दुई जिव्रे प्रचण्ड र विरोधाभाषपूर्ण जीवन शैली

चोट पर्दा, हात्ती मुसा र कमिलाले फरक फरक अनुभूति गर्दैनन् त्यस्तै आफ्नो छोरा काल गतिले मर्नुमा तपाईहरुको पिडा र अनाहकमा जवान छोरा तपाईको बन्दुकको कारण नन्दप्रसाद र गंगा मायाले गुमाउनुको संवेदेना कुन चै घटी बढी होला र ? तपाईलाई चोट पर्दा जति दुख्छ त्यति नै दुख १७ हजार नेपालीले भोगेका छन्, बहुलाएका छन् बिक्षप्त भएका छन्, यो धर्तीमा बाच्ने अधिकार उनीहरुको पनि उतिनै थियो जति तपाईको छ ?

सधै चर्चा आलोचन, विवाद र मिडियाका बिकाउ खजना प्रचण्ड गत बुधबार पनि आदिवासी जनजाती थारुहरुले आयोजना गरेको माघी पर्वमा टुँडिखेलमा पाँच हजार मान्छे मारेको साबिती दिएर पुन चर्चामा छन् । जनयुद्दको क्रममा मारिएका झन्डै १७ हजार मान्छेको हत्या आरोप प्रचन्डमाथि लाग्दै आएको छ तर उनले आफ्नो र आफ्ना सेनाको तर्फबाट मारिएका पाँच हजार मान्छेको मात्रै जिम्मा आफूले लिने र अरु १२ हजार राजा महाराजाले जिम्मा लिनुपर्ने जिकिर गरे । शुभकामना आदानप्रदानको कार्यक्रमका प्रमुख अतिथि प्रचण्डलाई तमाम बक्ताहरुले १७ हजार मान्छे मारेको हत्याको दोष उनकै अघिल्तिर लगाए । राजनीतिमा आज देखिएको परिणामको मात्रै कुरा हुन्न परिणाम आउनुको कारण र अन्तर्यको पनि विवेचना हुन्छ । अत जनयुद्दको क्रममा मारिएका मान्छेहरुको कारण प्रचण्ड नेतृत्वको जनयुद्द हो । एक जना मान्छे मारे बराबर त अवस्था हेरेर आजन्म कैदको व्यवस्था छ भने पाँच हजार जनाको कत्लेआम गर्नेलाई कति सजाय चाहिन्छ त्यो हिसाब गर्न क्यालकुलेटर आवश्यक पर्छ । प्रचण्डले आफूमाथि बर्सिएको आरोपको खण्डन गर्ने क्रममा पाँच हजार मान्छे मारेको स्वीकारोक्ति दिएका थिए ।
प्रचण्ड यस्ता प्रवृति र पात्र हुन उनी जहाँ छन जस्तो ठाउँ र परिवेशमा छन त्यस्तै रंग बदल्न सिपालु छन् । आफ्ना नेता तथा सांसद रेशम चौधरीलाई टिकापुर हत्याकाण्ड लगाएर जेलमा कोचेको आक्रोसपूर्ण अभिव्यक्ति खेपेका प्रचण्डले आफू रेसमको पक्षमा रहेको र सर्वप्रथम भारत भ्रमणमा जाँदा भेटेर उनको कुरा सुन्ने व्यक्ति भएको दावा गरे त्यति मात्रै भनेनन सपथ खुवाएर माननीयको दर्जा दिएको र जेलमा समेत भेट्न पुगेको र अब छिटै रिहाई हुने वचन समेत व्यक्त गरे । अदालती प्रोसेसमा रहेको मुद्दामा अभिव्यक्ति दिनु कति उचित अनुचित प्रचण्डले हेक्का राखेनन् । विगत थारुहरुको विस्मृतिमा पक्कै नहोला । भारत भ्रमण जाँदा हत्या आरोपी रेसमलाई भेटेको’bout तत्कालिन प्रतिपक्षी दलका नेताले संसदमा प्रधानमन्त्री प्रचण्डको कटु आलोचना गरेका थिए उक्त आलोचनाको जबाफ दिने क्रममा प्रचण्डले भनेका थिए भेट पूर्वयोजना र नियतवस भेट गरिएको होइन । ताज होटेलको त्यो संयोगको भेट आज प्रचण्ड आफ्नो सदासयताको कारण भएको र रेसमको ’boutमा चिन्ता लिएको सफेद झुठ बोल्छन । उनको कुन कुरा पत्याउने ? प्रचण्ड रंग फेर्न छेपारोलाई समेत बिर्साउने क्षमता राख्छन तर त्यो क्षणिक भ्रम र तत्काल उम्कने चाल र छल मात्र भएको कुरा नबुझ्ने को होला र ?
प्रचण्ड जुन जुन मुद्दा र विषय लिएर राजनीतिमा उदाए राजा बहिर्गमनको मुद्दा बाहेक अरु सबाल र मुद्दा छोडेर उनी संकटग्रस्त राजनीतिको दलदलमा छन । नेकापसँग माओवादी केन्द्रको विलय नभएको भए प्रचण्डको राजनीतिक हैसियत उपेन्द्र यादवको प्रतिस्पर्धी मात्रै हुन्थ्यो । जनयुद्दकै क्रममा राजासँग पनि सम्झौताको नीति तय गरिसकेका थिए । यदि कम्बोडियाका राजा नरोदम सिंहानुक बन्ने भए राजतन्त्र उन्मुलनको नीतिबाट माओवादी पछि हट्ने संकेत बाबुराम मार्फत ओल्कन लगाएका थिए तर सौभाग्य भनौ गणतन्त्र स्थापनाको जस यिनको भाग्यमा पनि पर्नु थियो गिरिजाप्रसाद ज्ञानेन्द्रसँग क्रुद्द बन्ने परिस्थीति राजतन्त्र बिदावारिको अर्को कारण र परिणति बनेर आयो । गणतन्त्र स्थगन प्रचण्डको अर्को सैद्दान्तिक महाभूल टरेर गयो ।
धोका विश्वासघात र अविश्वासको शृंखलाबद्ध यात्राबाट नै प्रचण्ड आज यहाँसम्म आइपुगेका हुन् । फकाउन, चिप्ल्याउन खप्पिस छन् प्रचण्ड । युज एंड थ्रो प्रचन्डको सबैले प्रत्यक्ष देखेको र अनुभूत गरेको कार्यशैली हो । रास्ट्रपतिको जेन्टलमेन अग्रिमेंट गिरिजाप्रसादलाई प्रचण्डले थाङ्गनाम सुताएको पहिलो उदाहरण र धोका थियो शान्ति यात्रा आगमन पछिको । आजको आलेखको प्रचण्ड सिंहावलोकन पनि २०६२/०६३ पछिको राजनीतिक र कार्यनीतिक वैयक्तिक आलोकमा गरिएको छ । यिनको पहिलो झुठ थियो हामी प्रचन्ड, बाबुराम, बैद्य लगायत टप लिडर सत्तामा जाँदैनौ जसलाई भूमिगत जीवनबाट बाहिर आउदै गर्दा प्रचण्ड बाबुरामले कान्तिपुरको अन्तर्वार्तामा भनेका थिए तर उलंघन गरे । प्रचण्ड दुई पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन भैसके अझै पनि कुर्सी प्राप्तिलाई सत्ताको चारधाम सम्झेर प्रदक्षिणा गरिरहेछन ।
प्रचण्ड डबल स्ट्याण्डर्ड तय गरेर स्वार्थ सिद्दगर्न सिद्धहस्त छन् । विचलन र पलायनलाई सैद्दान्तिक जलप लगाएर समयको माग र बस्तुगत विश्लेषणका आधारमा संश्लेषण गरिएको कदम र मार्गको आवरणमा झुट, बेइमान र भ्रमको पर्दा हाल्न लेस मात्रै पनि संकोच मान्दैनन् । रणनीतिक कौशल र क्रान्तिकारी छलांगको झिल्के जामा तत्काल लगाएर निस्कन्छन । मोहन बैद्य, बाबुराम, सिपि गजुरेल, नेत्र बिक्रम चन्द विप्लव जस्ता माओवादी आन्दोलनका हस्तीहरु सधै संगै राख्न नसक्नुले प्रचण्डआफ्नै भित्र पनि विश्वासिला नेता होइनन् भनेर बुझिन्छ । शान्ति प्रक्रियाको बलियो र भरपर्दो सारथी कांग्रेसलाई २०६४ पछि किनारमा धकेलेर एमाले र मधेसवादी दलको संनीकट पुगेको घटना प्रचण्ड अविश्वसनीय खेलाडीको रुपमा चित्रित गर्न मिल्ने प्रमाण हो ।
राजनीतिमा चर्कोसँग जातीय क्षेत्रीय अनि नश्लीय मुद्दा बोक्ने, उक्साउने अनि क्रमश सबै मुद्दा थाती राखेर आज पहिचान र क्षेत्रीयता भुलेर तीन नम्बर प्रदेसको राजधानी हेटौंडा र नामाकरण बागमती गर्ने निरङ्कुश चरित्रको प्रदर्शन र विचलनको अगुवा मलामी आफै बने । मधेसवादी दलसंग उपयोगिताको राजनीति गरे अब मधेसबादीहरु पनि प्रचन्डसँग भरोसा राख्दैनन् । प्रचन्डले सबैलाई आफ्नो उपयोगको नीति रहुन्जेल पालै पालो बोके । दलित , मुश्लिम जनजातीलाई जात बमोजिम राज्य दिने घोषणा अब अवसानमा पुगेको कुरा प्रचण्ड कर्मले पुस्टि गरिसक्यो पुनर्पुष्टिका लागि बाँकी प्रदेशको नामकरण र राजधानीको घोषणा हेर्न बाँकी छ । केपी ओलीलाई असाध्यै घृणा गर्ने र भारतीय दलाल, फासिस्ट शासक देख्ने प्रचण्डको आँखाको फुलो पार्टी एकता गर्दै गर्दा हट्यो र एकाएक दृष्टि सफा भयो ।
छापामार शैलीमा प्रचन्डले शेरबहादुरसँग मिलेर ल्याएको अविश्वास प्रस्ताब अनि के पी सत्ताच्युत गर्ने निर्णय र स्थानीय चुनावमा कांग्रेससँग हातेमालो गर्ने माओवादी केन्द्र अचानक एमालेसँग पार्टी एकीकरण गर्ने अवस्था सम्म पुग्दाको अस्थिरता देख्दा प्रचण्डको सकस अनि अहिले कार्यकारी अध्यक्ष हत्याउदा सम्म संसय, आशंका र ब्ल्याकमेलिङको कथा रोचक नै देखिन्छ । एकता र कटुता, मिलन र बिछोड केटाकेटी खेल झैँ प्रतित हुन्छ । लोकमानसिंह कार्कीलाई इमान्दार देख्ने र अख्तियार प्रमुखको साँचो थमाउने । गाउँगाउँबाट उठ बस्ति बस्तिबाट उठ भन्ने गीतमा कहिल्यै कम्मर नभाँच्ने प्रचण्ड कि लाउ माया मै तिर, कि लाउ उही तिर भन्ने पूंजीवादी गीतमा रेखासँग बबाल नाच्ने प्रचण्ड बालक आदित्यको चमत्कारिक शक्तिले धार्मिक अनुष्ठानका नायक बनेर पुग्छन ।
उत्पीडित क्षेत्र जाती र जनजातीको जातीय मुक्ति र आरक्षणको नारा उराल्ने प्रचण्ड क्षेत्री ब्राम्हण समुदाय पनि आफ्नो लागि आरक्षणको कोटा माग्न जाँदा सैद्दान्तिक सहमति जनाउदै कुम हल्लाउदा अरु जातजातिसँगको सम्झौता र वचन भुल्छन । प्रचन्ड जता गयो उतैको, जो भेट्यो उसैको हुने छद्मभेषी नेता हुन । सबैको बन्ने स्वभावले यिनी कसैका पनि हुन सकेका छैनन् । गरिबका कुरा गर्छन् तर धनीका बंगलामा बस्छन, झुपडीको दर्शन बोक्छन पार्टीको दस्तावेज लेख्न रिसोर्ट चाहर्छंन । कुटनीतिक रुपमा पनि एक अर्को कार्ड प्रयोग गरेको कारण दुई ठूला छिमेकीसँगको सम्बन्ध जहाँ र जुन हाइटमा पुग्नुपर्ने र जति सहज हुनुपर्ने र विश्वासको लेवल हासिल गर्नुप्रने हो त्यहाँ पुगेको देखिदैन ।
प्रचण्ड जे देखिन्छन त्यो होइनन जे छन् त्यो अभिनय मात्रै जस्तो लाग्छ । परस्परमा दुश्मनी, शंका, अविश्वास, दोस्ती र दुर्नियत आरोह र अबरोह पागल घोषणा देखि अंकमाल सम्म प्रचण्ड अस्थिर र असन्तुलित बनेका तथ्यहरु हुन । आफू माओबादी सिद्दान्तको जडसूत्रवादी ठेकेदार नभएकोले परिवर्तनशील र ऐतिहासिक आवश्यकता अनि समयको मागलाई सम्बोधन गर्ने ल्याकत भएको डाइनामिक लिडरको उपमाले अस्थिरताको आरोप बचाउको अस्त्र बोल्छन । प्रचण्ड कति अस्थिर र विरोधाभाषपूर्ण जिन्दगीमा छन् भन्ने कुरा बुझ्न उनका वैयक्तिक अभ्यास र शैलीलाई हेर्नु बान्छनीय हुन्छ । ईश्वरको सपथ नखाने प्रचन्ड पहिलो पटक प्रधानमन्त्री भएकै बखत भैसी पूजा गर्न २०६४मा हतारिएर चतरा पुगे । स्मरण रहोस उनलाई भैसी पूजा गराएर लोक हसाउने बाबा हाल बलात्कारको अभियोगमा पुर्पक्ष गरिरहेका सिद्दबाबाको नामले चिनिने कृष्ण गिरी हुन ।
२०७५ जेठमा आफ्नो पूर्वजको थलो भन्दै काब्रेको नाला पुगेर कुलपूजामा सरिक बन्दा गर्वनुभुतिको बर्णन सुनाए । यावत घटना र शृंखलाको आधारमा प्रचण्डको व्यक्तिगत जीवन र राजनीतिक जीवनमा वैचारिक स्खलन र सांस्कृतिक रुपान्तरणका थुप्रै घटना र परिबन्दहरु सिर्जना भएका छन् । प्रचण्डको वैचारिक स्खलनको ताजा नमुना हो श्रीमती सीतालाई उपचारको बहानामा रामदेव बाबाको शरणमा पठाएर गौपुजा र गौसेवामा लगाउनु । त्यस्तै अर्को दृस्टान्त हो गत बैशाख १०, २०७५ मा आफ्नो पचासौ बैबाहिक वर्ष गांठमा परम्परागत बिबाह गरेर भव्य भोज आयोजना । जनवादी बिहे गर्नु पर्छ भन्ने प्रचन्ड आदर्श कुन दुलोमा विश्राम गर्न पुग्यो आम नेकपा कार्यकर्ताले गर्नुपर्ने प्रश्न हो । प्रचण्ड तिनै मान्छे हुन जसले मुर्तिपूजाको बिरोध गरे, मन्दिरका पुजारीको टुपी काटिदिने, जनै चुँडाइ दिने, देवता छैनन धर्म संस्कृति भनेको पाखण्ड हो, संस्कृत शिक्षा सामन्तवादी व्यवस्थाको वैचारिक शोषणको बलियो हतियार हो जसलाई बहिस्कार गर्नुपर्छ, समुल नस्ट पार्नुपर्छ भनियो र संस्कृत पढ़ाइ हुने लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई रूखमा बाँधेर विभत्स मृत्यु रोजाइयो ।
बिबाह सामान्य जनवादी गर्न उक्साइयो । मृत्युकर्मलाई हिन्दुधर्मको ढोंग भनियो । कतिपयलाई तत्कालिन अवस्थामा कृयाकर्म गर्न रोक लगाइयो । बाबुआमाका कृया गर्न बसेका छोराछोरीलाई कृयास्थल बाट उठाएर लगियो र निर्मम ढंगले मारियो । प्रचण्ड आफैले बा आमाको कृया गरेनन तर समयको फैसला संधै कहाँ एकनास हुँदोरहेछ र ? प्रचण्ड आफ्ना बाबुको मृत्युहुदा सुटमा ठाटिएर लेदरको जुत्ता लगाएर क्रान्तिकारी दागबत्ती दिने प्रचण्ड छोरी ज्ञानुको मृत्युहुदा सामान्य पहिरनमा आर्यघाट पुगेर सार्वजनिक रुपमा आँशु खसाले । आफ्ना सन्तानको माया कसलाई हुदैन र प्रचण्ड पनि यही धर्तीका अरु जस्तै शारीरिक अवयव भएका मानिस हुन् उनीसँग पनि आँशु, हाँसो, सुख ,दुख छ, मानवीय संवेदना छ तसर्थ अरुलाई झैँ उनलाई पनि दुख्ने पोल्ने हुन्छ नै ।
देश र आफ्नो भूगोलको सांस्कृतिक चेतना, परम्पराको अटुट शृंखला र धार्मिक आध्यात्मिक भावना एकाएक कहाँ हराउछ जुन मान्छेको रगतको कण कणमा बगेको हुन्छ जसलाई मेटाउन हटाउन सजिलै सकिन्न जुन कुराको अप्ठ्यारो सिद्दान्तमा जे भने पनि प्रचन्डलाई गहिरोसँग परेको कुरा उनका गतिबिधि र परिवर्तनले संकेत गरेका छन् । आफूलाई दुख पर्दा मान्छेले पुकार्ने पहिलो नाम आमा र भगवान हो । हामी पूर्वीय दर्शन, शिक्षा, धर्म संस्कृति र सभ्यताबाट दीक्षित र अनुप्राणित नेपाली हौ । आफ्नो संस्कृति धर्मप्रति यदाकदा विचलित बने पनि त्यसलाई चटक्क छोड्ने हामीसँग नैतिक तागत र साहस छैन यत्र तत्र सर्वत्र हामी धार्मिक प्रवृति र अनुस्ठानबाट बाधिएका छौ । जहाँ जाउँ, जसो गरौ हाम्रो ब्यबहार, जीवन शैली, पद्दति आचरण र ब्यबहारमा धर्म संस्कृतिको गहिरो प्रभाव र अमिट छाप छ जुन विगतको निरन्तरता हो । एकाध अपवाद बाहेक सांस्कृतिक र धार्मिक ,जीवन शैलीमा बाँच्ने अभ्यस्तता आज पनि उही छ जसलाई आजको भोलि बदल्ने चेस्टा समाजविज्ञानको गतिको नियम बिपरित हुन्छ ।
हामीले राजनीतिक परिवर्तनको खातिर राजा फाल्यौ तर हाम्रो सांस्कृतिक परम्परा र शैलीमा आज पनि राजाको स्थानलाई नकार्न र त्याग्न सकेका छैनौ । हामी हर ब्यबहारमा हर जिन्दगीमा सांस्कृतिक निरन्तरताको पक्षमा चाहेर नचाहेर बाधिएका छौ जसको पछिल्लो प्रमाण प्रचण्डको विबाह अनि त्यसको सामजिक र मनोवैज्ञानिक अध्ययन हो । सामाजिक र ब्यबहारिक अनि पारिवारिक कारणले हाम्रा आस्था र विश्वास कति छिटो गर्ल्याम गुर्लुम ढल्छन भन्ने कुराको लागि अरु प्रमाण र तथ्य खोतल्नु जरुरि छैन प्रचण्डमा आएको विचलन हेर्दा पुग्छ । व्यक्तिको मनोविज्ञान समाजको मनोविज्ञानसँग कसरी जेलिएको हुन्छ ?
मान्छे आफूलाई नपरी चेत्दैन भन्ने ताजा उदाहरण हुन प्रचण्ड । आफ्नो बाबुको मृत्यु, छोरीको मृत्यु अनि एक मात्र जवान छोराको मृत्युले प्रचन्डमा जुन बदलाव आयो त्यो हाम्रो धार्मिक सांस्कृतिक मनोविज्ञानको प्रभाव हो । पिताको देहावसान देखि छोरीको महाप्रस्थान अनि अकल्पनीय रुपमा छोराको देहान्तले प्रचण्ड अति कमजोर मनोविज्ञानमा छन त्यसैले उनले बिगतका आफन्तको मृत्यु वियोग भन्दा फरक रुपमा आफुलाई प्रस्तुत गरे । छोराको दागबत्ती दिदा कट्टर हिन्दुधर्मका अनुयायी झैँ प्रस्तुत भए भलै उनले १३ दिने कृयाकर्म गरेंनन तर एक भौतिकवादी चिन्तक धार्मिक अस्थातिर बिस्तारै झुक्दै र गल्दै गए , घिसरिदै गए निहु र बहाना जे सुकै होस् ।
यिनको यो स्वीकारोक्ति सांस्कृतिक सामाजिकीकरणको अभिव्यक्ति हो तसर्थ समाज र संस्कृति अनि धार्मिक रुढता एक व्यक्तिले एक चुड्का बजाएको भरमा परिवर्तन हुन कठिन हुन्छ । हिन्दु धर्म र संस्कृति अनि परम्परा सबै एकै होइन् र समग्रमा एकै भनेर बुझिन्छ त्यो बुझाई परिवर्तन गरि यहाँ भित्रका अवैज्ञानिक परम्परा र चलनलाई छोड्नु , परिमार्जन गर्नु र परिस्कृत रुप दिनु आजको टडकारो खाँचो हो , तर विल्कुल निषेध र प्रतिसोध गरेर यसमा परिवर्तन खोज्नु मुर्खता हो ।
यसर्थ प्रचण्ड अब धर्मलाई पाखण्ड र अफिम भन्ने स्थितिमा छैनन् । सामाजिक भएर सोच्नु बुझ्नु र ब्यबहार गर्नु आजको प्रचण्ड मनोदशा हो । आत्मिक चैन र शान्ति बिनाको जीवन कसैलाई मन पर्दैन र प्रिय हुदैन अशान्तमनले सधै दुविधाग्रस्त र शंकालु बनाउछ । राजनीतिका धुरन्धर विद्वानहरु भन्छन यदि हाम्रो पूर्वीय धर्म संस्कृति वेद, पुराण, उपनिषद र महाभारतको यथेस्ट अध्ययन मार्क्सले गरेको भए धर्मलाई अफिम भन्दैन थिए होला । पश्चिमा धर्म संस्कृति र धार्मिक पुस्तक पढेका भरमा मात्र मार्क्स धर्मलाई अफिम भन्ने निष्कर्षमा पुगे यो तर पूर्वीय दर्शन बेद बेदान्तको अध्ययनको समय उनलाई मिलेन यदि मिल्थ्यो भने धर्म र संस्कृतिलाई हेर्ने मार्क्सको दृष्टिकोण विल्कुल फरक हुन्थ्यो होला ।
पारिवारिक शोक सन्ताप रश्रीमती सीताको असाध्यै रोग बिमारको कारण प्रचण्ड यतिबेला होम, जप यज्ञ यज्ञादी सम्म गर्ने स्थितिमा आइपुगेका छन् । दौरा सुरुवाल लगाएर धोती पाटा फेरेर बस्न बाहेक हिन्दु धर्माका अनुयायीले जे गरेका छन ती सबै कर्म प्रचण्डले पुरा गरिसकेका हुनाले उनी पूर्णतया विचलनमा पुगेका विक्षिप्त मनस्थितिमा रहेका पारिवारिक शान्ति खलबलिएका शोक र संतापाले प्रताडित नेपाली राजनीतिका दुर्भाग्यपूर्ण जीवन बाँचेका एक आम मान्छे हुन् । यिनलाई पनि शान्ति र अमन चैन चाहिन्छ ।
अनुभूतिको तहमा गहिरिएर प्रचण्डले बुझ्नु पर्ने बुझाउनुपर्ने तथ्य र सत्य के हो भने प्रचण्डको जस्तो मुटु छ त्यस्तै मुटु प्रचण्डको जनयुद्दको कारण सब घर परिवार गुमाएका, विचल्लीमा परेका श्रीसम्पति हरण गरिएका, अनाहकमा मारिएका नागरिक, बेपत्ता, अंगभंग भएका तिनका छोराछोरी र बाबुआमा सबैको पनि छ । तिनका पनि दुखका महासागर छन्, अप्ठ्यारो र दुरावस्थाका दुर्दान्त दिनहरु छन् । गंगामाया अधिकारीले आफ्नो छोरा मार्नेलाई सजाय देउ भन्दा भोकै बसेको पति गुमाउनु पर्यो प्रचण्ड कमरेड तपाइले बिबाहको पचासौ वर्ष गांठ मनाउदा भोकै मरेका श्रीमानको अन्त्यस्टि गंगामायाको धार्मिक परम्परा भुल्नु हुदैनथ्यो । आफ्नो मृत पतिको अन्तिम बिदाइको परम्परागत हक गंगामायाबाट खोसिनुको मानवीय संवेदना सबैको हकमा बराबर हो , पद ,प्रतिष्ठा इज्जत र रबाफमा निर्धारित हुने कुरा होइन ।
चोट पर्दा, हात्ती मुसा र कमिलाले फरक फरक अनुभूति गर्दैनन् त्यस्तै आफ्नो छोरा काल गतिले मर्नुमा तपाईहरुको पिडा र अनाहकमा जवान छोरा तपाईको बन्दुकको कारण नन्दप्रसाद र गंगा मायाले गुमाउनुको संवेदेना कुन चै घटी बढी होला र ? तपाईलाई चोट पर्दा जति दुख्छ त्यति नै दुख १७ हजार नेपालीले भोगेका छन्, बहुलाएका छन् बिक्षप्त भएका छन्, यो धर्तीमा बाच्ने अधिकार उनीहरुको पनि उतिनै थियो जति तपाईको छ ? त्यसैले प्रचण्ड कमरेड अब नहुनु भै सके आत्माबोध गरेर पछुताउनुको विकल्प छैन अब जे गरे जसो गरे पनि मरे, मारेको ज्यान फर्कदैन त्यसैले क्षमायाचनाको लागि अब कहिल्यै एक नेपालीले अर्को नेपाली नमार्ने कसम खाएर आत्मिक आनन्द र शान्तिको लागि राजनीति छोडेर आध्यात्मिक शान्ति, भाइचारा, पारस्परिक मेल, सहअस्तित्व र मर्यादाको खातिर बोल्नुस, लेख्नुस अनुभव आदानप्रदान गर्नुस देसको अभिभावक बन्नुस । तपाई लाई शान्ति मिलोस ।
