रुखसँग क्षमाशील हुने हृदय मान्छे काटदा गर्वले छाती ठोक्ने भयो ।

समयको बिरोधाभाष यस्तो पनि छ । प्रियजन मरेको दिन दियो वालेर दुःखी । प्रियजनको जन्म दिन मैनवत्ति निभाएर खुसी । अनौठो र अजब संस्कृति भित्रिएको छ ।नव आधुनिक बन्दा हामी साच्चिकै हृदयहीन झुम्राका पुतली बनिरहेका छौं । हामी काम तल माथि हुँदा झुक्थ्यौ , विनित भावले क्षमायाचना गर्थ्यौ तर अहिले झुक्नु स्वाभिमानसँग जोडीयो बरु झुक्नु भन्दा भाँचिन मन्जुर गर्ने भयौ । स्वाभिमान मानको विषय बन्न सकेन ।
प्रार्थना , विनयशिलता, शिष्टता अनुशासन , क्षमायाचना, कृतज्ञता र भद्रता गुमाएर हामी आफ्नो परिचयविहिन , सँस्कार विहिन र सभ्यता विहिन भएका छौं । अनुहार विहिन अनुहार आज हाम्रो चिनारी भएको छ । आफ्नोपन मौलिकता गुमाएपछि समाज , सभ्यता र संस्कार दिग्भ्रमित बन्दोरहेछ ।
अस्तित्व संकटमा पारेर वर्तमान समय गुज्रिएको छ। हाम्रा पू्र्खा र पूर्वजले हामीलाई अनगिन्ती संस्कार र सभ्यता सिकाएका थिए । जिन्दगीको साँस्कारिक लय देखाएका थिए , विनित हुन र क्षमा माग्न सरी र एक्स्क्युजको संस्कार बसाएका थिए । प्रकृतिप्रति कृतिज्ञ बन्न सुर्य उपासना र नदि ढोग्न सम्झाएका थिए जनवार पशु पन्छीको गुण सम्झन गाई , गोरु, कुकुर काग र सर्प पुज्ने चलन चलाएका थिए । प्रकृतिका यी यावत प्रतिनिधि पुजनले मान्छे र प्रकृतिबिचको अभिन्न पक्षको ख्याल राख्न निर्देशन गरेको हो ।
पुस्तान्तरण हुँदै आएका हाम्रा पैतृक धरोहर र निधीहरु हाम्रा परिचय थिए । मौलिकता थियो जुन आज ओझेलमा पर्दैछन । क्रमशः घटदै छ , कमि आउदैछ । हामी यसो गर्थ्यौ , आंशिक रूपमा अझै यदाकदा अघिल्लो पुस्ताले गर्ने गरेको पनि देखिन्छ । तर आधुनिक पुस्ता यस्तो कर्मलाई अन्धविश्वास भन्छ र खिज्याउछ । अवैज्ञानिक संस्कार भनेर आधुनिकता र स्वतन्त्रताको नाममा छाडापन भित्रीएको छ । स्वतन्त्रताको नाममा हुने नहुने कर्म र कुकर्मले छूट पाउने तर्क गरिन्छ ।
घरबाट निस्कँदा र घर भित्र पस्दा चौकोस ढोगेर शिर निहुर्याएर पस्ने गर्थ्यौ ।पानी लिएर आउदा घैला र गाग्रीबाट अलिकति पानी ढोका बाहिर छर्कने गर्थ्यौ ।सवारी चलाउनु र चढ्नु अघि सिट ढोग्ने चलन जुन आज पनि चलेको छ । मन्दिर , मस्जिद गुम्बा देख्दा शिर झुकाउने सबै धर्म समुदायप्रतिको सहिष्णुता र धार्मिक उदारता थियो र छ । शव देख्दा ढोगेर अपसकुन लैजान प्रार्थना गर्ने , र मृत कको स्वर्गवासको मंगल कामना गर्ने । मासु काटनु अघि अचानोसँग दैनिक क्षमा माग्ने । उक्लनेले नाघ्नेसित नरिसाउन अनुरोध गर्ने, नाघ्नेले उक्लनेलाई क्षमा दिन भन्ने । गोडाले छुँदा, हातले अनावश्यक छुदा क्षमा माग्ने । बिहान ओछ्यानबाट पृथ्वीमा पैताला राख्दा क्षमा माग्ने ।यात्रामा निस्कँदा वर र पिपललाई दाहिने पारी हिँड्ने । ढुङ्गाखानीबाट ढुङगा निकाल्नु अघि र जङ्गलमा रुख ढाल्नु अघि क्षमापूजा गर्ने । मलामी गएर आए पछि नुहाउने र एक छाक नुन बार्ने ।
यी र यस्ता यावत प्रार्थना , विनयशिलता , नम्रता , कृतज्ञता र शिष्टतालाई कुरिती र कुसंस्कार भन्नेहरू पनि छन । तर यी हाम्रा आफ्ना मौलिकता र अन्यत्र खासै प्रचलनमा नरहेका संस्कार र चलन हुन । जसले हाम्रो चिनारीलाई छुट्टै , बेग्लै र फरक तवरले चिनारी गराउथ्यो । नेपालीको विशेषता झल्काउथ्यो । प्रार्थनालाई जीवनबाट निकाल्ने अधकल्चो , अधम ,नक्कली , वनावटी मान्यता राख्नाले समाज आफ्नो अस्तित्व गुमाउँदै मौलिकता च्युत बनिरहेको छ जुन समाजको लागि हाम्रो सभ्यताको लागि घातक छ । प्रार्थना गर्नेहरूबाट पनि अन्याय , हिंसा र छोइछिटाे गरेकै हुन्छ्न, होलान । तर क्षमादान ,क्षमा याचना, कृतज्ञता र आभारले मानिसको दयालु हृदय र मानवताको परिचय दिन्थ्यो, दिन्छ । जुन नेपाली हुनुको नाताले हामीले गर्व गर्ने विषय हुन्थ्यो, छ ।
कुरिति , अन्धविश्वास र कुसँस्कारको नाममा जुन समाजले यो त्यागेको छ प्रार्थना र विनयशिलता गुमाएको छ त्यहाँ मानवताको अंश एकदम थोरै मात्र रह्न्छ । हाम्रो समाजमा नैतिकता , मानवता , सदाचार र समभाव स्खलित हुनुको कारण पनि यही हो । समाज अवैज्ञानिक प्रचलन भन्दै हाम्रा धरोहर र मान्यताबाट विचलित बनेको कारण समाज उत्सृन्खल बनेको छ । अराजक बनेको छ । समाज आफ्नो पुरातन मुल्य र मान्यताबाट पलायन हुँदा आफ्नो लय भंग गर्दैछ । समाजको एउटा आफ्नै लय,सिद्धान्त र परिपाटी हुन्छ अनि ढंग हुन्छ । लय गुमाउदै गए पछि आफ्नो पन नासिन्छ । स्वत्व समाप्त हुन्छ । आज पैदा भएका विकृति र विसंगति हामीले लय भङ्ग गरेको कारण आएको हो । प्रकृतिको पनि आफ्नै लय र सिद्धान्त हुन्छ । मानव उत्शृन्खल बनेको कारण प्रकृतिले पनि आफ्नो लय गुमाउँदै छ जसको कारण अतिवृस्टि, अल्प वृस्टि , अनावृस्टि , भु क्षय लगायत वातावरण असन्तुलनका बिबिध परिणाम देखिन थालेको छ ।
वर, पीपल, समी, निम, जामुन, बेल, कपुर, रूद्राक्ष सामान्य रूख होईनन्, ती दिब्य रूखहरू हुन्। तिनको खति गर्नु आत्महत्या गरे समान हो । यी रूखहरू विश्वमा जहॉतही पाईदैन, नेपालको भौगोलिक अवस्थिति र दिब्यताका दृष्टिले भाग्यमानी मुलुक हो। तर माल पाएर चाल नपाउने संस्कारबिहिन, बौलाहा पाराका, मूर्ख सन्ततिहरूको कारण बिकासको नाममा यी दिव्य रुखहरु मासिने क्रम जारी छ तर रोप्ने र हुर्काउने परम्परा कम भएर गएको छ । पर्यावरणीय असन्तुलनको कारण पृथ्वीमा अनेकन विपद र अनिश्चट देखा परेका छन् ।
प्रकृतिमा हरेक जीव जन्तुको आफ्नो अनुशासन , बिधि र नियम हुन्छ उदाहरणका लागि हेरौ । बाँदरले राती खादैन, बाघले अघाएको बेला सिकार गर्दैन गाईले मासु खादैन। तर हामी मानव सर्वोत्तम चेतनशील मानव समाजको लयबाट बाटो मोडदै छौं , बाटो भत्काउदै छौं । हाम्रो जेनेरेशन, हंग्री जेनेरेशन हो जे पनि क्वाप मुखमा हाल्न हतारिन्छ र फुर्सदमा पछुताउछ । दायाँ वाया वरिपरि नहेरी , दुर दृष्टि नराखी निर्णय गर्छ र पछुताउछ ।
समाज पनि लय भङ्ग हुँदा अश्लील र श्लिलमा भिन्नता देख्दैन बरु अश्लीललाई पनि स्वतन्त्रता अर्थ्याएर क्रम भङ्ग गर्न पुग्छ । हाम्रा शास्त्रमा भोजन, शौच, मैथुन र योग यिनलाई गोप्य ढङ्गबाट गरिनुपर्छ भन्ने मान्यता छ तर हामी यी तथ्यलाई बिर्सेर तथानाम गर्दै छौ । फलत:सामाजिक ब्यबस्थापन खलबलिएको छ ।
रुख काटनु अघि क्षमा पूजा गरेर विनयी बन्ने हामी आज हजारौं मान्छे मैले मारेको हो भनेर सगर्व लाखौं मान्छेको अघि छाती ठोक्ने भयौं । हत्या , हिंसा र दलनको चक्र चलेको छ । हिंसा परिवर्तनको अचुक साधन र बार्गेनिङको हतियार बनेको छ । पाप धर्मको ख्याल गर्न नसकेकोले आज समाज सेवा ब्यापार र मागी खाने भाँडाे भएको छ । मानवीय संवेदना हराएको कारण एम्बुलेन्स बन्धक बनाएर स्वार्थको सौदाबाजी गर्ने राजनीतिक चेत भएको छ । कसैको मृत्युमा भद्दा मजाक र बिरामी रोगी वृद्ध बाल बालिका अशक्तप्रति देखाउनु पर्ने सहानुभूति , सान्त्वना र सहयोग खडेरि पर्ने स्थिति छ । आधुनिक परिभाषाले कृतज्ञतालाई चाकरी भन्न थालेको छ , आज्ञाकारिता बफादारीता दास मनोवृत्तिको संज्ञा पाएर आहात छ ।
समयको बिरोधाभाष यस्तो पनि छ । प्रियजन मरेको दिन दियो वालेर दुःखी । प्रियजनको जन्म दिन मैनवत्ति निभाएर खुसी । अनौठो र अजब संस्कृति भित्रिएको छ । माथि उल्लेखित हाम्रा राम्रा परम्परा जो बैज्ञानिक नहोलान तर घातक र हानिकारक छैनन् । यिनलाई भुल्दा बिर्सदा , ब्यबहारिक र उपयोगी कुराहरू छोडेर ,नव आधुनिक बन्दा हामी साच्चिकै हृदयहीन झुम्राका पुतली बनिरहेका छौं । हामी काम तल माथि हुँदा झुक्थ्यौ , विनित भावले क्षमायाचना गर्थ्यौ तर अहिले झुक्नु स्वाभिमानसँग जोडीयो बरु झुक्नु भन्दा भाँचिन मन्जुर गर्ने भयौ । स्वाभिमान मानको विषय बन्न सकेन ।
सर्वप्रथम प्रात: कालमा ईश्वरलाई संझिदा हाम्रो जीवन उर्जाले भरीभराउ, थप मर्यादित, ब्यबस्थित ,अनुशासित र सकारात्मक बन्छ, हुन्छ भने आस्तिक बनेर के बेफाइदा भयो र ? आस्तिक हुनु देखिनु भनेको विज्ञानलाई अस्विकार गरेको अर्थमा बुझ्नु र बुझाउनु गलत हो । सकारात्मक उर्जा र अर्थपुर्ण सन्देश प्रवाह गर्ने हाम्रा परम्परागत मान्यता हामीले छोडन पर्दैन तर अमानवीय , अवैधानिक र अबैज्ञानिक जातीय छुवाछूत , बर्ण भेद लिङ्ग भेद , छाउ बोक्सी जस्ता कुप्रथा यथाशक्य छिटो बिसर्जन गर्नुपर्छ । अन्धविश्वास , कुरिति र कुसँस्कार नै भए पनि हामीलाई हानी गर्दैन बरु अनुशासनमा बाँध्न सिकाउछ भने हाम्रा परम्परा र चाल चलनका राम्रा कुराहरू मान्नुमा नै जीवनको रङ्ग भेटिन्छ । समाजले लय पक्रन्छ ।
