इसपको फ्याउरो र शासकका चाकरीवाज

आफ्नो बजारमूल्य घटेको देखेर बीच-बीचमा रङ्ग त के नामै समेत बदल्ने प्रयत्न नभएको होइन । मार्क्स, लेनिन लगायतका फोटा क्षणिक रुपमा हटेका पनि हुन र कम्युनिष्ट शब्द हटाउने बहस चलेका पनि हुन । नेताले त रङ्ग फेर्न सक्थे तर त्यो रङ्ग प्रति कार्यकर्ताको भावनात्मक सम्बन्ध यति गाढा रैछ, फेर्न नदिई कठिन घडी पार गरे ।
प्रख्यात ग्रीक कथाकार ईसप संसारभर आफ्ना उपदेशपूर्ण दन्त्यकथाका लागि प्रशिद्ध छन । ति मध्ये “काग र फ्याउरो”नामको एउटा कथामा “चाकरी”लाई विषय वस्तु बनाएका छन्, उनले ।
रुखमा मासुको टुक्रा चुच्चोमा च्यापेर एउटा काग बसेको हुन्छ, फ्याउरो त रुख चढ्न सक्दैन । उसले स्वर-माधुर्य प्रयोग गरेर त्यो मासु हात पार्न जुक्ति निकाल्छ। उसले कागलाई फुर्क्याउन थाल्छः
“संसारभरिका चरा मध्ये तिमी सबै भन्दा सुन्दर, जीऊडाल चट्ट मिलेको, हेर्दै राजसी ।यति कुशलतापूर्वक तिमीलाई सबै चराको राजा हुनकै निम्ति बनाइएको हो। तिमीसङ्ग आवाजमात्रै हुँदो हो त तिमी निश्चित रुपमा राजा हुन्थ्यौ।”
त्यस्तो प्रशंसकलाई किन खिन्न बनाउने? कागले पनि आफ्नो स्वर सुनाइदिने विचार गर्छ। फ्याउरोले खोजेकै त्यही; मासुको टुक्रा भुइँमा खस्छ। त्यस पछि फ्याउरोले भन्छः “ओहो काग, तिमीमा यदि अक्कल (phrenas) पनि भैदिएको भए चराहरूको राजा हुनैका लागि अरू केही गर्दैनथ्यौ।”{(Aesop: The Complete Fables, trans. Robert Temple and Olivia Temple (New York: Penguin,1998).} अनुवाद गर्दा यूरोप तिर कतै मासुको टुक्रालाई चीजको टुक्रा बनाएका छन, कतै के । तर सार त्यही छ कागको चुच्चोमा खानेकुराको टुक्रो छ र कागले “का-का” नगरी त्यो झर्नेवाला छैन।
सवै बृद्धहरूको शासन (Gerontocracy) भएको देशमा बालकथा आफैँमा गलत औजार हो, मैले प्रयोग गरेको। तर नेपालको राजनीतिक स्थायित्वमा उखान-टुक्का र बालकथाको ठूलो योगदान भएकाले मैले बाल कथै रोजेको हुँ । बालकथा सुनाउँदा हल्का तरिकाले सुनाइन्छ तर त्यसको उद्देश्य बाल-मष्तिष्कमा गहिरो छाप छोड्नु हो। त्यसैले हाम्रा प्रधानमन्त्री हरेक विषयमा अर्ति दिन बाल कथा प्रयोग गर्नु हुन्छ र पशु-पक्षी तिनका प्रमुख पात्र हुने गर्छन। नत्र फागुन १२ गतेको पोखराको कार्यक्रममा सुनाइएको फट्याङ्ग्रा टिपेर दौडने कुखुराको चल्लाको कथा यूट्युव तिर होला खोलेर हेर्नुस त।
त्यसैले इसपको फ्याउरो र कागकै कथामा हाम्रा कथा जोड्नु ठिक होला । त्यो फ्याउरोले कागको चाकरीमा प्रयोग गरे जस्तो सवै गुण हाम्रा शासकमा छन् । जनताले दिएको दुई-तिहाइ नजीकको बहुमत कागको पँखेटा जस्तो शक्ति हो। लक्ष्यमात्रै किटान गर्ने र जोखिमको पूर्वानुमान गर्ने हो, जहाँ ताक्यो त्यहीँ पुग्न सक्ने शक्ति छ। दृष्टिकोण’’bout त किताव नै आइसक्यो, मैले भन्नै परेन। के मात्र भन्न सक्छु भने दृष्टिकोण काग होइन चीलको जस्तो छ, कोशौँ टाढाको सिकार देख्न सक्ने। शरीरको त झन व्याख्या नै नगरौँ । विघटित सोभियतसङ्घ र अहिलेको चीनमा त दल र सरकार, राजनीति र जागीर नछुट्टिने हुँदा भन्न सकिएन, नत्र बाँकि संसारमा नेकपाको जत्रो सङ्गठित पार्टी संरचना कहीँ छैन । कुनै देशमा, कुनै दलको।
रङ्ग हेर्ने हो भने पनि त्यस्तै निक्खुर कालो छ, कागैको जस्तो। आफ्नो बजार-मूल्य घटेको देखेर बीच-बीचमा रङ्ग त के नामै समेत बदल्ने प्रयत्न नभएको होइन । मार्क्स, लेनिन लगायतका नेताका फोटा क्षणिक रुपमा हटेका पनि हुन र कम्युनिष्ट शब्द हटाउने बहस पनि चलेका हुन । नेताले त रङ्ग फेर्न सक्थे तर त्यो रङ्ग प्रति कार्यकर्ताको भावनात्मक सम्बन्ध यति गाढा रैछ, फेर्न नदिई कठिन घडी पार गरे । अहिले विस्तारै पूँजिवादका खराब असर विरुद्ध विश्व जनमत सिर्जना भयो, पहिले बचाएको हुँदा त्यही रङ्ग अहिले गौरवको रङ्ग बनेर वसेको छ।
तर यो कागरुपी दलमा भएको स्रोतमाथि हिस्सेदार बन्ने थुप्रै फ्याउराहरू छन । केही गूटको कार्यकर्ताको रुपमा, केही सहयोगीको रुपमा र केही व्यापार साझीदारको रुपमा, कोही “का” भन्ने र कोही “बा” भन्ने । तिनले जति चाकरी गरेर शासकलाई “का-का, बा-बा” गर्न लगाउँछन, शासकको चुच्चोमा च्यापिएका मासुका टुक्रा त्यति नै झर्ने हुन, तिनलाई यो राम्ररी थाहा छ। त्यसैले भै रहेको रुप, रङ्ग माथि सुगन्ध थप्ने निहुँमा कहिले तिनले आलङ्कारिक पदधारीलाई हातमा तरवार दिएर सहर घुमाउँछन त कहिले कागको रुखो स्वरलाई “कति सुमधुर” भन्दै बेमौसमी राग अलाप्न लगाउँछन।
“बेमौसमी राग?” ति मांस-टुक्रापेक्षीहरू मान्न तयार छैनन । तर यो देशको अवस्थिति र जनताको प्रकृति-प्रदत्त गुण हेर्नुस र ति राग मिल्छन-मिल्दैनन् आफैँ छुट्याउनुस्।
नेकपाका सबै कार्यकर्ताको जमात “आलोचनात्मक चेत”मा प्रशिक्षित हो, काँग्रेसको परिवार-पूजनको विद्यालय भन्दा अलि फरक पाठ्यक्रमका आधारमा। जन्मिँदै विभिन्न गुट मिसिएर जन्मिएका, साना-साना वैचारिक विषयमा फुटेका-जुटेका पूर्व “गद्दार”-घोषित व्यक्ति र समूह समेत जोडिएर बनेको रणनैतिक मोर्चा हो त्यो दल । यसका सदस्यहरूलाई बाँध्ने एकमात्रै तत्व भनेको नाममा रहेको “कम्युनिष्ट” शब्द र टाइप गरेर थन्क्याइएको “घोषणा-पत्र” हो नकि कि कुनै नेताको चामत्कारिक गुण।
सत्ता विरुद्ध लामो सङ्घर्ष गरेको काङ्ग्रेस र नेतै-पिच्छेका गुटमा विभक्त पूर्व पञ्चहरूको वर्तमान समूह पनि त्यस्तै हुन । कसैलाई देउता मानेर जान तयार छैनन् तिनका सदस्यहरू चाही वीपी, पुष्पलाल वा महेन्द्र नै ब्युँतिएर किन नआउन् । देउता नै नमाने पनि कसैलाई आदर्श मान्नेहरूको समूहको एकता कायम राख्न आम्दानीको माखेसाङ्लोमा कार्यकर्तालाई अल्झाएका छन दलहरूले। नेकपाको वर्तमान एकताको बलियो शूत्र यही हो। त्यही माखेसाङ्लोको कुनै रुप हुन सक्छ अमुक व्यापारी मार्फत गरिएको लगानी।
हो, आम नेपालीको बानी आफूलाई प्रत्यक्ष बिझाउने विषय बाहेक अरूमा झट्ट बोलिहाल्ने खालको छैन । नेपाली समाजले राज्यका गतिबिधि सबै नियाल्ने गरेको छ, धारणा बनाउने गरेको छ र मौका आएपछि प्रतिक्रिया जनाउने गरेको छ।त्यसैगरी दलहरूका गतिबिधिमा पनि।
राजा वीरेन्द्रको जमीन बाहेक अरू सम्पत्ति कति थियो होला? त्यो सम्पत्ति कुन व्यापारीले खाए होला, पचाए होला? रत्नपार्कमा उभिएर १०० जनालाई सोध्यो भने ८० जनाले नसोचिकनै फ्याट्ट उत्तर दिन्छन । अहिले नेकपाको लगानी पनि पूर्व राजाकै जस्तो हुन सक्छ, बील-भर्पाई लिखत नभएको र हकवालालाई जानकारी नै नदिइएको । हामी झट्ट भन्न सक्दैनौँ तर रत्नपार्कमा उभिएर सोध्यो भने १०० मा ५० जनाले फ्याट्ट उत्तर दिन सक्छन । जनतालाई यो कुराको कुनै सुइँको छैन भनेर बस्नु नै भ्रम हो। प्रमाण नभए पनि व्यक्ति-व्यक्तिका एकै खाले धारणाका आधारमा हाम्रो समाजको सामुहिक मत बनेको छ। गुण र दोषका आधारमा हरेक निर्वाचनमा परिणाम उल्टाएका छन त जनताले, त्यो सामुहिक मत निर्माणकै प्रमाण हो ?
अहिलेको यति-भक्ति निःश्वार्थ हो कि भनेर बाटोमा हिँड्ने सामान्य मान्छेले पत्याउँदैन। म प्रमाण नभै बोल्दिनँ । यति-साहूले निःश्वार्थ रुपमा हेलिकप्टर चढाएर केक आठराई पुर्याएका पनि हुन सक्छन तर मैले सडकमा निस्केर जति सम्झाए पनि सडकमा हिँड्ने आम मानिसले त्यो मान्दै मान्दैनन। त्यसरी निःश्वार्थ रुपमा केक लैजाने भए त खनालको इलाम, नेपालको रौतहट, भट्टराईको गोर्खा र कोइरालाको बाँके पनि पुग्थे नि !
ओलीले आफ्नो रोग औषधी्ले होइन दृढ इच्छा शक्तिले काबुमा राख्नु भएको हो। हो, राजा विरुद्ध सडकमा निस्किनु भएन होला तर वहाँ राजावादी होइन । किनकि सबैलाई थाहा छ वहाँको शरीर राजा बन्नका लागि बनेकै होइन । वहाँको जाँगर, बोली, लुवाई-खुवाई, व्यवहार कुनै पनि चिज राजा बन्नकै लागि बनेको होइन । वहाँको शौख, वहाँको रुची र वहाँको स्वाद पनि त्यस्तै, बिलकूल राजा बन्नका लागि बनेका होइनन। वहाँमा राजा बन्न खोज्यो भन्नु पनि आफैँमा अन्याय हो। त्यस्तै असङ्ख्य ओलीहरूले बनेको सामुहिक व्यक्ति हो नेकपा । त्यो कुनै पश्चिमा संस्कृतिको कोरा नक्कल गर्न बनेको दलै होइन। त्यही भएर ओलीलाई जे गर्न लगाइयो, छेऊमै बसेर ताली ठोक्नेहरूले समेत अप्ठेरो मानेर ठोकि राखेका देखिन्छन, नत्र केक काट्दाको फोटो ल्याएर हेर्नुस त सुवास नेम्बाङ्गले कति अप्ठ्यारो मानेर ताली ठोक्दै हुनुहुन्छ ।
वहाँका विरोधीहरू समेत वहाँको इच्छा शक्तिका प्रशंसक छन। जन्मदिनको पावन अवसरमा वहाँको आफ्नै इच्छाले आफ्नो व्यक्तित्व सुहाउँदो काम जे गर्नु भएको भए पनि कसैले चुइँक्क केही बोल्दैनथे होला। आफ्नो इच्छा अनुसार हेलिकप्टर चढेर घर पुग्नु भएको भए, कर्णालीको रारा नै पुग्नु भएको भए, पशुपतिको आश्रम वा कुनै श्रमजीवि वस्ती पुग्नु भएको भए वा यि मैले नसोचेका अरू कुनै काम गर्नु भएको भए शुभकामनामा राजनीतिक वा व्यापारिक वा अरू कुनै स्वार्थी रङ्ग पोतिन्नथ्यो होला। तर समाजको सोझो बुझाई छः ओलीलाई श्वार्थ्य समूहले वहाँको व्यक्तित्व नमिल्दो काम गरायो, वहाँको इच्छा नभएको काम गरायो, पार्टीले जारी गरेको आचार संहिता कुल्चन लगायो, र त्यो समाजलाई नै देखायो।
त्यसैले म दोहोऱ्याएर भन्छु, नेकपाको रङ्ग जे छ त्यो उसको जाती सुहाउँदो छ, एक रङ्गे निक्खुर कालो, सत-प्रतिशत कार्यकर्ताले त्यो रङ्गमा गर्व गर्छन । यही रङ्गले तिनको पहिचान दिन्छ। नेकपाको शरीर त्यस्तै मिलेको छ । चुस्त दुरुस्त अङ्ग छन् गाउँ सम्म फैलिएका, आहार गराउने सहकारी, बैङ्क, अस्पताल, स्कूल देखि विहार गराउने पार्क सम्म सबै पार्टी नियन्त्रणमै छन। यो भन्दा के नियन्त्रण गर्नु पर्यो र पटक पटक नियन्त्रणमुखी कानून आउँछन? किन नजिस्क्याउनु पर्ने समूहलाई जिस्क्याउन लगाउँछन? किन आफ्नो सोच वा व्यक्तित्व नमिल्दो हर्कत गर्न लगाउँछन? पार्टीमा के छैन? तर जुन कुरा छैन त्यही कुरा थप्न लगाउँछन् ?
मलाई विश्वास छ वहाँको वरिपरि घुम्ने एउटा समूह छ, इसपका कथाको फ्याउरो जस्तो ओलीका मुखको मासुको टुक्रा हेरेर बसिराखेको। ओलीका गुणमा केही नयाँ तत्व थप्न रौस्याए पछि ओली ह्याँस्नु हुन्छ, त्यो समूहलाई थाहा छ। ओलीले हरेक पल्ट मुख बाउँदा ति टुक्रा खसेका छन । जति नयाँ गुण देखाउन रौस्यायो, त्यति उनको मुखबाट मासुको टुक्रा खस्छ भन्ने छेऊमा बसेका भक्तहरूलाई राम्ररी थाहा छ ।
