संसदीय फोहोरी खेलका संस्मरणहरू

मलाई मन नपर्ने भनेको नियतवस अर्कालाई फुटाउने, भिडाउने जस्ता कुराको हो। यसैले होला मैले राजनीति गर्न नसकेको भन्ठान्छु। तर जव सबै जनतालाई अभिभावकत्व दिनु पर्ने राज्यका जिम्मेवार निकायमा वसेका मान्छेहरू यस्तो राजनीतिमा उत्रन्छन, मलाई दुःख लाग्छ। शब्द केही बाँकि हुन्न यस्तो दुःख व्यक्त गर्ने। हाम्रो होइन अर्काको पार्टी फुटाउन बाटो खोलिदिएको भन्नु भनेको त झन…. शब्द छैनन यसलाई व्यक्त गर्ने।
“स्मरणको प्रासंगिक प्रतिनिधित्व” भन्ने व्याक्यांशलाई स्मृति-नसा सम्बन्धी अनुसन्धाताले धेरै प्रयोग गरेको देखिन्छ। त्यस्तो “प्रासङ्गिक प्रतिनिधित्व”मा मान्छेको बिगत’boutका ज्ञानेन्द्रीयले तय गरेका असङ्ख्य धारणाहरू अन्तर्निहित हुन्छन। ति प्रसङ्गहरूलाई हामीले टार्दै लग्यौँ, बेला बेलामा कोट्याएनौँ वा तिनको ’boutमा सोच्न छोड्यौँ भने कुनै घटनालाई सम्झिने हाम्रो क्षमता स्वतः हराएर जान्छ। अर्थात ति घटना हाम्रो मानसपटलबाट हराएर जान्छन।
म त राजनीति विज्ञानको विद्यार्थी, औषधी विज्ञान, शारीर विज्ञान, नसा विज्ञान, स्मरण विज्ञानका कुनै प्राविधिक कुरा चाहेर पनि बुझ्न सक्दिनँ । तर कहिले काहिँ एकान्तमा वस्दा दिमागमा त्यस्ता विषय उब्जिन्छन र आफैँलाई प्रश्न गर्छु किन म साढे दुई वर्षको हुँदाका कतिपय घटना सम्झिन्छु तर लकडाउन अगाडी गाडीको साँचो राखेको कुनै सुरक्षित खोपी चाहिंँ बिर्सन्छु?
यही प्रश्नको उत्तर खोज्दै जाँदा मैले “A Neural Signature of Contextually Mediated Intentional Forgetting,” नामको अनुसन्धान एउटा रिपोर्ट भेटेँ, डार्टमाउथ कलेजका अनुसन्धाताहरूले तयार गरेको। उनीहरूको निष्कर्ष छ राम्रा नराम्रा दुवै स्मृतिहरू नैसर्गिक रुपमा हामीले भोगेको अनुभवका प्रसङ्गसङ्ग जोडिएका हुन्छन।
एउटा नयाँ functional magnetic resonance imaging (fMRI) मार्फत दिमागको स्क्यानिङ्ग गर्दा पत्ता लागेको कुरा मान्छेले नियतवस कुनै कुरा विर्सनु पर्यो भने त्यो “फ्ल्यासब्याक” जगाइदिने प्रसङ्गबाट टाढिन खोज्ने रैछ। सम्झिन पनि त्यसको ठ्याक्कै उल्टो। बालककालको साथीसङ्ग कुनै प्रसङ्ग निकालेर हामी गाउँ घर, खोला जङ्गल शयर गर्छौँ, तर कुनै नराम्रो कुराको स्मरण आउन लाग्यो भने हतार हतार प्रसङ्ग फेर्छौ। त्यो रिपोर्ट बाट मैले आफ्नै भाषामा बुझेको यति नै हो।
मैले अढाई वर्षको हुँदा आमाको ढाडमा बोकिएर गोलबजारबाट सिरहा जाँदा ढाड भरी रुखका स्याउला बोकेर लम्किँदै गरेको बडेमानको हात्ती देखेको सम्झिन्छु, अर्को ३-४ वर्षको हुँदा होला (राजेश खन्नाको) हात्ती मेरा साथी फिल्म हेरेको मज्जाले सम्झिन्छु। त्यसपछि पहाड उक्लेको मैले गाडी देख्न झण्डै अर्को डेढ दशक कुर्नु पर्यो। न हात्ती देखेँ न हत्ती मेरा साथी।
जब म किताबमा हात्ती देख्थेँ त्यसले फिल्मको फुच्चे कलाकार सङ्ग भकुण्डो खेलेको सम्झिन्थेँ, जब भकुण्डो भेट्थेँ हात्तीले भकुण्डो खेलेको सम्झिन्थेँ । त्यसैले मेरालागि हात्ती र भकुण्डोले स्मरणको प्रासङ्गिक प्रतिनिधित्व (contextual representation) को काम गरे । बेला बेला सम्झाइरहे, राम्रो सम्झना भएकोले मैले “नोस्टाल्जिक” भएँ भन्दै सम्झिन चाहिरहेँ । तर १८ वर्षको हुँदा आमा बित्नु भयो, कसैले त्यो प्रसङ्ग निकाले म टार्छु र आफूलाई त्यो दुःखका क्षण तर्फ धकेल्दिन।
नेपाली जनता अल्प-स्मरणका प्राणी हुन भन्ने कतै अनुसन्धान भएको छैन। अनुसन्धान नभएको विषयमा लेख्दा इम्प्रेशन, अब्जर्भेशन र एक्स्परिएन्सको सहारा लिने हो। मलाई दिमागमा गडेको, मैले अबलोकन गरेको र अनुभुति गरेका कतिपय घटना मेरै बिस्मृतिमा गैसकेका छन, प्रसङ्ग आइरहे सम्झनामा आउम~छन नत्र हराएर जान्छन।
अहिले प्रसङ्ग छ राजनीतिक दलहरूका टुट र फुटको, आधारातका एकिकरणको र झिसमिसे नहुँदै हुने भनिएको नयाँ पार्टी निर्माणको।
‘संसदीय फोहोरी खेलको कालखण्ड’ भनेर हामीले जुन समयलाइ चिन्छौँ त्यो कालखण्डको अन्त तिर मात्रै म मिडियाको समीपमा आइपुगेको हुँ। तर हाम्रा धेरै गफका विषय त्यो कालखण्डका फोहोरी खेल थिए। हरेक महत्वपूर्ण मतदानका दिन सांसद गायव हुने, सानो ग्रुप कुनै गुटको नेताका घरमा गएर रातभर बसिदिने, कहिले भक्तपुरबाट सिंहदरवार हिँडेको गाडी त्रिपुरेश्वरमा जाममा फस्ने, कहिले ब्लु वर्ड होटेलमा थुनिए रे भन्ने हल्ला चल्ने, कहिले बैङ्कक चले रे भन्ने चर्चा हुने, कहिले सांसदले दरवारमार्गमा गोली चलाए रे भन्ने चर्चा चल्ने कहिले शुरा-सुन्दरीका प्रसङ्ग आउने। कहिलेकाहिँ त महत्वपूर्ण विषयमा भोटिङ्ग हुँदा विभाजनको घण्टी वजिसक्यो, दायाँ जाने कि बायाँ भन्ने कुरा सांसदलाई नै थाहा नहुने। यि कतिपय घटना त मैले आफैँ पनि देखेँ, भोगेँ र अनुभव गरेँ ।
वर्ग र वर्णका आधारमा विभाजित नेपाली समाजको बनोटले माओवादीको युद्धलाई जति बलियो आधार तयार गऱ्यो त्यसको १० गुणा बलियोसङ्ग त्यो युद्धको औचित्य स्थापित गर्दिएको थियो त्यो “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने” संसद भित्रको घीनलाग्दा खेलले। र संसदीय दलहरूको शाखलाई यति गिराइदिएको थियो कि यिनलाई च्याप्प समाए कोही यिनको समर्थनमा सडकमा आउँदैन भन्ने भान पर्यो तत्कालीन राजा ज्ञानेन्द्रामा। सडकको स्थिति पनि त्यस्तै भैदियो। वर्तमान प्रधानमन्त्रिले नै त्यस्तो आन्दोलनलाई “बयलगाडा चढेर अमेरिकाको यात्रा” भनेर नाम दिनु पर्ने दिन आए।
राजाको बुद्धिमाथि र शक्तिमाथि धेरैको भ्रम रैछ, स्वयम् उनले उपाध्यक्ष बनाएका तुलसी गिरीको समेत। “न अरूले भनेको मान्ने न आफैँमा कुनै योजना रैछ” महेन्द्र जस्तै ठानेर गिरी कतै झुक्किएका थिए कि भन्ने प्रश्नमा ‘यो कुरा नलेख्नु’ भन्दै तुलसी गिरीले भनेको म सम्झन्छु। राजा असफल भए दलका कारण होइन आफ्नै कारण। राजाको गति देखेर नै नागरिक समाज, पेशागत कर्मी सबै सडकमा आए, र दलले पच्छ्याए। राजालाई दलले प्रतिस्थापन गर्ने अवस्था आयो, तर सशर्त । माओबादीले हतियार छोड्ने र दलहरूले फोहोरी खेल न दोहोऱ्याउने शर्तनामा सडकमा गराएका थियौँ हामीले। अहिले सम्झनामा आयो।
राजनीतिले नयाँ मोड लिए पछि मुलधारे राजनीतिक दलमा फोहोरी खेलको क्रम बन्द-प्रायः भयो। नयाँ अभ्यासमा रहेको माओवादीमा फूट भयो तर त्यो संसदीय खेल थिएन, संसद छोड्नेहरूको र वस्नेहरूको वीचको वैचारिक भिन्नता थियो। मधेशवादीहरूले धेरै खेले, र त्यसवापत सजायँ भोगे पनि।
कुन दलमा रहने वा नरहने , फुटने, टाँसिने भन्ने एउटा वैयक्तिक स्वतन्त्रको विषय हो, मैले संधै वकालत गरेको स्वतन्त्रता। इच्छा नभै नभै कुनै समूहको सदस्यका रुपमा प्राविधिक कारणले बाँधेर राख्नु मलाई अपराध लाग्छ। त्यसैले छाडीजाने मायालुको माया लागे जस्तै “फुटिजाने सांसद”को पनि मायासम्म लाग्छ तर उनीहरूको स्वतन्त्रताको सम्मान गर्छु।
मलाई मन नपर्ने भनेको नियतवस अर्कालाई फुटाउने, भिडाउने जस्ता कुराको हो। यसैले होला मैले राजनीति गर्न नसकेको भन्ठान्छु। तर जव सबै जनतालाई अभिभावकत्व दिनु पर्ने राज्यका जिम्मेवार निकायमा वसेका मान्छेहरू यस्तो राजनीतिमा उत्रन्छन, मलाई दुःख लाग्छ। शब्द केही बाँकि हुन्न यस्तो दुःख व्यक्त गर्ने। हाम्रो होइन अर्काको पार्टी फुटाउन बाटो खोलिदिएको भन्नु भनेको त झन…. शब्द छैनन यसलाई व्यक्त गर्ने।
हामी धेरैले विर्सिसकेका थियौँ खरीद-बिक्री, अश्वव्यापार, टुटफुट आदि। यो प्रतिनिधिसभाको दुई वर्ष सकिँदा सम्म त एउटा घटना पनि देखिएन फुटको।
यस्ता यस्ता घटना विस्मृतिमा गैसकेका रहेछन कि सदभावना पार्टी भित्रको अपहरणकाण्ड, पिस्तोल काण्ड र अदालतका झगडा समेत स्मृतिमा आइपुगे। ति मध्येका एक पात्र श्याम सुन्दर गुप्ता स्मरणमा आएपछि ति पात्र कता होलान भनेर खोजेको त आपराध प्रमाणित भएर जेलमै बसेको लामो समय भैसकेको रैछ। श्याम सुन्दरको नाम सम्झिएपछि तत्कालिन प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरलाको सम्झना मात्रै आएन कि ६२-६३ पछि झण्डै “राष्ट्रपिता”को हैसियत बनाइसकेका व्यक्तिका अरू अरू कामको मूल्याङ्कन गर्न पुग्यो मेरो दिमागले।
मधेशका कुनै दल फुटलान्, जुटलान्, लोप होलान्, राज्य कब्जै गर्ने हैसियतमा पुग्लान तर भोग्ने, देख्ने, महसुस गर्नेको मानसपटलमा ति घटनाको, तिनमा संलग्न पात्रको, खेलाडीको र खेलाउनेको एउटा गहिरो चित्र कोरिएको हुन्छ । त्यो यस्ता प्रसङ्ग नआए आफैँ हराएर जान्छन र बेला बखत यस्ता घटना घटिरहे झन गाढा हुँदै बस्छन।
अहिले प्रधानमन्त्रिले आफ्नो शक्तिको चमत्कार देखाउनु भएको होला। वहाँको ध्येय सबैले सम्झिउन भन्ने होला । चुनाव अघि मधेशमा वहाँको’boutको इम्प्रेशन कस्तो थियो वहाँलाई नै थाहा छ । निर्धक्क मधेश जान समेत मोदीलाई जनकपुर बोलाएर मैथली पहिरनमा देखिनु परेको सम्झना ताजै छ।
वहाँको इमान्दार प्रयत्नले, निरन्तरको सम्पर्कले र देखाएको व्यवहारले चुनाव अघिको अवस्था टरेको थियो। सहिष्णुताको राजनीति फर्किने संकेत थियो। आफैँ फुट्छन भने ठिक्कै छ तर दुनियाँले नाङ्गै देख्ने गरी, अर्को पार्टी चोइट्याउनकै लागि हो भन्दै कदम चाल्दा त्यो कदमले वहाँ स्वयम् को कद घटाइदियो। होला लोकतन्त्रका केही मान्यता रक्षा गर्न संसदीय दललाई राजनैतिक दलको लाचार छायाँबाट मुक्त गर्नु आवस्यक थियो रे तर कोरोनाको त्रासदी सकिउञ्जेल, एक दुई हप्ता पर्खँदा हुन्थ्यो नि। फुटाउने नियत थिएन भने पार्टी नेता सामु यो अध्यादेश अर्को पार्टी फुटाउन ल्याएको नभन्नु भएको भए हुन्थ्यो नि।
मधेशका दल फुट्न सहयोग गरे वापत कोरोना महामारी टर्ने, रोकिएको चाइनिज रेल आउने, पानी जहाज चल्न थाल्ने, धरहरा बन्ने, सुरुङ्ग मार्ग खुल्ने र नेपालले डबल डिजिट ग्रोथ गर्ने भएको भए त राष्ट्रहीतका लागि लौ ठिक गर्नु भयो भनिन्थ्यो। न पार्टी फोर्ने भनिएका ७-८ जना लिएर न दुई तिहाइँ पुग्ने न तिनलाई नल्याउँदा सरकार ढल्ने।
आफ्नो कार्यकलमा केही उल्लेख्य काम गरेर भित्तामा टाँसिएका फोटोहरू मध्ये अलग हुने चाहना सबै प्रधानमन्त्रिलाई हुन्छ। तर आफ्नो टाँसिएको तस्वीर हेरेर कति नोस्टाल्जिक बन्लान र कति त्यो तस्वीर हेर्नासाथ दुःखका क्षण सतहमा आउने हुँदा त्यो फोटो नै लुकाउने अवस्थामा पुग्लान भन्ने पनि ख्याल गरिनु पर्च। वैज्ञानिकले त्यो अनुसन्धानमा नियतबस विर्सन खोजेको दृष्य गायब गराउने कामलाई फिल्मको “scene drop” सङ्ग तुलना गरेका छन। कसैलाई कुनै प्रधानमन्त्रि यस्ता नहुन कि उनको फोटो देख्ना साथ “scene drop” गर्न मन नहोस।
रोगबाट मुक्त भएर नयाँ जीवन र नयाँ कार्यकालमा नयाँ उर्ज्जाका साथ आउनु भएका प्रधानमन्त्री अनावस्यक तनाव सिर्जना गर्ने, एकछिनलाई चमत्कार जस्तो देखिने काम गर्ने नभै अहिलेका समास्या समाधान गर्न मात्रै होइन भविष्यमा समेत यस्ता समस्या आउन नदिन बलियो पद्दति र प्रणाली निर्माण गर्ने खालको हुनुहोस भन्ने चाहना सबैको छ। एउटा भिजनरी नेता देशले खोजेको छ। अझै तीन वर्ष छन। कार्यकलको सफलताको कामना।

