शक डक्ट्रिनको कशीमा कोरोना कीट

शासकका सुबिधाका लागि मान्छे मर्दैछन। एकै ठाउँ कोचेर राखिदिए पछि शासकको तनाव कम भयो, जो बाँच्छ उसले भविष्यमा उपचार पाउँछ। क्वारेन्टिनमा समेत नमर्ने मान्छे हतपत्ति अस्पतालमा पनि मर्दैन, थाहा भै सक्यो।  क्वारेन्टिन व्यवस्थित गर्ने तर्फ एउटै निर्णय भएको छैन तर नक्कली हो कि सक्कली किट हो, पत्ता लागेको छैन त्यो खरीद गर्ने निर्णय आँखाको चालमा हुन्छ।  त्यहाँ व्यापार छ।

आपतकालमा जे जे हुँदैछ त्यो सार्वजनिक हीत वा जनहीतकालागि निश्वार्थ भावले हुँदैछ । हामीले सोझो आँखाले देख्ने यही हो र बनाउने अवधारना त्यही अनुरूपकै हो।  सबै शासकको लुकेको हीत भनेको कसरी राजनीति आफ्नो अनुकूल ढाल्ने र सम्पत्तिको जोहो गर्ने हुन्छ भन्ने एक प्रकारको आलोचनात्मक धार आम रुपमा  व्याप्त छ त्यो पनि पूरै सत्य नहोला, पूर्वाग्रही हुन सक्छ।  त्यसैले कुन साँचोमा काँचो माटो हालेर इँटा बनाइन्छ, उसको रुप, छाप त्यही अनुरुप हुन्छ।  यो कुनै व्याख्याको विषय नै होइन।

जर्जबुसको इराकमाथि आक्रमण योजना व्यापारिक उद्देश्यले भा’को हो, नयाँ बजार खोज्ने क्रममा भा’को हो भन्ने आरोप व्यापक भए पछि सिनियर बुसले त्यस्तो आरोपलाई अजीबको पागलपन को सज्ञा दिँदै भनेका थिए, “पैसाको भोको भएर हामी यो सब गर्दैछौँ भन्नु पागल्पन हो। मलाई लाग्छ तिमिहरू (आरोप लगाउने) हरू फेरि (बच्चा जस्तो पढ्न) स्कूल तिर जानु पर्छ।”

तर आफ्ना छोराको कदमलाई बाउले के भन्छन भन्नेले होइन घटनाक्रमले के पुष्टि गर्छ भन्ने कुरा महत्वपूर्ण हो।

रक्षामन्त्रि डोनाल्ड रम्स्फेल्डले राजीनामा दिनु तीन हप्ता जति अघि बुसले डिफेन्स अथोराइजेशन एक्टमा सही गरे।  सार्वजनिक सुव्यवस्था पुनर्स्थापित गर्न र अव्यवस्थालाई दमन गर्न  सैन्य शासन लगाउन सक्ने र आर्मी र नेशनल गार्डलाई पब्लिक इमेर्जेन्सीमा परिचालन गर्न सक्ने अधिकार राष्ट्रपतिलाई दिएको थियो, त्यो कानूनमा थियो। अधिकाँश राज्य सरकारका गभर्नरको सुझावको विरुद्ध थियो यो १४०० पेज लामो कानूनी दस्तावेज।  “आँधी”, “आम बिरोध” र “जनस्वास्थ्य आपतकाल”का लागि भनेर तीनवटा शर्त राखिएको थियो र सेनाले क्वारेन्टिन लागू गर्ने र भ्याक्सिन आपूर्तिको सुरक्षा गर्ने विशेषाधिकार पाएको थियो।

“दि शक डक्ट्रिनः राइज अफ डिजास्टर क्यापिटालिज्म” पुस्तकमा नाओमी क्लेनले दिएका यि उदाहरण मैले हाइलाइट गरेर पनि थप बूकमार्क राखेको रहेछु।  यो किताव मैले धेरै पटक दोहोऱ्याएको मध्ये एक हो भुइँचालो पछि। 

 नेपालको २०६२-६३को आन्दोलनमा राम्रै सुनिएको नामहो प्याट्रिक लेही, अमेरिकी सिनेटर। उनले “ल इन्फोर्स्मेन्ट”मा सेना उतार्नु भनेको अमेरिकी लोकतन्त्रको आधारभूत मान्यताको प्रतिकूल छन भन्ने तर्क समेत गरे। तर न सुनुवाई भयो न कुनै कमिटीले त्यो कानूनमाथि बहस गर्न पाए, त्यत्तिकै लागू भयो।

भन्नलाई त भनियो ल्याव र औषधी आपूर्तिको भरिलो सुरक्षा हुनु पर्ने  बुस प्रशासनको पहिले देखि कै धारणा हो तर  त्यो निर्नयबाट सबै भन्दा खुशी हुनेमा थियो रम्स्फेल्डको पूर्व कम्पनी, गिलीड साइन्सेज, बर्ड-फ्लूको औषधी, ट्यामिफ्लुको प्याटेण्ट वाला कम्पनि ।  रम्स्फेल्डले रक्षामन्त्रिबाट राजीनामा दिएर निस्केको पाँच महिनामामा कम्पनीको स्टक मूल्य २४ प्रतिशतले बढ्यो। ह्यालिबुर्टोन र बेट्चेल जस्ता ठेकेदार र एक्सन मोबिलका कथा त जता पनि पढ्न पाइन्छ।

जव बिपत् वा महामारीको झड्काले कुनै देश, त्यसका सरकारको दिमागमा असर पार्छ, त्यसले दिमागमा एक प्रकारको शून्य-चेतना वा ब्ल्याङ्कनेस ल्याउँछ त्यसैबेला आफ्नो विचार लाद्ने हो, व्यापार गर्ने हो भनेर वसेको हुन्छ त्यो डिजास्टर क्यापिटालिस्टको समूह भन्ने तर्कमा अडेको छ क्लेनको त्यो पुस्तक।  क्लेनको तर्क छ ” प्रोटो डिजास्टर क्यापिटलिस्टहरू वार अन टेररका आर्किटेक्ट थिए र तिनको कर्पोरेट सम्बन्ध रम्स्फेल्ड्मात्रै होइन उपराष्ट्रपति डिक चेनी लगायत बुस प्रशासनका उच्च व्यक्ति सङ्ग थियो। सिनेटको आचरण समिति (इथिक्स कमिटी)को छलफल फेस गर्न रम्स्फेल्डलाई गाह्रो भयो जव प्रकोप सङ्ग जोडिएको व्यापार र सार्वजनिक अफिस मध्ये एक छान्न दवाव आयो।

यसपाली सन्दर्भ जोड्न मन लाग्यो त्यही क्वारेन्टीन लागू गर्ने र भ्याक्सिन आपूर्तिको सुरक्षा गर्ने जिम्मा उता सेनालाई दिए जस्तै हाम्रोमा पनि आपूर्ति नै सेनालाई जिम्मा दिनु पऱ्यो।

म एकै खालको ज्ञानको हावा कुनै माध्यमबिनै पनि संसारभर एकै साथ घुमिरहेको हुन्छ कि के हो भन्ने कुरा गहिरिएर हेर्दैछु। इपू ४०० तिरको ग्रीसमा दार्शनिकले जे सोचि राखेका थिए हाम्रो भारतखण्डमा पनि झण्डै उस्तै र चीनमा पनि उस्तै छ । अमेरिकामा के गरे भनेर कतै पढ्नु पर्दैन हाम्रो दिमागले पनि उता के गरे त्यतै डोऱ्याउँछ कि के हो भन्ने मेरो हाइपोथेसिस मात्रै हो। तर  प्रमाणीत चाहिँ के हो भने हरेक बिपत् लाई पैसोमा बदक्ने एउटा समूह हुन्छ जसले राजनीतिको सहारा लिएर आफ्नो हीतमा निर्णय गराउँछ।  ओम्नी हुन कि सुलभ अग्रवाल काण्ड जे को उदाहरण दिए पनि हुन्छ।

जुनबेला सरकार पिपिई नभएर छटपटाइरहेको थियो, मेरो एकजना औषधी आपूर्तिवाला मित्रले भेटेनरी अस्पतालमा केही स्टकमा छन, तत्काल त्यसैले काम गर्छ भन्नु भयो, मैले लेखेको थिएँ तर लेख्नु पूर्वनै सरकारी तहमा चर्चा भैसकेको रैछ। बजारमा खोज्दा कतै पाइएको थिएन, जग जाहेर छ।  चीन र सिङ्गापुर केही प्लेन उडे, अलि अलि सरकारी सामान ल्याए, अलि अलि  व्यापारीका ल्याए। सबै काला व्यापारीका भन्दिनँ ।  सुलभ पनि तिनै मध्येका एक हुन। कुनै परिवन्दले परे होला अदालतको  जिम्मामा भएको मुद्दामा हामी बोल्नु भएन। तर थुप्रै सुलभ अग्रवालहरू बजारमा छन भन्ने  पछि देखियो। 

यता बजारमा नभेटिने, बाहिबाट आएको भनेको चीन र सिङ्गापुरको फ्लाइटबाट हो, चीनको बाटो बन्द थियो, भारतमा आफैँ हाहाकार थियो। तर देखिएको स्रोतबाट आएका भन्दा कयौँ गुणा सामान बजारमा छन। सामाजिक सञ्जालमा ति सामान बाँडिएका फोटाहरू समेत आएका छन।

मेडिकल माफियाहरूले धेरै सामान ल्याएका छन, लुकाएका छन  भन्ने आशङ्का धेरैलाई छ।  उनीहरूले  धेरै ठूला प्रभावशाली नेताहरूलाई दुई चार पोका जिल्ला वा निर्वाचन क्षेत्र पठाउन भनेर उपहार टक्र्याएका छन र भविष्यमा आफ्नो ब्यापार बढाउन संरक्षण ग्यारेन्टी गरेका छन।  जहिले पनि काला बजारीयाहरूले आत्तिएको, चिन्तित ग्राहकलाई सिकार गर्ने हो। अहिलेसम्म उनीहरू चुपचाप रहनुको कारण नेपालमा यो भाइरस कमजोर भयो भन्ने चर्चा चल्यो, एकदुई दिन त लअडाउन नै खुकुलो भयो र मान्छेबाट कोरोनाको त्रास झण्डै हट्यो। त्यतिबेला निजी अस्पतालमा पैसो तिरेर जचाउने भन्ने हुँदैनथ्यो। त्यसैले तिनले कुरेर बसे। जव मान्छे मरे, एकै दिन ८० फेला पर्न थाले, जनता आत्तिएका छन। त्यो आत्तिएको जमातलाई हेरेर अव लुकाएका किट्सहरू निक्लिने हो। सप्लायर्सले लबिङ्ग गर्ने तिनै नेता र अधिकारी सङ्ग हो जसले दुई चार पोका उपहार पाइसकेका छन। 

मलाई विश्वास छैन यो सरकारले  त्यो संदिग्धमार्गबाट भित्रिएको कीटहरूलाई प्रयोग गरी निजी अस्पतालले जनता चुस्ने माध्यम बनाउन तुरुन्तै अनुमति देला भन्ने। तर पात हल्लिन्छ थाहा हुन्छ हवा चाहिँ चलेकै रैछ। 

सरकारको सम्पत्ति मेरो हो र त्यसको प्रयोग अत्यन्त विचारपूर्वक अत्यावस्यक ठाउँमा मात्रै होस भन्ने म चाहन्छु। त्यसैले कसैले रहरले टेस्ट गराउन चाहन्छ भने उसले तिर्छ।  बामदेवले रहरले चुनाव लडे चुनावको सवै खर्च वहाँलेनै व्यहोर्नु पर्छ, राज्यको आवस्यकता हो भने मात्रै राज्यकोषबाट व्यहोरिने हो भन्ने मेरो तीन हप्ता अघिको तर्क यही थियो।  तर कोरोना परीक्षणका सन्दर्भमा त्यो तर्क त्यतिमै सिमित हुन्न। अवैधबाटोबाट आएको हो भने त्यो कीट खर्चिलो छ । अनि रहरले टेस्ट गराउनेको हुलमालमा साँच्चिकै बाध्यताले गराउनु पर्ने मान्छे नपिसिने कसरी ग्यारेन्टी गर्ने? यो प्रश्न पनि स्वाभाविक रुपमा उठछ। उस्तै पेशामा भएको, उही स्तरको कसैले निःशुल्क गर्यो त्यो पनि आवस्यकता नभै । सांसद देखि पत्रकार सम्मले निःशुल्क गराए। अव अर्को पेशामा भएको एउटा नागरिकले, अर्थात बैङ्कको कर्मचारीले गराउनु पर्यो भने किन त्यति महङ्गो पैसो तिर्नु पर्ने? उसले पनि जोखिम मोलेर ऊ पनि फ्रन्ट डेस्कमा दिन काटेको छ? जनताले जबाफ खोज्ने नै भए।

रोग शारीरिक समस्या हो, ब्याधी सामाजिक र संस्कारगत समस्या हो। त्यसैले ब्याधीको शासन सङ्ग प्रत्यक्ष सम्बन्ध हुन्छ। व्याधीमा प्याक-प्याक भएका बालबच्चाले सँधे बाउको अनुहार हेर्छन। आमाको स्याहारले शक्त्ति बढाउँछ, बाउको उपस्थितिले मनोबल। आत्त्तिएर कुना पसेर रुने बाउको घरमा सबै भन्दा ठूलो क्षति हुन्छ। त्यसैले सबैपीडा लुकाएर ढाडस दिने बाऊ बिमारी बच्चाको आँखा वरिपरि घुम्नु अपरिहार्य छ। सरकारको कर्तव्य एक जना तथ्याङ्गशास्त्री चिकित्सकलाई दैनिक २-३ बजे तिर स्कोरकार्ड लिएर टिभिमा  उभ्याउनुमा सिमित छ। हाम्रा घरमुलीको अनुहार संसदमा मात्र देखियो, ढाडस दिने, आश्वस्त पार्ने हिसाबले होइन आलोचकको तेजोबध गर्ने एक बहादुर नेताको रुपमा। कसको नेतृत्वमा हाम्रो लडाइँ जारी छ? कुन प्रणालीले मैदानमा लड्दैछ? मलाई नै थाहा छैन ।

शासकका सुबिधाका लागि मान्छे मर्दैछन। एकै ठाउँ कोचेर राखिदिए पछि शासकको तनाव कम भयो, जो बाँच्छ उसले भविष्यमा उपचार पाउँछ। क्वारेन्टिनमा समेत नमर्ने मान्छे हतपत्ति अस्पतालमा पनि मर्दैन, थाहा भै सक्यो।  क्वारेन्टिन व्यवस्थित गर्ने तर्फ एउटै निर्णय भएको छैन तर नक्कली हो कि सक्कली किट हो, पत्ता लागेको छैन त्यो खरीद गर्ने निर्णय आँखाको चालमा हुन्छ।  त्यहाँ व्यापार छ।

मेरो तर्क गलत साबित होस भन्ने म चाहन्छु तर म सरकारी अधिकारी मात्रै होइन बजारमा बहस निर्माणको ठेक्का लिएको  कथित बौद्धिक वर्गलाई समेत आग्रह गर्न चाहन्छु प्रभावशाली नेता मार्फत आफ्नो निर्वाचन क्षेत्र र जिल्ला पढाइएका पिपिई र अरू सामानलाई मात्रै ट्रेस गर्नुस, ति सामान कहाँ किनिए  तिनको बील माग्नुस, आपूर्तिकर्ता सम्म पुग्नुस तपाइँलाई छर्लङ्गै हुन्छ कति ठूलो कोरोना व्यापारले उपयुक्त समय पर्खेर बसेको छ।

यो नीजि अस्पतालको १५,००० वाला फण्डालाई म अति सरल भाषामा यसरी बुझ्छु। तपाइँको बुझाई अलग हुन सक्छ।  अहिलेलाई यत्ति नै।