुनामा अहिले सम्म छिरिसकेको छैन।